कालिञ्चोक अब केवुलकारमा सरर….

के.बि मसाल19198402_2033021870260759_1647743086_n
पर्यटन क्षेत्रको पुर्वाधार विकास हुदै गए पछि दोलखाको कालिञ्चोक भगवती मन्दिर तीर्थाटन पर्यटकहरुको लागि आकर्षक गन्तव्य भएको छ ।kalinchok-cabule-car

दोलखा पुरातात्विक एवम् पौरानिक ऐतिहासिक महत्व भएका धार्मिक, प्राकृतिक, जैविक एवं जलश्रोतको धनि जिल्ला मानिन्छ । जुन कारणले पर्यटकहरुलाई आकर्षित गर्ने धेरै ठाँउहरु रहेका छन् । दोलाखा पुगेपछि पर्यटकहरुको रोजाइमा पर्दछ कालिञ्चोक भगवती मन्दिर । कालिञ्चोक भगवतीको मन्दिरमा पुगेपछि पर्यटकहरु हिमालको छेउमा उभिएको महसुस् गर्दछन ।

काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिर आजभोली केवुलकार सन्चालनमा आएको छ । केवुलकार सन्चालनमा आएपछि कालिञ्चोक भगवतीको मन्दिरमा तीर्थाटनका पर्यटकहरुको भिड लाग्ने गरेको छ । केबलकारमा ४ ओटा डब्बा रहेका छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता रहेको छ । पहिला कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नु पर्ने थियो । कतिपय तीर्थाटनका पर्यटकहरु उकालो चढन नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका थिए । अहिले केबलकारको. स्टेशनबाट मन्दिरसम्म पुग्न पाँच मिनेट मात्र लाग्दछ । केबलकारबाट कुरी बजार र हिमालका मनोरम दृष्य नजिकबाट नियाल्न सकिन्छ ।download

कालिञ्चोक मन्दिर परिसर ३ हजार ८ सय ४२ मीटरको उँचाईमा रहेकोे छ । कालिञ्चोक प्राकृतिक सुन्दरताको हिसाबले पनि महत्वपूर्ण रहेको छ । शिव पार्वतीको क्रिडा स्थलको रुपमा रहेको विश्वास गरिन्छ । कालिञ्चोक भगवती काभ्रेको पलानञ्चोक भगवती र काठमाडौंको शोभा भगवती दिदी बहिनीको रुपमा मानिन्छ । मन्दिर परिसरको कुण्डमा सधै पानी रहने गरेको छ । कालिञ्चोक भगवती मन्दिर तीर्थाटनको लागि मात्र होइन मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ । मन्दिर परिसरबाट गौरीशंकर हिमाल मात्र होइन लाङटाङ हिमश्रृंखलाको काखैमा उभिएको महसुस गर्न सकिन्छ । मन्दिरको टाकुराबाट रोल्वालिङ र लाङटाङ हिमश्रृखलाहरुका साथै सूर्योदय र सूर्यास्तको मनमोहक दृष्य हेर्न पनि पर्यटकहरु पुग्दछन ।

विनासकारी भूकम्पले कालिञ्चोकको टाकुराबाट पहिरो खसेको थियो । पर्यटकहरु भेला हुने टाकुरा पहिरोको जोखिममा परेपछि मन्दिरमा पुग्न डराउन थालेका थिए । कालिञ्चोक पुग्ने तीर्थाटनका पर्यटकहरु अब भने ती सबै कुरा भुल्ने भएका छन । कालिञ्चोक चरिकोटबाट पैदल सात घण्टा अथवा गाडीबाट १ घण्टामा पुग्न सकिन्छ । कालिञ्चोक पुग्नको लागि कुरीसम्म १८ किलो मीटर सडक बनेको छ । अहिले कालिञ्चोक पुग्न निजी सवारी साधन वा भाडाका जिपहरु रिर्जभ गर्न सकिन्छ भने कुरीबाट केवुलकारमा कालिञ्चोक मन्दिर पुगिन्छ । चारैतिर जंगल र भीरले घेरिएको कालिञ्चोक मन्दिर पुग्नको लागि कुरी देखि पैदल यात्रा पनि गर्न सकिन्छ । पैदल यात्रामा रमाउने पर्यटकहरुलाई अहिले ठाउँठाउँमा फलामका बार लगाइएकाले भीरबाट लडने डर पनि छैन ।1024px-Kuri_Bazzar

अहिले फुर्सदको समयमा घुमफिरको लागि धेरै मानिसहरु यात्रामा निस्कने गर्दछन । फुर्सदको समय र रुचि अनुसार आफ्नो भ्रमण स्थलको तय गर्दछन । त्यसैले पर्यटकहरु भ्रमणमा जादा तीर्थाटन, प्राकृतिक, सांस्कृतिक ऐतिहासिक र पुरातत्विक स्थलको खोजिमा हुन्छन । यस किसिमका सम्ंपदा पर्यटकीय क्षेत्रमा कहिलै पुराना हुँदैनन् । दोलखा पुग्दा आफ्नो भ्रमणको समय लम्बाउन चाहने पर्यटकहरुको लागि हाइकिङ अर्थात पैदल भ्रमण पनि गर्न सकिन्छ । आजभोली शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा हाइकिङ अर्थात पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । कालिञ्चोकमा राजधानीबाट सबैभन्दा बढी पर्यटकहरु पुग्ने गर्दछन । पर्यटकहरु कालिञ्चोक र भीमेश्वर मन्दिर दर्शनको प्याकेज नै बनाएर जाने गर्दछन । हिउँदमा बेला बेलामा पर्ने हिउँको मज्जा लिन पनि पर्यटकहरु कालिञ्चोक पुग्ने गरेका छन् । एक पटक परेको हिउँ कम्तिमा एक सातासम्म रहने गरेको छ । बसन्त ऋतुमा गुराँसका थरीथरीका फूलहरुले पनि पर्यटकहरुलाई लोभ्याउने गर्दछ ।Dolakha-Cable-Car-4

कालिञ्चोक जादा दोलखा बजार पुगेन भने पर्यटकको भूमणनै अधुरो मानिन्छ । दोलखा बजार ऐतिहासीक स्थल हो । दोलखामा प्रसिद्ध भीमेश्वर मन्दिर, त्रिपुरा सुन्दरी, महादेव, भगवती लगाएतका मठ मन्दिरहरु रहेका छन । बाईसे चौबिसे राज्यकालमा दोलखाबाट नेपालकै पहिलो चाँदीको सिक्का निस्कासन गरिएको थियो । दोलखा बजार प्रवेश द्वारमा राजा जयइन्द्रसिंह देवमा समर्पित ढोका निर्माण गरिएको छ । बजारमा कलात्मक आँखीझ्याल भएका घर र दरबार पनि छन् । यसबाहेक कुमारी घर, त्रिपुरा सुन्दरी, तलेजु भवानी, महादेव आदिका मन्दिर र ९ वटा चैत्य समेत पर्यटकहरुले अवलोकन गर्न सक्दछन । मठ, मन्दिर, पोखरीलगायत एक सय १४ वटा सांस्कृतिक सम्पदा रहेको दोलाखामा पर्यटकहरुले सबै संम्पदा अवलोकन गर्दछन । बजार प्रवेश गरेपछि देशमा सकंट पर्दा भीमेश्वर मन्दिरमा पसिना आउने कुराले गर्दा पर्यटकहरु भिमेश्वर मन्दिर पुग्न आतुर हुन्छन ।

दोलखाको भिमेश्वर मन्दिर ऐतिहासीक हो । त्रिभूज आकारको अमूर्त कालो शिलामूर्तिलाई भिमेश्वर, भीमसेन र भैरवको रुपमा पुजिन्छ । भिमेश्वरलाई एक शीला तीन अबतारको रुपमा हेरिन्छ । भिमेश्वरको मूर्तिलाई महादेव पशुपतिको रुपमा मान्ने र रुद्री पूजा गर्ने गरिन्छ । अर्को तर्फ भीमसेन र भैरवको रुपमा वली पूजा समेत गरिन्छ । भीमेश्वर भीमसेनको मूर्ति कहिले कसले स्थापना गरेको हो एकिन गर्ने आधार भेटिएको छैन । तर यस ऐतिहासिक मन्दिरको स्थापना किरातकालमा भएको अनुमान छ । यो बाहेक दोलाखामा हरियाली पार्क, दाईगर्ने डाँडा आदि पनि पर्यटकहरुले अवलोकन गर्ने महत्वपूर्ण स्थल रहेका छन् । दोलखामा रथ तान्ने जात्रा, खडग जात्रा जस्ता ऐतिहासीक जात्राको समयमा पुग्ने पर्यटकहरुका लागि झनै रमाइलो हुन्छ । सदरमुकाम चरिकोटबाट चार किलो मीटरको दुरीमा रहेको दोलखा पुग्न सवारी साधनबाट १५ मीनेट र पैदल करिब ४५ मिनेट लाग्ने गर्दछ ।e8bc38c10c06f4104a8ba0273522f4e01518779909

दोलखा पुगेपछि पुग्नै पर्ने स्थान हो शैलुङ । शैलुङ दोलखाको महत्वपूर्ण प्राकृतिक पर्यटकीय सम्पदा हो । सय वटा थुम्का भएको शैलुङ धार्मिक महत्व समेत रहेको छ । सत्य युगमा शैलुङको हरेक थुम्कोमा ऋषिमुनिले तपस्या गरको विश्वास स्थानियको रहेको छ । शैलुङबाट पनि थुप्रै हिमश्रृखलाहरु देख्न सकिन्छ । शैलुङ पुग्न सिन्धुपाल्चोकको मूडेहुदै खोलाखर्कसम्म गाडिमा गएर करिब २० मीनेट पैदल यात्रा गर्न पर्दछ । पुस माघमा हिमपात हुने भएकोले शैलुङमा फागुन देखि जेष्ठसम्म र असोज देखि मङसीरसम्म पुग्न पर्दछ । शैलुङमा हरेक १२ बर्षमा गोदावरी फुल्ने मेला समेत लाग्ने गर्छ भने पाप गरे नगरेको थाहा पाउन धर्म ढोका समेत रहेको छ ।

दोलखाको लामाबगर विशेष गरी जलश्रोत पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बनेको छ । लामाबगरमा ४ सय ५६ मेगावाटको जल विद्युत आयोजना बन्दै छ । त्यसैगरी ८७ मेगावाटको तामाकोसी पाँचको समेत अध्यन सुरु भएको छ । विगतमा छोटी भन्सार कार्यालय समेत रहेको लामाबगर चिनको तिब्बतसंग जोडिएको छ । लामाबगरमा विश्वकै प्रसिद्ध लप्ची गुम्बा समेत रहेको छ । लप्ची गुम्बामा हरेक १२ बर्षमा लाग्ने मेलामा विश्वका बिभिन्न मुलुकबाट बुद्धिष्टहरु पुग्ने गर्दछन् । लामाबगरकै गोंगरमा स्वस्थानी ब्रत कथामा उल्लेख भएको महादेवले सती देवीलाई खरको भित्ता च्यातेर कैलाशको दर्शन गराएको ठाँउ समेत रहेको छ । जसलाई देउलाङगेश्वर महादेव भनिन्छ । देउलाङगेश्वर महादेवको दर्शन गर्दा रोगव्याधि नलाग्ने, बच्चा नहुनेको बच्चा हुने, चिताएको कुरा पुराहुने विश्वास गरीन्छ । चरिकोटबाट ६८ किलो मीटरको दुरीमा रहेको लामाबगरमा बसको यात्राबाट करिब ४ घण्टामा पुग्न सकिन्छ ।images (1)

सगरमाथा प्रवेशद्वारको रुपमा पनि मानिने जिरी उपत्यका दोलखा जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । स्वीटजरल्याण्डको जुरीक नामले चिनिने जिरी दोलखाको दोस्रो प्रमुख बजार हो । जिरीको चिज र चिया प्रख्यात रहेको छ । स्वीस सरकारले एकिकृत विकास योजना अन्र्तगत जिरी प्राविधिक शिक्षालय, पशु विकास फार्म, जिरी अस्पताल, चिज उद्योग आदिको विकास गरीदिएकोले पनि जिरी आर्थिक हिसाबले समेत महत्वपूर्ण रहेको छ । सगरमाथाको प्रवेशद्वार भनिने जिरी पुग्न चरिकोटबाट ५६ किलो मीटर वस यात्रा गर्नु पर्ने हुन्छ । जिरी उपत्यका मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । जिरी उपत्यकामा सीमान्तकृत जिरेलहरुको बसोबास रहेको छ । सगरमाथा आरोहणमा जानेहरु र सगरमाथा क्षेत्रमा जाने पैदल यात्रीहरु जिरी हुँदै जाने गरेका छन् । विशेष गरी विदेशी पर्यटकहरु रोल्वालिङ क्षेत्र घुम्न जिरीको सिंगटी हुँदै जाने गर्दछन् । जिरी आसपासका चेर्दुङ र हनुमन्तेबाट रोल्वालिङ क्षेत्रका हिमालहरु, दोलखा र रामेछापका अधिकांश गाउँहरु देख्न सकिन्छ ।

जिरी पुगेपछि प्रकृति प्रेमी पर्यटकहरुलाई चेर्दुङ डाँडा पुग्नै पर्दछ । चेर्दुङ डाँडा जिरीको उत्तरी भेगमा रहेको सुन्दर रमणिय ठाउँ हो । चेर्दुङ डाँडा जानका लागि जिरी बजारबाट ४ घण्टाको पैदल यात्रा गर्नु पर्दछ । जिरी बजारबाट उकालो चढदै बोत्ले, सालङदिङ, दोलाङसा, पटसे, क्याङ पोखरी हुँदै चेर्दुङ डाँडा पुग्न सकिन्छ । चेर्दुङ डाँडाबाट गौरीशंकर हिमाल, तामेडाँडा, हनुमन्ते डाँडा, सिगटी, जिरिबजार, पिके डाँडा, शैलुङ डाँडा, सगरमाथा हिमाल, रोल्वलीङ हिमश्रृङ्खला, काठमाडौं उपत्यका, कालिञ्चोक भगवती लगायतका ठाउँहरुलाई एकै स्थानबाट अवलोकन गर्न सकिन्छ ।jiri

च्छोरोल्पा हिमताल दोलखाको रोलवालिङ्ग उपत्यकामा रहेको छ । पदयात्राका लागि अति रोमाञ्चकारी स्थलको रुपमा च्छोरोल्पा हिमताल मानिन्छ । यस उपत्यकालाई साहसिक पैदल यात्राको लागि प्रख्यात मानिन्छ । च्छोरोल्पामा विदेशी पर्यटकहरु पुग्ने गर्दछन । यो हिमताल नेपालकै ठूलो हिमताल हो । यो हिमताल समुद्र सतहबाट चार हजार ५ सय ८० मिटरको उचाईमा रहेको छ । सन् १९९७ मा लिएको भू–उपग्रहीय नक्सा अनुसार च्छोरोल्पा हिमताल १.६५ वर्ग किमीसम्म फैलिएको छ । हिमतालको गहिराइ १३५ मिटर रहेको र हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ । गौरीशंकर हिमाल दोलखा र चीनको सिमानामा रहेको छ । रोल्वालिङ हिमाल श्रृखलामा पर्ने गौरीशंकर हिमाल महत्वपूर्ण हिमाल मानिन्छ । हिन्दू धर्मावलम्बीहरुको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिबन्ध छ । गौरीशंकर हिमाललाई आधार मानी नेपालको प्रमाणिक समय निर्धारण गरिएका कारण पनि यस हिमालको महत्व अझ बढेको छ ।

दोलखा पुगे पछि हलेशी महादेव पुग्नै पर्दछ । दोलखा लामा गाउँमा रहेको हलेशी महादेव महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल हो । साउन महिनाको जनै पुर्णीमा यस हलेशी महादेवमा ठूलो मेला लाग्छ । यस ठाउँबाट चेर्दुङ डाँडा, ठोसो खोला, तामेडाँडा लगायतका प्रकृतिले मनमोहक ठाउँको अवलोकन गर्न सकिन्छ ।best-time-to-visit-Kalinchowk

दोलखा नामाकरण
भारतवाट आएका एक जोगी गौरीशंकर हिमालको काखमा रहेको एउटा गुफाभित्र तपस्या गर्न थाले । भगवान शिवबाट बरदान प्राप्त गरेपछि जोगी खुसी भए । जोगीले खुसीको क्षणमा एकपटक सबैतिर चक्कर लगाएर आउँछु भनि हिँडे । तर उनी जति घुमे पनि त्यही गुफामा पुग्दथे । एवम रीतले दुई लाख पटक चक्कर मार्दा पनि अन्यत्र कहीं पुग्न नसक्दा पहिले आफूले तपस्या गरेको गुफामा आइ बस्न थालेछन् । यसरी दुई लाख पटक घुम्दा पनि त्यही स्थानमा आएकाले सो स्थानलाई दोलाख भनिन थालियो र पछि दोलाख शब्दको अपभ्रंस हुँदै दोलखा नाम रहेको मानिन्छ । सातौं शताब्दीमा भारतको बिहार र तिब्बतको व्यापार दोलखाको बाटो हुँदै हुने गर्दथियो । यो मार्ग खुलेपछि दोलखालाई वनगढ को रुपमा विकसित गरियो । त्यसपछि काठमाडौं उपत्यकाबाट ७०० नेवार परिवार झिकाइ त्यस ठाउँमा बस्ती बसाइयो । यसरी बस्ती विकास भएपछि वनगढबाट वार्षिक २ लाख प्राप्त हुने भएकोले यसको नाम दुई लाखा रहन गयो । पछि दुइलाखाबाट दोलाखा र दोलाखाबाट दोलखा नाम रहन गएको भन्ने भनाइ पनि छ । अर्को तर्फ तिब्बती भाषामा दो को अर्थ ढुङगा ल को अर्थ मन्दिर र खा को अर्थ घर हुनेहुँदा दोलखामा ढुङगाबाट बनाइएको मन्दिर र घरहरु भएकोले जिल्लाको नाम दोलखा रहन गएको मानिन्छ ।

काठमाडौंदेखि १ सय ३४ किलोमिटरको यात्रामा दोलखा बजार पुगिन्छ । दोलखा जिल्लामा भ्रमण गर्दा खानबस्नको असुबिधा हुदैन । सदरमुकाम चरिकोट, जिरी, कालिञ्चोक, दोलखा, लामाबगरमा बास बस्न होटलको लागि पाँच सय देखि दुई हजारसम्ममा प्रति दिन कोठा पाउन सकिन्छ भने खानाको मासु सहित दुई सय देखि दुई सय ५० रुपैयासम्म तिर्नुपर्ने हुन्छ ।

मिती ः– २०७५ माघ २ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *