सहिद दिवस र यस भित्रका कुरा

के.बि.मसाल19198402_2033021870260759_1647743086_n

व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छ । नेपाली शब्द कोषले पनि सहिदलाई यसरी नै परिभाषित गरेको छ । राणाशासनको विरुद्ध प्रजापरिषदको गतिविधिमा लागेबापत वि.स.१९९७ साल कात्तिक २ गते पक्राउ गरी त्यसपछि १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै बिष्णुमतीको किनारमा रहेको शोभा भगवतीमा गोली हानी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । त्यसैगरी शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई पनि स्वतन्त्रताको लागेको कारण फाँसी दिएकाले सहिद मान्ने गरिन्छ । तर सहिद को र किन ? अहिले भने सहिदको बारेमा विभिन्न किसिमबाट अर्थ लगाउन थालिएको छ ।

निरंकुश शासन व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको आरम्भ गर्ने महान अभियानमा पहिलो पटक सहादत प्राप्त गर्ने लखन थापा प्रथम सहिद हुन् । जहानिया राणा शासनको निरंकुश व्यवस्था विरुद्ध गोरखा जिल्ला बुङकोटको काहुले भङगारमा विद्रोही किल्ला निर्माण गरी हजारांै स्थानीय जनताका साथ लडाइँको मोर्चाबन्दीमा वि.सं.१९३३ फागुन २ गते अमरत्व प्राप्त गरेका थिए । अहिले राज्यको तर्फबाट लखन थापालाई उपेक्षा गरेको छ । लखन थापा प्रथम सहिद हुन् भन्ने विरोधका आवाज आउन थालेपछि २०५६ सालमा सरकारले सहिद घोषणा गरेको छ ।

वि.स.१९९७ देखि २०६२÷०६३ को आन्दोलनबीच करिब ६५ वर्षको अबधिसम्म नेपालमा चारजनालाई मात्रै सहिद मानिएको थियो । पछिल्लो समय मुलुकमा आन्दोलनको क्रममा मानिसहरुको मृत्यु हुने र सहिद घोषण गर्ने क्रम बढ्दै गएपछि २०६६ साल कात्तिक १६ गते सहिदको परिभाषा र मापदण्ड कायम गर्न कार्यदल गठन भएको थियो । कार्यदलले दिएको सुझाव अनुसार अहिले पनि सहिद घोषणाको अर्थ भने नमिलेको आभाष हुन्छ ।

गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६२÷०६३ को जनआन्दोलनमा ज्यान गुमाएका २६ जनालाई सहिद घोषणा गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको पालामा एकमुष्ट आठ हजारभन्दा बढी माओवादीको जनयुद्वमा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरिएको थियो । अहिले नौ हजार भन्दा बढीको नाम सहिदको सूचीमा उल्लेख गरिएको छ । घोषणा गरिएको सहिदहरुको एकमुष्ट विवरण कुनै पनि सरकारी निकायमा छैन । गृहमन्त्रालयका अनुसार हरेक आन्दोलनमा र घटनामा फरक फरक सहिदको सूची बनाइएको छ ।

राणाकालिन अबस्थामा सहिद भएका चार सहीदलाई अझै पनि केही राणा र उनका समर्थकहरुले सहिद मान्दैनन् । अझ उनको अर्थमा त्यसबेलाका आतंककारी मान्दछन् । पन्चहरुले पञ्चायतकालीन सहिदहरुलाई सहिद मान्दैनन् । उनीहरुको भाषामा अराष्ट्रिय तत्व मान्दछन् । अनि राणा, पञ्च, कांग्रेस र अहिलेका नेकपाले लगायतका अधिकांश संसदवादीहरु जनयुद्धका सहिदहरुलाई सहिद मान्दैनन्, आतंककारी नै ठान्छन् । पहाडका मानिसहरु मधेशी सहिदहरुलाई सहिद मान्दैनन् बिखण्डनकारी मान्छन् । सहिदहरुमाथि पनि वर्गीय दृष्टिकोण रहकोे छ । जसको लागि लड्यो उसले सहिद मान्ने र जसका बिरुद्ध लड्यो उसले आकंककारी मान्ने सोचको विकास भएको छ ।
राणा शासन विरुद्ध आफ्नो ज्यानको आहुती दिएका चार जना सहिदको संझनामा सरकारले प्रत्येक वर्ष माघ १६ गते औपचारिक रुपमा सहिद दिवस मनाउँदै आएको छ । मुलुकमा राजनीतिक परिवर्तन भएसँगै सहिदहरुको संख्या थपिने क्रम पनि जारी छ । पछिल्लो केही वर्षदेखि सरकारले सहिद सप्ताह मनाउने गरेको छ । राणा शासन विरुद्ध जनचेतना फैलाएको आरोपमा तत्कालीन राणा शासकले चार जना सहिद धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको संझनामा सरकारले सहिद दिवस मनाउने गरेको हो ।

सहिद आत्मीय र सम्मानको शब्द हो । यो शब्दलाई सहर्ष स्वीकार्दै देश र जनताप्रति बफादार भई जीउज्यानको बाजी थाप्नेहरु मात्र सहिद हुन् । तर आज समूह—समूहबीच, मोर्चा—मोर्चाबीच र दल—दलबीच मात्र नभएर व्यक्ति—व्यक्तिबीच द्वन्द्व मच्चिरहेको छ । युद्ध वैचारिक रुपमा मात्र सीमित नरही सशस्त्र रुपमै भौतिक आक्रमण हुन थालेको छ । जसको कारण धेरै नेपालीहरु नेपालीहरुद्वारा नै मारिएको अवस्था छ । राजनीतिक तवरले संरक्षण पाएकाहरु र नपाएकाहरु बीचमा घटना, परिघटनामा परी मृत्यु हुनेहरुको वर्गीकरण हुने क्रम बढ्दै गएको छ ।

सहिद कुनै जाति, धर्म, संस्कृति, क्षेत्र, समुदाय र वर्ग विशेषको हुन सक्दैन । सहिद घोषणामा वैज्ञानिक मापदण्ड नहुँदा वास्तविक सहिद परिवार राज्यको सहयोगबाट बन्चित रहेका छन् । समय—समयमा शासन सत्ताद्वारा जनतामाथि गरिने शोषणको विरुद्व आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको संख्या आजभोलि बढेको छ । यसरी ज्यान गुमाउनेहरुलाई कसरी सम्बोधन गर्ने ? कुन अर्थमा कसरी सम्मान गर्ने ? यो पनि बहसको विषय बनेको छ ।

अहिले सम्म मुलुक भित्र धेरै आन्दोलन र क्रान्ति भइसक्यो । मुलुकमा द्वन्द्व बढ्दै जाँदा दसवर्षे जनयुद्ध समेत हामीले भोगिसक्यौं । त्यो जनयुद्वमा ठूलो जनधनको क्षति हुनपुग्यो । बिगत राणाकालीन हुँदै शाहकालसम्म आइपुग्दा सत्ताका लागि जनता हदैसम्म प्रयोग हुँदै आयो । जनताले आफ्नो प्राण नै उत्सर्ग गरेर धेरैलाई शासनसत्ता चलाउने हैसियत बनाई दिए । तर अहिले सहिद घोषणा भएका व्यक्तिका घरपरिवारहरुको अबस्था सरकारले अध्ययन गर्न सकेको छैन । उनीहरुको अबस्था कस्तो छ ? सहिद परिवारहरलाई के कसरी सम्मान गर्न सकिन्छ ? र के गर्नु पर्दछ भन्ने कुरा सरकारले बेवास्ता गर्दै आएको छ । अनि वर्षको एक पटक सहिदको नाममा गोहीले आँसु चुहाए जस्तै गरी औपचारिक कार्यक्रम गर्दैमा सहिदको सम्मान हुन्छ र ?

कुनै पनि कार्यक्रमको औपचारिकता र अनौपचारिकतामा सहिदहरुलाई सम्झने कुरा आफ्नै ठाउँमा छ । तर सहिदको बारेमा चर्चा,परिचर्चा गरेर मात्र पुग्दैन । सहिदले देखेको सपना, सहिदले खोजेको कुरा र व्यवस्था जनताले प्रत्यक्ष अनुभूत गर्न पाउनुपर्छ । त्यसपछि मात्र सहिदको सच्चा स्मरण गरेको र सम्मान प्रदान गरेको ठहर्नेछ । औपचारिक कार्यक्रम गरेर केवल सहिदप्रति औपचारिकता मात्र पूरा गरी वर्षमा एकपटक सहिद सप्ताह मनाएर मात्र सहिदहरुको सम्मान हुन सक्दैन । सहिदले खोजेको नीति व्यवस्था लागु गरेर तिनलाई सम्मान गर्नु आवश्यक छ । सहिदलाई कहीं कतै कुनै पनि तवरले वर्गीकृत नगरी राष्ट्र, शिर, गर्व, गहना, धरोहर, आस्था र आदर्शको रुपमा सबैले स्वीकार्ने कार्यक्रम सरकारको हुनु पर्दछ ।

सहिद शब्दलाई हरेक नेपली जनताले मन मष्तिष्कमा राख्नु पर्दछ । सहिद कस्तो ब्यक्तिलाई भनिन्छ भन्नेबारे ज्ञान हुन पनि जरुरी छ । देश बनाउनु पर्छ नेपाली जनतालाई हक अधिकार दिलाउनु पर्छ भन्ने तर आफू बनी देश बिगार्ने गरेका शासकहरु बिरुद्ध आफ्नो जीवनको वलिदानी दिने सहिदहरुको सोच अनुसार राष्ट्र अगाडि बढ्नु पर्दछ । विगत माओवादीले १० वर्षे जनयुद्ध गरे । युद्धको दौरानमा कति सहिद भए त्यसको लेखाजोखा नै छैन । विचरा ती वलिदानी दिनेहरु आत्माले के भनेको होला ? यसको उत्तर अहिले कसले दिने ? सर्वहारा वर्गको उत्थान र जातीय पहिचान सहितको संघीयताको कुरालाई प्रमुख एजेण्डा बनाएर जनयुद्धमा मारिएका थिए ।
सामान्यतया देशको स्वाधिनता, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो ज्यानको बलिदान दिनेलाई सहिद मानिन्छ । तर नेपालमा अपराधिक समुहले हत्या गरेका, झडपमा मारिएका र काल गतिले मरेका ब्यक्ति समेतलाई राजनैतिक दवावमा सहिद धोषणा गरेको देख्दा देशको लागि बलिदानी दिने ब्यक्ति सहिद हुन् वा दलप्रतिको वफादार राजनैतिक कार्यकर्ता भन्ने भ्रम सृजना गरेको छ । देशको स्वार्थका लागि लडदालडदै ज्यानको आहुती दिने ब्यक्तिलाई राज्यले सहिदको सम्मान दिन मृतकको देश र जनता प्रतिको त्याग र समर्पण हुनु पर्दछ । तर कुनै अमूक दलकै सदस्य भएकै नाताले जवरजस्त सहिद घोषणा गर्नु वास्तविक सहिद प्रतिको अपमान र सहिद शब्दकै बदनाम गर्ने कार्य भएको छ ।

हाम्रा राजनैतिक दलहरुको राजनैतिक संस्कार खस्कदै गएको र निश्चित मापदण्ड बिना जथाभावी सहिद घोषणा गर्ने प्रवृतीले सहिदको परिभाषा सस्तो बनेको छ । सहिद भन्नासाथ शिर निहुरिने, हृदयदेखि श्रद्धाभाव जाग्नु पर्नेमा फौजदारी अभियोग लागेका, अदालतको फैसला अनुसार सजाय भोगेका, तोडफोड र हिंसात्मक गतिबिधिमा उत्रदा वा कुनै अमुक राजनैतिक दलको आन्दोलनमा संलग्न भएकै आधारमा मात्र सहिद घोषणा गर्ने कार्यले वास्तविक सहिदको योगदानलाई समेत फिका बनाउनमा मद्दत पु¥याएको छ । राजनैतिक दलहरुले आफ्ना समर्थक भएकै आधारमा निश्चित मापदण्ड बिना सहिद घोषणा गरेपछि सर्वसाधारणले त्यसको सिको गरी दवावमा सहिद घोषणा गराउन खोज्ने कुरालाई अन्यथा मान्न सकिन्न । यसको लागि सरकारले सहिद घोषणाको आधार मुढेबल र दलको सदस्य नभई उसले देश र जनताका लागि गरेको योगदान र त्यागका आधारमा सहिद घोषणा गरिनु पर्दछ ।

नेपालमा व्यवस्था परिवर्तन र जनताका नैसर्गिक हक अधिकारका स्थापना गर्नका लागि जसको कुनै योगदान छैन त्यसलाई राष्ट्रिय विभूति घोषणा गरिएको छ । कुखुरा चोरलाई प्रहरीले समात्न खोज्दा उम्केर भाग्छ । भूमिगत गिरोहमा संलग्न हुन्छ । जघन्य अपराधमा उसको मुख्य भूमिका हुन्छ । प्रहरी इन्काउन्टरमा अपराधीको मृत्यु हुन्छ । सहिद घोषणा गर्न माग गर्दै नेपाल बन्द सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिन्छ । आन्दोलनकारी शक्तिलाई सरकारले वार्ताका लागि आह्वान गर्छ । सहिद घोषणा नगरुन्जेल वार्तामा पनि नबस्ने र आन्दोलन पनि फिर्ता नलिने आन्दोलनकारीहरुको माग हुन्छ । अन्ततः सरकार एउटा कुखुरा चोर देखि जघन्य अपराध सम्म संलग्न कुख्यात अपराधीलाई सहिद घोषणा गर्न बाध्य हुन्छ । शहिदको मर्म विरुद्धको कर्म नेपालमा हुन् थालेको छ । के हो सहिद ? को हो सहिद ? यसको उचित परिभाषा गर्न जरुरी भैसकेको छ ।

जथाभावी हचुवाको भरमा सहिद घोषणा गर्दै जाने हो भने भोलि सबै नेपाली सहिद बन्ने निश्चित छ । यसले वास्तविक सहिदहरुको अपमान भएको छ । यहाँ पैसाका लागि ज्यान दिएर सहिद हुनेको फेसन चलेको छ । सहिदहरुको योगदानलाई पैसामा खरिद बिक्री गर्न थाले पछि यसको कुनै अर्थ र औचित्य रहदैन । गोली लाग्यो कि दश लाख झर्यो । अझ आजभोली त पचास लाखको कुरो चलेको छ । सहिदको मूल्य भनेको परिवर्तन हो ,योगदान र परिणाम हो ,पैसा होइन । तर नेपालमा पैसाका लागि सहिद बन्ने प्रतियोगिता हुन थालेको छ भन्दा फरक पर्दैन । सहिदको मूल्य भनेको पैसा हो भन्ने बुझेका हाम्रा राजनीतिक दलले यसको व्यापक दुरुपयोग गर्दैछन् । मर्नका लागि पैसाको प्रलोभन देखाएर मानवता विरुद्धको अपराध गर्दैछन । जहाँ पैसाका लागि मृत्युको बाटो रोजिन्छ भनेर विश्वमा सन्देश नजाओस । सहिदको सच्चा सम्मान त्यति बेला हुन्छ । जव शहिदले दिएको योगदानको कदर गर्दै शान्ति ,स्थायीत्व , समृद्धि, अग्रगमन र परिवर्तनलाई संस्थागत विकास गरिन्छ ।

सहिदको मर्म, भावना र सपनालाई साकार पार्न राज्यले सकेको छैन । मुलुकमा अहिले जस्तोसुकै अवस्थामा मृत्यु भएकाहरुलाई पनि सहिद घोषणा गर्ने प्रबृतिले गर्दा ती वीर सहिदहरुप्रति अन्याय भइरहेको छ । देश र जनताले सहिदलाई माघ १६ गते मात्र सम्झने होइन कि हामीले हाम्रो हृदयको कुना कुनामा सहिदहरुलाई सम्झी राख्नु पर्दछ । विशेषगरी देश चलाउनेहरुले सहिदको भावनालाई अबमूल्यन गरे भने सहिदहरुको आत्माले पनि हामी सबैलाई धिक्कारी रहने छ । सहिद दिवस मनाउँदा यी सबै कुराहरु ख्याल गर्न सकियो भने मात्र सहिद दिवसको सार्थकता हुनेछ । अन्यथा औपचारिकता पूरा गर्न मात्र मनाइने सहिद दिवसले सहिदको सपना पूरा हुने छैन ।

मिति ः–२०७५ माघ ९ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *