जखेरा ताल पुगेपछि डुङामा सरर..
पर्यटन भित्र प्रकृति, संस्कृति ताल तलैया र ऐतिहासिक स्थलहरु जोडिएको हुन्छ । पर्यटकहरुलाई सन्तुष्टि प्रदान गर्ने सम्पदा यीनै हुन भन्दा पनि हुन्छ । मनोरम प्रकृतिको सुन्दर दृश्यावलोकन र सांस्कृतिक विविधता, परम्परागत जीवनशैली, सामाजिक चालचलन पर्यटकको रोजाईका विषयमा पर्दछन । तर पनि आजभोली पर्यटनका क्षेत्र फराकिलो हुदै गएको छ । प्राकृतिक मात्र नभएर मानव निर्मीत ताल तलैया पनि पर्यटहरुलाई आकर्षण गर्ने स्थलहरु भएका छन । पर्यटनको विकासको लागि यो राम्रो पक्ष हो ।
लमही नगरपालिका ३ मा रहेको जखेरा ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । तर पनि यो ताल प्राकृतिक भने होइन । जखेरा स्थानीय थारु समुदायमा बोलिने भाषा हो । आकाशबाट परेको पानी जम्मा हुने स्थानलाई थारु भाषामा जखेरा भन्ने गरिन्छ । विसं २०३० मा साविकको सोनपुर हालको लमही नगरपालिका–३ का स्वं दिपु चौधरीको नेतृत्वमा टीकुलीगढ, फल्कापुर, श्री गाउँ र मुसुण्डी गाउँका स्थानीयवासी मिलेर खेर गइराखेको आकाशे पानी र चुरे वन क्षेत्रबाट बगिरहेको पानी सकलन गरी तलाउ बनाएका थिए । त्यसरी बनाइएको तलाउको पानीले गाउँमा सिचाई भएको थियो । जखेरा ताल त्यसै पर्यटनको गन्तब्य बनेको भने होइन । आज भन्दा १९ बर्ष अगाडी अर्थात २०५६ सालमा स्व.प्रेम बहादुर डाङीको नेतृत्वमा प्रेमलाल चौधरी लगायत गाउँका बासिन्दाहरु जखेरा तालको संरक्षणमा जुटे । पछि लमही नगरपालिका ३ का प्रेमलाल चौधरी निरन्तर लागि रहे । प्रेमलाल चौधरी जखेरा तालका अभियन्ता हुन् ।
जुनवेला बर्षाका समयमा चुरेबाट बगेर आउने पानी तालको समथर भू भागमा जमेर ताल वन्ने गरेको थियो । जखेरा जस्ता प्राकृतिक रुपमा अन्य स्थानमा पनि चुरेको फेदीमा साना तिना तलैया थिए । तिनै तालको भरमा किसानहरुले खेतीपाति र पशुपालन गरेका थिए । पछिल्लो समय चुरेबाट हुने भुक्षय लगाएतका कारणले ताल सुक्ने क्रम बढन थाल्यो । त्यसको असर कृषि पेशा र पशुपालनमा प्रत्येक्ष रुपमा देखा प¥यो । यो समस्यावाट बच्न पे्रमलाल लगायत स्थानीयहरुले जखेरा ताल संरक्षण गर्ने समिती निर्माण गरी अभियान शुरु गरेका हुन् । विगतमा सिचाइ र पशुपालनका लागि सिमित जखेरा ताल सुक्खा समयमा वन्यजन्तुका लागि समेत भरपर्दो पानीको स्रोत वनेको छ । अर्को तर्फ ग्रामीण पर्यटनको गन्तब्य भएको छ । हिजो किसानका लागि पानीको समस्या थियो अहिले त्यो नभएर जंगली जनावर, चराचुरुङ्गीलाई जखेरा तालले बचाएको छ । जखेरा तालको महत्व बुझेर स्थानीय बासिन्दाले ताल संरक्षणमा जुटेका छन् ।
जखेरा ताल देउखुरी उपत्यकाको लमही बजार देखि ५ कि मि पूर्वमा पर्ने राजमार्ग देखि १.४ कि.मि को दुरिमा रहेको छ । जखेरा तालको पानी ७.५ बिगाह क्षेत्रफलमा फैलिएको छ । जखेरा तालको गहिराई बर्षामा ८ देखि ९ फिट सम्म पानीको सतह हुने गर्दछ । यो ताललाई अहिले जखेरा शिवालय धार्मीक पर्यटन विकास संरक्षण प्रतिष्ठानले गुरुयोजना बनाएर ताललाई अझै फराकिलो बनाउने अभियानमा जुटेको छ । ग्रामीण पर्यटनको गन्तब्य बनेको जखेरा तालमा भित्र र बाहिर गरि चार वटा मन्दिर निर्माण भएको छ । जसमा गणेश मन्दिर, त्रिसिद्धेश्वरी महादेव, कालिका मन्दिर र राधा कृष्ण मन्दिर निर्माण गरिएको छ । तालको बिचमा फुलेका कमलका फूल, डुंगाबाट देखिने उत्तरतर्फको हरियो डाँडा अनि चराचुरुंगीको आवाजले गर्दा ग्रामीण पर्यटकहरुलाई थप आकर्षण गर्ने गरेको छ ।
जखेरा तालमा आजभोली चखेवा चरा पनि देखिन थालेको छ । जाडो छल्न नेपालका बिभिन्न ताल तलैयामा रुस, भारत, चीन, श्रीलङकालगायत देशबाट चरा आइपुग्छन । पानीमा बस्न रुचाउने खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चराहरु मधेश र भित्री मधेशका ताल तलैयामा आफ्नो क्रिडास्थल बनाउने गरेका छन । नेपालमा सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । असोज महीनादेखी आउन शुरु गरेका चरा चैत महीनामा फर्कने गर्दछन । कपिलवस्तु जिल्लामा पर्ने जगदीशपुर तालमा सबैभन्दा बढी चरा बस्ने गर्दछन । केहि चरा भने आजभोली जखेरा तालमा समेत आउने गरेका छन । तालमा नयाँ प्रजातिका चरा देखिन थालपछि पर्यटकहरु रमाउने गर्दछन ।
आजभोली विदाको घुमघाम होस या पिकनिकमा रमाइलो सँग दिन बिताउन धेरैको रोजाई जखेरा ताल हुने गरेको छ । जखेरा ताल मुख्य रुपमा “पिकनिक स्पट“ को लागि प्रख्यात मानिन्छ । तालको वरपर वातावरण अनुकुल, पूर्व–पश्चिममा वन जगंल, दक्षिणतर्फ मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र पहाडको फेदीमा रहेको छ जखेरा ताल । तालमा पुग्दा मनमोहक दृश्यले ग्रामीण पर्यटकहरुलाई लोभ्याउने गरेको छ । तालमा पुगे पछि सबैको हातमा मोवाइलमा भएको क्यामेरा क्लिक..क्लिकको अवाज निस्कन थाल्दछ । कोहि डुङगामा चडेर सेल्फि लिन हतार हुन्छन भने धेरै पर्यटकहरु डुङगा चडेर मन्दिर पुग्ने र तालको परिक्रमा गर्ने गर्दछन ।
जखेरा पुग्ने कतिपय ग्रामीण पर्यटक वन विहार समेत गर्न रुचाउछन । तालको छेउमा रहेको वनमा घुम्ने चरा चुरुङगीहरुको आवाजमा रमाउने, चराहरुको फोटो खिच्ने मात्र होइन वनको छहारीमा बसेर रमाइलो समेत गर्दछन । जखेरा तालमा पुग्ने पर्यटकहरुलाई लक्षीत गरी ताल छेउमा केहि होटल र रेस्टुरा सन्चालनमा आएका छन । रेस्टुराँमा लोकल कुखुरा र थारु समुदायका विभिन्न परिकारको स्वाद लिन पाउँछन् । जखेरा तालमा व्यावसायिक रुपमा माछापालन समेत गरिएको छ । जखेरा तालको आम्दानी बढाउन र ताल अवलोकन गर्न जाने पर्यटकहरुलाई आकर्षित गर्न माछापालन गरिएको हो । जखेरा तालमा घुमघाममा जाने पर्यटकहरुले माछा मार्ने समयमा माछा समेत किन्न पाइन्छ ।
जखेरा ताल पुग्ने ग्रामीण पर्यटकहरुले आफ्नो भ्रमणको समय लम्बाउन चाहेमा हाइकिङ अर्थात पैदल भ्रमण पनि गर्न सकिन्छ । आजभोली शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा हाइकिङ अर्थात पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । देउखुरी उपत्यकाको चुरे श्रृखलाका पहाड वरपर पर्यटकहरुलाई हाइकिङ गर्ने स्थलहरु धेरै छन । जखेरा ताल देखि भुस्सर गाउँहुदै चिसाखोला गाउँमा पुगिन्छ ।चुरे पहाडको तेरपैला उकालो यात्रामा जतीमाथी पुग्यो देउखुरी उपत्यकाका गाउँहरु देखिन्छन । गर्मीको समयमा उरे पहाडको उचाइमा पुगे पछि आनन्दको महसुस हुन्छ ।
पर्यटकहरु स्वभावैले नयाँ ठाउँ र नयाँ बस्तु हेर्न लालायित हुन्छन । नयाँ ठाउँको प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा साँस्कृतिक सम्पदा हाइकिङ गर्ने पर्यटकहरुका लागि रमाइलो यात्रा हुन्छ । गाउँमा सिजन अनुसार पाइने बेलौती, केरा, जामुनो, अमला र नास्पतीको स्वाद लिदै देउखुरीको चुरे श्रृखलाका सोरठी, रातामाटा, सितलपुर, बौराह, थरिकोट, दहखोली, सल्ले, भोजखोला, देवीकोट, रुपाकोट जस्ता पुराना ग्रामीण बस्तीहरु घुमघाम गर्न सकिन्छ । यात्रामा वन कुखुरा, मयुर र कालिजले लुकामारी गरेको र मृग, ढुम्सी र भालु समेत हाइकिङ यात्रामा देख्न सकिन्छ । शितलपुरमा यतिखेर धेरै ब्यवसायीहरुले जमित समेत खरिद गरेका छन । पक्की सडक यातायात भएमा चुरे श्रृखलामा ठूला रिसोर्ट खोल्न समेत सकिने स्थलहरु रहेका छन ।
देवीकोट दाङ जिल्लाको चुरे श्रृखलाको ऐतिहासिक स्थल हो । यस ठाउमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेबास भन्ने गाउ छ यस घोरेबासमा भुरेटाकुरे राजाहरुको समयमा अडडा अदालत, र गोश्वारा कार्यालय समेत रहेको थियो । मन्दिरको उत्तरतर्फ छाउनटोला भन्ने गाउँ छ । जुन समयमा सेनाको छाउनी रहेकाले अहिले बोल्ने क्रममा छाउनीबाट छाउनटोला नामकरण रहेको छ । यी कुराहरुको ऐतिहासिक तथ्य केहि नभएपनि केहि भवनका भग्नावशेषहरु भने अध्ययनको लागि देख्न सकिन्छ । देवीकोटबाट देउखुरी उपत्यका मात्र होइन उत्तरतर्फका हिमश्रृंखला, महाभारत श्रृखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सिमा क्षेत्रको भू–भाग समेत हेर्न सकिन्छ ।
शैक्षिक भ्रमणमा जाने विद्यार्थीहरुका लागि यो हाइकिङ यात्राबाट ठूलो ज्ञान लिन सकिन्छ । विद्यालय र घरैैमा पनि नियमित रुपले अध्ययन गर्ने काम ज्ञान दिने वा लिने काम, विद्या अथवा शिक्षा हो । त्यसैगरी सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध पनि शिक्षा हो । सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ भन्ने धारणा शैक्षिक भ्रमणमा हुन्छ । शैक्षिक भ्रमण कुनै एउटा विषयमा मात्र भ्रमण गराइन्छ भन्ने छैन । दाङ जिल्लाबाट प्रत्येक बर्ष हजारौको सख्यामा विद्यार्थीहरु शैक्षिक भ्रमणमा जाने गर्दछन । तर नजिकको तीर्थ हेला भने जस्तै आफ्नो जिल्ला भित्र रहेका दर्जनौ ऐतिहासिक सम्पदा, धार्मीक मठ मन्दिर, ताल तलैया र यस्तै अन्य स्थलका बारेमा धेरै विद्यालयहरुले शैक्षिक भ्रमण गराउन सकेका छैनन् ।
दाङमा पर्यटकियस्थल को रुपमा बिकास गर्न थालनी भएका प्रमुख ताल–तलैया, दह, गुफा, झरनाहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका गढी, लेक जस्ता प्राकृतिक सम्पदा धेरै छ । धेरै सम्पदा प्रचार प्रशार हुन नसक्दा ओझेलमा परेका छन । पर्यटन व्यवसाय राज्यले सञ्चालन गर्ने होइन । निजी क्षेत्रलाई यस व्यवसाय प्रति आकर्षित गरी सहज वातावरण बनाउने दायित्व मात्र राज्यको हो । भएका मठ मन्दिर, ऐतिहासिक सम्पदालाई संरक्षण गरेर त्यस स्थान सम्म पुग्ने सडक, पानी, सञ्चार सुबिधा र सुरक्षा प्रदान दिने काम यस भन्दा अगाडी राज्यको थियो । अहिले मुलुकको संरचना परिवर्तन भएको छ । प्रत्येक स्थानीय तह नै त्यस ठाउको बिकास निर्माण गर्न आवस्यक योजना तर्जुमा गर्न सक्दछ । चुरे श्रृखलामा रहेका ग्रामीण बस्तीहरुलाई कुन बस्तीलाई के बनाउने ? यसको बृहत छलफल हुन जरुरी छ । हाइकिङमा जाने पर्यटकहरुलाई सुबिधा दिन सडक, खानेपानी, होमस्टे र पर्यटकहरुलाई सुरक्षाको अनुभुति दिलाउन सक्नु पर्दछ ।
पर्यटन शिक्षाको अभावले गर्दा नेपालीहरुमा ग्रामीण पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । नेपालीहरु आफ्नै देशमा घुम्न नखोज्नु र घुम्न चाहने नेपालीहरुलाई पर्यटक नै नठान्ने प्रवृति हामी कहा रहेको छ । यो हुनुको कारण पनि पर्यटन शिक्षाको कमि नै हो । नेपालमा ग्रामीण पर्यटनबाट लाभ लिनको लागि पर्यटन मैत्री समाज र संस्कृतिको विकास गर्नु पर्दछ । यसका लागि बिद्यालय र बिश्वबिद्यालयका हरेक तहमा पर्यटन शिक्षालाई अनिवार्य बनाउनु पर्दछ । खासगरी बिद्यालय तहमा अतिथि सत्कार, पथ पर्दशन, होटेल व्यवस्थापन, ग्रामीण पर्यटन व्यापार, ट्राभेल एजेन्सी संचालन सम्बन्धि ज्ञान दिने हो भने पर्यटनको क्षेत्रमा क्रमिक विकास हुदै जान्छ । अर्को तर्फ आफ्नै देशमा घुम्न प्रोत्साहित गर्ने र ग्रामीण पर्यटकहरुलाई पनि बिदेशी पर्यटक सरह सम्मान गर्ने प्रवृतिको विकास गर्न सकियो भने ग्रामीण पर्यटनको बिकास हुन सक्दछ ।
फुर्सदको बेला भ्रमणमा निस्कने पर्यटकहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्र भ्रमण गर्न रुचाउछन । धुवाँ,धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण पर्यटकहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन । बिकास भनेको परिवर्तन हो । हिजो जे थियो त्यो आज छैन, आज भएको कुरा भोलि नहुन सक्दछ र भोलिका कुराहरु पनि विस्तारै पर्सीका कुराहरुले विस्थापित गर्दै जान्छ । अहिले बिकासले गर्दा शहर देखि गाउँसम्म बिभिन्न किसिमका भौतीक निर्माणका परिवर्तन भएका छन । सडक, पानी र बिजुली पुगेका गाउँहरुमा बिकासका नयाँ आयामहरु थपिदै गएका छन । पछिल्लो चरण नेपालमा ग्रामीण बिकासको लागि होमस्टेको माध्यमबाट पर्यटनको प्रर्बद्धन गर्नेक्रम बढदो छ ।
जखेरा तालमा ग्रामीण एवँ बाह्य पर्यटकहरुको आगमन गराउन ताल वरपर गाउँमा होमस्टे सन्चालनमा ल्याउनु पर्दछ । गाउँघरको सरसफाई निर्माण भएका सडकको मर्मत संभार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ । गाउँमा नयाँ मानिसहरु पुग्दा खाने बस्ने सुबिधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । ग्रामीण पर्यटनको विकास गर्न स्थानीय सरकारले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र जखेरा तालमा ग्रामीण पर्यटनको विकास हुन सक्दछ ।
मिती ः– २०७५ माघ ८ गते दाङ