मृगको दूध पिएर हुर्केकी रुरुकन्या
के.बि.मसाल
प्रदेश नम्वर ५ को गुल्मी, पाल्पा र गण्डकी प्रदेशको स्याङजा जिल्लाको संगम स्थल रिडी रुरु कन्याको नामबाट रहन गएको हो । नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिने रुरु क्षेत्र तीर्थाटन पर्यटकीय गन्तब्य पनि हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रुरु अर्थात रिडीमा पितृमोक्षका लागि अन्तिम सस्कार, श्राद्धजस्ता कार्यमात्र होइन विवाह, ब्रतवन्ध जस्ता शुभ कार्य पनि हुने गर्दछ । रुरु क्षेत्रमा मृतकहरुको अस्तु सेलाउन पनि मानिसहरु पुग्दछन । देवदत्त ऋषिले र रुरु कन्याले तपस्या गरेको स्थल हो रुरु क्षेत्र । संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । मृगले दुध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रुरु क्षेत्र नाम रहन गएको हो ।
रिडीमा मणिमुकुन्द सेन द्वारा प्रतिस्थापित ऐतिहासिक ऋषिकेश मन्दिर छ । बाइसे र चौबिसे राज्यहरु रहेको बेलामा पाल्पामा सेन राजाहरुको राज्य थियो । राजा मणिमुकुन्दले वि.स.१५७५ मा बनाएको ऋषिकेश मन्दिरमा हरिबोदनी एकादशीको भोलि पल्ट रथ यात्रा निकालिने परम्परा छ । भगवान नारायणको रुपमा लिइने ऋषिकेश मन्दिरमा कालीगण्डकी नदीमा स्नान गरी दर्शन गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । १६ औं शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेश शिलाले निधारमा ठोकियो । त्यर्सै दिन राती सपनामा स्नान गर्दा ठोकिएको शिला मेरो हो । म विष्णु भगवान हो । मलाई कालीगण्डकी आसपासमै मन्दिर बनाएर राख र सेवा गर भने पछि मणिमुकुन्द सेनले भेटिएको शिला अर्थात मुर्तीलाई कालिगण्डकी र रिडि खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन । पाचँसय वर्ष पुरानो ऋषिकेश मन्दिरमा पष्लप अर्घेलीका भट्टराई वंशले पूजा चलाउँदै आएका छन् ।
रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात रुरुक्षेत्र भनिन्छ । रुरुक्षेत्रमा अर्घली, कुसेनी, सत्यवती, रुद्रवेणी, अस्लेवा र वेनी गाउँहरु पर्दछन । रिडी अथवा रुरुक्षेत्रको महिमा हिमवतखण्ड र वराह पुराणमा पाइन्छ । विष्णुको स्वरुप शालिग्राम पाइने हुनाले रुरुक्षेत्रको विशेष महत्व रहेको छ । रिडीमा ऋषिकेशको मन्दिर र अन्य देवी देवताका मठमन्दिर र मूर्तिहरु छन् । सबै मन्दिर मध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ । ऋषिकेशको मन्दिरलाई वि.सं.१८१९ सालमा रणदत्त पाण्डेले पुनर्निर्माण गराएका थिए । त्यहा राधाकृष्ण, विष्णु, राम, हनुमान् लगायतका थुपै्र देवीदेवताका मूर्ति र मन्दिरहरु समेत छन् । रिडी क्षेत्रका बारेमा प्रचलित किंवदन्ती अनुसार, विष्णुले वृन्दाको सतित्व नष्ट गरेकाले स्वर्गमा तारकासुरको मृत्यु भएको थियो । त्यसबाट दुःखित भएकी वृन्दाले विष्णुलाई पत्थर भएर बस्नुपर्ने श्राप दिएपछि विष्णु शालिग्रामका रुपमा रुरुमा बसेका हुन् । त्यसै गरी देवदत्त ऋषिको तपस्याबाट डराएर इन्द्रले पठाएकी अप्सराको गर्भबाट जन्मेकी रुरुकन्याको कथा पनि यस क्षेत्रसँग जोडिएको छ । रुरुकन्याको मूर्ति ऋषिकेशको मूर्तिको सामुन्ने स्थापित छ ।
रुरु क्षेत्रमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि तथा रुरुकन्या मुर्तिमा पूजाआजा गरेमा मोक्ष प्राप्ति हुने विश्वासले तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । माघे संक्रान्तिमा मेला लाग्ने रुरु क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र ती कन्यालाई मृृगहरुले दुध खुवाई हुर्काएको र विष्णुले चतुर्वाहु रुप लिएका थिए । रुरु क्षेत्रमा प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको गुफा, अचम्मेश्वर, रुरु कन्या मन्दिर अर्थात गलफूल गुफा, यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, राम जानकी मन्दिर, रुरु कन्याले तपस्या गरेको गुफा, भीमसेन थापाद्वारा आफ्नी आमाको स्मृतिमा बनाएको पौवालगायतका ऐतिहासिक धार्मीकस्थल रिडीमा रहेको छ ।
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति दिन बिहानैदेखि कालीगण्डकीमा स्नान गरी ऋषिकेश मन्दिरमा पूजाअर्चना गर्ने तीर्थाटन पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । कालीगण्डकीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चारधाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वास तीर्थाटनका पर्यटकहरुमा छ । रिडीमा स्नान गर्न नेपालका विभिन्न जिल्लाका मात्र होइन भारतका विभिन्न स्थानबाट समेत तीर्थाटनका पर्यटकहरु रिडीमा पुग्ने गर्दछन । माघे संक्रान्ति मेला रिडी अर्थात रुरु क्षेत्रमा अहिले पाँच दिन मेला लाग्ने गर्दछ । रिडिमा माघेसंक्रान्ति बाहेक वैशाखे संक्रान्ति, हरिबोधनी एकादशी लगायतका विभिन्न पर्वमा समेत स्नान गन तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन ।
रिडीको नामाकंन बारेमा धेरै मतभेद रहेको छ । रुरु अर्थात मृगले देवदत्त ऋषिको पुत्रीलाई स्तनपान गराई हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो । पछी तिनै कन्याले कठोर तपस्या गरी मुक्ति पाएकोले तिनै कन्याको नामबाट रुरुक्षेत्र भनियो । रिडी क्षेत्रको रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भई रिडी क्षेत्र बन्न गएको पनि तर्क छ । त्यसैगरी धार्मिक मान्यता अनुसार मानिस जन्मदै तीनवटा ऋणः अर्थात देव ऋण, पित्री ऋण र ऋषि ऋण लिएर आएको हुन्छ । हिमालयदेखि बग्दै आएको कालीगण्डकी रुरुक्षेत्रमा जुन मानिसले स्नान गर्छ त्यसको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनीन थालियो । पछी ऋणी भन्ने शब्द अपभ्रश भई रिडी बन्न गएको भन्ने धारणा पनि छ । त्यस्तै अर्को मान्यता अनुसार रिडी भन्ने शब्द मगर भाषाबाट आएको हो । खाम मगर भाषामा रि भनेको पानी र ढूट मगर भाषामा डी को अर्थ पनि पानी भन्ने हुन्छ । यस अर्थमा अठार मगराँत र बाह्रमगरातको सिमाना छुटयाउने पानीलाई रिडी भनिएको हो । अर्को अर्थमा मगर भाषामा री भन्नाले कालो तथा डी भन्नाले पानी भन्ने अर्थ लाग्छ । अर्थात कालोपानी बग्ने क्षेत्र कालीगण्डकी भएकोले यसलाई रिडी भनिएको हो भन्ने तर्क पनि छ ।
रिडी नजिकै उत्तर पट्टी भृगुतुंग नामक गुफा रहेको छ । भृगुतुंग गुफामा भगवान शिबले सतीदेविका शब बोकेर भ्रमण गर्दै जादा उपल्लो दांत पतन भएको मान्यता रहेको छ । जुन श्रीस्वस्थानी महात्यम्यमा ब्याख्या गरिएको छ । त्यस ठाउमा खासगरि माघे सक्रान्ती र शिबरात्रीमामा तीर्थाटन पर्यटकहरुको भिड हुने गर्दछ । भृगुतुंग नामक गुफा स्याङजा जिल्लामा पर्दछ । रिडीमा जाने तीर्थाटनका पर्यटक गुल्मी जिल्लाको थोर्गा तर्फको भागमा रहेको गलफूलगुफा पनि पुग्दछन । गलफूलगुफा रिडी बजारबाट पाचँसय मिटर माथि रहेको छ । रुरु क्षेत्रमा साना ठूला गरेर १ सय भन्दा बढि मन्दिर र केहि गुफा पनि छन । जंहा दैनिक पूजा आजा गरिन्छ । माघे संक्रान्तिको पाँच दिनसम्म संचालन हुने रिडी मेलामा विशेषगरी स्थानीय ग्रामीण क्षेत्रबाट उत्पादन गरिएको गुण किन्न पाइन्छ । रिडीको पहीचान बन्दै थोर्गेली चाकु (गुण) को लागि पनि प्रसिद्ध रहेको छ । रिडीको थोर्गामा बन्ने यो चाकु देश तथा बिदेशका बिभिन्न स्थानहरुमा निर्यात हुने गरेको छ । यो बाहेक रुकुम र बाग्लुङ जिल्लाबाट आएको कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रीहरु,ओखरका घाँजी लगायतका वस्तुहरु किन्न सकिन्छ ।
कालीगण्डकीको तटमा रहेको रिडी बजार २०१८ सालमा आएको भिषण बाढीले पुरै ध्वस्त बनाएको थियो । त्यस बेला रिडीका ऐतिहासिक धार्मिक महत्वका सम्पदाहरु र ठूलो धनजनको क्षती भएको थियो । बिनास पछी बनेको घरहरु, मन्दिर, पाटी, पौवा र बगैचाहरुले रिडीलाई सौन्र्दयता दिन थालेको छ । कालिगण्डकी जलविद्युत परियोजनाले मिर्मीबाट टनेल गराएर गण्डकीको पानीबाट विद्युत उत्पादन गर्न थालेपछि रिडीमा गण्डकीको पानी कम हुने र तीर्थाटन पर्यटकहरुलाई स्नान गर्न रुद्रवेनी देखि बग्दै आउने वेनी र रिडी खोलाको पानीले मात्र स्नान गर्न पर्दथियो । अहिले रुरु गाउँपालिकाले कालिगण्डकीलाई जलाशय निर्माण गर्ने योजना ल्याएको छ । योजना सम्पन्न भए पछि रिडीमा तीर्थाटनका पर्यटक मात्र होइन जलाशयका रमाउने अन्य पर्यटकहरुको समेत गन्तब्य हुने छ ।
रुरु क्षेत्र तीर्थाटन गरेपछि धेरै पर्यटकहरु गुल्मीको रेसुङा पुग्ने गर्दछन । स्वामी शशिधर, लक्ष्मीनारायण तथा यदुकानन्दको तपोभूमि रेसुङगामा धार्मीक मठ मन्दिरहरु, प्यागोडा शैलिमा निर्माण गरिएको यज्ञशाला, होमकुण्ड, शिवलिङग जस्ता धार्मीक स्थलले पर्यटकहरु रमाउछन । रेसुङाको परिशरबाट तीर्थाटनमा गएका पर्यटकहरुको मोवाइल क्यामेरा क्लिक..क्लिक.. हुन थाल्दछ । तम्घास वजारको शिरमा रहेको रेसुङगाबाट गुल्मी जिल्लाको मात्र होइन पाल्पा, स्याङजा र अर्घाखाची जिल्लाको विभिन्न ऐतिहासिक सम्पदा र प्राकृतीक स्थलहरुको अवलोकन गर्न सकिन्छ । यो अवलोकनबाट पर्यटकहरु खुशि हुन्छन । रेसुङा परिशरबाट धौलागिरी, निलगिरी, माछापुञ्छे लगाएत १५ भन्दा धेरै हिमाल एवं रमणिय हिम श्रृखंलाहरु दृष्यावलोकन गर्न सकिन्छ ।
पर्यटकले आफ्नो भ्रमण अवधि लम्बाउन सके गुल्मीमा भ्रमण अवलोकन गर्ने स्थल धेरै छन । ऐतिहासिक चारपाला दरवार, अर्याल ब्राह्मणहरुको इश्मा राज्य, हाल इश्वरी देवीको नामबाट चिनिने गुल्मी चारपालाको सरायं नाच पनि पर्यटकहरुले देख्न सक्दछन । तर सराय नाच हेर्न भने दशै पछि पुग्न पर्दछ । तरेली परेका डाँडाकाडा ज्योतिष शिक्षाको उदगमस्थल धुर्केटगाँउ,थाप्लेको लेख, मदानेको लेख, लुम्पेकको लेक, वामीको लेक, अग्लुङको लेक, रानीवन, सिद्धबाबाको डाँडा जस्ता अनगिन्ती पहाडले सजाएको प्राकृतिक सजाबट पनि पर्यटकहरुले देख्न सक्दछन । गुल्मी ऐतिहासिक एवं पुरातात्विक एवं पवित्र धार्मीक स्थल र सस्कृतीको धनी छ । पछिल्लो समयमा धेरै गाउँमा ग्रामीण विकासका आधारभुत पुर्वाधार बनिसकेको छ । लिच्छवीकालीन समय देखिनै बनेका ऐतिहासिक स्थल, रेसुङगा, श्रृङगा र रिडी जस्ता धार्मीक तपोभूमि, चारपाला, धुर्कोट, मुसिकोट र चन्द्रकोट इस्माको ऐतिहासिक दरवार, जयखानी, कालीकास्थान, लिम्घा सत्यवती, दिगाम, वलेटक्सार, रुद्रवेनी, द्रिुरुङ जस्ता ऐतिहासिक धार्मीक स्थलहरु गुल्मी पुग्ने पर्यटकहरुलाई अध्ययन अवलोकन गर्ने गन्तब्य बनेको छ ।
माघे संक्रान्तिको मुख्य विशेषता बनेको छ स्नान । सक्रान्तीको दिन बिहानै उठेर पबित्र जलाशय गएर स्नान गर्ने प्रचलन छ । धेरै तीर्थाटनका पर्यटकहरु स्नान गर्नका लागि पवित्र कालिगण्डकी रोजाइमा पर्दछ । कालिगण्डकीमा दुर्लभ शालिग्राम पाइने र मुक्तिनाथ देखि देवघाट सम्मका कालिनदीको घाटमा तीर्थाटनका पर्यटक स्नान गर्न रमाउछन । कालीगण्डकी नदी धार्मिक र सांस्कृतिक मात्र नभई पर्यटकीय महत्व समेत रहेको छ । मुस्ताङको दामोदर कुण्डबाट बग्दै आउने मुस्ताङ खोला र मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला कागवेनीमा मिसिन्छ । त्यसपछि नदीलाई कालीगण्डकी भनिन्छ । म्याग्दीको गलेश्वरमा राहुघाट पर्वतको कुश्मा नजीकै मोदीघाट, जैमिनी घाट, एशियाकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको सेतीवेणी, रुद्रबेनी, रिडी, रानीदरवार, राम्दी, हुगी, केलादी, घुमाउरी घाट र देवघाटमा समेत माघे सक्रान्तीमा धेरै तीर्थाटनका पर्यटकहरु स्नान गर्न पुग्दछन ।
माघे संक्रान्ति संक्रान्ति तीर्थाटन पर्यटकहरुको लागि रमाउने पर्व हो । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने र उत्तरायण प्रारम्भ हुने यो दिन धार्मिक हिसाबले महत्वपूर्ण पर्व मानिन्छ । यसै दिनदेखि सूर्य क्रमशः दक्षिणबाट उत्तरतिर सर्दै जाने र रातभन्दा दिन लामो हुँदै जानेक्रम शुरु हुन्छ । मकर संक्रान्तिदेखि दिन बढदै जान्छ र ग्रीष्म ऋतुको आगमन हुन्छ । विशेष गरी घ्यू, चाकु, तिल, काँचो अदुवाको स–साना टुक्रा, तरुल र मासका विभिन्न खाद्य परिकारका खाने पर्वको रुपमा माघे सक्रान्तीलाई लिने गरिन्छ ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन २० लाख विदेशी पर्यटक नेपालमा भित्राउने लक्ष राखेको छ । पर्यटकहरु का लागि यो बर्ष ७७ वटै जिल्लाका विभिन्न नयाँ स्थानलाई नयाँ पर्यटकियस्थल तोकेको छ । तर रुरु क्षेत्र भने सरकारको दृष्टिकोकोणमा पर्यटकियस्थल बनेन । रिडी जस्तो पौराणिक इतिहास बोकेको धार्मीकस्थललाई पर्यटनको दृष्टिकोणमा स्थलको छनौट भित्र नपर्दा पर्यटनको क्षेत्रमा रिडी पछाडी पारिएको छ । अर्कोतर्फ नेपालमै नमुनाको रुपमा रिडीमा बन्न लागेको तिनमुखे झुलुङे पुल आज सम्म बन्न सकेको छैन । गुल्मी, पाल्पा र स्याङजा जोडने पुलका तिनवटै मुख मोटरबाटोको नजिकै रहने नक्सामा उल्लेख छ । तिन जिल्लालाई जोडने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको तीन मुखे पुलको निर्माण सम्पन्न भएपछि तीर्थाटन पर्यटकहरुलाई थप सुबिधा हुनेछ ।
प्रदेश नम्वर ५ को मुख्य ब्यापारीक केन्द्र बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा र तानसेनबाट ३० रुरु क्षेत्र र त्यहाबाट ४५ कि.मी पार गरेपछि गुल्मीको सदरमुकाम तम्घास पुगिन्छ । पर्यटकहरुको लागि खाना बस्स्न कुनै असुबिधा छैन । पर्यटकहरुका लागि प्रयाप्त होटलहरु बाटोमा भेटिन्छन । यातायात खर्च बाहेक दैनिक एक हजार स्पया भए गुल्मीका ग्रामीण बस्तीहरु अध्यन अवलोकन गर्न सकिन्छ । एक पटक घुम्नको लागि गुल्मी जाने हो की ?
मिती ः– २०७५ पौष २५ गते दाङ