महाशिवरात्री पर्व र पाण्डवेश्वर मन्दिर

के.वि. मसाल
   हामी नेपाली धर्म, सांस्कृतिकरुपले धनी छांै । हामीले मान्दै आएका चाडपर्वको इतिहास लामो छ । हरेक चाडपर्वको आफ्नै किसिमको महत्व रहेको छ । वर्षमा हाम्रा चाडपर्व कति छन् भन्न गाह्रो छ । जातजाति र धर्म अनुसारका पर्वहरु आफ्नै किसिमका छन् । तर प्रत्येक वर्ष मनाउँदै आएको महाशिवरात्री पर्व सबै हिन्दुहरुको साझा पर्व हो । शिव हिन्दू धर्मका प्रमुख देवता हुन् । हिन्दू धर्मका विभिन्न सम्प्रदायहरु मध्ये शैव सम्प्रदायका अनुयायीहरु शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन््। । शिवलाई प्रायःजसो शिवलिङ्गको रुपमा पूजा गर्ने गरिन्छ ।

यो वर्ष दाङको धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको पाण्डवेश्वर शिव मन्दिरमा तीन दिने शिव मेला महोत्सव अर्थात मेला लाग्ने भएको छ । महाशिवरात्रि हिन्दुहरुको एक प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व पनि हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व नवरात्रि मध्ये एउटा प्रमुख रात्रि मानिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रुपमा पनि लिइने गरिन्छ । महाशिवरात्रिका दिन भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी ब्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपबास गरी ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

घोराहीको दक्षिण किनाराको चुरे पहाड बीचभागका रहेको पाण्डवेश्वर मन्दिर परिसरबाट घोराही वरपरका दर्जनौं बस्तीको अवलोकन गर्न सकिन्छ । साथै उत्तर किनारामा रहेको महाभारत श्रृंखलाको दृश्य पनि मन्दिर परिसरबाट नै देख्न सकिन्छ । मन्दिर भएको चुरेपहाडको सिरमा सुनकोट लेक, त्यसको पश्चिमतिर रहेको सरिकोट प्राचीन ऐतिहासिक स्थल मानिन्छ । सुन्दर प्रकृतिको बीचमा रहेको शिव मन्दिरको तल किनारमा बग्ने बबै नदीले झन पाण्डेवश्वर मन्दिरको महत्व बढाएको छ । प्राकृतिक मनोरम वातावरणमा रहेको मन्दिरमा आजभोलि धार्मिक पर्यटकीय स्थलको रुपमा विकास हुन थालेको छ । मन्दिरमा धार्मिक गतिविधिहरुमा अक्षतृतिया, बालाचतुर्दशी, ऋषितर्पणी, शिवरात्री जस्ता पर्वहरुमा विशेष पूजा–अनुष्ठान पाण्डवेश्वर शिव मन्दिरमा हुने गर्दछ ।

धार्मिक कारणले मात्र नभएर पाण्डवेश्वर मन्दिर पर्यावरण्ीाय, जैविक, ऐतिहासिक तथा पौराणिक कथा र विषयवस्तुका दृष्टिकोणले पनि उत्तिकै महत्व मानिन्छ । मन्दिर परिसरमा महादेवको मन्दिर, गणेश, सूर्यनारायण,र भगवतीको मन्दिर निर्माण गरिएको छ । मन्दिरमा पुग्ने धार्मिक मानिसहरुलाई अझ आस्था र विश्वास बढाउनको लागि यो बर्ष आठ हजार एकसय १३ किलो तौलको धातु बाट निर्मित ५५.५ फिट अर्थात ११.७ मिटर अग्लो त्रिशुल शिवजीको मन्दिर परिसरमा राखिएको छ । पञ्चधातु तामा, सुन, चाँदी, फलाम र पितलवाट बनेको त्रिशुल भक्तजनहरुबाट प्राप्त सहयोगबाट निर्माण गरिएको हो । यो त्रिशुल विश्वकै सबैभन्दा अग्लो रहेको दाबी गरिएको छ ।

भारतको पिथौरागढमा अहिलेसम्मकै सबैभन्दा ठूलो भनिएको त्रिशुल २७ सय किलो तौल रहेको छ । यस्तै पाल्पा जिल्लाको भैरवस्थानमा १७ सय किलोको त्रिशुललाई दोश्रो ठूलो त्रिशुल मानिँदै आएको छ । पाण्डेवेश्वर मन्दिरमा स्थापना गरिएको यो त्रिशुल अहिले विश्वकै सबैभन्दा ठूलोे भएको छ । पच्चिस लाख भन्दा बढी लागतमा तयार गरिएको त्रिशुलले पाण्डवेश्वर मन्दिरको गरिमा र आस्थालाई झनै बढाइ दिएको छ । पाण्डवेश्वर मन्दिर परिसरमा राखिएको त्रिशुल एशियाकै हालसम्मको ठूलो भएको कुरा मन्दिर ब्यबस्थापन समितिले गरेको छ । यस भन्दा अगाडि नेपालको सबैभन्दा ठूलो त्रिशुल पाल्पा जिल्लाको भैरव स्थानमा भएको त्रिशुललाई मानिदै आएको थियो । त्यसैगरी मन्दिर परिसरमा यज्ञशाला, गौशाला र नागशिला आदिको नयाँ संरचना समेत निर्माण गरी अहिले पाण्डवेश्वर मन्दिर धारापानीको धार्मिक स्थलको संरचना आकर्षक बन्दै गएको छ ।

हाम्रा धार्मिकस्थलहरु प्राकृतिक सम्पदा, वातावरण र ऐतिहासिक स्थलसंग जोडिएका छन् । यी स्थलहरु मध्ये धेरै स्थान धार्मिकग्रन्थ अनुसार प्राचीन कालमा ऋषिमुनिहरुको चिन्तन भूमि थियो । नेपालका धेरै भूमिमा ऋषिमुनिहरुबाट आध्यात्मिक चिन्तन र तपस्या गरिएका स्थलको रुपमा पहिचान भएका छन् । खासगरी ऋषिमुनिहरुले धार्मिक, आध्यात्मिक,वैदिक,सामाजिक र प्राकृतिक चिन्तन गर्ने गरेको स्थलहरु नै अहिले धार्मिक पर्यटकीयस्थलसंग जोडिएका छन् । यस्ता स्थलहरुमा तपस्या स्थल, प्राचीन यज्ञ स्थल, पहाड, हिम शिखर,नदी किनार र एकान्त स्थलहरु पर्दछन् । त्यही क्रमको प्राचीनता जोडिएको छ,पाण्डवेश्वर मन्दिरसंग । जहाँ पाँच पाण्डवहरुले यज्ञ लगाएर स्वर्गद्वारी गएका थिए भन्ने विश्वास गरिन्छ ।

धार्मिक किम्बदन्ती अनुसार द्वापरयुगमा पाँच पाण्डवहरु द्रोपदीसहित उत्तरापन्थको यात्रामा रहेको बखत अहिले पाण्डेबश्वर मन्दिर भएको स्थलमा आएर महादेवको आराधना गर्दै यज्ञ लगाएको विश्वास गरिन्छ । यज्ञ लगाएको स्थल आजभन्दा एकसय ५० वर्ष अघिसम्म घना जंगल थियो । त्यस समयमा थारुजातिहरुले माघीपर्व मनाउने क्रममा दाउराको खोजिमा त्यस जंगलमा पुगी एउटा साजको रुख काट्न खोज्दा जतिकाटे पनि रुख नढले पछि अर्को दिन काट्न जाँदा अघिल्लो दिनमा काटेको डोब पुरिएर जस्ताको तस्तै भएपछि उनीहरु अचम्म भएका थिए । रुखलाई जति काटे पनि काटेको डोब पुरिएर उस्तै हुने क्रम भएपछि दाउरा काट्न गएका थारुहरुले अरु गाउँलेहरुलाई पनि त्यसठाउँमा बोलाएछन् । सबै गाउँलेहरुले रुखको वरपर अवलोकन गर्दा रुखको फेदमा एउटै ढुंगामा पादपिठ, शिवलिङ्ग, बाघका आँखा, विष्णु पादुका र जलकुण्ड फेला परेको थियो । त्यसपछि पूजा अर्चनाको कार्य सुरु भएको थियो ।

सदरमुकाम घोराही देखि ९ कि.मि.को ग्राभेल मोटरमार्गबाट पुग्न सकिने पाण्डवेश्वर शिव मन्दिर धार्मिक पर्यटकहरुको लागि महत्वपूर्ण स्थान मानिन्छ । धारापानी पाण्डवेश्वर मन्दिरको प्रचार प्रसार हुन सकेको छैन । मन्दिर पुग्ने बेला तर्नुपर्ने बवै नदीमा पुल बन्न सकेको छैन । बिगत लामो समयदेखि राजनीतिक दलहरुको दृष्टिकोण पुग्न नसक्दा जिल्लाको महत्वपूर्ण धार्मिक स्थलमा वर्षाको समयमा पुग्न असजिलो भएको छ । घोराही–धारापानी बीचको सडक कालोपत्रे हुन बाँकी छ । मन्दिर परिसरमा भौतिक पूर्वाधार अझै बिस्तार गर्न बाँकी भए पनि यसलाई विशेष महत्वका साथ संरक्षण गर्न जरुरी छ । यसको प्रचार हुन सके धार्मिक पर्यटकहरुको संख्या तुलनात्मक रुपमा बृद्धिहँुदै जाने र दिगोरुपले संरक्षणमा सहयोग पुग्न सक्दछ ।

शिवरात्री पर्व र मेलाले संस्कृति, नातेदार आस्थासँग नजिकको सम्बन्ध बनाउँछ । त्यतिमात्र होइन, चाडपर्वले साथीभाइसंग भेटघाटको अबसर र संस्कृतिलाई जोगाउने अबसर दिन्छ । हामीले मान्दै आएको चाडपर्व र संस्कृतिको संरक्षण गर्न हामी सबै लाग्नुपर्ने देखिन्छ । तर यी संस्कार र संस्कृति क्रमशः लोप हँुदै जान थालेको पनि आभास हुन्छ । गाउँघरमा देखिएको पाश्चात्य संस्कृतिको उदयले हामी सबैको चाडपर्व र त्यससंग जोडिएको संस्कृति फेरिन थालेका छन् । हाम्रो समाजमा धेरै किसिमका चाडपर्वहरु मनाउने गरिएको छ । यो जाति, धर्म, संस्कृति, भूगोल, विकासको चरण आदि विभिन्न कारणहरुले भिन्न भिन्न रहेका छन् । संस्कृति निश्चितैरुपमा मानिसले बनाएको हो । जुन मानव समाजको विकाससँगै विकसित हुँदै आएको छ । संस्कृति शब्द आफैमा शुन्दर छ र यसलाई नकारात्मक रुपमा लिनै मिल्दैन । संस्कृतिमा देखिएको विकृति पनि मानिसबाट नै आएको हो । संस्कृति मानव निर्मित पक्ष हो ।

धर्म संस्कृतिको नाममा आजभोलि मानसहरु खानपानमा छाडा हुन थालेका छन् । शिवरात्री पर्वमा भाङ, धतुरो, गाँजा खानु पर्दछ भन्ने गलत मान्यता समाजमा बढ्न थालेको छ । शिवरात्रीको दिनमा यी कुराहरु शिवजीको बुटी हो भनेर प्रसादको रुपमा बाँड्ने प्रचलन पनि छ । अझ अहिले केही युवा समूहमा रक्सीजन्य पदार्थ बिना चाडवाड तथा उत्सव मनाउँदा रमाइलो नहुने मान्यता बस्दै गएको छ । यो गलत धारण हो । रक्सी र मासु बिना चाडबाड रमाइलो हुन्न भन्ने मानसिकतालाई हटाउन पर्दछ । जसका कारण हाम्रो शरीरमा बिभिन्न समस्या देखिन्छ । रक्सी सेवनकै कारण उच्चरक्त चाप, सुगर, बाथ, यूरिकएसिड,कोलस्टोल, पेटका समस्याहरु, जन्डिस, मुटुका रोगहरु लाग्न सक्दछन् । यो बाहेक रक्सी खाएको बेलामा सवारी चलाउँदा मानवीय क्षति हुने गरेको छ । यस्ता कुराहरुलाई चाडबाडको बेलामा होशियार हुनुर्पछ ।

मिति ः– २०७१ फागुन १ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *