इच्छाकामना पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
केबुलकार र सडक यातायातको सुबिधा भए पछि आजभोली तिर्थाटन एवं घुमफिरको लागी धेरै पर्यटकहरु गोरखाको मनकामना पुग्ने गर्दछन । चैते दसै र बडा दसैको समयमा त मनकामना मन्दिरमा भिडभाड धेरै हुन्छ । मनकामनामा तिर्थाटनका पर्यटकहरुलाई खान बस्नको लागी होटलको सुबिधा पनि छ । जुन कारणले मनकामा पर्यटकहरु को लागी गन्तब्य भएको छ । 1549bca6e69ff9990ab46061c42f4e03

मनकामनाको केबुल स्टेशनको पार्कबाट दक्षिण र पश्चिम तिरका अग्ला महाभारत पर्वत सबै पर्यटकहरुले देखेका हुन्छन । कतिपयले आफ्नो क्यामेरामा ती पहाडको दृष्य समेत कैद गरेका हुन्छ । तर धेरै पर्यटकलाई ती पहाडको महत्व थाहा नहुन सक्छ । मनकामना माईको सात दिदी बहिनी थिए । जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई पश्चिम पट्टी देखिने छिम्केश्वरी महाभारत पर्वत तनहू जिल्लामा पर्दछ । साहिली बहिनी गोरखा कालिका माई हुन भने काहिली बहिनी मनकामना माई हुन । केबुल स्टेशनको पार्कबाट दक्षिण पट्टी चितवन जिल्लाको महाभारत पर्वतमा अन्तरी बहिनी इच्छाकामना माईको मन्दिर छ । त्यपछि जन्तरी बहिनी अन्नपूर्ण माई र कान्छी बहिनी अकला माई हुन ।

इच्छाकामना माई १९६५ साल अर्थात आजभन्दा १०९ बर्ष अगाडी स्थानीय मनिराज दर्लामी गोठाला जाँदा माईको दर्शन पाएका थिए । त्यसपछि गाउँलेहरुले ढुंगाको मन्दिर निर्माण गरी पुजा–आजाको सुरुवात गरेका हुन । इच्छाकामना मन्दिर परिसरमा शिवालयको मन्दिर र गणेशको मूर्ती पनि स्थापना भएको छ । मोटरबाटो खुलेपछि आजभोली मनकामना पुग्ने केहि तिर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने क्रम बढेको छ । इच्छाकामना गाउँपालिका वाडनं ५ चितवन जिल्लामा महाभारत पर्वत श्रृखलामा पर्दछ । अहिले चितवन जिल्लाको साविकका दारेचोक, चण्डीभञ्ज्याङ, काउले र दहखानी गाउँ विकास समिति सबै मिलेर इच्छाकामना गाउँपालिका भएको छ ।18009564_1392306930826014_1259866614_n

इच्छाकामना माईको मन्दिर पृथ्र्वी राजमार्गको चितवन जिल्लामा पर्ने फिस्लिङ बजार भन्दा दक्षिण महाभारत पर्वतमा पर्दछ । इच्छाकामना र मनकामना मन्दिर दुई विपरित अर्थात आमुन्ने सामुन्ने डाँडामा छन् । तिर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पुरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो । इच्छाकामना र मनकामना दुई दिदी बहिनी बिच रोचक प्रशगं पनि पाइन्छ । मनकामना र इच्छाकामना बीच कुनैबेला को ठूलो हो भन्ने विषयमा बिवाद परेछ । बिवाद झगडामा परिणत भएछ । झगडाको क्रममा इच्छाकामनाले मनकामनालाई उनको मन्दिरमा सुँगुर पनि बलि चढाइयोस भन्ने श्राप दिइछन् । मनकामनाले पनि इच्छाकामनालाई उनको मन्दिरमा कुनै पनि भक्तहरु नपुगुन् भन्ने श्राप दिइछन । दुबै मन्दिरको अहिलेको अवस्था हेर्दा साच्चैनै हो की भने झै लाग्छ ।

भुरे टाकुे राजाहरुको पालामा गोरखाको दक्षिणी सिमानाको किल्ला मनकामना थियो भने इच्छाकामना मकवानपुरको उत्तरी किल्ला पर्दथियो । थियो । इच्छाकामनाको स्थापना पनि मकवानपुरका सेन राजाले उत्तरी किल्लाका रुपमा पहाडको टुप्पामा गराएका थिए । सम्भवतः पाल्पाली राजा मुकुन्द सेनले यी देवीको प्रतिष्ठापन गराएको हुन सक्छ भन्ने कुरा पनि पाइन्छ । यतिखेर इच्छाकामनाको मन्दिर तले शैलीको सामान्य दुई वटा छानायुक्त छ । प्रत्येक वर्ष मंसिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्ने गर्छ । मेलामा राँगा, बोका, हाँसको अण्डा र कुखुराको बलि दिइन्छ । घन्ट र त्रिशुल पनि चढाउने गरिन्छ । इच्छाकामना माईको मेलामा युवायुवतीको विवाह पनि हुने गर्दछ । 11791695_1004115366287417_308864610_n

मन्दिरको चारैतिर रहेका डाँडामा गुरुङ, घर्ती र चेपाङ समुदायको बाक्लो बसोबास छ । मन्दिर नजिकको बँदेलटारमा गुरुङ समुदायको बाहुल्यता छ । पृथ्वी राजमार्गमा पर्ने फिस्लिङ बजारबाट गाडीमा चढेर करिब १ घण्टा ३० मिनेटमा चिसापानीमा पुग्न सकिन्छ भने चिसापानीबाट करिब १० मिनेटको पैदल यात्रामा इच्छाकामना मन्दिरमा पुग्न सकिन्छ । इच्छाकामना माईको दर्शन गरे मनको इच्छा पुरा हुने विश्वास तिर्थाटनमा जाने पर्यटकहरुको छ ।

इच्छाकामना सामुन्द्रिक सतह देखि १८ सय मिटरको उचाईमा रहेको छ । चितवन जिल्लाको महाभारत पहाडहरु मध्येको उच्च पहाड पनि इच्छाकामना गाउपालिकामा पर्दछ । पहिलोपटक इच्छाकामना पुग्ने पर्यटकहरु वरिपरिको प्राकृतिक वातावरणले सबैलाई ध्यान केन्द्रिीत गराइ दिन्छ । चण्डीभञ्ज्याङको असीमुरे, पामडाडाँ, चिसापानी, सिस्नेरी र चौतारा गाउँहरुको गुरुङ समुदायको बस्तीहरुले पर्यटकलाई ग्रामीण जनजीवनको बारेमा थप अध्यनको विषय बन्दछ । इच्छाकामनाको वरपर जंगलले ढाकेको छ । फागुन, चैतमा फुल्ने लालीगुराँसले वरिपरिको वातावरण रंगीन बन्छ । वनपाखा फूलले ढकमक्क हुन्छन् । यो बेला पर्यटकहरुको सख्या बढछ ।52_338881507537064 इच्छाकामनाबाट सफा मौसमा सम्भवत सबैभन्दा लामो हिमाली श्रृंखला गणेश हिमाल देखि माछापुच्छे सम्मको मनोरम दृष्य अबलोकन गर्न सकिन्छ । काठमाडौंको थानकोट लगायत भरतपुर, नारायणगढ, हेटौडा र टाडी सम्मको स्थान पनि अबलोकन गर्न सकिन्छ । मन्दिरको परिसरबाट उत्तर तिर रहेको गोरखा जिल्लाको धैवुङ, नाम्जुङको डाडा, मकैसिंङ, भुम्लीचोक, बाग्लिङ गाउँ, ताङलीचोक, तिनमाने भज्याङ र मनकामना मन्दिर नजिकै देख्न सकिन्छ । तर यो सबै हेर्नका लागी मौसम भने सफा रहनु पर्दछ ।

पृथ्र्वी राजमार्गमा पर्ने फिस्लिङबाट इच्छाकामना सम्म अहिले साना सवारी साधन जिप, मोटरसाइकल चल्ने गरेका छन । विद्युतको सुविधा पनि छ । त्यति मात्र होइन पर्यटकले इन्टरनेट सुविधा उपभोग गर्न पनि सक्दछन । पर्यटकहरुको लागी खान बस्न होटल खुल्ने क्रम पनि बढदै गएको छ । गुरुङ र चेपाङ समुदायको बसोबास रहेको यो ठाउँमा तरकारी उत्पादन पकेट क्षेत्रमा पर्दछ । इच्छाकामनामा पुग्ने पर्यटकहरुले ग्रामीण क्षेत्रका ब्यावसायिक तरकारी खेती समेत अवलोकन गर्न पाउछन । पहाडको फेदीमा राजमार्ग नागबेली आकारमा बग्ने त्रिशुली नदी महाभारत पर्वतको उकालो लागे पछि प्राकृतिक रुपले पाइने विविधताले गर्दा अहिले इच्छाकामना तिर्थाटन र जैविक पर्यटकहरुको गन्तब्य स्थल बनेको छ । 3

इच्छाकामनामा पुग्ने पर्यटकहरुको अर्को आकर्षण भनेको सुन्तला खेती पनि हो । इच्छाकामना गाउँका बासिन्दाको नगदे खेती पनि सुन्तला हो । कार्तिक, मङसिर महिनामा पुग्ने पर्यटकहरुले गाउँ भरीनै सुन्तालाले पहेँलपुर भएको देख्न पाउछन । हाँगामा लटरम्म फलेका सुन्तलाको दृश्य साँच्चिकै हेरिरहूँझैं लाग्छ । सुन्तलाको बोटमा बसेर फोटो खिच्ने पर्यटकहरुको सख्या पनि कमि हुदैन । बगैचामा बसेर सुन्तलाको स्वाद लिन पाउदा पर्यटकहरु आनन्द मान्दछन । सुन्तला इच्छाकामनाको प्राय सबै गाउँमा पाइन्छ । सुन्तलाको स्वाद र धेरै उत्पादन हुने स्थान मनकामनाको नाम आउने गरे पनि इच्छाकामना सुन्तलाको लागी पकेट एरिया पर्दछ । सुन्तला खेतीको लागी सामन्यता १००० देखि १४०० मिटर सम्मको उचाईमा सुन्तलाको खेति व्यावसायिक रुपमा गर्न सकिन्छ । सुन्तला खेतीको लागी उत्तरी मोहडाको जमिन र सुन्तलाको बोटले हिमाली हावा खोज्दछ । जुन वातावरण इच्छाकामनामा छ ।

इच्छाकामना–३ तोकडाङ गाउँमा पर्यटकहरुलाई सुविधा दिन होमस्टे पनि संन्चालन भएको छ । तोकडाङ गाउँमा ३५ घर गुरुङ समुदायका छन । आमा समुहबाट सन्चालनमा आएका होमस्टे भू–कम्प आएपछि भने भत्केका घरहरु पुननिर्माणको काम पनि हुदैछ । तैपनि गाउँमा पुग्ने पाहुनाहरुलाई खानपिन, सेबा सत्कार र आवास भने दिने गरेका छन । 2तोकडाङ गाउँमा स्थानिय उत्पादनबाट बनेका परिकार, गुरुङ समुदायको संस्कृतिको अनुभव पर्यटकले पाउछन । पर्यटक पाहुनालाई लोकल खाना इच्छा अनुसार ढिँडो, साग, कुखुरा, लोकल रक्सी समेतको स्वाद लिन पाउछन । समूहमा जाने पर्यटकहरुलाई प्याकेजमा, वेलकम स्न्याक्स, डिनर, एक रात बास ब्रेकफास्ट र लन्चको सुविधा पनि पाइन्छ । साँझ गुरुङ समुदायको सांस्कृतिक कार्यक्रम देखाइन्छ ।

इच्छाकामना पुगेपछि धेरै तिर्थाटनका पर्यटकहरु गाउँघरको अध्ययन अवलोकन गर्न रुचाउछन । यसको लागी इच्छाकामना गाउँपालिकाका भूगोल महत्वपुर्ण स्थल मानिन्छ । इच्छाकामनामा विशेष गरी गुरुङ र चेपाङ जातीको बसोवास छ । इच्छाकामना गाउँपालिका २, ३, ५ र ६ वाडमा छरियर रहेका चेपाङबस्ती पनि पर्यटकहरुको लागी अध्ययनको विषय बन्दछ । इच्छाकामनाको धुस्रा, ओरेक, नेतेडाडाँ, सातमारा र बोर्लेङ गाउँहरुमा चेपाङ जातीको बस्ती रहेको छ । बस्तीमा चेपाङहरुले परम्परागत आफैले तयार गरी प्रयोगमा ल्याएका सामग्री समेत पर्यटकहरुले अवलोकन गर्न सक्दछन । चेपाङहरुले प्रयोग गर्ने सामाग्रीहरुमा चमेरो मार्न प्रयोग गर्ने जाल, ठेकी, माछा मार्ने ढडिया, माछा राख्ने गिठा, भ्याकुर, च्युरी, डोका, डालो, नाम्लो, मुखौरो लगायतका सामाग्री चेपाङ जातीको झुपडी घरमा झुण्डाएर राखेको देख्न सकिन्छ ।

चितवनको इच्छाकामना, धादिङ, मकवानपुर र गोरखा जिल्लाका विकट महाभारत पर्वतका गाउँहरुमा चेपाङ जातीको बसोबास छ । चेपाङ जातीको करिब ३० हजार जनसंख्या रहेको छ । चेपाङलाई प्रजा जाति पनि भनिन्छ । चेपाङ अर्थात प्रजा जाती आर्थिक, सामाजिक, शैक्षिक हरेक क्षेत्रमा पछाडि परेका छन । जगंलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु चेपाङहरुको दिनचर्या हो । खोरिया फाडेर गरेको खेतीले वर्षको तीन महिना पनि खान पुग्दैन । अको तर्फ सानै उमेरमा बिहे गर्ने, धेरै सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ । Sonam-Lhosarचेपाङ जातीमा गरीबीका कारण कतिपयको शरीर ढाक्ने लुगासमेत हुँदैन । चेपाङ जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति हुदैन । अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्यूरीको घ्यू र मह काढेर कमाएको थोरै आम्दानीले चेपाङ जातीको गुजारा चलेको छ । जग्गा नापी हुँदा सरकारी तीरो लाग्ने डरले धेरै चेपाङहरुले जग्गा दर्ता नगरेको भेटिन्छ । जुन कारण अहिले पनि धेरै चेपाङ जातीसँग जग्गाधनी प्रमाणपूर्जा छैन । चेपाङ जातीले भदौरे पुर्णिमाका दिन मनाउने चोनाम अर्थात न्वाँगी पर्व मुख्य पर्व मान्दछन । यो समयमा पुग्ने पर्यटकहरुले चोनाम पर्व, चेपाङ जातीको जीवन शैली र संस्कृतीसँग जोडिएका कुरामा पनि अध्यन गर्न सक्दछन । भदौ पुर्णिमाको दिनलाई चेपाङले मुख्य पर्वको रुपमा लिने गर्दछन । सोनाम पर्वमा झाँक्री अर्थात पाम्बेलाई घरमा बोलाएर ढयाङग्रो ठोकेर यो पर्व मनाउने गर्दछन् ।

कतिपय शहरी क्षेत्रबाट इच्छाकामना पुग्ने पर्यटकहरु पैदल भ्रमण गर्न पनि रुचाउछन । पैदल यात्रालाई आजभोली शहर बजारमा बस्ने युवा पुस्ताहरुले हाइकिङ पनि भन्ने गर्दछन । शहर बजारमा बसने युवापुस्ताहरुले आजभोली बोलिचालीमा एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । हाईकिङ शब्द पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । इच्छाकामनाको वाडनं ७ मा ऐतिहासिक गढी पर्दछ । गढी आजभन्दा २ सय ५५ बर्ष पहिले पृथ्वीनारायण शाहका नाती शत्रुभञ्जन शाहले निर्माण गरेका हुन । यो गढी चितवनको पुरानो सदरमुकाम पनि हो । यो गढीमा पुग्न इच्छाकामनाबाट भन्दा दासढुङा नजिक पर्ने कपिलास–भोर्ले सडकबाट केहि माथी सम्म मोटरमा र त्यसपछि २ घन्टा पैदल यात्रा गर्न पर्दछ ।19260700_1894945967434431_6134348108995725460_n

इच्छाकामनाको वाडनं–६ मा पर्ने नारायणगढ–मुग्लीन मार्गको जलविरे मन्दिरबाट २० मिनेटको उकालो पैदल यात्रामा लामो झरनामा पुग्न सकिन्छ । प्राकृतिक यो झरना निरन्तर बगिरहेको छ । करिव ६० मी. अग्लो स्थानबाट सिधै तल चटटानमा झर्ने झरनाले पर्यटकलाई आकर्षण गराउछ । त्यहा तीनवटा साना पोखरीहरु पनि छन । जुन पोखरीमा त्यहा पुग्ने पर्यटकहरु स्नान गर्ने गर्दछन ।
पृथ्वी राजमार्गको फिस्लिङबाट १७ किलो मिटरको सडकमा मोटरको यात्रा अथवा मुग्लिनबाट ७ कि.मी कच्ची मोटर मार्गको यात्रामा तामीङ गाउँसम्म पुगेर पैदल यात्रामा पनि इच्छाकामना पुग्न सकिन्छ । तामीङ गाउँबाट गोठेडाडाँ, ठूलो भन्ज्याङ हुदै इच्छाकमना पुग्न तीन घन्टा जंगलको बाटो पैदल यात्रा गर्न पर्ने हुन्छ ।

मिती ः– २०७४ असोज २९ गतेदाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *