श्राद्ध भनेको श्रद्धा हो

 19198402_2033021870260759_1647743086_nके.बि.मसाल
कविशिरोमणि लेखनाथ पौड्याले काल महिमा शिर्षकको कवितामा लेख्नु भएको छ । भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो, आयो टप्प टिप्यो,लग्यो मिती पुग्यो, टारेर टर्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो । थुप्रोमा उधिनी मिठो र नमिठो छुट्टयाइ छान्दैन त्यो, खाता जाँचि सबै दुरुस्त नबुझि बिर्सेर हान्दैन त्यो ।….. कवि लेखनाथले भने जस्तै कालले कसैको विन्ती,दया,ममता केहि नमानी आउछ,लैजान्छ । फेरि काललाई कसैले देखेको पनि छैन । कस्तो हुन्छ कसैसगं कल्पना पनि छैन । यसको प्रकृया छ । मानिस जन्मन्छ र मृत्यु हुन्छ । आखीर जीवनको सत्यनै त्यहि काल बनेको हुन्छ ।

25-things-you-should-keep-in-mind-all-of-the-time-memorialमृत्युसँग कुनै वार्ता र सहमति हुनसक्दैन । सम्झौता हुँदैन । मृत्युुसँग कसैको पनि दोहोरो सम्वाद हुन सक्दैन । मृत्यु पूरै निरंकुश र अधिनायक हुन्छ । कस्तो विचित्रको हो यो मृत्यु । मृत्युसँग कोही पनि सामना गर्न चाहँदैन । जो पनि यसबाट परपरै भाग्न खोज्छ । मृत्यु एक्लो हुन्छ । मृत्युः शब्द सुन्नासाथ कान ठाडा हुन्छन, आङ जिरिङग हुन्छ, शरीरमा रोमाञ्च हुन्छ । पसिना छुट्छ । मृत्युः शब्दले नै कति भयावह कम्पन दिन्छ । अनि यस शब्दको यथार्थ बोध हुने त कुरै भएन । मृत्यु कस्तो हुन्छ भनेर कसैले पनि अनुमान गर्न सक्दैन । अनुभव कसैलाई पनि हुँदैन–मृत्युको । अनुभव– अनुभूति र थाहाभन्दा टाढा अगम्य हुन्छ मृत्यु । अर्थात मृत्युमा पुग्ने कोही पनि फर्किदैन । सबैभन्दा अप्रिय केही छ भने त्यो मृत्यु हो । मृत्यु कहिले हुन्छ कसैलाई थाहा हुन्न । मृत्यु कसरी हुन्छ भन्न सकिन तर हामी मर्छौ भन्ने कुरा सबैलाई थाहा हुन्छ । मृत्यु र जीवन एक अर्कोको विकल्प होइन ।

4243मृत्यु जीवनको अन्तिम र सबैभन्दा दुःखद सत्य हो । यसपछि जीवितहरुसँग मृतकको यादबाहेक केही रहन्न । आफ्नो प्रिय आफन्त सदाका निम्ति हराउनुले मृतकका आफन्तलाई विचलितसमेत बनाइदिन्छ । विछोडको पीडाबाट ध्वस्त भएको मनोदशाबीच मृतकको निम्ति केही गर्नेदेखि जे पनि गर्नेसम्मको इच्छा प्रकट हुन्छ । हाम्रो समाजमा मानिसको मृत्युपछि गरिने अनेकन संस्कार छन, त्यसमध्ये ब्रÞमनालमा सुताउने, दागबत्ती दिने, जलाउने, किरिया बस्ने, ढिकुरो खडा गर्ने र काट्टो खाई शुद्धयाइँ गर्ने, गाईदान, बर्खी बार्ने र वार्षिकी गर्ने मुख्य छन् । त्यसपछि प्रत्येक बर्ष श्राद्ध गरेर पितृहरुलाई संझने गरिन्छ ।
श्राद्ध भनेको श्रद्धा अर्थात बिस्वाश हो । आफ्ना दिवंगत पितृहरुको कार्य हामीले दिएको पाउनु हुन्छ भनेर श्रद्धा र बिस्वासले उहाँ प्रति ब्राम्हण ,गाई ,अग्नि ,नदि ,दुखि ,गरिव ,असहायमा समर्पण गर्नु श्राद्ध हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले शुभ कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्ध जस्ता श्राद्धहरु गर्ने प्रचलन छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने कार्यलाई सोह्रश्राद्ध भनिन्छ । चाडपर्व आउनु भन्दा अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिन सनातन हिन्दू शास्त्रीय परम्परा हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

shraddh_puja_2आश्विन कृष्ण प्रतिपदा तिथिदेखि दसै सुरु हुने (जमरे औंसी) सम्म १५ दिनको समयलाई सोह्रश्राद्ध भनिन्छ । पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरुलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्युतिथिमा श्राद्ध गर्दछन् । केही मानिस, जसलाई आफ्ना परिजनहरुको मृत्युतिथि थाहा हुँदैन,तिनको समस्यालाई ध्यानमा राखी पितृपक्षका त्यस्ता केही विशेष तिथिहरु निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृजनहरुको आत्मालाई शान्ति प्राप्त हुन्छ । श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट बुझने र भन्ने गरिए पनि पितृहरुलाई श्रद्धापूर्वक सम्झनु र उनीहरुप्रति कृतज्ञता प्रकट गर्नुनै श्रद्धा हो । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । यसैगरी उनीहरुको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरुको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ ।

शास्त्रहरुले बताएका विधि विधानअनुसार आफ्ना पितृहरुप्रति गर्नुपर्ने कार्यलाई नैं श्राद्ध भनिन्छ । पितृकार्य अन्य कार्यको तुलनामा श्रद्धापूर्वक गर्नुपर्ने भएकोले पनि पितृहरुको उपासना गर्ने कार्यलाई श्राद्ध भनिएको हो । पितृहरुको स्मरण गर्दै ब्राह्मणहरुलाई दान गर्नु वा भोजन गराउनु पनि श्राद्ध नैं हो । पूर्वजहरुलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धर्म सम्प्रदायलाई पनि रोकावट छैन । श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ । पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरुको निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दुधर्मले दिएको छ ।

pitra-dosh-01-1474117977श्राद्धको प्रमुख कार्यमा तर्पण, सिधादान, पिण्डदान र ब्राह्मण भोजन हुन् तर यति मात्र हुन् भन्ने होइन । अन्य कार्य पनि त्यति नै महत्वपूर्ण छन् । पिण्डदानको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ । यसमा भूखण्डका बहुविधासँग मात्र नभई स्वर्गका देवता, पातालका नागजाति, पितृलोकका पितृहरुसँग भावनात्मक सम्बन्ध जोडिएको छ । त्यसैले श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई आब्रह्मस्तम्भपर्यन्त अर्थात् ब्रह्मादेखि किरा पतगसम्मको तृप्तिको कामना गरिएको हुन्छ । सामान्य अर्थमा पिण्ड भनेको डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राख्छ । गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ ।

श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश मुण्डन गरी एक छाक मात्र खानुपर्दछ । यो कर्मलाई एकभक्त (हविश्य) पनि भनिन्छ । केशमुण्डन गर्न समय, फुर्सद, अवस्था नमिलेमा कुशपानीले टाउको नुहाई पवित्र हुने चलन छ । शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने उल्लेख छ । यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राह्मण पनि सदाचारी हुनुपर्दछ । श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढने ब्राह्मण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ ।

तर हामीकहा आजभोली मानिसको मृत्यु भएपछि मात्र श्रद्धा अर्थात श्राद्ध गर्ने प्रचलन हावी भएको छ । बाचुन्जेल उसलाई आवस्यक पर्दा केहि सहयोग नगर्ने मानिसले पनि मृत्यु पस्यात समवेदना दिने प्रचलन सुरु भएको छ । ‘जिउँदा पितृलाई माड छैन मरेको पितृलाई खिर’ भन्ने आख्यान पनि हामीकहाँ छ । जीवित छँदा पितामातालाई अत्यन्त कष्ट दिएर मरेपछि बडो पितृमातृ भक्त भएर पिण्ड तर्पण गर्ने व्यक्ति पनि समाजमा छन् । जिउँदो र मरेपछि पनि पितृहरुप्रति श्रद्धा भक्ति नभएका पितृ द्रोही युवा युवती हाम्रो समाजमा प्रशस्त छन् ।

केही वर्ष अगाडिसम्म नेपाली समाजमा बृद्धबृद्धाहरुको स्थान अहिलेभन्दा अत्यन्त महत्वपूर्ण थियो । उनीहरुलाई घर,परिवार समाजमा सबैले अत्यन्तै मानसम्मान गर्दथे, ठूलो आदर हुन्थ्यो । बृद्धबृद्धाले आ–आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि अर्ती उपदेशको रुपमा ठूला मार्ग दर्शन बन्दथे । समाज प्रायः संयुक्त घर,परिवार प्रणालीमा चलेको थियो । एउटै घरमा परिवारका धेरै सदस्यहरु संगोलमा बसेका हुन्थे । छुट्टी भिन्नभै अलग बस्ने कुरा धेरैपछि आएरमात्र लागू हुन्थ्यो । त्यसबखतका घरमुली बृद्धको स्थान अत्यन्त ओजस्वी, उच्च थियो । परिवारमा धेरै सदस्य भएको घरलाई ठूलाघर का रुपमा हेरिन्थ्यो । यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार व्यवहार, राम्रो समाजिक सदभाव एवं सौहाद्रता र मर्यादित आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रुपमा अत्यन्त सुन्दर ढंगबाट विकसित हुँदै आएको थियो । त्यस बेलामा गरिने श्रद्धा र मृत्यु भएपछि गरिने श्राद्धको महत्वनै भिन्न थियो ।

तर अहिले हाम्रो समाजमा विकसित मुलुकको प्रभाव र आकर्षणले नेपाली समाजमा पनि छुन थालेको छ । घरभित्र रहेका परिवारका अधिकांश सदस्यहरु, दाजुभाइहरु वयस्क उमेरमा पुग्नासाथ आफ्ना आमाबुवासँग आपसमा अलग भइ छुट्टै बस्न रुचाउने हुन थाले । समाजमा घरधुरि बृद्धि हुने अवस्था र जमिनको स्वामित्वमा विखण्डन हुनेक्रम निरन्तर बढन थालेको छ । संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घटदै गएको छ । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भएका छन । जसले गर्दा श्रद्धा पूर्वक मायाँ ममता र हेरचाह गर्नु पर्ने बूढाबूढीको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित तिरस्कृत हुँदै जाने परिस्थिति हुन थालेको छ । यसको लागि सबै क्षेत्रमा कार्यरत सरोकारवालाहरु सबै निकायबीच समन्वयात्मक वातावरणको विकास हुनु नितान्त जरुरी छ । यस्ता प्रयासबाट सबै मिलेर काम गर्दा समाजमा बृद्धबृद्धाप्रति संमानको भावना जागृत गर्न र उनीहरुमा आत्मबल पैदा गर्न ठूलो मद्धत पुगी उनीहरुमा हौसला र जाँगरको सुमधुर वातावरणको सृजना हुन जान्छ ।

संमान गर्नु पर्ने बृद्ध नागरिकको संख्या बर्षेनी बढदै गएको छ । ता पनि उनीहरुको संमान र संरक्षणका लागी सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसक्दा अप्ठेरोमा परेका बृद्धबृद्धाहरु झनै जोखिममा पर्ने गरेका छन । बृद्ध नागरिक राष्ट्रका धरोहर र जिउदा इतिहास भए पनि घर परिवार र राज्यले उचित जिम्मेवारी बहन नगरि दिदा कयौ बृद्ध बृद्धाहरु हेला र तिरस्कारको शिकार हुन पुगेका छन । नया पीढिको ब्यस्त र स्वछन्द जीवनशैली, र आधुनिकताका नाममा आत्मकेन्द्रित र स्वार्थीपना बढदै गएको कारण आफुलाई जन्म दिने आमा–बाबुलाई समेत हेला गर्ने, कुटपिट गर्ने र घरैबाट निकाली दिनेसम्मका घटनाहरु हुने गरेका छन । यस्ता परिवारका सदस्यहरुले सोह्रश्राद्धमा गरेको श्राद्धलाई के भन्ने ? परिवारमा कचकच गरेको, बोझको रुपमा परिणत भएको आरोप कतिपय बृद्ध नागरिकलाई लगाईने गरिन्छ । शारिरीक आर्थिक तथा सामाजिक हैसियत कमजोर हुदै गएका कारण परिवार र समाजबाट बढी माया ममता स्याहार र सम्मान पाउनु पर्ने समयमा तिरस्कार हेला र घृणाको पात्र बन्नु पर्दा कल्पना गरौ त कति रुन्छ होला ति बृद्धको मन ?

तर पनि नजिकदै आएको दसै पर्वमा पितृहरुलाई श्रद्धापूर्वक सम्झनु र उनीहरुप्रति कृतज्ञता प्रकट गर्नु राम्रो कुरा हो । जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ । शास्त्रहरुले बताएका विधि विधानअनुसार आफ्ना पितृहरुका निमित्त गरिने पैतृक कर्म नै श्राद्ध हो । मरेपछि श्राद्ध गर्नु भन्दा बाचुञ्जेल आफ्ना बावु आमालाई संमान पूर्वक सेवा गर्ने बानीको बिकास गरौ अनि मात्र मरेपछि श्राद्ध गरेको अववस्य सार्थकता होला ।

मिती ः– २०७४ भाद्र २० गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *