गोसाईकुण्ड जहा पर्यटक रमाउछन

19198402_2033021870260759_1647743086_nके वि मसास
प्रदेश नम्वर ३ को रसुवा धेरै हिम कुण्ड भएको जिल्ला हो । रसुवामा १०८ हिम कुण्डहरु छन । हिम कुण्डहरु मध्य गोसाईकुण्ड तीर्थाटन पर्यटनको लागि गन्तब्य भएको छ ।gosaikunda कतिपय हिम कुण्डहरु को नामाकरण समेत हुन सकेको छैन भने हिमपात हुने महिनामा जान पनि सकिन्न । गोसाईकुण्डको निलोपानी वरिपरि अग्ला पहाड, पहाड नजिक हिम श्रृखला स्वस्छन्द हावा, मनमोहक वातावरण, साच्चैनै स्वर्गको अनुभुति गर्न सकिने गोसाईकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरुका लागी उत्कृष्ट तपोभुमि मानिन्छ ।

गोसाईकुण्ड रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा पर्दछ । गोसाईकुण्ड समुन्द्र सतह देखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको छ । यसको लम्वाई ६२५.५५ मिटर र चौंडाई ३२० मिटर रहेको छ भने २६ मिटर गहिराई रहेको छ । गोसाईकुण्ड वरपर हिम चट्टानको पहाडले घेरेको छ । तीर्थाटन पर्यटकहरुको ओहिरो लाग्ने गोसाईकुण्डले देश भित्र मात्र नभएर विदेशिहरुलाई समेत आर्कषणको केन्द्र बनाएको छ । विश्व सम्पदा सुचिमा सुचिकृत गोसाईकुन्ड लाङटाङ राष्ट्रिय निकुन्जक्षेत्र भित्र रहेको छ । निकुञ्जबाट संरक्षीत क्षेत्र भएकोले त्यस क्षेत्रको वातावरण अत्यन्त आकर्षक र मनोमोहोक मानिन्छ । गोसाईकुण्डमा घाम लागेको बेला शिवको आकृतिको मूर्ति जस्तो गेरु रंगको चट्टान देखिन्छ । त्यसैले गोसाईकुण्डलाई शिवकुण्ड पनि भनिन्छ ।1 (3)

गोसाईकुण्ड जाँदा धुन्चेबाट पैदल यात्रामा पर्ने ३८ सय मिटरको उचाईमा रहेको लौरीविनाएकबाट लाङटाङ हिमाल गणेश हिमाल, रसुवा जिल्लाको स्याफु्वेशी धुन्चे, नुवाकोट जिल्लाको अधिकांस भुभाग र धादिङ जिल्लाको डाडाँ काडाँको दृष्श्यालोकन गर्न सकिन्छ । जनै पुर्णीमामा गोसाईकुण्ड पुग्ने तीर्थाटनका पर्यटकहरुले तमाङ सस्कृतिमा रहेको तमाङसेलो, मेन्दोमायाँ, ढाङ्ग्रे नाच, र अन्य सम्प्रदायबाट प्रर्दशन गरिएका भजन, कृतन, खैजरी नाच समेत हेर्न सक्दछन । गोसाईकुण्ड क्षेत्रमा १०० प्रजाती भन्दा बढि फूलफुल्ने बनस्पति, विष, जटामसी, पदमचाल जस्ता बनस्पति पाइन्छ । सदरमुकाम धुन्चे देखि ४ घन्टाको उकालो बाटोमा पर्ने घट्टेखोला, ढीम्सा, चन्दनवारी, चोलाङपाटी, लौरीविनायक, गणेशगौडा हुदै विभिन्न प्राकृतिक दृश्य र जंगली जनावरको दृश्यावलोकन गर्दै एक दिनको पैदल यात्रामा गोसाईकुन्ड पुग्न सकिन्छ ।

पौराणिक कालमा माहादेवले कालकुट वीष पान गरेपछि वीषको डाह शान्त पार्न पानीको खोजीमा हिडदा त्रिशूलले पहरामा प्रहार गरी पानीको सृष्टी गरेको दहमा डुवेर विष जलन शान्त पारेको कुण्डलाई गोसाईंकुण्ड भनिन्छ । महादेवले त्रिशूल प्रहार गरी पानी निकालेको हुनाले पानी निस्किएको ठाउलाई त्रिशूल धाराको रुपमा चिनिन्छ र त्यस त्रिशूल धारावाट वगेर तालको रुप लिएको ठाउलाई गोसाईंकुण्डको नामले चिनिन्छ । त्रिशूली नदीको मुहानको रुपमा त्रिशूल धारालाई लिइन्छ । तीर्थाटनका पर्यटकहरुले यस धारामा त्रिशूल चढाउदछन भने दशहरा र ऋषि तर्पणी अर्थात जनै पूणर््िामाका दिन गोसाईकुण्डमा ठूलो मेला समेत लाग्ने गर्दछ ।images (1)

प्राकृति सौन्दर्यता, धार्मिक, जैविक, विविधता, ऐतिहासिक, पर्यटकिय र सांस्कृति महत्व सगैँ गोसाईकुन्ड, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दुधकुण्ड र सुर्जे कुण्ड प्रख्यात कुण्डहरु मानिन्छन । तर रसुवा जिल्लाकै गोसाईकुण्डको भुगोलमा रहेका गतलाङको पार्वति कुण्ड टिमुरेको, रिभरकुण्ड, वृद्धिमको दुधकुण्डमा पनि तीर्थाटनको लागि धार्मीक पर्यटकहरु पुग्ने गर्दछन । रसुवा जिल्लामा रहेको लाङटाङ र गणेश हिमाल आसपासका दर्जनौ ताल र कुण्डहरुले त्यहापुग्ने सबैलाई आनन्द बनाइदिन्छ । हिमाली श्रृंखला र पहाडको उपत्यका रहेको गोसाईकुण्ड धार्मिक एवम पर्यटकिय दृष्टीकोणले पनि अतिनै महत्वपूर्ण मानिन्छ ।

गोसाईंकुण्ड कै नजिकमा भैरव कुण्ड पर्दछ । यस कुण्ड गोसाईंकुण्डको निकासवाट निस्केको पानीवाट दहको रुप लिई वनेको हो । यस कुण्ड गोसाईंकुण्ड जत्तिको फराकिलो रुपमा नभएपनि भैरव कुण्डमा रहेको पानी गाढा निलो र कालो देखिने भएको हुदा यो कुण्डको छुट्टै विशेषता रहेको छ । गोसाईंकुण्डको स्नांन पश्चात यस कुण्डलाई नहेर्नु भन्ने जनधारणा रहेको छ । भैरव कुण्डमा नुहाउने र पूजाआजा गरिने चलन भने छैन । सरस्वती कुण्ड भैरवकुण्डको निकासवाट गएको पानिवाट केहि तल वनेको कुण्ड सरस्वती कुण्ड हो । यो कुण्ड पनि गोसाईकुण्ड जस्तो फराकिलो चौडा र भैरवकुण्ड जस्तो गाढा निलो र गहिरो रुपमा पानीको मात्रा रहेको छैन ।images

सूर्य कुण्ड गोसाईकुण्डवाट करिव १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । नुवाकोट जिल्ला भएर वग्ने तादीखोलाको उदगम स्थल सूर्यकुण्ड हो । सूर्य कुण्ड नुहाएर सूर्यको दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जन विस्वास रहेको छ । त्यसैगरी पार्वती कुण्ड सदरमुकाम धुन्चे देखि उत्तर गतलाङ गाउँ नजिक रहेको छ । पार्वती कुण्ड घनाजंगलको काखमा रहेको छ । पार्वती कुण्डलाई स्थानीय भाषामा छेदीङ कुण्ड भनिन्छ । यस कुण्डमा प्रत्येक बर्षमा पर्ने जनै पुणर््िामाको दिन मेला लाग्ने गर्दछ । यस कुण्डको वरपर वोझो नामको जडीवुटी प्रसस्त पाइन्छ । सदरमुकाम धुन्चेवाट ३४ किलोमिटर को दूरीमा यो कुण्ड रहेकोछ ।

यातायातको सुविधा भएपछि पछिल्लो समयमा गोसाइकुण्डमा पुग्ने पर्यटकहरु तिब्बतको सिमासम्म पनि पुग्ने गरेका छन । तिब्बतको सिमा केरुङ सम्म जान सदरमुकाम घुन्चे–स्याफ्रुबेंसी हुदै रसुवागढीसम्म २७ किलोमिटर को यात्रा गर्नु पर्दछ । रसुवागढी नेपाल तिब्बत सिमानामा पर्दछ भने सिमापारी तिब्बतीय ब्यापारीक केन्द्र केरुङ पर्दछ । ऐतिहासिक रसुवागढी नौहजार दुईसय सात फिटको उचाइमा रहेको छ । केरुङग आफैंमा सुन्दर र फराकिलो क्षेत्र हो । केरुङगथ्याङ खुला क्षेत्रभित्र सानो तर रमणीय उपत्यका मानिन्छ । नेपाल–चीन सीमाना रसुवाको टिमुरेमा रहेको रसुवागढी डेढ शताव्दी पुरानो ऐतिहासिक धरोहर हो । यो नेपाली इतिहासको साक्षी पनि मानिन्छ । बहादुर शाह र जंगबहादुर राणाको पालामा तिब्बतसग भएको लडाईमा यहि गढीबाट नेपाली पुर्खाहरुले लडेर तिब्बतसग युद्ध जितेका थिए । रसुवागढी प्राचीनकालमा नेपाल र भोटवीच चल्ने व्यापारको प्रमुख नाका थियो । लिच्छवीकालमा अंशुबर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यहि नाका हुदै घरमाईती गर्ने गरेकी थिइन । चीनसगको लडाईका बेला नेपाली लडाकुले आफ्नो सुरक्षाका लागि गढी बनाएका थिए । ठूला ढुंगा कुदेर बनाइएको अग्लो गढीको पर्खालमा स–साना ४७ वटा प्वाल र ६० फिट लम्बाई ६ फिट उचाई र ६ फिट चौडाईको गढीमा बनाएका थिए ।langtang kanging

लाङटाङमा पर्यटक जान थाले

विश्वकै उत्कृष्ट पर्यटकिय गन्तव्य मानिने रसुवाको लाङटाङमा पर्यटकहरु जान थालेका छन । स्वर्गजस्तै प्राकृतिक सुन्दरताको खानी लाङटाङलाई पहिलेजस्तै बनाउने प्रयास भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि पर्यटकीय क्षेत्र लाङटाङ करिब तीन महिना मानवविहीन भएको थियो । अहिले लाङटाङ पुनर्निर्माणसँगै पुरानै अवस्थामा पुगेको छ  । भूकम्पपछि थातथलोमा फर्केका लाङटाङवासीले आफ्नै पुरानो पेसा–व्यवसाय सुरु गरिसकेका छन । लाङटाङ अहिले पुरानै स्वरुपमा आइसकेको छ । अझ त्यसभन्दा पनि बढी सुविधासम्पन्न भएको छ । पहिले बिजुली बत्ती थिएन, अहिले क्यान्जीङमा उत्पादित बिजुलीले क्यान्जीङ, सिन्धुम, मुन्डु, लाङटाङ गाउँ र गुम्बा डाँडा बत्ती बलेको छ । क्यान्जीङमा वाइफाई सेवा सुरु भएको छ ।

लाङटाङ नेपालकै पर्यटकीय क्षेत्रको तेस्रो गन्तव्य मानिन्छ । लाङटाङ ज्यादै आर्कषक एवंम मनमोहक सम्पदा हो । जुन कारणले यहा धेरै विदेशि पर्यटकहरु पुग्दछन । लाङटाङ लिरुङ हिमाल समुन्द्री सतहबाट ७ हजार २ सय ४६ मिटरको उचाईमा रहेको छ । लाङटाङको क्यान्जिङ उपत्यका अति रमणीय स्थल मानिन्छ । क्यान्जिङ उपत्यका पुग्नासाथ पर्यटकहरु रमाउछन । क्यान्जिङ उपत्यकामा वर्षेनी हजारौ स्वदेशी तथा विदेशी पर्यटहरु पुग्ने गर्छन् र अनुपम प्राकृतिक छँटाको आनन्द लिन्छन् । लाङटाङ पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु मध्य धेरै क्यान्जिन उपत्याकामा नै बस्ने र हिमश्रृखलाको सान्दर्य संग रम्ने गर्दछन । लाङटाङ तिव्तीयन नामको रुप हो । तिव्वतीयन भाषामा “लाङ्ग” भनेको याक र “टेङ्ग” भनेको पछयाउनु भन्ने अर्थ लाग्छ । पहिले त्यस क्षेत्रमा रहेका लामाहरुले याकलाई पछयाउदै जाँदा त्यहाँ राम्रो उपत्यका भेटिएपछि पछि त्यसकै नामबाट ‘लाङटाङ’ नाम रहन गएको भन्ने भनाई पाइन्छ ।la

लाङटाङ क्षेत्र जैविक विविधताले भरिपूर्ण भएको कारण यसकै नामाकरणबाट राष्ट्रिय निकुञ्जसमेत स्थापना भएको छ । वि.सं. २०३२ सालमा लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भएको हो । लाङटाङ क्षेत्रमा वसन्त ऋतुमा पुल्ने राता, सेता, निला लालीगुराँससँगै अन्य जगली विभिन्न प्रकारका रङ्गीविरङ्गी फुलहरु फुल्दछन । यीनै प्राकृतिक सुन्दरताले पनि पर्यटकहरुलाई आकर्षण गर्दछ । निकुञ्जमा १५० भन्दाबढि चरा प्रजातीहरु र विश्वमै दुर्लभ मानिएको रेड पाण्डा (हाव्रे) पाइन्छ । लाङटाङ यात्रामा, लाङसिसाबाट उत्पन्न भएको लाङटाङ खोलाको तिरैतिर माथि चढने लाङटाङ पदमार्गमा बाटामा देखिने विभिन्न वनस्पतीले सबै पर्यटकलाई लोभ्याउँछ ।

रसुवाको नाम

रसुवा जिल्लाको नाम तिब्बती भाषाको “र“ “सोवा“ शब्दलाई उदृत गरिएको पाइन्छ । तिब्बती भाषामा “र“को अर्थ भेडा च्याङग्रा र “सोवा“को अर्थ चराउने वा राख्ने ठाउ भन्नेकुरा बुझाउछ । अर्थात प्रशस्त भेडा च्याङग्रा पाइने स्थान भएकोले “रसोवा“ भन्ने गरेको र त्यसको अपभ्रसभै स्थानीय वोलीचालीको भाषामा रसुवा भन्न थालिएको भनाई रहेको छ । जिल्लाको भूगोल अनुसार सदरमुकाम धुन्चे भन्दा माथीलाई उपल्लो र दक्षिण भागको भूगोललाई तल्लो रसुवा भन्ने पनि गरिन्छ । रसुवा जिल्ला पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ । यस जिल्लामा रहेको गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क जस्ता प्राकृतीक स्थलको अवलोकन गर्न आन्तरिक एवं वाह्य पर्यटकहरु रसुवा जाने गर्दछन ।download

रसुवा जिल्ला भौगोलिक विकटाताले पछाडि रहेपनि यहाँ रहेको अनगिन्ती पर्यटकीय सम्पदाले गर्दा पर्यटनको गन्तब्य बनेको छ । विश्व मानचित्रमासमेत समावेश भएका कतिपय सम्पदाहरु रसुवामा छन् । रसुवाको धार्मिक एवंम् पर्यटकीय स्थलहरु जो नेपालीहरुको मात्र नभई विदेशी पर्यटकहरुको समेत आर्कषर्णको केन्द्र बनेका छन । लाङटाङ, गोसाईँकुण्ड, पार्वतीकुण्ड, लाङटाङ हिमाल, लाङटाङ राष्ट्रिय निकुञ्ज र यसका सम्पदा, विभिन्न धार्मिक एवंम् पर्यटकीय स्थलहरु रसुवाको प्रमुख आर्कषण र महत्वका क्षेत्रहरु हुन् । हिमाली क्षेत्रको जैविक विविधता, विभिन्न किसिमका जडिबुटीहरु, वन्य जन्तु र चराचुरुङ्गीलगायतले रसुवा पर्यटनको गन्तब्य बनेको छ ।

रसुवा जाने मार्ग

गोसाईकुण्ड जानको लागि अहिले काठमाण्डौबाट मात्र नभएर पृथ्वी राजमार्गमा पर्ने धादीङ जिल्लाको गल्छीबाट पनि यात्रा गर्न सकिन्छ । पृथ्वी राजमार्गको वैरेनी देखि विदुर सम्मको ३० किमि को दुरी रहेको छ । गोसाईकुण्डको लागि नारायणघाट, मुग्लीन भएर जाने पर्यटकहरुको लागि यो मार्ग छोटो र रमणिय मानिन्छ । गल्छीबाट नुवाकोट जिल्लाको रातामाटा, झिलटूङ हुदै प्रशिद्ध धार्मीकस्थल मानिने देवीघाटको अवलोकन गर्दै नुवाकोटको सदरमुकाम त्रिशुली विदुर पुगिन्छ । विदुरबाट त्रिशुली लज–विद्युतको बाधको दृष्यवलोकन गर्दै रसुवा र नुवाकोट जिल्लाको सिमाना वेत्रावती पुगिन्छ । वेत्रावती पनि धार्मीक स्थलकोरुपमा पहिचान भएको स्थल हो । प्रत्येक कुशे औसीको दिन बाबुको नाममा श्राद्ध र तर्पण गर्नेहरुको भिड हुने गर्दछ । उत्तर गया भनेर चिनिने वेत्रावतीको खोलालाई वेत्रगंगाको नामले चिनिन्छ । जस्लाई स्थानीय भाषामा सलाखु पनि भनिन्छ । यो खोलाको पानी पनि महादेवले विषपान गरेको वेलामा वेतको लौराले पहाडमा हान्दा निस्किएको पानी भएको हुदा पवित्र मानिन्छ । जुनखोला वेत्रावतीमा आएपछि त्रिशुली नदीमा मिसिन्छ ।Rasuwa-Kerung

के के लैजाने ?

भूकम्पपछि पुनर्निर्माण भएपछि लाङटाङ तथा गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गमा पर्यटकीय होटेल तथा लज सन्चालनमा आएका छन । पर्यटकहरुलाई खानपिन र बसोबासमा कुनै समस्या आउदैन । तर पनि साथमा स्लिपिङ ब्याग, रेनकोट, न्यानो कपडा, ज्याकेट, पञ्जा, टोपी, ड्राई फुड, चकलेट, लसुन,अदुवा, सातु आदि साथमा लैजान पर्दछ । भमिट कन्ट्रोल गर्ने औषधि, सिटामोल र अल्टिच्युड सिकनेसका औषधिहरु पनि बोकिराख्नु राम्रो हुन्छ । थर्मस लैजान नभुल्नुहोला ।

खर्च कति लाग्छ ?

दिनको प्रतिव्यक्ति दुई हजार । यति पैसाले तपाईलाई खान र बस्न पुग्छ । ठाँउ अनुसार गाँस र वासको मुल्य फरक पर्छ । उपहार र अन्य खर्चका लागि थप रकमको बन्दोबस्त गर्नुपर्छ । यात्रा समुहमा गर्नु राम्रो मानिन्छ ।

मिती ः– २०७५ भाद्र १५ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *