सहिद स्मारक पर्यटनको गन्तब्य
के.बी.मसाल
केहि बर्ष यता आएर हामी नेपालीहरुमा पनी घुमफिर गर्ने बानीको बिकास भएको छ । जस्ले गर्दा पर्यटन शब्द अहिले सबैको प्यारो भएको छ । कसैले पर्यटन सम्वन्धी कुराकानी निकाल्यो भने सबैका ध्यान तानिन्छ । कुनै नयाँ ठाउमा घुमफिर गरेर आएको मानिसको कुरा सुन्दा हामी पनि जानपाए हुन्थो भने झै लाग्छ । समुन्द्र नदेखेकाहरुलाई समुन्द्र देख्ने मन हुन्छ भने, पहाड, हिमाल र प्रकृतिले सिंगार दिएका सम्पदा नदेखेकाहरुलाई ती क्षेत्रमा पुग्न मन लाग्दछ ।
मकवानपुर जिल्लाको हेटौडामा निर्माण गरिएको सहिद स्मारक अहिले पर्यटनको लागि गन्तब्य बनेको छ । मल्लकालिन राजाहरुको पाला देखिनै भारत एवं तराइको भू–भागबाट उपत्यका जाने मुख्यद्धारको रुपमा रहेको मकवानपुरको हेटौडा । राणकालीन अवस्थामा शिकार खेल्ने जंगल देखि लिएर देश विदेशको यात्रामा हिडने भूगोल पनि हो हेटौडा । रोपवे देखि लिएर सडक यातायातको सुरुवात गर्ने भूगोल पनि मकवानपुर नै मानिन्छ । मकवानपुरको ऐतिहासिक महत्व र पर्यटनको बारेमा चर्चानै गरेर सकिन्न । पहाडी भाग र भित्री मधेशको दुई उपत्यकाबाट बनेको मकवानपुर जिल्लाको भूगोल स्थलगत यात्रा गर्ने हो भने बल्ल पर्यटकहरुले त्यसको महत्वको बारेमा जान्न सक्दछन ।
व्यक्तिगत स्वार्थ विना देश र जनताको भलाइका लागि आफ्नो ज्यानको बलिदान दिने व्यक्तिलाई सहिद मानिन्छ । नेपाली शब्द कोषले पनि सहिदलाई यसरी नै परिभाषित गरेको छ । राणाशासनको विरुद्ध प्रजापरिषदको गतिविधिमा लागेबापत वि.स.१९९७ साल कात्तिक २ गते पक्राउ गरी त्यसपछि १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै बिष्णुमतीको किनारमा रहेको शोभा भगवतीमा गोली हानी गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । त्यसैगरी शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालाई पनि स्वतन्त्रताको लागेको कारण फाँसी दिएकाले सहिद मान्ने गरिन्छ ।
निरंकुश शासन व्यवस्थाको अन्त्य गरी प्रजातान्त्रिक शासन व्यवस्थाको आरम्भ गर्ने महान अभियानमा पहिलो पटक सहादत प्राप्त गर्ने लखन थापा प्रथम सहिद हुन् । सहिद तिनै हुन, जसले निजी कुरावाट माथि उठेर देश दुनियाँका लागि जीवनको वाजी थापे । ईश्वर बल्लभका कविता अनुसार सहिद तिनै हुन, जसले आफूलाई समाप्त गरेर अरुलाई प्रारम्भ गरेका छन । हामीले टेकेको यो खुला धर्ती, हिँडेको स्वतन्त्र बाटो तिनै सहिदको वलिदानवाट प्राप्त भएको हो । यसरी विभिन्न कालखण्डमा जीवन आहूति दिने सहिदहरुको स्मृतिमा हेटौंडा–११ मा निर्मित सहिद स्मारक अहिले पर्यटनको गन्तब्य भएको छ ।
हेटौडाको सहिद स्मारक पुग्ने पर्यटकहरु सहिदहरुप्रति सम्मान जाहेर गर्दछन । सहिद स्मारक पुगेपछि पर्यटकहरु सहिदहरुले पछयाएको मार्गमा हिँड्ने कसम पनि खान्छन् । हेटौडाको सहिद स्मारकमा विभिन्न समयमा जीवन उत्सर्ग गरेका १२ सहिदका आकृति एउटै ढुङ्गामा कुँदेर निर्माण गरिएको स्मारक अहिले आएर पर्यटनको गन्तब्य मात्र नभएर हेटौडा बजारकै धरोहर बनेको छ । २५ टनको एउटै ढुंगामा राष्ट्रको स्वाधीनताका निम्ति तत्कालीन बेलायती सेनाविरुद्ध लडेर वीरगति प्राप्त गरेका भक्ति थापा, राणा शासनविरुद्धको लडाइँमा अमरत्व प्राप्त गर्ने दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमार शुक्रराज शास्त्रीदेखि किसान आन्दोलनमा ज्यान गुमाएका भीमदत्त पन्त र पन्चायतविरुद्ध लड्ने क्रममा जीवन गुमाएका रत्नकुमार बान्तवा, क्याप्टेन यज्ञवहादुर थापा, दुर्गानन्द झा, वीरेन्द राजवंशी, मुनेश्वरी यादव र प्रभाकर पौडेलको आकृति कुँदिएका सहिद स्मारकमा राखिएका छन ।
यति मात्र होइन २०४६ यता ज्यान आहूति दिनेहरुको सम्झनामा स्मारकमा ६५ फिट अग्लो सहिद स्तम्भ निर्माण गरिएको छ । १९ मिटर अर्धव्यास रहेको स्तम्भमा सहिदहरुको अमूर्त चित्र, आन्दोलनमा प्रयोग भएका गोला, बारुद, बन्दुक र लाठीलगायतको चित्र अंकित छन् । यो नेपालको आकर्षक नक्साको जगमा स्तम्भ निर्माण गरिएको छ । त्यहा सहिदहरुवारे विस्तृत अध्ययन गर्न सहिद ग्यालरी बनाइएको छ । तीन कठ्ठा जमिनमा फैलिएको ग्यालरीको प्रवेशद्वारमै ०९७ सालका चार सहिदका आकृति कँुदिएका तस्बिर रहेका छन् । स्मारकको प्रवेशद्वार नै सुन्दर देखिन्छ । झोलुङ्गेपुलले स्मारकलाई थप आकर्षण बनाएको छ । स्मारकभित्र बगैंचा, मिनी चिडियाखाना, मदन वाटिका, स्विमिङ पुल, रोटेपिङ लगायत बालउद्यान र टावर पनि छ । करिब १२ बिघा जमिनमा फैलिएको यो स्मारक समुदायस्तरवाट निर्मित गरिएको अद्वितीय स्थल हो । सहिद स्मारकमा प्रत्येक अरु समयमा भन्दा नयाँ वर्षमा पर्यटकहरु बढि घुमफिरको लागि पुग्ने गर्दछन । स्मारक हेटौडाको बुद्धचोकबाट १० किलोमिटर पश्चिमको डाँडामा पर्दछ । जंगलको बीचमा शान्त वातावरण भएकोले हेटौडामा पुगेपछि स्मारक घुमफिरको लागि पर्यटकको पहिलो रोजाईमा पर्ने गरेको छ ।
हेटौडाको स्मारक अवलोकन गरेपछि मकवानपुर जिल्लामा घुमफिर गर्ने धेरै ठाउहरु छन् । घुमफिरको समय लम्वाउन सके उत्तरी मकवानपुरको थाहा नगरपालिका क्षेत्र मकवानपुरको सबैभन्दा धेरै पर्यटकहरु पुग्ने ठाउ हो । थाहा नगरपालिका क्षेत्रबाट देखिने हिमश्रृखला, पालुङ उपत्यका, चित्लाङको होमस्टे लगाएतका स्थानमा पुग्दा पर्यटकहरु रमाउछन । जाडो मौसममा हिँउ परिरहने मकवानपुरकै सबैभन्दा उचाई क्षेत्र सिमभञ्याङमा पर्यटकहरु हिउमा खेल्न रमाउछन ।
पालुङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलासयको रुपमा रहेको इन्द्रसरोबर ताललाई नजिकैबाट देख्न सकिन्छ । अहिले पर्यटकहरु इन्द्रसरोबर ताललाई हेर्न घुुँइचो लाग्ने गर्दछन । इन्द्रसरोबर तालमा डुंगामा समेत सयर गर्न पाउने भएकोले पर्यटकहरुको आकर्षक गन्तब्यको रुपमा विकसित हुँदै गएको छ । इन्द्रसरोबर अर्थात कुलेखानीको जलाशय समुन्द्रको सतहबाट १ हजार ५ सय ३० मिटर उचाईमा छ । आज भन्दा तिन दशक अगाडी निर्माण गरिएको योे जलाशयबाट पानी संकलन गरेर हिउदमा विजुली उत्पादन गर्ने कुलेखानी मुलुककै एकमात्र जलाशययुक्त विद्युत गृह हो । कुलेखानीको जलाशयबाट पहिलो ६० मेघावाट र दोस्रो ३२ मेगा क्षमताको विद्युत गृह निर्माण गरिएको छ । तेस्रो आयोजना निर्माणाधिन अवस्थामा छ ।
हेटौंडा बजारबाट १८ किलोमिटर पूर्व थुम्कामा रहेको मकवानपुरगढी ऐतिहासिक, सामरिक एवं पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । पृथ्वीनारायण शाहको ससुरालीसमेत भएकाले पनि मकवानपुरगढी नेपालको इतिहासमा छुट्टै पहिचान बोकेको पाइन्छ । मकवानपुरगढी कुनै बेला राजधानीको प्रवेशद्वार र राहदानी जारी गर्ने स्थानका रुपमा समेत परिचित थियो । विशाल नेपाल एकीकरण पूर्व मकवानपुर सेनवंशी राजाहरुको अधीनमा थियो । मकवानपुरगढी तिनै सेन राजाहरुको राजधानी थियो । यहांबाट नजिकै पर्ने चिसापानीगढी अग्रेजसंगको युद्धमा सेना तैनाथ गरी युद्ध गरेको स्थान पनि हो ।
पाल्पाली राजा मणिमुकुन्द सेनले आफ्नो विशाल राज्यलाई चार भागमा विभाजन गर्दा उनका कान्छा छोरा लोहाङ सेनको भागमा परेको मकवानपुरको राजकाजका क्रममा मकवानपुरगढीको निर्माण १७५० सालतिर राजा तुलासेनले गरेका थिए । हिन्दूपति कहलिएका सेनवंशी राजाहरुको अन्त्यसमेत यसै गढीबाट भएको इतिहासमा उल्लेख छ । यो गढी समुद्रको सतहबाट करिब तीन हजार ६ सय फिट उचाइमा महाभारत पर्वतको दक्षिणतर्फ फैलिएको छ । मकवानपुरगढीमा मुख्य रुपमा दुईवटा गढी छुट्टाछुट्टै छन । राजदरबार रहेको ठूलो गढीलाई मूल गढी भनिन्छ । त्यस्तै, सैनिक परेड खेल्ने र प्रशासनिक भवनसमेत रहेको गढी सानो गढीको नामले परिचित छ ।
मूल गढीको सुरक्षाका लागि चारैतर्फ करिब २५ फिट अग्लो पर्खाल लगाइएको छ । पर्खालको चौडाइ करिब चार फिट छ भने पर्खालवरपर १० फिट गहिरो खाडलले गढीलाई थप सुरक्षा प्रदान गरेको छ । पूर्व–पश्चिम फैलिएको यस गढीमा राजपरिवार बस्ने दरबार जुगे दरबारका नामबाट परिचित छ । त्यसबेला अपराधीलाई दण्ड दिन कारागारको स्वरुपमा बनाइएको खाल्डो अझै छ । तत्कालीन समयमा ऐनकानुन मिच्नेलाई गहिरो खाडलमा हालेर मार्ने गरिएको बताइन्छ । गढीमा ऐतिहासिक एवं सांस्कृतिक महत्वका वस्तु अध्ययनको लागि अझैपनि भेटिन्छ । मकवानपुरगढीको दक्षिणपूर्वमा सेनवंशीय राजासंग सम्बन्धित जमिन अझै छ । सो जमिन रानीसेराको नामले परिचित छ । मकवानपुरे सेन राजा अतयन्तै धनी शासकका रुपमा समेत परिचित थिए । सेनवंशीय शासनकालमा गाडिएको सुनैसुनको ढुकुटी अहिले पनि मकवानपुरगढीमा रहेको विश्वास गरिन्छ ।
मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम संग जोडिएको छ । ऐतिहासिक काल–खण्डमा मकवानपुरलाई मुकुन्दपुर भन्ने गरिन्थो । कालान्तरमा भन्दै आएको मुकुन्दपुर अपभं्रश हुदै मकवानपुर भएको हो भन्ने जनधारणा रहेको छ । चित्लाङ, मकवानपुरगढी पर्यटकहरुको घुमफिर मात्र होइन नेपालकै ऐतिहासिक महत्वको धरोहर हुन । इतिहासले के देखाउछ भने मकवानपुरबाट नेपाली सेनाको इतिहास सुरु भएको छ । अग्रेजसंगको युद्धमा फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ, कालीबक्स, बर्दबहादुर र सबुज गुल्म भएको थियो ।
प्राकृतीक दृष्टिकोणले पनि मकवानपुर जिल्ला धनी जिल्लाको रुपमा लिने गरिएको छ । यहा थुप्रै प्राकृतिक मनोरम स्थलहरु रहेका छन । मकवानपुर जिल्लाका दुर्गम मानिने गाउँ र बस्तीको भ्रमण गर्ने हो भने त्यहा पाइने शान्त र शीतल वातावरणले जो कोहिको मन जित्न सक्दछ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षले पनि यस जिल्लाको थप वातावरणिय सुन्दरता दिलाएको छ ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्र मा रहेको पालुङ, बज्रवाराही, दामन, मार्खु, फाखेल र चित्लाङ पर्यटकिय क्षेत्रको रुपमा विकास हुन थालेको छ । टौखेल–चित्लाङ–चन्द्रागिरी मात्र १५ कि.मि.को दूरीमा रहेको छ । काठमाण्डौंबाट २२ किलोमिटरको दूरीमा चन्द्रगिरी डाडा पर्दछ । चन्द्रगिरीको डाडाको काखमा रहेको चित्लाङमा पछिल्लो समयमा स्थानीयवासीले होमस्टे र पेइङ गेष्ट अवधारणामा पर्यटनहरुलाई सेवादिन थालेका छन । चित्लाङ मल्लकालीन इतिहास बोकेको ऐतिहासिक स्थलपनि हो । राणकालीन समयमा चित्लाङ हुदै मकवानपुरगढी भएर भिमफेदी आवत जावत गर्ने प्रमुख मार्गको रुपमा रहेको थियो ।
हेटौडा प्रदेश तिनको अस्थाई राजधानी हो । यस जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ । हिउं पर्ने देखि लिएर गर्मी हुने स्थानको रुपमा चिनिन्छ । जुन कारणले पर्यटकहरुको लागि मकवानपुर उत्कृष्ट गन्तब्य बन्दै गएको छ । पर्यटकहरुले भ्रमण गर्नु मनोरंजन लिनु मात्र होइन ।
गाउँठाउको भ्रमणबाट धेरै किसिमका कुराहरु सिक्न र जान्न पाइन्छ । भ्रमणबाटनै प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र सम्भावनाहरुको पहिचान, निर्माण र प्रसार जस्ता कार्यहरु गर्न सम्भव हुन्छ । त्यसैले होला भ्रमणलाई खुल्ला विश्व बिद्यालय पनि भन्ने गरिन्छ । शिक्षालाई अर्को पाटोबाट हेर्नेहो भने पढ्नु र सिक्नुको अर्थ किताबी कुरा जान्नु र सूत्रहरु स्मरण गर्नु होईन. । अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न सकिदैन । खासगरी प्राकृतिक स्रोत, भौगोलिक अध्ययन, मानव विकासको अध्ययन, सामाजिक र आर्थिक पक्षको अध्ययन लिन भ्रमण गर्नै पर्ने हुन्छ ।
पर्यटक गाउँघरमा किन जाने ? यसको उत्तर खोज्ने हो भने हामी किन अरुको गाउँमा घुम्न जान्छौं भन्ने कुरालाई गाँसेर हेर्न सकिन्छ । हामी अरुको गाउँठाउँ राम्रो लागेर हेर्न जान्छौं । शहर बजारहरु सुन्दर छन, शान्ति र सुव्यवस्था छ, पर्यटकलाई कुनै किसिमको डरको वातावरण छैन । अहिले पर्यटनको क्षेत्र विस्तार भएको छ । प्राकृतिक सौन्दर्य हेर्ने, समुद्रको किनारमा रमाउने, जलमा शिकार गर्ने, जगलमा अनेक जीव जनावरको प्राकृतिक बसोबास र बसाइ हेर्ने, मानव निर्मित स्मरणीय र दर्शनीय स्थलहरुप्रति श्रद्धा व्यक्त गर्ने, इतिहासबारे जानकारी लिने, सांस्कृतिक महत्वका सम्पदाहरुको अवलोकन गर्ने, तीर्थाटन गर्ने पर्यटनका क्षेत्र विकसित भएका छन् । परम्परागत पर्यटनको मान्यतामा पनि खासै कमी आएको छैन । अध्ययन र व्यापारको सिलसिलामा आज पनि हजारौं मानिस दिनहुँ एक अर्को स्थान घुमफिर गरिरहेका छन् ।
पढनु र सिक्नुको अर्थ किताबी परिभाषा जान्नु र सूत्रहरु स्मरण गर्नु होईन । जीवन र जगतलाई बुझेर त्यसै अनुरुप सहज जीवन पद्धतिको विकास गर्नु नै शिक्षाको मुख्य उद्धेस्य हो । अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न कदापी सकिदैन । जीवन र जगतलाई चिन्ने र त्यसैको आधारमा सहज जीवनको बाटो पहिल्याउने मध्यम नै शिक्षा हो । जीवन र जगतलाई चिन्ने बुझ्ने सबै भन्दा राम्रो उपाय घुमघाम अर्थात पर्यटन हो । घुमघाम वा भ्रमण गर्नु मनोरंजन लिनु मात्र होइन । भ्रमणबाट धेरै किसिमका ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाईन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवस्यकता र सम्भावनाहरुको पहिचान, भ्रमणबाटै लिन सकिन्छ । त्यसैले भ्रमणलाई खुल्ला विश्व बिद्यालय पनि भन्ने गरिन्छ ।