वर्दिया निकुञ्ज पर्यटनको गन्तब्य

19198402_2033021870260759_1647743086_nके.वि.मसाल
नयाँ मुलुक, बुडान जस्ता नामले पनि चिनिने प्रदेश नं.५को बर्दिया जिल्ला राष्ट्रिय निकुञ्जले गर्दा पर्यटनको गन्तब्य बन्दै गएको छ । नेपालमा आउने वाह्य पर्यटकहरु समेत आजभोली वर्दिया निकुञ्जमा आएर जनावरहरुको अवलोकन र सिमसार क्षेत्रको अध्यन गर्दछन । नेपालमा पर्यटकहरु के का लागी भ्रमणमा आउछन त ? भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन र जैविक विविधतामा रमाउने हो ।
नेपाल आउने पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि आउने गर्दछन । यसबाट के थाहा हुन्छ भने भ्रमणको एउटा पक्षभित्र जैविक विविधता पर्दछ । जैविक विविधताले प्रकृतिलाई सुन्दर बनाएको छ । प्राकृतिक स्वरुपले सबै भूगोललाई मिलाएको छ । यीनै कारणले नेपाल जैविक विविधताको पर्यटकको गन्तव्य भएको छ । नेपालका उच्चपहाडी भेगमा पाइने जनावर र वनस्पति, पहाड र तराईका भन्दा फरक छ । जस्तै हिमालमा डाँफे चरा पाइन्छ भने तराईमा गरुड वा हाँडीफोर र मयुर पाइन्छ । जैविक विविधताले कारणले गर्दा वर्दियाको निकुञ्ज पर्यटकीय गन्तव्य भएको छ ।
img-sgt-1002_jeHiMojeqeवाइल्डलाइफमा रुची राख्ने पर्यटकका लागि बर्दिया विश्वकै उत्कृष्ट गन्तव्य मानिन्छ । यहाँ विश्वमै दुर्लभ मानिएको पाटे बाघ समेत पाइन्छन् । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ पाटेबाघ देख्न पाएपछि रमाउने गर्दछन । निकुञ्जमा बाघको बासस्थान राम्रो भएकाले गर्मी बढन थालेपछि पानीमा बाघ पौडीन आउनाले निकुञ्जभित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा रहेको तिनकुनेमा दिनहुँ पाटेबाघ देख्न पाउदा पर्यटकहरु रमाउछन । पर्यटकको सिजन सुरु हुने बेलामै बर्दिया निकुञ्जमा दिनहुँ पाटेबाघ देखिएपछि निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको सख्या पनि बढने गर्दछ । जुन कारणले निकुञ्ज आसपास ठाकुरद्वाराका होटल व्यवसायी पनि खुसी हुन्छन् ।
img-sgt-1003_DkWupUdQByनेपालका राष्ट्रिय निकुञ्जहरु प्राकृतिक वातावरण, वन्यजन्तु, पशुपछी, वनस्पति र भू–स्वरुपलाई संरक्षण गर्न छुटयाइएको भू–भाग राष्ट्रिय निकुञ्ज हो । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रले नेपालको कुल क्षेत्रफलको करिव १९.७ प्रतिशत भाग ओगटेको छ । अहिले सम्म नेपालमा खप्तड राष्ट्रिय निकुञ्ज ,चितवन राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज,मकालु–बरुण राष्ट्रिय निकुञ्ज, लाङ्टाङ राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज समेत १० स्थानमा निकुञ्ज रहेका छन भने पर्सा वन्यजन्तु आरक्ष, कोशी टप्पु वन्यजन्तु आरक्ष, शुक्लाफाँट वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र समेत ५ स्थानमा आरक्षण रहेका छन ।
tigerमुलुक भित्र धेरै निकुञ्ज भए पनि नेपालआउने पर्यटकहरु मध्य धेरै वर्दियामा पुग्ने गर्दछन । बर्दियाको निकुञ्ज पर्यावरण जोगाउने र पाटे बाघजस्ता लोपोन्मुख प्रजातिको जनावर संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो । सुरुमा यस आरक्षणलाई कर्णाली बन्यजन्तु आरक्षणको रुपमा सानो क्षेत्रलाई मात्र लिइएको थियो । पछि आरक्षणलाई बबैखोला सम्म बिस्तार गरी बाघ, हात्ती, गैडा जस्ता जंगली जनावर पर्यटकहरुलाई सहज रुपमा देख्न पाउने ब्यवस्था निकुञ्जले मिलाएको छ । निकुञ्ज वरिपरिको ३ सय वर्ग कि.मि.जमिन रहेको छ । विभिन्न प्रकारका जीव र वनस्पतिहरुले धनी छ वर्दिया निकुञ्ज । यहा विभिन्न जीवका प्रजातिहरु सजिलै भेटिन्छन् जस्तै पाटे बाघ, एक सिङगे गैंडा,जंगली हात्ती, बाह्रसिङगे, घडियाल गोही, डल्फिन आदि । यहा २ सय भन्दा बढी प्रजातिका चराहरु र विभिन्न प्रकारका छेपारो, सर्प, माछा आदि पाइन्छ । हात्ती चढने, चराचुरुङगी अवलोकन गर्ने, जंगल सफारीको आनन्द लिन पर्यटकहरु रुचाउछन ।
Jarayoबर्दिया राष्ट्रिय निकुञ्जमा प्रत्येक बर्ष पर्यटकको सख्या बढदै गएको छ । निकुञ्जमा पाईने र्दुलभ बन्यजन्तु लगायत यातायात तथा होटल वासको सुविधा सुलभ भएसँगै निकुञ्जमा पर्यटकहरु बढेका हुन् । ठाकुरद्वारा देखि काठमांडौ सम्म सुविधा सम्पन्न वस सेवा सञ्चालन र पर्यटकीय होटलहरुले सेवा विस्तार गरेका कारण पनि पर्यटकको आवागमनमा बृद्धि भएको हो । हिउँदको समयमा निकुञ्जमा पर्यटकको संख्या बढी हुन्छ । आन्तरिक पर्यटकको चाप बढदै गएपछि होटल व्यवसायीको कारोवार बढेको छ । ठाकुरद्वाराका होटलमा भारत, बेलायत, फ्रान्स, अमेरिकालगायत मुलुकबाट पर्यटक बढी आउने गरेका छन् । तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रको रुपमा स्थापित वर्दिया निकुञ्जको प्राकृतिक सुन्दरता, बबई उपत्यकाको मनमोहक दृश्य, कर्णाली नदीमा ¥याफ्टिङ गर्नुका साथै नजिकैबाट डल्फिन नियाल्न सकिने भएकोले पर्यटक आकर्षित हुने गरेका छन ।
Prince-Harry-in-Nepal-467075नेपाल पर्यटनका लागि अनेकौं सम्भावना भएको देश हो । भौगोलिक हिसाबले होस वा जातीय विविधताको हिसाबले पर्यटकका लागि नेपाल आकर्षणको गन्तब्य बन्दै गएको छ । अर्को तर्फ भाषिक विविधताको हिसाबले र सांस्कृतिक विविधिताको हिसाबले पनि विदेशी पर्यटकका लागि नेपालको छुट्टै पहिचान बनेको छ । त्यतिमात्र होइन, जैविक विविधताको हिसाबले पनि नेपालमा पर्यटकहरु आकर्षित हुदै आएका छन । पछिलो समयमा शिकार पर्यटन, चरा अवलोकन पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, वन्यजन्तु अध्ययन अनुसन्धान जस्ता पर्यटनप्रति पनि पर्यटकहरुले रुचि राख्न थालेका छन ।
बर्दिया राष्ट्रिय निकुञ्जमा मुख्य गरी बाघ हेर्नका लागि पर्यटक जाने गरेका छन् । निकुञ्जमा सिजनमा सजिलै बाघ देख्न पाइने भएकाले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । आहारा प्रजातिको जनावर वृद्धि भई बाघको संख्यामा वृद्धि हुनुले पनि पर्यटक बढेको निकुञ्जको भनाइ रहेको छ । बर्दियामा निकुञ्जमा पुग्ने पर्यटकको मुख्य चाहना बाघ हेर्ने नै हुन्छ । त्यसपछिको चाहना भने गैँडा अवलोकन गर्नुलगायत हात्ती सफारी, जंगल सफारी गरी निकुञ्जका विविध जनावरहरुको अवलोकन गर्न पर्यटकहरु रुचाउछन । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य विशेषता भनेको बाघ, हात्ती, गैँडा एकसाथ हेर्न पाउनु पनि हो । निकुञ्जमा यतिखेर २९ वटा डमरुसहित ८५ वटा बाघ छन् ।
22वेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता विदेशमा पनि बर्दिया निकुञ्जले विशेष चर्चा पाएको छ । बर्दिया निकुञ्ज तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र पनि हो । हात्ती सफारी, जंगल सफारी, कर्णाली नदिमा र्याफटिङ्ग, बबई नदीका गोही र निकुञ्जको प्राकृतिक सुन्दरताले पर्यटकलाई आकर्षित गर्ने गरेको पाईएको छ । अर्को तर्फ निकुञ्जमा बाघ, गैँडा, हात्तीलगायतका वन्यजन्तुको संख्या बढदै गएपछि पर्यटकहरुको सख्या पनि बढन थालेको छ । आर्थिक वर्ष ०७३ र ७४ मा बर्दिया राष्ट्रिय निकुञ्जमा १७ हजार नौ सय ५९ पर्यटक भित्रिएको निकुञ्जको तथ्यांक छ । यस अवधिमा ११ हजार ६ सय नौ आन्तरिक, पाँच हजार आठ सय २७ विदेशी र पाँच सय २३ सार्क मुलुकका पर्यटकले निकुञ्ज अवलोकन भ्रमण गरेका छन । निकुञ्जमा पर्यटक बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ ।
बर्दिया जिल्लामा पर्यटकहरुलाई भ्रमण गर्ने धेरै ठाउहरु छन । कर्णालीको भँगालो गेरुवा नदीको भेरीको पुल मुलुककै सबैभन्दा लामो हो । राजापुर क्षेत्रको प्रवेशद्वारका रुपमा रहेको कोठियाघाटको पक्की पुल १ हजार १५ मिटर लामो रहेको छ । सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा रहेको कोठियाघाटको पुल हेर्न मात्र धेरै पर्यटकहरु पुग्ने गर्दछन । बर्दियामा बदैया ताल, सत्खलुवा ताल, कृष्णसागर ताल, भग्रैया ताल, अनौहवा ताल, लक्ष्मण ताल र दानुवा ताल समेत भ्रमणको लागी रमणिय छन । वहैया ताल बर्दिया जिल्लाको सवै भन्दा ठूलो र ऐतिहासिक ताल हो । यो ताल बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा पर्दछ । यो ऐतिहासिक र प्राकृतिक सिमसार ताल हो । यो तालसंग स्थानिय आदिवासी थारुहरुको ऐतिहासिक, सस्कृतिक, समाजिक, आथिर्क तथा जैविक महत्व जोडिएको छ । बदैया ताल गुलरियाबाट २० कि.मि पूर्वमा पर्दछ । तालको पश्चिम उत्तरमा थारुहरुको वहैया गाउ रहेको छ । जुन तालमा आजभोली धेरै पर्यटकहरु पुग्ने गरेका छन ।
वर्दिया भ्रमण गर्न जाने पर्यटकहरु कर्णाली पुल पुगेनन् भने भ्रमणनै अधुरो मानिन्छ । यो पुल निर्माणमा बिचमा ठूलो खम्बा र त्यसमा स्टीलका तारहरु बाधेर ट्रसलाई अडयाईएको छ । यो पुल ५०० मिटर लामो र १० मिटर चौडा छ । यसको निर्माण जापानको कावासाकी हेवी इन्डस्टीजले गरेको हो । नेपालको मात्र नभएर एशियाकै लागि नयाँ डिजाइन मानिने यो पुल हेर्नको लागी नेपालका धेरै जिल्लाका मानिसहरु पुग्ने गर्दछन । कैलाली र बर्दिया जिल्लाको सिमामा रहेको कर्णाली नदीको पुल हेर्नकै लागी दैनिक सयौं पर्यटकहरु पुग्ने गर्दछन । कर्णाली पुल भएको स्थान चिसापानी बाट करिव ८ कि.मि. उत्तरमा कुइने भन्ने स्थान पर्दछ । कुइनेमा भेरी र कर्णाली नदी मिसिन्छ । त्यहा बाट बग्दै आएको कर्णालीनदी पुलको भाग सकिना साथ पुन दुई भागमा बिभाजन भएर बग्दछ । स्थानीय बोलीचालीमा यसरी छुट्टीएर बनेको पानीको भागलाई पश्चिम तिरको पानी कर्णाली र पूर्व तिरको पानीलाई भेरी भन्ने गरिन्छ ।
1981984_739736352774065_708530745117283529_nवर्दिया भ्रमण गर्न जाने पर्यटकहरुलाई आजभोली खान बस्न कुनै समस्या छैन । डल्ला होमस्टे, सतखला होमस्टे र जनकनगर होमस्टे रहेको छन । निकुञ्ज नजिकै डल्ला गाउँमा सन्चालनमा आएको होमस्टेमा पर्यटकहरुको लागी बेलुका सामुदायिक भवनमा झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य समेत देखाइन्छ । होम–स्टेमा इच्छा अनुसार थारु परिकार दालभात, तरकारी, अचारदेखि थारु खाना घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदिले त्यहा पुग्ने पर्यटकहरुलाई स्वागत गर्ने गरिन्छ । यो बाहेक पाताभारको जनकनगरमा पनि होमस्टे संचालन भएको छ । जनकनगरमा पर्यटकलाई सुबिधा दिन १० घरमा होमस्टे संचालन गरिएको छ । पर्यटकका लागि जंगली जनावरको अवलोकनका साथसाथै कर्णाली नदिमा ¥याफटिङ्ग समेतको सुविधा होमस्टेमा बास बस्ने पर्यटकहरुलाई दिने गरिन्छ । चुरे पहाडको नजिक रहेको जनकनगर होमस्टे वातावरणीय दृष्टिकोणले पनि अत्यन्त रमणिय छ ।
यो बाहेक वर्दियामा सत्खलुवा ताल पूर्वपश्चिम राजमार्गको उत्तर चुरेको काखमा छ । दुर्लभ रातो कमलको फूल हेर्न स्थानीय पर्यटक पुग्ने गर्छन् । जैविक मार्ग होमस्टे संचालन पछी खैरेनी गाउँमा अहिले १० वटा घरमा होमस्टे संचालन गरेका छन । ताल र पशुपंक्षी हेर्न आउने पर्यटकलाई थारु बाहुल्य क्षेत्र भएपनि सबै जातजातिको आ–आफ्नो मौलिक भेषभुषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारु नृत्यु, खैजडीमा भजनदेखि देउडा सम्ममा गित गाएर मनोरञ्जन दिने गर्दछन । बर्दियाको चिनारी दिने बढैया ताल, सत्खलुवा ताल, भगर ताल भ्रमणमा आउनेहरुले छुटाउनै नहुने स्थान हो ।
20140925396258-600x0वर्दिया पश्चिम क्षेत्रको अन्न भण्डारको रुपमा पनि चिनिन्छ । भौगोलिक हिसावले दुई भागमा विभाजन भएको वर्दिया राजापुर क्षेत्र भेरी र कर्णाली नदीले टापु बनाइ दिएको छ । पहिले आदिवासी थारुहरुको बाहुल्यता रहेको वर्दियामा पछिल्लो समय दाङ जिल्लाबाट बसाइ–सराइ गर्ने थारुजातीहरुको सख्या पनि उल्लेखनिय रहन गएको छ । बर्दिया जिल्लामा अहिले नेपालका ७५ जिल्लाकै मानिसहरुको बसोवास छ । श्री ३ जंगबहादुर राणाले ईष्ट इण्डिया कम्पनिलाई सहयोग गरेवापत सुगौली सन्धिबाट गुमेको भु–भाग मध्य पुरस्कार स्वरुप वि.स. १९१७ मा बाके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दियालाई नया मुलुक पनि भन्ने गरिन्छ । मुलुक संघीय प्रणालीमा गएपछि बर्दिया ६ वटा नगरपालिका र २ गाउपालिकामा बिभाजन भएको छ । गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बासगढी र बारबर्दिया नगरपालिका भयो भने बढैयाताल र गेरुवा गाउँपालिका बनेका छन ।
कसरी पुग्नेः
वर्दियाको ठाकुरद्वार जानको लागी कोहलपुर बाट ६० कि.मी पश्चिम आम्बासा अर्थात अर्मीनी पुग्ने र त्यहाबाट १४ कि.मी दक्षीणको यात्रामा वर्दिया निकुञ्जको गेट पुगिन्छ । काठमाडौँबाट ठाकुरद्वारा जानेको लागी बसमा १५ घण्टा यात्रा गर्नु पर्दछ । नेपालगञ्ज–ठाकुरद्वारा ९० किलोमिटर पर्दछ । काठमाडौंदेखि नेपालगन्जसम्म हवाईसेवा पनि छ । वर्दिया भ्रमणको लागी पुग्ने र फर्कने समय बाहेक कम्तीमा तीनदिन समय निकाल्दा राम्रो हुन्छ । यातायात खर्च बाहेक सामान्यतया खाना बस्न दैनिक १ हजार ५ सय रुपया भए पुग्दछ ।
मितिः –२०७४ साउन २५ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *