पर्यटकको हब सिङगा तातोपानी
के.बी.मसाल
अन्नपूर्ण पदमार्ग नेपाल आउने पर्यटकहरु लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी हुदै पोखरामा पुगेपछि आफ्नो पदयात्रा सक्दछन् । यो पदमार्ग अन्नपूर्ण हिमाल क्षेत्रमा पर्दछ ।
अन्नपूर्ण पदमार्ग यात्रा गर्दा पर्यटकहरुले अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत धौलागिरी, माछापुच्छ्रे, जूलू पिक, पिसाङ पिक, निलगिरी हिमाल र तिलिचो पिक जस्ता हिमालहरुको दृष्यावलोकन गर्दै यात्रा गर्दछन् । आजभोली विदेशि मात्र होइन अन्नपूर्ण पदमार्गमा स्वदेशी पर्यटकहरु पनि यात्रा गर्दछन । अन्नपूर्ण पदमार्गमा विशेषगरी अष्ट्रेलिया, इजरायल, जर्मनी, फ्रान्स, बेलायत, अमेरिकाका पर्यटकहरुले यात्रा गर्दछन् ।
अन्नपूर्ण पद यात्रा गर्ने पर्यटकहरुलाई आजभोली म्याग्दी जिल्लाको सिङगा र भुरुङ तातोपानी उपचार केन्द्रको गन्तब्य भएको छ । धेरै दिन सम्म हिमाली क्षेत्रमा पद मार्गमा यात्रा गर्दा युरीक एसिड, बाथ, ढाड दुख्ने, घुडा दुख्ने, स्किन एलर्जि, यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकहरुले म्याग्दीमा पुगेपछि तातोपानीले गर्ने गरेका छन् । वैज्ञानिक आधार त केहि छैन । तर, कतिपय उपचारको प्रयोग मानवीय अनुभवकै आधारमा विश्वास हुने गरेको छ । चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोगीहरु को लागि उचित गन्तव्य भएको छ तातोपानी । म्याग्दी जिल्लामा १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिकतातोपानीका मुहान रहेका छन् ।
मनाङ जिल्लाको थोराङ क्रस गरेर मुक्तिनाथ, झोमसोम हुदै म्याग्दीको भुरुङ तातोपानी आई पुग्ने बित्तीकै पर्यटकहरु तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटकहरु त थकाई मेटाउन घण्टौ सम्म कुण्डमा डुबुल्की मारि रहन्छ । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला,चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता कठिन रोग निको हुने जन विश्वासका कारणले पनि पर्यटकहरु तातोपानीमा नुहाउछन । भुरुङ तातोपानी पर्यटकीय स्थलका रुपमा विकास भएको छ । भुरुङ तातोपानीबाट केहि पर्यटक शिख घारको उल्लेरीको उकालो चढदै म्याग्दीको घोडेपानीमा रहेको पुनहिल तर्फ जान्छन भने केहि कालिगण्डकीको किनार किनारै म्याग्दीको सदरमुकाम वेनी निस्केर ढोरपाटन जाने पनि गर्दछन । अन्नपुर्ण पदयात्रामार्ग अन्र्तगत पर्ने म्याग्दीको घोडेपानीमा पर्यटकहरुको लागि आकर्षणको केन्द्र विन्दु मानिन्छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम
भुरुङ तातोपानीको आसपासमा पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरुले आफूलाई पायक पर्ने मुहानमा नुहाउने गर्दछन । तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर गोलाकार बनाइएको छ । मुक्तिनाथ जाने बाटोमा पर्ने भएकोले भुरुङ–तातोपानी तप्तकुण्डमा तीर्थाटन पर्यटकहरुले समेत नुहाउने गर्दछन । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तिर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरु पुग्ने गर्दछन ।
आजभोली सिङगा तातोपानी प्राकृतिक चिकित्सालयका रुपमा परिचित हुन थालेको छ । तातोपानी कुण्डमा नुहाउन विदेशि पर्यटकहरु मात्र होइन आन्तरिक पर्यटक र प्राकृतिक उपचारको लागि समेत मानिसहरु पुग्ने गरेका छन । तातोपानीको कुण्डमा डुबुल्की मारेपछि हाडजोर्नी र चर्मरोगबाट आराम हुने गर्दछ । प्रकृतीक मुलको ५० डिग्री सेल्सियस तातोपानी कुण्डमा जम्मा गरिएको छ । बिरे नुनको गन्ध आउने कुण्डको पानीमा एक हप्तासम्म नियमित स्नान गरेमा हाड जोर्नी, चर्म, ग्याष्ट्रिक र नशासम्बन्धी रोग निको हुने जनविश्वास रहेको हुनाले मानिसहरु तातोपानी कुण्ड जाने गर्दछन । उपचारको लागि प्राय असोज महिनाको पहिलो सातादेखि मङसिरको दोस्रो सातासम्म तातोपानी कुण्डमा नुहाउने प्रचलन छ । चिसोका कारण मानिसहरुलाई विभिन्न किसिमका रोगहरुले सताउँछ । खासगरेर बाथ, ग्याष्टिक, चर्मरोग तथा नसा सम्बन्धी रोग, सडकेको, मर्केको र बज्रेको जस्ता रोगहरुले चिसो याममा बढी दःुख दिन्छन् । यी रोगले सताएका बेला तातोपानीको कुण्डमा नुहाउने प्रचलन छ ।
पर्यटकहरुलाई सुविधा दिन तातोपानी कुण्डको नजिकमा तातोपानीका धारा पनि छन् । ती धारामा नुहाउने र पिउनेपानी भर्ने गरिन्छ । तातोपानीको कुण्ड ४१ फिट लम्बाई र २१ फिट चौडाइमा निर्माण गरिएको छ । कुण्डमा ४०० जनाले एकैसाथ नुहाउन सक्दछन । सिङगा तातोपानी कुण्डको तापक्रम पोखरीमा ४५–४८ डिग्रीसेल्सियस सम्म छ भने मूलमा ५४–५७ डिग्रीसेल्सियससम्म रहेको छ । कुण्डमा रोगीको अवस्था हेरेर हप्ता दिनदेखि दुईहप्तासम्म नुहाउने गरिन्छ । तातोपानीमा गन्धकको गन्ध र बीरेनुनको विशेष किसिमको स्वाद आउँदछ । गन्धक आफैमा एक प्राकृतिक एन्टियोबायोटिक भएको हुनाले एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्न दिंदैन । त्यसकारण तातोपानीकुण्डमा स्नान गर्दा एक जनामा भएको रोग अर्कोमा सर्ने सम्भावना हुँदैन । तर हाइ ब्लड प्रेसर हुने र विविध कारणले रिङटा लाग्नेहरुले तातोपानी कुण्डमा स्नान गर्दा विशेष ख्याल गर्नु पर्दछ ।
धवलागिरी र गुर्जा हिमाल आरोहण गर्न आउने पर्वतारोही र ढोरपाटन भ्रमणमा जाने पर्यटकहरुले सिङगा तातोपानी मात्र होइन बाटोमा मुदीको फल्तीखेत तातोपानी कुण्डमा समेत नुहाउन पाउछन् । म्याग्दी जिल्लाको उत्तर–पश्चिममा पर्ने धवलागिरी गाउँपालिका ३ मुदीको फल्तीखेत बगर भन्ने ठाउँमा म्याग्दी खोलाको किनारमा तातोपानीको कुण्ड छ । पर्यटकहरुकै लागि धौलागिरि गाउँपालिका गुर्जा गाउँमा आमा समूहले तातोपानीको नुहाउने घर निर्माण गरेका छन । म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको गुर्जामा पर्यटकहरु गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा जाने गर्दछन । गुर्जा गाउँ म्याग्दीको अल्पसंख्यक छन्त्याल जातिको बसोबास रहेको गाउँ हो । गुर्जा गाउँलाई कसैले जोकको रुपमा टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन पनि भन्ने गर्दछन । गुर्जा, चुरेन र पुथा हिमालको फेदीमा रहेको गुर्जा गाउँबाट सबैभन्दा नजिकको मानव बस्तीमा पुग्न कम्तीमा ८ घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । गुर्जा गाउँलाई जीवित मानव संग्रहालय पनि भन्ने गरिन्छ ।
गुर्जा गाउँ पर्यटकलाई मन पर्ने गाउँमा पर्दछ । गुर्जा गाउँमा १ सय ४२ घर परिवारले बसोबास गर्दछन । गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति चिहाउन सकिने आँखीझयाल पनि हो । परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति अनि सरल र मिजासिला अल्पसंख्यक छन्त्याल समुदायको बसोबास गुर्जा गाउँमा पर्यटकहरु पुग्दछन ।
गुर्जालाई यार्सागुम्बा, रातो च्याउ, सतुवा र जडिबुटी समेत पाइने भएकोले भएकाले गुर्जा गाउँलाई हर्बल हब पनि भन्ने गरिन्छ । गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथा र चुरेन हिमालको बेस क्याम्पको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ । बेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरि बेस क्याम्प पुग्न सकिने भएकाले एडभेन्चर ट्रेल हब’ का रुपमा पनि परिचित हुन थालेको छ ।
गुर्जाबाट दलसिंगे खर्क, भुजुंगेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्ग पर्दछ । यो रुटमा यार्सागुम्बा पाइने मुख्य क्षेत्र पर्ने भएकाले पदमार्गको नाम यार्सा ट्रेल राखिएको हो । गुर्जा गाउँ समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाईमा रहेको छ । गुर्जा गाउँ हिउँदका चार महिना बाक्लो हिउँले ढाक्दछ । गुर्जागाउँ पुग्न म्याग्दीको लुलाङ, मुदी गाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीनवटा बाटो रहेका छन । यी सबै बाटामध्ये जुनबाट यात्रा गरे पनि जंगलको बाटो यात्रा गर्नु पर्दछ । गुर्जा गाउँ पुगेपछि पर्यटकहरु ढोरपाटन पुग्ने गर्दछन । ढोरपाटनमा शिकार आरक्षण रहेको छ । धौलागिरी हिम श्रृङखलाको सेरोफेरोमा यो आरक्षणले प्रत्येक बर्ष हजारौ पर्यटकलाई आकर्षण गराएको छ ।
नेपाल भित्र रहेका कुल १५ आरक्षण मध्ये ढोरपाटन आरक्षणको प्राकृतिक बनावट र त्यस भित्र रहेका जैविक विविधता, ३२ जातीका स्तन धारी बन्यजन्तु, १ सय ३० जातिका चराचुरुङगिहरु, १ सय ८५ जातका दुर्लभ बनस्पति तथा नावर, झारल, हिमचितुवा, घोरल, बदेल, भालु, हिमलङगुर बादर, हिमाली कालो भालु, भुक्ने मृग आदी जनावर ढोरपाटनमा पाइन्छ ।
ढोरपाटन पुथा, चुरेन र गुर्जा हिमालको प्राकृतीक सुन्दरताको काखमा रहेको छ । ढोरपाटन सामुन्द्रिक सतहबाट २ हजार ८ सय ५० मिटर देखी पाच हजार पाचसमय मिटर सम्मको उचाईमा फैलिएको छ । लालीगुरासको फुलले सजावट हुने चैत्र, बैशाख महिनामा गोवे्रसल्ला, भोजपत्र, ठिङगे्र सल्ला, सिदुर, धुपी सल्ला र देवदारका वनष्पती ढोरापाटनमा पाइन्छ ।
प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र बन्यजन्तु शिकारको रोमाञ्च अनुभुती लिनको लागि पर्यटकहरु ढोरपाटन पुग्दछन । त्यहा पुग्ने विदेशि अथवा स्वदेशि कुनै पनि पर्यटकहरुलाई त्यहाको प्राकृतिक र सांस्कृतिक सजावटले मनमुग्ध बनाउछ । ढोरपाटनमा अहिलेसम्मको तथ्याङक अनुसार विदेशि पर्यटकहरुमा अमेरिकी, फ्रान्सेलि, स्पेनि, बेलायती र रुसी नागरिकहरु शिकार खेल्न गएका छन । ढोरपाटनमा सरकारले बन्यजन्तुको शिकार खेल्न सशुल्क अनुमति दिने गरेको छ । ढोरपाटनमा शिकार खेल्न विदेशी पर्यटकहरुलाई दुर्लभ मानीने निलो नाउर शिकार खेल्न ८० हजार र नेपाली नागरिकका लागि जनावर हेरी कम्तिमा ५ हजार रुपैया राजश्व तिर्नुपर्दछ ।
ढोरपाटन क्षेत्रमा झनु ताल पनि छ । त्यस तालको पानीबाट उत्तर गंगा अर्थात सानो भेरी नामबाट रुकुम जिल्ला प्रबेशगरी टकसेरा, कोल, नाथिगार, माछीमी, सिम्ले हुदै भेरी नदीमा मिल्दछ ।
अर्को रुद्र तालको पानी वाग्लुङ र गुल्मी जिल्लाको सिमा बन्दै बडीगाडको नामले रुद्रवेणी पुगेर कालिगण्डकीमा मिसिन्छ । वरीपरी हिमाली दृष्य हिमालको काखमा राता डाँडा त्यसमुनि हरीयो जङगल, जङगल मुनी मैदानी भाग अनि बस्ती र कन्चन पानीका स्वच्छ नदीको प्राकृतिक उत्तम उपहार पाइन्छ ढोरपाटनमा । यिनै कुराले गर्दा पर्यटकहरु ढोरपाटन रमाउने गर्दछन ।
ढोरपाटनको अर्थ फराकिलो ठाँउ हो । ढोरपाटनके अर्को नाम हो बादलपारीको गाँउ । ढोरपाटनको उत्तर तर्फको गर्पा डाडाबाट कास्क,ी म्याग्दी, बाग्लुङ, गुल्मी, पाल्पा, रुकुम आदी जिल्लाका धेरै भूभाग देख्न सकिन्छ । त्यसैगरी उत्तर तर्फका हिमाल, चुरेन पुठा, हिम चुली, गुर्जा हिमाल, सिस्ने हिमाल, धौलागिरी हिमाल, माछापुच्छे्र, निल गिरी, अन्नपुर्ण हिमाल एकै ठाँउबाट देख्न सकिन्छ । ढोरपाटन क्षेत्रमा हिमाल मात्र होइन । पार्मी ताल, मान्द्रे ताल, जाल्पा ताल, पुठातालले पनि पर्यटकहरुलाई आकर्षित गराउछ । ढोरपाटन पुग्ने पर्यटकहरुले धेरै प्राकृतिक विविधताको अध्ययन गर्न पाउछन ।
नेपालमा हिमश्रृखलाहरु हरियाली, जैविक विविधता अनि ऐतिहासिक सास्कृतीक सम्पदा हेर्न पर्यटकहरु आउने गर्दछन । हरेक वर्ष नेपालमा हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, तीर्थाटन गर्न पर्यटक आउने गर्दछन ।
प्राकृतीक सम्पदाले हामी एकदमै धनी भएपनि धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउ जानु पर्दछ । ती ठाउहरुमा सहज यातायातको साधन उपलब्ध हुदैन । खाना बस्नको लागि उचित होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको समेत उचित प्रबन्ध छैन । पर्यटनको विकास गर्न अब सरकारले पर्यटनको विकासमा पुर्वाधारको विकास गर्न जरुरी छ ।
सिङगा, सदरमुकाम बेनी बजारदेखि ९ किलोमिटरको दुरीमा पर्दछ । काडमाठौबाट सिङंगा तातोपानी सम्म २ सय ९७ कि.मी र पोखराबाट ९२ कि.मी.को दूरीमा रहेको छ । म्याग्दीमा सिङगा र भुरुङ, वाहेक दोवा, दाना, घार, शिख, मुदी र दग्नाम गाउँमा पनि तातोपानीका कुण्ड छन ।
मिति ः – २०७५ भाद्र १८ दाङ