नेवारको मौलिक पर्व गाईजात्रा

19198402_2033021870260759_1647743086_nके.बि.मसाल
नेपालमा जात्राको सुरुवात बिशेषगरी काठमाण्डौ उपत्यकामा मल्लकालिन राजाको पालाबाट सुरुवात भएको मानिन्छ । हरेक जात्राको आफ्नैखालको धर्म सस्कृति र घटना जोडिएको छ । लाखेजात्रा, रोपाईंजात्रा, इन्द्रजात्रा,मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा, हाँडीगाउँको जात्रा, बोडेको जात्रा, गाईजात्रा, घोडेजात्रा, नालाको लोकेश्वरजात्रा, इन्द्रजात्रा लगायत उपत्यकामा अहिले पनि धेरै जात्राहरु हुने गर्दछ । उपत्यका बाहिर पनि धेरै जाता अर्थात मेलाहरुको सुरुवात भुरेटाकुरे राजाहरुको पालाबाट सुरुवात भएको पाइन्छ ।
केहि बर्ष अगाडी सम्म गाईजात्रामा रङ्गिबिरङ्गी अक्षरमा पत्रिकाहरु छापिन्थे । प्रेस स्वतन्त्रता नभएको त्यो बेला यो दिन मन फुकाएर पत्रकारहरुले लेख्ने गर्दथे । अहिले भने गाईजात्रा विशेषाक निकाल्न पत्रिकाहरुले खासै रुचि राख्दैनन् । किनकी अहिले सबैलाई वाक स्वतन्त्रता रहेको छ । अझ अर्को शब्दमा भन्नुपर्दा सधै गाईजात्रा भएको छ । वाक स्वतन्त्रता नभएको समयमा व्यक्तिको बोल्ने अधिकारलाई व्यङ्गयात्मक रुपबाट समाजसम्म दर्शाउन पाउने स्वतन्त्र र स्पष्ट पर्व नै गाईजात्रालाई लिने गरिन्थो । आफूलाई चित्त नबुझेका कुरा स्पष्ट रुपमा व्यङ्गयात्मक अभिव्यक्तिका साथ प्रस्फुटन गराउन कलात्मक र दृष्टात्मक अभिव्यक्ति दिने मानिस गाईजात्रा को दिन पर्खने गर्दथिए । तर पनि यतिखेर हाँस्यकलाकारिता क्षेत्रमा लागेका कलाकारहरुले त्यस्ता विकृति विसंगति विरुद्ध गित, संगीत,प्रहसन, कार्टुन चित्र र नृत्य समेत गाईजात्राको अवसरमा प्रस्तुत गर्दछन । विकृतिहरु विरुद्ध टेलिभिजन च्यानलहरुबाट व्यङग्यात्मक गीत संगीत तथा कार्यक्रम पनि प्रस्तुत गरिन्छन भने केहि पत्रपत्रिकाले व्यंगात्मक विशेष अंकपनि प्रकाशन गर्दछन । यस्ता कार्यक्रमहरुले मानिसहरुमा विसंगतिविरुद्ध लाग्न चेतना प्रवाह हुने गर्दछ ।
गाईजात्रा पर्व काठमाडौं उपत्यका बाहेक नेवार समुदायको बसोबास रहेका बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम,धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा, पर्वत वाग्लुङ, पाल्पा, बुटवल,प्युठान, सल्यान, दाङ, सुर्खेत र डोटी सम्म मनाउने गरिन्छ । यी बाहेक बिभिन्न स्थानमा बसोवास गर्ने नेवार समुदायहरुले पनि यो जात्रा मनाउने गर्दछन । तर स्थानीय परिवेश अनुसारका गाईजात्रा फरक शैलीले प्रस्तुती हुदै आएका छन । भाद्र कृष्णअष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा नाचगान तथा मृतव्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरु पनि गाइन्छन । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरु विशेष दर्शनीय मानिन्छन ।
गाईजात्रा नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरु भएको जात्रा हो । नेवार समुदायले गाईको प्रतीकका रुपमा १५ हात लामो बाँसको तहमचा र त्यसमा आफन्तहरुको फोटो टाँग्ने अनि जन्म र मृत्युको विवरण अक्षरमा अंकित गर्दछन् । उमेर नपुग्दै मृत्यु भएका बालबालिकाको साँचा बनाई परिक्रमा गर्ने गर्दछन् । यसरी गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रुप धारण गरी टोलटोलमा घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व नेवार समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ । पुत्रशोकले विहवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरुप गाईजात्राको प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
नेवारी भाषामा गाईजात्रालाई सापारु भनिन्छ । सपारु अर्थात गाईजात्रा भनेर मनाउने यस पर्व नेवारहरुको मौलिक पर्व हो । पितृको सम्झनामा नेवार समुदायले यो जात्रा मनाउने गर्दछन । दिवगत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरुले यमलोक प्रवेशपाई मुक्ति पाउने बिश्वास गरिन्छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास पनि छ । दिवगत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहि आएको छ ।
हरेक ठाउँका गाईजात्रामा केही न केही विशेषता रहेका छन । भक्तपुरमा पनि गाईजात्राका छुट्टै रौनक र आकर्षण रहेका छन । गाईजात्रा भक्तपुरमा आठदिनसम्म चल्दछ । गाईलाई विधिवत रुपमा नगर परिक्रमा गराएमा दिवंगतआत्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन भन्ने धार्मिक विश्वास छ । भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरुको साँचा अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ । ताहामच्चा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङ्गघिसी र माँक प्याखँ बाँदर नाच गाईजात्राको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङिसी नाच भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ । भक्तपुरमा गाईजात्राको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतीक कार्यक्रमहरु प्रर्दशन गर्ने प्रचलन छ ।
नेवारहरुको मूलथलो काठमाडौं उपत्यका हो । नेवार कुनै जात वा जाति वा जनजाति वा नश्ल वा धर्म विशेष होईन । नेवार एउटा भाषिक समुदाय हो । नेवार भित्र कयौँ मूलजातिहरु छन । नेवार भित्र सनातन धर्म अन्तर्गतका धेरै सम्प्रदायहरु छन । शैव, शाक्त, तान्त्र, वैदिक, वज्रयान, महायान, नाथ, वैश्नव, आदि रहेका छन । नेवार भित्र ४ जात ब्राह्मण, क्षत्रीय, वैश्य, शुद्र र यस भित्र थुप्रै उप–जातहरु रहेका छन । जस अनुसार ज्यापू, श्रेष्ठ, क्षत्रीय, गुभाजू, उराय, सायमी, ब्राह्मण, नाय, गथु, भा, द्यला रहेका छन । यसैगरी नेवार भित्र मूलतः ३ नस्ल आर्य, द्रविड, मंगोल रहेका छन । नेपालभाषा नेवारहरुको मातृभाषा हो । नेपालभाषा तिब्बत बर्मेली भाषा परिवारमा पर्ने एक भाषा हो । नेपाल भाषालाई हाल आएर नेवारहरुले नेवाः भाय भन्छन भने नेपालीमा नेवारी भन्ने गरिन्छ । नेपाल भाषाको आफ्नै लिपि पनि छ । नेपालभर नेवारी भाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको अनुमान छ । उपत्यकाबाट नेपालको पश्चिम क्षेत्रमा आएर बसोवास गर्ने नेवारहरुको मुलथलो भक्तपुर हो । ब्यापारको सिलशिलाममा काठमाण्डौ उपत्यकाबाट नुवाकोटको त्रिशुली,गोरखा, तनहूको वन्दिपुर, पोखरा वाग्लुङ, प्युठान, दाङ, सल्यान हुदै भक्तपुरे नेवारको वंश डोटी सम्म पुगेको पाइन्छ । तर धेरै ठाउमाका नेवार जातीहरुले आफ्नो मातृभाषा भने भुलेका छन । तर पनि उनिहरुको सास्कृतिक चाडपर्व, जात्रालाई भने मान्दै आएको पाइन्छ ।
नेवार समुदाय साँस्कृतिक रुपले निकै सम्पन्न जाति मानिन्छ । नेवार समुदायमा पेशाका आधारमा जात र थरहरु छुटयाईएका छन । ब्यापार तथा व्यवसायलाई सधैंभरी आफ्नो पेशा मान्दै आएकालाई तुलाधर, बनिया, तामाको काम गर्नेलाई ताम्राकार,काँस धातुको काम गर्नेलाई कंसाकार, इट्टा, झिंगटी, टायल पोल्नेलाई अवाले, अवा, माटाका साधन भाडाकुडाँहरु बनाउनेलाई कुमाले, प्रजापति,मिठाईजन्य पदार्थ बनाउनेलाई मधिकर्मी, राजकर्णिकार, फूलबारीमा काम गर्नेलाई माली, मालाकार भनिन्छ । त्यसैगरी खेतिपातीको काम गर्नेलाई ज्यापु, महर्जन, डंगोल, सुवाल, तण्डुकार, बलामी, तोरीको तेल पेल्ने अर्थात तेलहनका व्यवसाय गर्नेलाई सायमी वा मानन्धर, फलामजन्य कार्य गर्नेलाई नकर्मी र कौले, कपाल अथवा केश काटनेलाई नापित, चित्र लेख्ने र कोठा रंगाउनेलाई पुँवा चित्रकार, लुगामा रङ्ग लगाउनेलाई छिपा वा रंजितकार, पालकी बोक्नेलाई दली, पतवार,बाजा बजाउने र लुगा सिउनेलाई कपाली, कुस्ले, जोगी, मासुका कारोबार गर्नेलाई खडगी,शाही, कसाईं, छाला संबन्धी काम गर्नेलाई कुलु, सर–सफाई गर्नेलाई सुवर्णकार, पोडे, च्यामे, द्योला, हालाहुलु, बौद्द पुरोहितलाई गुभाजु, बज्राचार्य, सुन चाँदिका गहना बनाउनेलाई बन्देजु, वरेजु वा शाक्य, हिन्दू वैदिक ब्राह्मणलाई राजोपाध्याय, ब्राह्मण, द्योउभाजु, हिन्दू तान्त्रिक पूजारीलाई कर्माचार्य, आचाजु, हिन्दू मन्दिर पुजारीलाई तिर्हुतबाजे, ज्योतिषी गर्नेलाई जोशी, सरकारी र प्रशासनिक र जमिनदारी व्यवसाय गर्नेलाई मल्ल, प्रधान, मास्के, अमात्य, राजभण्डारी, कायस्थ, वैद्य, श्रेष्ठ भन्ने गरिन्छ ।
नेवार परिकार भनेपछि आजभोली सबैलाई लोकप्रिय हुनेगरेको छ । बजि चिउरा,वः बारा,खें अण्डा, मुस्या भटमास, छोयला, कचिला, तस्कुला, डायकुला, चतांमरी, योमरी, चाकु, अयला रक्सी, थों जाँड आदी धेरै प्रकार छन नेपालमा सबैभन्दा बढी खानाका प्रकार नेवार समुदायमा नै पाइन्छ । नेवारहरु जन्मदेखि मृत्यु पश्चातसम्म र पर्व अनुसारको खानाको प्रकार अलग–अलग तयार गर्दछन । जहाँनिया राणा शासन देखि नेवारहरुले मुख्य पेशाका रुपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन । जहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँ नेवारहरुको वर्चस्व कायम छ भन्दा पनि हुन्छ । नेपालमा जहांजहाँ नेवारहरु पुगेका छन त्यहाँ व्यापार व्यवसाय सहित बजार विस्तार हुँदै गएको पाईन्छ ।
मिती ः–२०७४ साउन २२ गते दाङ सन्दर्भ ः गाईजात्रा पर्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *