नेपाल ऋषि मुनिहरुको योग साधना भूमि

–के.बि.मसाल
आज जुन २१ बिश्व योग दिवस । अर्थात असार ७ गते बिश्वभर तेस्रो योग दिवस मनाउन लागिएको छ । नेपालमा पनि विश्वसामु अध्यात्म र योग भूमिको रुपमा चिनाउन विश्व योग दिवस मनाउन लागिएको छ । ११ डिसेम्बर, २०१४ मा भारतको नेतृत्वमा सुरुवात गरिएको योगलाई संयुक्त राष्ट्र संघको साधारण सभाले जुन २१ लाई बिश्व योग दिवसको रुपमा स्विकारेकाले २१ जुनलाई विश्वव्यापी रुपमा योग दिवसको रुपमा मनाउन थालिएको हो । राष्ट्र संघले योग दिवस घोषण गरेको दिनसम्म यो प्रस्तावमा १ सय ७७ देशले समर्थन जनाएका थिए ।
नेपाल ऋषिमुनीहरुको योग साधना भूमी मानिन्छ । किन भने योग संस्कृत शब्द हो । पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको छ । तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको हो । पाणिनीका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरे । संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचना भएको अर्घाखाँची जिल्लाको पाणिनि तपोभूमि महाभारत श्रृखंलामा पर्दछ । हजारौं वर्षअघि पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल पनि हो ।
पणेना लेकमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रसन्न भएर डमरु बजाउँदै अइउण्, ऋलृक् आदि चौध सूत्रको स्वर निकालेको र तिनै सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको मान्यता छ । त्यसैले सबै भन्दा प्राचीन भाषा सस्कृत मानिन्छ । संस्कृतमा लेख्नको लागि मुख्यतया देवनागरी लिपीको प्रयोग भएको हो । विश्वकै प्राचिन ग्रन्थ ऋग्वेद संस्कृत भाषामा नै रचिएको छ । त्यसैगरी अन्य वेदहरु यजुर्वेद, सामवेद र अथर्ववेद पनि संस्कृत भाषामै लेखिएका छन् । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनिको हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो ।
पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । भगवान शिव, गौतम बुद्ध तथा हजारौं मुनिहरुको साधना भूमिका रुपमा रहेको नेपाल योगको उद्गमस्थल मानिन्छ । ऋषि पाणिनीले व्याकरणका जुन चौध सूत्रको निर्माण गरे त्यसको प्रथम झलक उनलाई शिवको नृत्यबाट प्राप्त हुन गएको हो र त्यसैका आधारमा नै उनले यी सूत्रहरुको निर्माण गरेको इतिहास छ । योग छ वटा आस्तिक दर्शनमध्येको एक हो । यस दर्शनका प्रणेता पतञ्जली हुन । पतञ्जलीले योगसूत्रको आविष्कार गरेका हुन् । यी योग सूत्रको मुख्य तथा गहन व्याख्या व्यासले गरेका छन् । योगका थुप्रै अर्थहरु छन् । जीव र परमात्माको मिलन गराउनु योगसिद्ध हुनु हो । द्वैत र अद्वैतको मिलन नै योग हो । दुई पदार्थ मिलेर नौलो स्वरुप बन्नु पनि योग हो ।
हठयोगका विभिन्न साधना पद्दतिका विकास नेपालमै हुनु तथा योगीलाई राजवैद्यका रुपमा हेर्ने कुराले पनि प्राचीन समय देखि नै नेपाल योग भूमि हो भन्ने मान्न सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार योग नै हो । वर्तमान समयमा बदलिँदो जीवनशैली, खानपान, तनाव, कुलत का कारण विभिन्न नसर्ने रोगको विगविगि बढेको छ । योगले जीवनशैली परिर्वतन गर्ने क्रममा प्रमुख रुपमा यी कुराहरु नगर्ने भन्दछ । योगलाई स्वास्थ्य र उच्चस्तरीय जीवन शैलीको आधार मानिँदै आएको छ । अहिले नेपाल, भारत लगायत विश्वभर योगको लोकप्रियता बढ्दै गएको छ । आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो ।
योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ । शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ । पतञ्जलिको भनाईमा चित्त वृत्तिको निरोध नै योग हो । योगको उद्देश्य चित्त वृत्तिहरुको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डो¥याउनु नै योग हो । योगक्रियाले मानिसको चेतना र शरिरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धनलाई नै योगभनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोधक्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ । शारीरिक स्वास्थ्य, मानसिकस्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् । पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मुलधारका तथ्यहरु छन । पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सवै भाषामा अनुवाद समेतगरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए ।
योगमा आधारित जीवनशैली परिर्वतनबाट मानिसमा खुशी र आनन्द आउने हुनाले जीवनशैली परिवर्तन सहज र दीर्घकालीन हुन्छ । प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रुपमा रहेका थिए । वर्तमान समयमा विश्वमा यिनैबाट विकसित गरिएका भावातित ध्यान, विपश्यना ध्यान, सूदर्शन क्रिया, अष्टाङ्ग योग, विक्रम योग, विन्यास योग, आयङ्गर योग, कुण्डलिनि योग जस्ता अनेकौ विधिहरुको बृहत अनुसन्धान तथा उपयोग भैरहेको छ । इन्टरनेशनल योग फेडेरेशनका अनुसार विश्वभरि ३० करोड मानिसहरुले योग अभ्यास गर्दछन् । योगको उपयोगिता धेरै छ ।
योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, वाथरोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भैसकेपछि निर्मूल पार्न सहयोग गर्दछ । योगले खेल जगतमा चाहिने शारीरिक सुगठन, मानसिक एकाग्रता तथा सन्तुलन, शरीरमा लचकता प्रदान गर्दछ जसले गर्दा खेलमा सफलता मिल्नुका साथै खेलमा मैत्रता बढ्दछ । योगले खेलमा हुने चोटपटक पछिको उपचार र दीर्घकालीन असरलाई समेत कम गर्दछ । अधिकांश नसर्ने रोगका कारणहरुमा असन्तुलित खानपान, व्यायामको कमी, तनाव, कुलत जस्ता कुराहरु पर्दछन् । यी सबैलाई हटाई योगले सन्तुलित जीवन जीउन सिकाउनुका साथै रोगलाई निको पार्दछ । योग अभ्यासले क्यान्सर, मधुमेह, माइग्रेन, वाथरोग, उच्च रक्तचाप, उच्च कोलेश्टेरोल, दम, ढाड दुख्ने, मानसिक तनाव, डिप्रेशन, सिजोफ्रेनिया, मोटोपन, अम्लपित्त, कब्जियत जस्ता नसर्ने रोग रोक्न तथा भैसकेपछि निर्मूल पार्न सहयोग गर्दछ ।
योग अभ्यासले सबै रोग तथा चोटपटकमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाई रोगसँग लड्न सहयोग गर्नुका साथै भविश्यमा रोग हुनबाट बचाउँछ । योगले आनन्दमा आधारित जीवनशैली परिवर्तन सिकाउँछ, जुन सहज र दीर्घकालीन हुन्छ । तर, अहिले चलिरहेको जीवनशैली परिवर्तन डरमा आधारित छ, जुन मानिसहरुलाई थाहा हुँदाहँुदै पनि अबलम्वन गर्न गाह्रो हुन्छ । योगका विभिन्न अभ्यासहरु जस्तै आसन, क्रिया, सात्विक आहार,आसन, मुद्रा, प्राणायाम, ध्यान, स्वाध्याय, अनाश्रति कर्म आदिबाट मानव अस्तित्वका सबै कोषहरु सन्तुलित तथा अच्चतम विकसित हुन्छन् । योगबाट हामी लोभ, मोह, क्रोध तथा विकारहरुबाट मुक्त भई सधंैभरि आनन्दमा जीउदै ब्रम्हमा लीन हुन सक्छौं ।
मानिस आफूलाई सधैँ स्वस्थ राख्न चाहन्छ । तर, उसले आफ्नो शरीरलाई स्वास्थ्य राख्नको लागी अपनाउन पर्ने कुरा भने ख्याल गर्दैन । स्वस्थ्य रहनका लागि मानिस बिहानबिहानै दौडिन्छ, जिम लान्छ, जिउ मर्काइमर्काई ‘डान्स’ गर्छन् तर पनि भनेजस्तो हुँदैन । एरोबिक, ब्याडमिन्टन, कराँतेजस्ता खेल पनि मान्छेले स्वस्थ्य रहने उपायकै रुपमा लिन्छन् । स्वस्थ्य रहन अपनाइने यस्ता अभ्यासले मानिसलाई सामान्य फाइदा भने दिने गर्दछ । योग त्यस्तो माध्यम हो जसले शरीर र आत्मालाई एकाकार गर्दछ र मान्छेलाई स्वस्थपनको व्यावहारिक अनुभूति दिलाउँछ । अन्य अभ्यास तथा कसरतले शरीरको बाहिरी भाग र मांशपेसीलाई मात्र धेरै प्रभाव पार्छ भने योगले सम्पूर्ण अंग–प्रत्यङ्ग तथा कोषलाई समेत प्राणवान् र स्वस्थ बनाउँछ । शारीरिक अभ्यासका अन्य विधि खर्चिला हुन्छन् । सहयोगी, साधन, ठूलो स्थान आदिको आवश्यकता पर्दछ । योग भने खर्चबिना नै गर्न सकिन्छ । न त सहयोगी नै चाहिन्छ न ठूलो ठाउँ न उपकारण नै । योग अभ्यासका विधिबारे राम्रो जानकारी राख्यो भने एक्लैले पनि गर्न सकिन्छ । तर सुरुका दिनमा सक्षम योगगुरुको आवश्यकतालाई भने भुल्न हुँदैन । सुरुका दिनमा टीभी तथा सीडीका आधारमा योग सिक्नुभन्दा योगगुरुको निगरानीमा सिक्नु राम्रो हुन्छ ।
अन्य अभ्यासमा मन तथा इन्द्रीयलाई नियन्त्रण गर्ने कुनै प्रक्रिया नै छैन । तर, योग अभ्यासले मन र इन्द्रीय नियन्त्रण गर्न सहयोग पु¥याउँछ । योग मात्र यस्तो अभ्यास हो, जसका हरेक अभ्यासमा स्वासप्रस्वासको गहिरो प्रभाव र प्रयोग हुन्छ । जसबाट प्रयाप्त अक्सिजन ग्रहण गर्ने क्षमताको विकास हन्छ । योगका लागि धेरै खुराक आवश्यक पर्दैन, सामान्य खाना पर्याप्त छ । तर अन्य अभ्यासमा ‘हेभ्भी डाइट’को आवश्यकता पर्दछ । योगमा मात्र शरीरलाई खुम्च्याउने, तन्काउने र सिथिल गर्ने अभ्यास छ । जसबाट अत्यन्त कम शक्ति खर्चिएर शारीरिक तथा मानसिक लाभ प्राप्त गर्न सकिन्छ । कमजोर व्यक्तिले पनि योगको फाइदा लिन सक्छन् । योगमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा विजातीय द्रव्यलाई निष्कासन गरी शरीरलाई रोगमुक्त बनाउने प्रक्रिया हुन्छ तर अरु अभ्यासमा त्यो पाइँदैन । जति ‘रिढ’ लचिलो हन्छ त्यति नै शरीर स्वस्थ रहन्छ । यौवन, युवापन र शरीरमा स्फुर्ती आउँछ ।‘रिढको लचकता बढाउने राम्रो अभ्यास योगमा छ ।
योगाभ्यासले सम्पूर्ण नशा–नाडी तथा रक्तनली शुद्ध गर्छ । अरु शारीरिक व्यायाममा यस्तो पाइँदैन । योगमा फोक्सोलाई पर्याप्त खुम्च्याउने र फैल्याउने अभ्यास छ । जसले अक्सिजन लिने क्षमता बढाउँछ तर अन्य व्यायाममा यो प्रक्रिया छैन । अन्य अभ्यासमा गहिरो स्वास लिने प्रक्रिया छैन जसले गर्दा फोक्सोको कम भाग मात्र सक्रिय रहन्छ । अहिलेको रहनसहन तथा खानपिनको अवस्था विकृत बन्दै गएको छ । योगमा खाना तथा जीवनशैली व्यवस्थापनका विषयमा जीवनोपयोगी जानकारी पाइन्छ । अन्य अभ्यासमा पाचन प्रणाली बिग्रने, लामो समयपछि हाडजोर्नी तथा मांशपेसी दुख्ने जस्ता समस्या आउन सक्छन तर योगमा त्यस्ता कुनै ‘साइड इफेक्ट’ हुँदैन । योगले अहिंसा, शान्ति, चरित्र निर्माण, नैतिक शिक्षा, मनको निग्रह, बुद्धि विकास, सत्गुण विकास तथा समग्र जिउने तरिका सिकाउँछ ।
बिकसित मुलुकहरुमा योग अभ्यासको लागी त्यहाको राज्यले सबै प्रवन्ध गरेको पाइन्छ । कतिपय मुलुकहरुले विद्यालयमा समेत योग अभ्यासका कक्षा सन्चालनमा ल्याएका छन । हाम्रो मुलुकमा भने राज्यको ध्यान योग शिक्षा तर्फ गएको देखिन्न । तर पनि योगमा रुचि भएका संघ सस्थाहरुको पहलमा धेरै ठाउमा योग शिविर सन्चालन गर्ने देखि लिएर कतिपय जिल्लाहरुले योग अभ्यासको लागी आफ्नै हल र कार्यालयहरु समेत सन्चालनमा ल्याएका छन । यसलाई राम्रो मान्नु पर्दछ ।
मिती ः– २०७४ असार ५ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *