घान्द्रुक पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
घान्द्रुक होमस्टेबाट बिहानै बाहिर निक्लदा माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमालहरु बास बसेको होमस्टे अगाडि नै देखिन्छ । जता हेर्यो त्यतै लोभलाग्दो हिमालचुली । समुद्र सतहदेखि एक हजार नौ सयको उचाइमा रहेको कास्कीको घान्द्रुक गाउँ प्राकृतिक सौन्र्दयले भरिपुर्ण छ । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी र कास्कीको घान्द्रुकमा बाह्य मात्र होइन आन्तरिक पर्यटक पनि बढन थालेका छन् ।Ghandruk-21

कास्की जिल्लाको उत्तरमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुक पर्यटकीय सुन्दर ठाँउ हो । हिमाल मात्र होइन घान्द्रुक गाउँमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु पनि छन । मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह तालले पनि घान्द्रुक पुग्ने जो कोहिलाई आनन्द बनाउछ । हिमश्रृखला, सूर्योदय, ग्रामीण बस्ती, फरक संस्कृति, वन जगल र मनोरम भूगोलको अवलोकन गर्न घान्द्रुकमा पाइन्छ । प्रकृतिसंग जति रमाए पनि मन अघाउदैन घान्द्रुकमा त्यहाँ पुग्नेहरु प्राय यही भन्ने गर्छन् । स्वदेशी मात्र हैन धेरै विदेशी पर्यटकहरुको लागि घान्द्रुक पर्यटकिय गन्तब्य वनेको छ ।

घान्द्रुकमा पुगेपछि विदेशी मात्र हैन स्वदेशीको पनि मन प्रफुल्ल हुन्छ । ढुङगाले कुदेर बनाइएका गुरुङ समुदायका घर र नजिकबाट देखिने अनपूर्ण र द्यौलागिरी हिमश्रृङखलाहरुको अनुपम दृश्यहरुले जसको पनि मन लोभिन्छ । बिहान सबेरै उठेर जहाँवाट हेर्दा पनि हिमाल छयाङ्गै खुलेको देखिन्छ । आँखैमा टाँसिन आइपुग्ने हिमाल हेरेर कत्ति धित मर्दैन । जति हेरे पनि हेरु–हेरु वनाउछ । झनै जुनेली रातमा हिउँ परेको समयमा हिमाल टलक्क टल्किदा पर्यटकहरु त्यो दृश्यले मोहित हुने गर्दछन् । यही भएर त होला स्वदेशमा मात्र हैन विदेशमा पनि उतिकै लोकप्रिय वनेको छ पर्यटकीय गाउँ घान्द्रुक । आजभोली कसैकसैले घान्द्रुकलाई ‘पहाडकी रानी’ भनेर पनि उपमा दिने गरेका छन ।14224912_328373440848075_5824210142001971834_n

कास्की जिल्लाको उत्तरी भेगमा पर्ने घान्दु्रक भौगोलिक हिसाबले कास्की जिल्लाकै सबै भन्दा ठूलो गाविस हो । उत्तरमा अन्नपूर्ण हिमाल, पूर्वमा मोदिखोला, दक्षिणमा सार्धिखोला, र पश्चिममा म्याग्दी जिल्लाको सिमानाको बीच पर्दछ घान्द्रुक । गुरुङ भाषामा घान्द्रुकलाई कोंढनास भनिन्छ । कोंको अर्थ अग्लो, ढोको अर्थ बसोवास र नासको अर्थ गाउँ भन्ने बुझिन्छ । घान्द्रुकमा गुरुङ समुदायको बसोवास कसरी भयो भन्ने अनेकन तर्क छन् । घान्दु्रकका गुरुङहरुका पुर्खा सिकलेस, गोर्खा र लमजुङबाट आएका हुन । घान्द्रुकमा कहलिएका सात गाउँ छन । जहाँ ७० प्रतिशत गुरुङजातीका घरहरु छन् । कोट गाउँ, माझ गाउँ, ध्यागोयार गाउँ,अडडादाइयार गाउँ, तल्लो गाउँ, डाँडागाउँ र गैरी गाउँ । घान्द्रुक गाउँको उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोडेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाटनै गर्न सकिन्छ ।

पछिल्लो समय केही घरहरु ढलान गरेर आरसीसी गर्न थालेपछि भिन्नै मौलिकता बोकेको घान्द्रुकको पहिचान घुम्ने त हैन भन्ने चिन्ता पर्यटकहरुको छ । केही घरहरु यसरी वनेपनि तर अहिले ढलान गरेर घर बनाउन प्रतिबन्ध लगाइएको छ । ढुङ्गाले छाएका घरहरु घान्द्रुकबासीको परम्परागत पहिचान हो । यति मात्र हैन कुदेका ढुङ्गाले छापिएका सिढी नै सिढी भएको बाटोले पनि यहाँको शोभा बढाएको छ । अहिलेसम्म घान्द्रुक गाविसमा साना ठूला गरी झण्डै एक सय होटल छन । घान्द्रुकका होटलहरु पनि आकर्ष ढंगले सजाइएका छन् । सबै होटल शहर बजारका सुविधा सम्पन्न होटल भन्दा कम छैनन् । होटलमा नेपाली र सवै खाले विदेशी खानाको व्यवस्था भएकाले पनि घान्द्रुक जाने पर्यटकहरुलाई कुनै किसिमको असुविधा हुदैन ।Ghandruk-17

गुजुमुज्ज परेका ढुंगेघर,ढुंगाकै स्लेट छापिएका आँगन र एउटाको तगारोबाट छिरेपछि गाउँका सबै घरमा पुग्न सकिने चिरिच्याँट्ट परेका बाटाले गुरुङहरुको पहिचान घान्द्रुकले दिएको छ । दिनभर खेतबारीमा काम ग¥यो, भेडाबाख्रा चरायो र बेलुका रोधीघरमा रमाइलो गर्ने सोझो र फरासिलो जातिको पहिचान बनाएको गुरुङहरुको जीवनशैली अहिले घान्द्रुकमा कथा बनेको छ । घान्द्रुकका बासिन्दाले घाँसदाउरा गरेको बन पाखाहरु यतिखेर बिरानो बन्दै गएको छ । घान्द्रुकबासीले पसिना बगाउने गरेको खेत कान्लाहरु सबै बाँझो हुन पुगेको छ । घान्द्रुक गाउँका मानिसले गाउने गरेको सुनीमाया, यानीमाया, ठाडे भाकाका गीत एवं मालसिरीहरु र गाउँको आगनमा नाच्ने गरेको घाटु, सोरठी, कृष्ण चरित्र र ठेटर नाचहरु कथा जस्तो बन्न पुगेको छ । किन भने गाउँमा युवा–युवती खासै भटिदैनन् । गाउँका धेरै मानिसहरु पोखरामा बस्ने गर्दछन ।

घान्द्रुकमा सुरुमा क्याम्पिङका रुपमा पर्यटकीय गतिविधि सुरु भएको हो । सन् १९५० मा फ्रान्सेली आरोही मोरिस हरजाँले पहिलोपटक आठ हजार मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेपछि घान्द्रुक चर्चामा आउन थाल्यो । मोरिस पछि सन् १९७० सम्म कसैले पनि अन्नपूर्ण आरोहण गर्न सकेनन् । पछि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरतिर घुम्न जाने विदेशी बढ्न थाले, त्यस बेला घान्द्रुकमा कुनै पनि होटल थिएन । घान्द्रुकमा पहिलो होटल खुलेको विसं ०२७ सालतिर मात्र हो । घान्द्रुकमा पर्यटकलाई लक्षित गरेर खुलेको पहिलो होटल फिस्टेल थियो । आजभोली नेपाल आउने लगभग ७५ प्रतिशत विदेशी पर्यटक घान्द्रुक पुग्ने गरेका छन् । नेपाल आएर पनि घान्द्रुक नटेके यात्रा अधुरो हुने विदेशी पर्यटकको भनाइले पनि घान्द्रुक आफैंमा पर्यटनको गन्तब्य बनेकोछ । स्वच्छ पानी तथा चौबीसै घन्टा बिजुली र इन्टरनेट समेतको सुविधाका कारण घान्द्रुक पुग्ने पर्यटकहरु कुनै झन्झट मान्दैनन् ।12994461_247679762250777_4122520649999448011_n

जैविक विविधताले भरिपूर्ण घान्द्रुकमा सुनाखरी, जङ्गली फूल, गुराँस विभिन्न प्रजातिका वन पैदावार, जडीबुटी, जीवजन्तु र थरिथरिका चराचुरुङ्गीसमेत हेर्न पाइन्छ । घान्द्रुक आफैंमा पर्यावरणीय रुपले अत्यन्त सुन्दर स्थल हो । घान्द्रुकबाट प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य मानिन्छ घान्द्रुकबाट घोरेपानी । गगनुचुम्बी हिमाल नियाल्दै घनाजंगलको बाटो भएर घोरेपानी हुदै पुनहिल पुग्दा छुट्टै आनन्दको अनुभूती हुन्छ । नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट मानिन्छ । वरिपरी घनाजंगल रहेको घोरेपानी पुनहिलमा सिजनको बेला बिहानै पर्यटक पुग्ने गर्छन् । पुनहिलको हरेक स्थानबाट हिमाल देख्न सकिन्छ । यो पदमार्गमा हिमाली दृश्यमात्र नभएर गुरुङ तथा मगर संस्कृतिको अनुभव पनि बटुल्न सकिन्छ । पुनहिलबाट मौसम सफा भएको बेलामा अन्नपूर्ण, धौलागिरी हिमाल पुरै देखिन्छ । सबैभन्दा नजिकै देखिने ठूलो हिमाल अन्नपूण साउथ हो । साथै, हिउँचुली, माछापुच्छ्रे हिमाल पनि देख्न सकिन्छ ।

यहाँ सञ्चालित होटेल तथा लजहरु स्थानीय समाजले नियमित अनुगमन गर्ने हुँदा करिव करिव एउटै खालको मूल्य हुन्छ । ग्रामिण पर्यटनका लागि नमुना गाउँको रुपमा रहेको घान्द्रुकमा पर्यटकलाई सांस्कृतिक कार्यक्रम पनि देखाईन्छ । यो पदमार्गमा फागुन र चैत्र महिनामा बाटैभरी लाली गुराँस फुलेको देख्न पाइन्छ । घना जंगलमा रातै फुलेको लाली गुराँस देख्दा सबैको मन प्रफुलित हुन्छ । पुनहिलबाट पुनः घोरेपानीमा फर्किएर खाना खान सकिन्छ । लामो समय भ्रमणको लागी गएका पर्यटकहरु घोरेपानीमै बस्न पनि सक्छन् । तर, छोटो समय भएका पर्यटकहरु त्यसैदिन बिरेठाँटी फर्किएर नयाँ पुलबाट गाडीमा पोखरा फर्कन सक्छन् । पुनहिल पुग्ने यो सबैभन्दा चर्चित मार्ग हो । यसको अलावा अरु पदमार्गबाट पनि पुनहिल पुग्न सकिन्छ । पोखराबाट बिरठाँटी,उल्लेरी हुँदै घोरेपानी पनि पुग्न सकिन्छ । पुनहिल पुग्नका लागि सबैभन्दा छोटो बाटो यही हो ।ghandruk4

घान्द्रुकको स्वागत द्वारमा राखिएका सूचना अनुसार घान्द्रुक गाउँमा ५० देखि ५५ वटा बिभिन्न किसिमका होटलहरु छन । तपाईको बजेट र चाहना अनुसार होटलको सेवा सुविधा लिन सक्नुहुनेछ । गाउँबाट १० मिनेटको उचाई तिर लाग्यो भने तपाईले गुरुङ होमस्टे पनि भेट्न सक्नुहुनेछ । होमस्टे अन्य होटलमा भन्दा केही सस्तो हुन्छ । साथै तपाईे त्यहाँ घरेलु वातावरणमा घान्द्रुक गाउँको बारे अध्ययन र रमाइलो लिन सक्नुहुनेछ । होमस्टेमा २० देखि २५ जनासम्म बस्न मिल्दछ । महिला र पुरुषको निम्ति छुट्टाछुट्टै कोठाको व्यवस्था समेत छ । सुतेको बेड चार्ज १ सय, सादा खानाको ३ सय, चियाको ३० रुपैयाँ लाग्छ । बिहानको घरेलु खाजा खाना तपाईकै इच्छा अनुसार तयार हुन्छ । भैसीको घिउ दलेको सुख्खा रोटी प्रत्येकको ३० रुपैँया, तरकारी एक प्लेटको ३० रुपैयाँ । लोकल कुखुरा खानुहुन्छ भने तपाईले अर्डर गरेर पकाएको समेत गरि २ हजार देखि ३ हजारसम्मका कुखुराहरु घरमै रोजेर काट्न लगाउन सक्नुहुनेछ । तपाईको अर्डर अनुसार ब्रोइलर कुखुराको मासु पनि बजारमा किनेर पकाइदिनेछन् । तपाईलाई लोकल रक्सी चाख्न मन छ भने प्रति गिलास ३० रुपैयाँको दरमा पाउनु हुनेछ । बियर, वाइन, हाडड्रिंक्स खान मन भए अन्य पसलबाट किन्नु पर्ने हुन्छ । त्यसरी किन्दा बजार भाउ भन्दा केही महंगो पर्न जान्छ । बियरमा प्रति बोतल एक देखि डेढसय फरक पर्छ । 12592249_245984752420278_8186686977259369818_n

किम्चेबाटै खच्चडमा बोकाएर लैजानु पर्ने भएकाले खाने र पिउने कुराको भाउ केही महगो पर्दछ । यदि गाडीमा जाने भए तपाईले पोखराबाटै आफुलाई आवस्यक पर्ने पेय पदार्थ झोलामा बोकेर पनि लैजान सक्नुहुनेछ । खानामा लोकल साग,बारीकै तरकारी, गुन्द्रुक भट्टको अचार, लोकल चामलको मज्जा लिन सक्नुहुनेछ । घर भित्र वा बाहिर बेलुका दाउरा बालेर साथीभाई आगो ताप्दै कुराकानी र खानपानमा मस्त हुन पनि सक्नुहुनेछ । गुरुङ बुढाबुढीको ठट्टाले तपाईको समुहमा अझ रमाइलो थप्नेछ । विहान सबेरै उठ्नु भयो भने घरको आँगनबाट माछापुच्छ्रे, अन्नपुर्ण हिमालका श्रृंखला आकाश खुलेको दिनमा सहजै देख्न सक्नुहुनेछ । विहानी पख चियानास्ता पछि गाउँ घुम्ने मज्जा लिन नभुल्नु होला ।

घान्दुक पुग्नको लागी पोखरा जिरोकिलोमिटर अर्थात बाग्लुङ बसपार्कबाट सुविधायुक्त बस पनि संचालनमा आएको छ । पोखराबाट नयाँपुल सम्मको दुरी चालिस किलोमिटर छ । तपाईलाई नयाँ पुलसम्म बसले डेढ देखि दुई घण्टा हाराहारी मै पु¥याइ दिनेछन् । नयाँ पुलबाट १० कि.मीको दुरी किम्चे सम्म साना सवारी जीप पनि चल्ने गर्दछन । त्यसपछि डेड घण्टाको पैदल यात्रामा तपाई घान्द्रुक पुग्न सक्नुहुन्छ । अथवा तपाई नयाँपुल देखिनै साडे पाचँ घण्टाको पैदल यात्रामा पनि घान्द्रुक पुग्न सक्नुहुन्छ ।

मिती ः– २०७३ फागुन १९ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *