पाँचपोखरी पुग्नै पर्ने ठाउ हो

19198402_2033021870260759_1647743086_nके.बी.मसाल
नेपालमा पर्यटकहरुलाई घुमघाम गर्ने धेरै स्थलहरु छन । हिमालको काखमा रहेका कतिपय ताल, पोखरी र प्राकृतिक सुन्दरताले पर्यटकहरुलाई मोहित बनाउछ ।31890932_1575230775919805_9203086352264986624_n पर्यटकहरुले भ्रमणको बेला विभिन्न जातजातिका, धर्म, संस्कृति र जीवनशैलीको अध्यन गर्न सक्दछन । अर्को तर्फ यात्रामा विविधतापूर्ण मौसम, प्राकृतिक खोल्सामा कलकल गर्दै बग्दै गरेको पानी, पहाडबाट खसेको झरना र हिमालको अवलोकन गर्न समेत सक्दछन । हिमाली भेगमा पुग्ने पर्यटकहरुले यो परिवेशलाई नै वरदान ठान्छन । नेपाल भन्ना साथ पर्यटकहरुले नेपालमा हिमालकै काखमा मानिस जन्मन्छ र हुर्कन्छन भन्ने सोच्छन ।

प्रदेश नम्वर ३ मा पर्ने सिन्धुपलाञ्चोक जिल्लामा दोर्जे ल्हक्पा र जुगल हिमालको काखमा रहेको पाचँपोखरी पर्यटकहरु का लागि गन्तब्य हो । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित भोताङ शिरमा पर्दछ । पाचँपोखरी समुद्री सतहबाट ४ हजार ३०० मिटरको उचाईमा रहेको छ । यो पोखरी इन्द्रावती नदीको उदगम् स्थल हो । प्राकृतिक र तीर्थाटनको महत्व बोकेको पाचँपोखरीमा प्रत्येक बर्षको जनै पूर्णिमामा ठूलो मेला लाग्ने गर्दछ । यो पोखरीको बारेमा स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ । जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।

पाँचपोखरी वरिपरि अग्ला टाकुराहरु र बिचमा पोखरीहरुको उपत्यका बनेको छ । तिनै अग्ला टाकुराको फेदबाट पानीका मूल फुटेर पोखरी बनेका छन् । पोखरीहरु भरिएको पानी झरना बन्दै र बग्दै इन्द्रावती नदीको सुरुवात भएको छ । 14191959_967888979987324_2316696910645090059_nपोखरीका वरिपरि फूलका बगैँचाहरु पनि छन् । अनेकन प्रजातिका ती रङ्गी–चङ्गी फूलहरु पाँचपोखरीका देवताले रोपेका हुन भन्ने बिस्वास गर्दछन । मौसम सफा भएका बेला सबै पोखरीमा निलो आकाश र त्यसका बादलहरु ऐनाजस्तै सजिएका देखिन्छन् । पूरै पोखरी घुम्न झन्डै एक घण्टा समय लाग्दछ । पाचँपोखरीमा आफू बसिरहेको डाँडामुन्तिर सेता गलैँचाजस्ता लाग्ने उडिरहने बादलका कारण आकाशभन्दा आफू माथि भएकोजस्तै कल्पना पर्यटकहरुले गर्दछन । चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण, सामुन्ने जुगल हिमश्रृखला । पाचँपोखरीको सुन्दर दृश्य कुनै शब्दमा बयान गर्न सकिँदैन ।

इन्द्रावती र ब्रम्ह्मायणी (बलेफी) नदीको उदगम स्थलका रुपमा रहेको पाँचपोखरीमध्ये सबैभन्दा ठूलो पोखरी सरस्वती कुण्ड हो । यो सरस्वती कुण्ड बीच भागमा पर्दछ । वैज्ञानिक रुपमा कुण्डको गहिराई मापन नभए पनि यसको चारैतिर परिक्रमा गर्न झण्डै एक घण्टा समय लाग्छ । यहाँका कुण्डमा दुई जोडी राजहाँस अटुट रुपमा रहेका हुन्छन । जुनसुकै मौसममा पनि यसरी जोडी राजहाँस रहनु यहाँको एउटा अचम्मको विशेषता मानिन्छ । यस क्षेत्रमा होहल्ला हुँदा, बाजागाजा बजाउँदा हिँउ पर्ने कुरामा पनि धेरैले विश्वास गर्दछन् । धेरै बर्ष अघि गोले थरका झाँक्री नाग कुण्डको नागद्धारा मृत्यु भएका कारण गोले थरका मानिसहरु नाग कुण्डमा जाने गर्दैनन् ।28166603_1489976764445207_8953483580388280994_n

पोखरीबाट करिब आधा घण्टा हिँडेर माथि डाँडामा पुगेपछि आँखै अगाडि हिमालहरु देखिन्छन् । अरु बेला प्राय शान्त रहने पोखरीहरुजनै पूर्णिमाका मेलामा भने भरिभराउ हुन्छन् । भगवान शिवको दर्शन गर्ने र पोखरीमा स्नान गरि जनै फेर्न तीर्थाटनका पर्यटकहरु को घुँइचो लाग्छ । पाचँपोखरी नजिकै शिवपार्वतीको मन्दिर रहेको छ । पाँचवटा पोखरीलाई तामाङहरुले जेठी, माइली, साइँली, काइँली र कान्छीको नाममा वर्गीकरण गरेका छन् । तर अन्यले भने भैरव, सरस्वती, गणेश, सूर्य र नागकुण्ड नामाकरण गरेका छन् । पाचँपोखरीमा तीर्थाटन पर्यटकहरुले सबैभन्दा ठूलो जेठी पोखरीमा फेरो लगाउँछन् । यो पोखरी अन्यको तुलनामा ठूलो रहेको छ । त्यसभन्दा अलि सानो माइली पोखरीलाई भने झाँक्रीहरुले फेरो लगाउँदैनन् । माइली पोखरीलाई भूत दहको रुपमा झाँक्रीहरुले लिने गर्दछन ।

पाँचपोखरी मन्दिरको स्थापना २ हजार ३ सय ३५ वर्षअघि सिकारी बुम्बा रुवा वाइबाले स्थापना गरेको पाँचपोखरीमा रहेको शिलालेखमा उल्लेख गरिएको छ । सिकारी बुम्वा सिकार खेल्न जाने क्रममा हिउँ पर्ने ठाउँमा धान रोप्दै गरेको दृश्य देखेछन । नजिक पुग्दा धान राप्ने महादेव रहेछन । महादेवले बुम्वा सिकारीलाई देख्ने वित्तिकै महादेवसहित धान रोप्न लागेका सबै खेताला अलाप भएछन् । त्यसपछि ती बुम्बाले सिकारको साथमा ल्याएको कुकुरको घाँटीमा लगाएको घन्टी फुकालेर त्यहाँ मन्दिर स्थापना गरेका रहेछन । अहिले सिकारी बुम्बाले महादेव देखेको डाँडामा स्तुपासमेत निर्माण गरिएको छ ।29472389_1520546274721589_1615359924487926017_n पाँचपोखरी मन्दिर किसानहरुको आस्थाको मन्दिर हो । किसानहरु मकै, काक्रो, दुध लिएर पाँचपोखरीमा चढाउन जान्छन् । महादेवसंग खेतीपातीमा उन्नतिको आर्शीवाद माग्छन् । गाईवस्तु दुहुनोहोस, गोठमा गाइवस्तु बढोस भनेर वर माग्छन् । सन्तान प्राप्ति नभएकाहरु पनि मन्दिर पुगेर सन्तानको लागि आशिर्वा माग्दछन ।

शिवले सतीदेवीको मृत शरीरलाई बोकेर हिंडदा सतीदेवीको सम्पूर्ण शरीर पतन पश्चात् शिवले उत्तरापन्थमा तपस्या गर्न जादा सिंहमती नदीको शिरमा एक पाइला टेकेपछि त्यस ठाउमा पादुका आकारको सानो सिर्जना भयो । सिंहमती नदी झ्याडी खोलाको नामले परिचित छ । त्यसैगरी नौलिग डाडाको उत्तरपूर्वको सामुन्ने डाडामा शिवले पाच रात उपवास बसी पाचवटा दहमा नुहाएको हुदा पाचपोखरी नामकरण भएको भन्ने भनाइ छ । पाचपोखरीमा विश्वामित्र र श्रृगी ऋषिले तपस्या गनुभएको थियो भन्ने धार्मिक किंवदन्ती पाइन्छ । ऐतिहासिक दृष्टिकोणबाट पनि पाचपोखरी महत्वपूर्ण मानिन्छ । रणबहादुरकी जेठी महारानी राजेश्वरीले हेलम्बुमा तीन बर्षसम्म निर्वासित जीवन बिताउनुभएको थियो भने प्रधानमन्त्री भीमसेन थापा लखेटिदा पनि यसै स्थानमा बस्नुभएका थियो । भीमसेन थापाले चलाएको पाचँपोखरी जाने तीर्थाटनका पर्यटकहरुलाई दही, चिउरा खुवाउने चलन अझै पनि कायमै छ ।Capturkl

काठमाडौैंको जोरपाटीबाट पाँचपोखरी यात्रा सुरु हुन्छ । जरसिंहपौवा हुँदै करिब तीन घण्टामा मेलम्ची पुगिन्छ । सिन्धुपाल्चोक जिल्लाको एउटा व्यापारिक केन्द्र हो मेलम्ची । अहिले स्वदेशी पर्यटकहरुको लागि विदाको दिन विताउने र धुमघाम गर्ने गन्तब्य बन्दै गएको छ । मेलम्ची खानेपानि आयोजनाले धेरै पर्यटकहरु पुग्ने गर्दछन । मेलम्चीमा पर्यटकहरुलाईनै लक्षीत गरी सुविधासम्पन्न होटल, लज तथा खाजा घरहरु रहेको छन । काठमाण्डौ, बनेपा, धुलिखेल, पनौति, साँखु लगएतका ठाउँवाट पर्यटकहरु शुक्रवार जाने र शनिवार फर्कने गर्दछन । काठमाण्डौवाट ७२ किमि मात्र रहेको मेलम्चीमा वजार संगै जोडिएको खोला, रमणिय वातावरण भएकोले आन्तरिक मात्र नभई वाह्य पर्यटकको लागि पनि आकर्षक गन्तव्य हुदै गएको छ । मेलम्चीवाट पाचपोखरी, हेलम्वु, अमिलो पानी, जुगल हिमाल, लाङटाङ राष्ट्रिय निकुन्ज लगाएकातका ठाउँ र रसुवाको गोसाईकुण्ड, नुवाकोटको शिवपुरी राष्ट्रिय निकुञ्ज जस्ता ठाउँहरुमा साहसिक पदयात्राको लागि विदेशि पर्यटक मेलम्ची हुदै जाने गर्दछन ।

मेलम्ची हुँदै इन्द्रावतीको किनाराबाट ज्यामिरे, लाँगचे, भोलेनाम्लाङ, थाङपालधाप, थाङपालकोट र भोताङ हुँदै दुई दिनको पैदल यात्रामा पाचँपोखरी पुग्न सकिन्छ । यात्रामा सिन्धुपाल्चोक आसपासका जिल्लाका र राजधानीबाट पाचँपोखरी जाने पर्यटकहरु भेटिन्छन । फाट्टफुट्ट विदेशी पर्यटकहरु पनि यात्रामा देखिन्छ । मेलम्चीमा खाना खाएपछि अर्को बसमा यात्रा गर्नु पर्ने हुन्छ । 27973423_1483531341756416_9202069212182606798_nत्यो बस तिपेनीसम्म पुग्छ । अनि सुरु हुन्छ पदयात्रा । पहिलो दिन मानेखर्क हुँदै भोताङ बास बस्न सकिन्छ । दोस्रो दिनदेखि शुरु हुने ठाडो उकालो र जगलै जगलको यात्रा केही कष्टकर रहे पनि प्राकृतिक सौन्दर्यले दुःख बिर्साउँछ । यो रुटमा आमा याङग्री, ड्रागन गुफा, हवेली, नागी डाँडा, रैथानेश्वरी हेर्नलायक स्थान पर्दछन । भोताङ बजारबाट उकालो लागेपछि बीचमा पाइने चौँरी गोठबाहेक वासको विकल्प अरु छैन । भोताङभन्दा माथि बस्तीहरु खासै छैनन् । ठाउँ–ठाउँमा गोठहरु छन । जहाँ चिया, चाउचाउ, आलु खान पाइन्छ । यात्रामा झोलुंगे पुल प्रशस्त भेटिन्छन् । यात्रा भरि इन्द्रावतीले सँगसँगै पछयाइरहन्छ । जति माथि गयो, इन्द्रावती नदीको पानी कञ्चन सेतो देखिँदै जान्छ ।

पाचँपोखरी गन्तव्य जती नजिकिदै जान्छ उत्तिकै चिसो बतास चल्न थाल्छ । सुन्दर दृष्यहरुले पर्यटकहरुलाई थकाइ भने महसुस हुँदैन । पाँचपोखरी पुग्नै लाग्दा लौराहरुको थुप्रो देखिन्छ । त्यहाँ आफूले टेकेर गएको लौरो फ्याँक्ने प्रचलन छ । पहाडहरुको बीचमा अवस्थित छ पाँचपोखरी । चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण र एकै स्थानमा पाँचवटा पोखरी देख्दा पर्यटकहरु रमाउने गर्दछन । प्रकृतिले सजाएको अनुपम भू–सौन्दर्यले पर्यटकहरु अचम्म मान्दछन । पाँचपोखरीको छेउमा शिव पार्वतीको मन्दिर । छिन छिनमै परिवर्तन भैरहने मौसम । विशाल घाँसे मैदान वरीपरी फूलेका रंगीविरंगी फूलले पाचँपोखरी पुग्ने पर्यटकहरुलाई मोहित बनाउछ । गुराँस फुल्ने याममा यहाँका सबै पाखा रातै हुन्छन् । सेतो गुराँससमेत पाँचपोखरी जादा यात्रामा देखिन्छ ।jhakri

मेलम्चीपछि पाँचपोखरी पुग्ने अर्काे रुट सदरमुकाम चौताराबाट हो । चौताराबाट रमणीय स्थान ओखरेनी, खस्रेबाट लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै जान सकिन्छ । दुई हजार २ सय मिटरको उचाइ रहेको खस्रे, मैदानपछि घरहरु भेटिँदैन । यो रुटबाट जाने तीर्थालुहरु प्रायः च्योच्यो डाँडामा बास बस्न पुग्छन् । च्योच्यो डाँडा जुगल हिमाल सामुन्ने पर्छ । यो डाँडाबाट काठमाडौं सहर पूरै देख्न सकिन्छ । रातको समयमा काठमाडौंको झिलिमिली हेरेर मजा लुटनकै लागि पनि च्योच्यो डाँडामा तीर्थाटनका पर्यटक बास बस्न मन पराउछन । यो डाँडामा चौँरीका गोठहरु धेरै हुन्छन । दोस्रो दिन न्योसाम पाटीमा वास बसेर यो रुट हुँदै जाने पर्यटकहरु तेस्रो दिन पाँचपोखरी पुग्दछन ।

विशेष गरी पाँचपोखरीमा जनैपूर्णिमाको अघिल्लो दिन र मङिसर महिनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । यो मेला भर्नका लागि भक्तपुर र काभ्रेबाट उल्लेख्य रुपमा तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । हिमाली भेग भएकाले यात्रा गर्न कठिन छ । कतिपय यात्रुलाई लेक लाग्नेसमेत भएकाले सामान्य प्राथमिक उपचारका सामग्री आफैँले लैजान सके राम्रो हुन्छ । पाँचपोखरी जाँदा जति बढी गन्तव्य नजिकिन्छ, उत्तिकै चिसो बतास चल्न थाल्छ । कान, मुख र हात नीला हुन थाल्छन् । यात्रामा भेटिने पहेँला झारबाट अनौठो गन्ध आउन थाल्छ । जुन गन्ध पर्यटकहरुका लागि विष पनि हुन सक्छ । अनि लेक लाग्छ । तर, कष्टकर यात्रा भएपनि पाँचपोखरी पुगेपछि भने आनन्दको सिमानै हुदैन ।stupa

तामाङ जातिको बसोबास रहेको भोताङ गाउँ भन्दा माथी पर्ने पाचपोखरी क्षेत्रमा कुनै गाउँ छैन । थाङपाल गाउँपालिका भोताङ शिरमा पाचपोखरी लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्दछ । प्रत्येक बर्ष असोज–कार्तिकमा विदेशी पर्यटकहरु पदयात्रामा पुग्ने पाचँपोखरी तीर्थाटनको लागि मात्र नभएर जडीबुटीको भण्डारका रुपमा समेत परिचित छ । यहाँ विश्वमै दुर्लभ मानिएका पाँच किसिमका रैथाने प्रजातिका वनस्पति फेला परेका छन् । पाचँपोखरी क्षेत्रमा सुनपाती, भैरङपाती, धुपीलगायतका वनस्पतिहरु पाइन्छ । विश्व वन्यजन्तु कोषको साताव्यापी स्थलगत अध्ययन अनुसार मेकोनोसिस, क्रेमान्योजियम, कोरिडालीस, बारबेरीस र स्थानीय भाषामा जङगली जिराको नामबाट परिचित क्यारामकुर्मी जातका वनस्पति फेला परेका छन् । त्यस्तै यार्सागुम्वा, पाचऔले, पदमचाल, रक्तचन्दन लगायतका ६४ प्रजातिका जडीबुटी पनि पाचँपोखरी क्षेत्रमा पाइन्छ ।
विशेष गरी पाँचपोखरीमा जनैपूर्णिमाको अघिल्लो दिन र मङिसर महिनाको पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्छ । पाँचपोखरीमा मेला भर्न काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे, रसुवा, नुवाकोट, दोलखा, धादिङ लगायतका जिल्लाबाट तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । पाचँपोखरी मेलामा झाक्री नाचँको दृष्यनै अचम्म मानिन्छ । झक्रीको वैदिक तन्त्र मन्त्रको पूर्णताको लागि पनि पाँचपोखरीमा पुग्ने गर्दछन् । 29432691_1520546041388279_129262800598316410_nपाँचपोखरी को दर्शन नगरे पूर्णरुपमा झाँक्री बन्न नसक्ने विस्वास गरिन्छ । झाँक्रीहरु आफ्नै पोशाकमा नाच्दैगाँउदै मेलामा पुग्दा तीर्थाटनका पर्यटक आफ्नो मोवाइ र क्यामेराबाट फोटो खिच्न थाल्दछन । पाचँपोखरी धार्मिक दृष्टिले मात्र नभई प्राकृतिक दृष्टिकोणले पनि मनमोहक छ । पाचँपोखरी मेलामा सुनपाती, धुपी, चौँरीको दूधबाट बनेको छुर्पीजस्ता चिजहरु पाइन्छ ।

पाँचपोखरीमा केवलकार निर्माण हुने भएको छ । केबलकार निर्माण गर्नकालागि पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धु हिमालयन केवलकार कम्पनीबीच साझेदारीमा निर्माण गर्न सम्झौता भएको छ । केवलकार भोताङको छिञ्जी देउरालीबाट लौरीवीना करिव ७.५ किलोमिटरको हुनेछ । सम्भाव्यता अध्ययन रिपोर्ट अनुसार यो केबलकार नेपालकै सबैभन्दा उचाईमा हुनेछ ।

मिती ः– २०७५ भाद्र २७ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *