चन्द्रागिरी को यात्रा…

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
यो पटक काठमाडौं जादा भरखरै सञ्चालनमा आएको केबलकार चढ्न पाइयो । त्यहाँको प्राकृतिक सुन्दरताको आनन्द सिमानै रहेन । काठमाण्डौं जिल्लामा पर्ने चन्द्रागिरी डाँडामा केबलकारबाट १३ मिनेटमा पुगिने रहेछ । केबलकारको अन्तिम स्टेशनभन्दा माथि भालेश्वर इच्छेश्वर महादेवको मन्दिर रहेछ । hqdefaultमन्दिरमा मनमा उब्जिएको कुनै एक इच्छा माग्यो भने पूरा हुने बिस्वास रहेछ । मन्दिर केबुलकारको स्टेशनबाट करिव २०० मिटर हिड्नुपर्ने रहेछ । चन्द्रागिरी पहाड काठमाडौंकै सबैभन्दा अग्लो स्थानमा रहेको छ । चन्द्रगिरी पहाडको उचाइ २५५१ मिटर छ । भालेश्वर महादेवको अहिले आकर्षक मन्दिर निर्माण गरिएको छ ।

चन्द्रगिरी पहाड प्राकृतिक सौन्दर्यको अनुपम स्थल हो । घना जङ्गलले ढाकिएको चन्द्रगिरी मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । क्षण–क्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ । चन्द्रागिरी चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । करिब १८० डिग्रीको रेन्जमा यहाँबाट हिमश्रृंखलाको अवलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्तको अवलोकनका लागि चन्द्रागिरी पहाड एउटा उपयुक्त गन्तव्य स्थल हो । हिमालयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ । काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ । हिमाल, हरियाली र राजधानीशहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि हो ।2

आजभोली धुलो, धुँवा र प्रदुषणयुक्त सहरी वातावरणबाट मन र मस्तिष्कलाई मुक्ती दिन चन्द्रागिरी रोजाईमा पर्न थालेको छ । हरियाली, वरिपरिको शितल र शान्त वातावरणका कारण यो ठाउँ सबैको रोजाईमा पर्दछ । केबलकार सञ्चालनमा आएपछि काठमाडौंबाट दैनिक ठूलो संख्यामा सर्वसाधारणहरु घुमफिरका लागि चन्द्रागिरी पुग्ने गरेका छन् । चन्द्रगिरी हिल्स लिमिटेडले हालै सञ्चालनमा ल्याएको हो । केबलकार मात्र होइन त्यहाँ निर्माण भएका र हुने चरणमा रहेका अन्य पूर्वाधारका कारण यो अब पर्यटनको गन्तब्य बनेको छ । चन्द्रगिरीको चुचुरोमा पुग्न केवलकार यात्राको लागि ७ सय रुपैयाँ भाडा लाग्ने गरेको छ । केबलकारको अलवा त्यहा बन्न लागेका थिएटर, कन्फ्रेन्स हल, फुटकोर्ट,भ्यू टावर, सुन्दर होटल, रेष्टुरेन्ट तथा रिसोर्ट चन्द्रागिरी गन्तव्यका थप आकर्षण हुन् । चन्द्रगिरीमा सभा समारोहदेखि मुड रिफ्रेससम्म का प्रायोजनलाई अनुकुल हुने वातावरण पाइन्छ । त्यहाँको दृश्यावलोकन बर्णन गरेरै नसकिने रहेछ । छिनमै बादलले छपक्कै ढाक्ने र छिनमै घाम ताप्न पाइने अचम्मको मौसम देखेर आनन्द महसुस हुन्छ । अर्थात यहाँको मौसमको सबैभन्दा रोचक कुरा मौसम एउटै हुँदैन ।index

कहाँबाट जाने ?
काठमाडौंबाट थानकोटका लागि गाडी पाइन्छ । त्यही गाडीबाट पुग्न सकिन्छ केबलकारको स्टेशन । तपाइँ कोटेश्वरबाट आउनुहुन्छ भने कलङ्की पुगेर थानकोटको अर्काे बस चढेर पनि त्यहाँ पुग्न सकिन्छ । यदि नयाँ बसपार्क गोगंबुबाट जाने हो भने पनि कलङ्की आइपुगेर थानकोट सम्म चल्ने अर्काे गाडिमा जान सक्नुहुन्छ । थानकोट चेकपोष्टबाट झन्डै १.५ किलोमिटर बायाँ तर्फ गएपछि बेश स्टेशन भेट्न सकिन्छ । त्यहाँबाट अत्याधुनिक अष्ट्रियन प्रविधिको प्रयोग गरेर निर्माण भएका ३८ वटा गोन्डोला अर्थात केबुलकारले चन्द्रागिरिको टप स्टेशनसम्म १३ मिनेटको समयमा पुगिन्छ । केबुलकारको दुरी झन्डै २.५ किलोमिटरको रहेको छ । टप स्टेशनमा अवतरणपछि केहि समयको पैदल दुरी पार गरेर भालेश्वर महादेवको दर्शन गर्न सकिन्छ ।

के छ त्यहाँको विशेषता ?
दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई महादेवले बोकेर हिंड्दा जहाँ जहाँ सतीदेवीको भाल अर्थात निधार जहाँ पतन भयो, त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको भन्ने पौराणिक कथन छ । चन्द्रागिरि हिल्सको टप स्टेशनमा भालेश्वर मन्दिर अवस्थित भएकाले धार्मिक पर्यटनको प्रवर्द्धनमा पनि यसको उत्तिकै महत्व छ । यस स्थानमा विराजमान भालेश्वर महादेवले भक्तजनको मनोकांक्षा पुरागर्ने हुनाले यस मन्दिरलाई ‘इच्छापुरेश्वर’ वा ‘इच्छेश्वर’ पनि भनिन्छ । यस मन्दिरमा दर्शन गर्नाले इच्छा पूर्ति भई शिबलोकमा बास हुने जनविश्वास छ ।cable-car

चन्द्रागिरीको टाकुरो नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण शाहसँग पनि जोडिएको छ । काठमाण्डौ उपत्यका आक्रमण गर्नु भन्दा पहिले उनको ससुराली मकवानपुरबाट आउदा चन्द्रागिरीको पहाडबाट पहिलो पल्ट नजर परेको थियो । यसका अतिरिक्त चुचुरोबाट मनोरम हिमशृंखला एवं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । बच्चाबच्चीको मनोरन्जनका लागि बाल उद्यान, छुट्टी मनाउनेका लागि बार, सभा–सम्मेलनका लागि थ्री डी हल र भ्यु टावर रेष्टुरेन्टले यहाँको सौन्दर्यमा अझै विविधता थपेको छ । त्यहा सुविधासम्पन्न बुटिक रिसोर्ट सञ्चालनको तयारी पनि रहेको छ ।

काठमाडौंमा भन्दा चन्द्रगिरीमा बढी जाडो हुन्छ । हिमाल, पहाड र तराईको दृष्यावलोकन गर्न सकिने सो स्थानबाट काठमाडौंको सहर र पहाडी क्षेत्रका बस्तीहरु नजिकबाट नियाल्न सकिन्छ । सँगै चन्द्रगिरी पर्वतको हरियो वनको बीचमा रहेर प्रकृतिसँग रमाउने अवसर त छदैछ । चन्द्रागिरी पर्वतको शिखरको महत्व धार्मिक र ऐतिहासिक दुबै पक्षमा चर्चित छ । पहिला थानकोटबाट २ घण्टा भन्दा बढी समय ठाडो उकालो चड्नुपथ्र्यो । अहिले चेकपोष्ट, चित्लाङ भन्ज्याङ् हुँदै उक्त स्थानसम्म कच्चि मोटरबाट पनि पुगेको छ । करिव १२ किलोमिटर लामो उकालो सडक पार गर्न बलियो इन्जिन भएको जीपलाई आधा घण्टा लाग्छ । सडकमार्गले गर्दा केबुलकारमा जान नचाहनेका लागी पनि चन्द्रगिरी जानको सजिलो भएको छ । केबुलकार चड्ने स्टेशनमा रेष्टुरेन्ट, शपिङ सेन्टर, सवारी पार्किङ स्थल, बगैचा बनाउने कार्य भईरहेको छ । ३ सय मोटर साईकल, २ सय कार र १ सय बस पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल निर्माण हुन लागेको छ ।4
उपत्यकामा बासी र बाहिरी जिल्लाहरुबाट काठकाण्डौ जाने मानिसहरुको लागी मनोरञ्जनको उत्कृष्ट स्थल निर्माण भएको छ चन्द्रगिरी । साथै, स्वदेशी र विदेशी पर्यटनको लागि पनि चन्द्रगिरी आकर्षक गन्तव्य भएको छ । आजभोली त्यहा दैनिक १० हजारदेखि १५ हजार मानिस पुग्ने गरेका छन । चन्द्रगिरी हिल्स लिमिटेडले सरकारसँग चन्द्रागिरी पर्वतमा ३६ विगाह जमिन भाडा लिएको छ । त्यसमध्ये ५ विगाहामा आवश्यकताअनुसार पूर्वाधार विकास गरेको छ । बाँकी जमिनको वन संरक्षण गर्ने जिम्मेवारी समेत प्रा.लि. ले लिएको छ । यो स्थल ४० वर्षको लागि जग्गा भाडामा लिइएको हो ।

चन्द्रागिरी पुगेपछि चित्लाङ गाउँ पुग्नै पर्ने हुन्छ । मकवानपुरको स्यानो उपत्यका हो चित्लाङ । चित्लाङ राजधानीबाट १४ किमी मात्रै टाढा पर्छ । चन्द्रागिरि भञ्ज्याङ मुन्तिर ६ किलोमिटरमा चित्लाङ गाउँ पर्दछ । चित्लाङ गाउँमा यतिबेला जहाँ हे¥यो, त्यहीँ हरियो देखिन्छ । चित्लाङमा तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड छन । मैदानी फाँटमा हरिया मकै, फर्सीका मुन्टा, धानका बिउ, घाँसे मैदान र नासपातीका बोट देख्न सकिन्छ । बनै हरियो, मनै हरियो । हरिलो, भरीलो र झरीलो मौसममा मकवानपुरको रमणीय पर्यटकीय गाउँ चित्लाङ चन्द्रागिरी जाने मानिसहरुको लागी अर्को गन्तब्य स्थल हो । पर्यटकीय दृष्टिले यो निकै सुन्दर, शान्त, सुरक्षित र सहृदयी गन्तब्य हो ।5

चन्द्रागिरी डाँडो छिचोल्न हाईकिङ गर्नेहरुलाई बढीमा तीन घण्टा लाग्छ । बस या जीपमा पनि जान सकिन्छ । हरियै जंगलको विचबाट नागबेली बाटो हुँदै त्यो डाँडो पार गर्नासाथ दक्षिणतिर देखिन्छ, समुद्र सतहबाट १७ सय मिटर उचाइमा रहेको रमणीय चित्लाङ गाउँ । चन्द्रागिरिको टुप्पोसम्म केवलकार सञ्चालन भएपछि चित्लाङको पर्यटकीय सम्भावना बढेको छ । गाउँकै फलेको मकैको पीठोको हलुवा, तारेको आलु र अमलेट, चित्लाङ गाउँको रिसोर्टमा पुग्नासाथ पर्यटकलाई खाजा स्वरुप दिने गरिन्छ । गाउँमै उत्पादीत ट्राउट माछा खाने की दूधालु बाख्राको चिज ? वाइन पारखीहरुको लागी नासपातीको वाइन पनि पाइन्छ ।

हरियै घाँसे चउर र नासपातीको घना बगैचाकै विचमा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका स–साना कटेज देखिन्छन् । कटेज शानदार छ । फ्रि वाईफाई त हुने नै भयो । दुई रात बस्नेलाई लन्च फ्रि रातमा क्याम्प फायरको मजा । यो गर्मीमा पनि चित्लाङमा साँझ परेपछि जाडो हुन्छ, पातलो ज्याकेट त लगाउनैपर्छ । १० हजार जनसंख्या भएको चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत रेञ्ज छ । indexयो प्राचीन गाउँमा नेवार, बाहुन क्षेत्री र तामाङ जातीका मानिस बस्छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने यात्रुहरु चन्द्रागिरी डाँडो उक्लिएर चित्लाङ हुँदै जाने गर्दथे । चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ धेरै छन् । चित्लाङ राजा अंशु बर्माले गोठालाहरुलाई उपहारमा दिएको गाउँ हो । त्यति मात्र हैन, द्वापर युगमा सप्तऋषिहरुले नुहाउने सप्तश्री धारा पनि चित्लाङको सम्पदा हो । वि.सं ३ सय १६ मा सम्राट अशोकद्वारा निर्मित अशोक चैत्य पर्यटकको अर्को आकर्षण हो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले चित्लाङमै बसेर आफ्नो चर्चित ‘यात्री’ कविता लेखेका रहेछन् । लामो यात्राबाट थाकेर चित्लाङमा सुस्ताउँदा महाकविले पशुपतिनाथ दर्शनका लागि आएका भारतीय तिर्थ यात्रीलाई देखेछन् । अनि उनले चित्लाङमै बसेर ‘कुन मन्दिरमा जान्छौ यात्री’ भनेर लेखेका रहेछन् । चित्लाङका बासिन्दा यस्ता कथाहरु बडा रोचक पाराले सुनाउने गर्छन् । कल्पना नै नगरेको आतित्थ्य सत्कार चित्लाङ्गमा पाउनु हुन्छ । पाहुनाहरु गाउँलेहरुले सन्चालनमा ल्याएका होस्टेमा घर घरमा बाढिनु पर्दछ । होमस्टे सेवाका घरहरुले बढिमा ४–५ जनासम्म पाउनालाई सजिलै वास र खानाको व्यवस्था मिलाउन सक्छन । आफ्नै बारीको साग टिपिन्छ, आफ्नै जाँतोको अन्न पिसिन्छ अनि आफनै चुलोमा पकाएर पाहुनालाई दिइन्छ । Kulekhane_10

यहाँ सकेसम्म विकासे र सहरबाट आयतित उत्पादनलाई त्यति महत्व दिइदैन । हरिया फाँट र नजिकैको जंगल हेर्दै, गाँउ घुम्दै, स्थानीय मठमन्दिर नियाल्दै, घरेलु खानाको मजा लिदै, चित्लाङमा रम्न सकिन्छ । त्यतिमात्र होइन अन्य धेरै महत्वपूर्ण चिजहरुले पनि सुसोभित छ यो ठाँउ । जहाँ द्वापर युगमा सप्तऋषीहरुले नुहाउने सप्तऋषी धारामा नुहाउन सकिन्छ । चित्लाङ्ग मै उत्पादित ट्राउट माछा अनि चित्लाङ्गकै घाँस खाएका दुधालु बाख्राको दुधबाट उत्पादित चिजको स्वाद लिनु चित्लाङ्ग पुग्नुको अर्को आनन्द हो । जुन नेपालका अन्य गाउँहरुमा बिरलै पाइन्छ ।

चित्लाङबासीले पाहुनाहरुलाई आफूले सुनेका भोगेका सत्य तथ्य कुराहरु पाना पल्टाई पल्टाई सुनाउँछन् । विशेषगरी चित्लाङ अन्तर्गतका माझगाउँ, कपुगाउँ, बिसिंखेल, कलाँटु, टुपिखेल, न्हुलगाउँ, मार्खु, खर्कलगायत क्षेत्र घुम्न सके झनै रमाइलो हुन्छ ।

मिती ः– २०७३ भाद्र १४ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *