जलयात्रा पर्यटनको गन्तब्य

–के.बि.मसाल
स्याङजाको मिर्मी पुगेपछि जलयात्रा गरिएन भने भ्रमण अधुरो जस्तो हुन्छ । कालीगण्डकी ’ए’ जलविद्युत् परियोजना बन्ने क्रममा मिर्मीमा बाँध बाँधिएपछि नदी तालमा परिणत भएको छ । त्यसरी बनेको जलाशयमा आजभोली पर्यटकहरुको लागी जलयात्राको गन्तब्य भएको छ । नदीको जलाशयमा स्टिमरले गुल्मी, पर्वत र स्याङजा जिल्लाको संगमस्थल सेतिवेनी सम्म पु¥याउने गर्दछ । सेतीबिनीमा शालिग्राम शीलाको अवलोकन गर्न सकिन्छ । जलयात्रामा मिर्मी देखि सेतीवेनी सम्म सात किलोमिटरको दूरी ४५ मिनेटमा पार गरिन्छ । मिर्मीमा अहिले १२ वटा स्टिमर सन्चालनमा छन् ।
सिद्धार्थ राजमार्गमा पर्ने राम्दी देखि १६ र गल्याङबाट ३ कि.मी.को दुरीमा रहेको जिरो भन्ने स्थानबाट मिर्मीको यात्रा सुरु हुन्छ । जिरोबाट उकालो सुरु भएपछि देखिन थाल्दछ कालिगण्डकी वरपरका ग्रामीण सम्पदाका रमणिय दृष्यहरु । उकालो घुम्ती सकिनासाथ फुलेभट्टी पुगिन्छ । फुलेभट्टीबाट मालुङगा,चापाकोट र पाल्पाको हुगी गाउँ समेत देख्न सकिन्छ । जिरो किलोबाट मिर्मीको आधीदोभान सम्म २० किलो मिटरको यात्रामा दायाँपट्टी आधीखोला र वायाँपट्टी काली गण्डकी वरपरका प्राकृतिक सम्पदा र रमणिय गाउँहरु देख्न सकिन्छ । मोटर मार्गमा पर्ने बटुवा, गुरुङदी भञ्ज्याङ, गुठी, रैबारा, जयत्रदेवीस्थान, नयाँमिल, वलाम जाइपाते, छाप, गौरी भञ्ज्याङ, बरडाडा, वारीचौर हुदै मिर्मी पुगिन्छ । यसरी मोटर मार्गमा यात्रा गर्दा स्याङजा जिल्लाको आधीखोला पारीको दुधेचौर, निवुवाखर्क र डूम्रीचौर गाउँहरुको प्राकृतिक दृष्य समेत अवलोकन गर्न सकिन्छ । त्यसै गरी फुलेभट्टीबाट मिर्मी तिर जादा कालीपारीको पाल्पा जिल्लाको खानीछाप, दर्मलडाडा, याम्घा, खानीगाउँ र वौधागुम्वा गाउँहरुको समेत यात्राको समयमा अवलोकन गर्न सकिन्छ ।
जब मिर्मीको आधीदोभान पुग्नुहुन्छ– तपाईले कालीगण्डकी ए ले बनाएको बाध र बाधको कारण कालीगण्डकी र आधीखोलामा बनेको जलाशय हेर्दा कुनै प्राकृतिक ताल झै तपाइलाई लाग्न सक्छ । खाना बस्नको लागी आधी दोभानमा कुनै समस्या छैन । तालको किनारमा रहेका होटलहरुले खाना बस्नको सुबिधा त्यहा पुग्ने ग्रामीण पर्यटकहरुलाई दिने गर्दछन । आधी दोभानका माच्छाको लागी प्रख्यात मानिन्छ । आधीखोला स्याङजा जिल्लाको प्रख्यात खोला हो । यसको उदगमस्थल अन्धाअन्धीको नाम राखिएको दहबाट भएको हो । यो खोला स्याङजा जिल्लाको बिचभागबाट बग्दै मिर्मीमा पुगेपछि कालीगण्डकीमा मिसिन्छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना १४४ मे.वा. क्षमताको पिकिङ रन–अफ–रिभर प्लान्ट हो । यो जलविद्युत सन् २००२ अर्थात आज भन्दा १५ बर्ष पहिले देखि सञ्चालनमा आएको हो । कालीगण्डकी जलविद्युत् परियोजनाको बाँध मिर्मीको आधीदोभानमा पर्दछ । कालीगण्डकीलाई बाध बाधेर करिव ७ कि.मी.को सुरुङ मार्गबाट वलाम वेल्टारीमा यसको विद्युत गृह बनेको छ । कालीगण्डकी बाध स्थलको केहि तल गुल्मीको हर्मिचौर बाट पश्चिम नागवेलीको आकारमा बग्दै रुद्रवेनी भएर रिडीमा पुग्दछ । रिडीबाट उत्तरवाहिनी हुदै पुन नदी पूर्वी दिशामा बग्दै अर्गेली, वौधागुम्हाको छेरलुङ रानीदरवार, यम्घा खानीछाप भएर राम्दीमा पुग्दछ । यसरी कालीगण्डकी घुम्दा युटर्न को आकार देखिन्छ । यो बिचमा स्याङजा जिल्लाको मिर्मी, बिर्घा, आलमदेवी, कोटाकोट, चण्डिभञ्ज्याङ गाउँहरु पर्दछन । अहिले ती सबै गाउँहरु कालीगण्डकी गाउँपालिका भएका छन ।
कालीगण्डकी ए को बाँधदेखि ठूलो शिला शालिग्राम रहेको सेतीवेणी बजारसम्म दुई ठूला पहाडको खोंचबाट पानीमाथि स्टिमर चढेर यात्रा गर्दाको आनन्द बेग्लै हुने हुदा ग्रामीण पर्यटकहरु रमाउने गर्दछन । स्टिमरको यात्रा नेपालकै लागी नौलो यात्रा मानिन्छ । स्टिमरले पचास देखि साठी जना मानिसहरुलाई एक पटकमा यात्रा गराउछ । इन्जिनबाट चल्ने यस्ता स्टिमर अन्यत्र नरहेकाले पनि यसमा बसेर यात्रा गर्नेहरु रमाउने गर्दछन । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीबाट स्टिमरको यात्रामा पर्यटकहरु रमाउने गर्दछन । स्टिमरमा यात्रा गर्नेले जल यातायातको अनुभव मात्र गर्दैनन् यात्रा अवधिभर दुवैतर्फ रहेका घना जंगलको तस्बिर समेत खिच्न पाउँछन् । नदीको दुवैतर्फ पहाडका खोँचमा रहेका स–साना प्वाल र जमिनमुनिबाट रसाउँदै निस्कने पानीका फोकाहरु समेत उत्तिकै हेर्नलायक हुन्छन् । स्टिमर चालकले कतिपय ठाउँमा एक्कासि नदीको किनारतर्फ लैजान्छन । जतिखेर छेउको पहाडमा रहेका अग्ला रुखहरुबाट निरन्तर झर्ने पानीका थोपाले यात्रीलाई आनन्द दिन्छन् ।
कालीगण्डकीलाई श्रीकृष्णागण्डकी, हिरण्यगर्भा र विभवदात्री माता पनि भन्ने गरिन्छ । बिशेषत शालिग्रामका बिविध आकृति पाइने हुनाले कालीगण्डकीलाई पवित्र मानिन्छ । कालिगण्डकीको शिरमा रहेको मुक्तिनाथ पवित्र धामको रुपमा मानिन्छ । कालीगण्डकीको दर्शन र स्नान गरेमा महापापबाट मुक्ति पाइन्छ भन्ने बिश्वास छ । नेपालमा सवै नदिहरु दक्षिण दिशामा वगेका छन । तर कालीगण्डकी सुरुमा उत्तर वगेका कारण धार्मिक रुपमा यसको महत्व वढि रहेको छ । कालीगण्डकी र सेती खोलाको दोभानमा रहेको पर्वत, स्याङजा र गुल्मी तीन जिल्लाको संगमस्थलमा पर्ने सेतीवेनीमा विशाल शिला रहेको छ । शिलालाई परापुर्व कालदेखी शालिग्राम मान्दै आएका छन । हिन्दुधर्म अनुसार शिलालाई भगवान विष्णुका रुपमा मानिन्छ । शिलाको पुजा र दर्शन गर्न विभिन्न ठाउहरुबाट एकादशी, औंशी, माघे सक्रान्ती जस्ता चाडपर्वमा मानिसहरु पुग्ने गर्दछन । सेतिवेनी धार्मीक आस्था राख्नेहरुको लागी आस्थाको केन्द्र बनेको छ । ग्रामीण मात्र होइन धार्मीक पर्यटकीयहरु स्टिमरबाट सेतीवेनी सम्म जलयात्रामा पुग्ने गर्दछन ।
सेतीवेनीमा पुगेपछि धेरै ग्रामीण पर्यटकहरु स्याङजा र पर्वत जिल्लाको सिमामा रहेका प्राकृतिक सम्पदा हेर्दै पोखरा समेत पुग्ने गर्दछन । सेतीवेनी देखि स्याङजा र कास्की जिल्लाको पोखरा पामे सम्मको मोटर मार्ग तयार भएको छ । ग्रामीण सडक निर्माणले सेतीवेनी जानेहरुको सख्या बढन थालेको छ । सेतीबेनी उराम, लुंखुदेउराली, कार्कीनेटा, आर्थर, राम्जा, भदौरे र पोखराको पामे सडक ७५ किलोमिटरको दुरी छ । यो सडकले पोखराबाट सेतीबेणी सम्म पर्यटकहरु आउन जान सुविधा भएको छ । यो सडकले पर्वत स्याङजा र कास्कीका ग्रामीण पर्यटकीय क्षेत्रहरुलाई जोडिदिएको छ । पोखराको फेवाताल कुनाको पामेबाट सुरु भएको सडक भदौरेबाट कास्की, पर्वत र स्याङजामा पर्ने ग्रामीण पर्यटकीय क्षेत्र पञ्चासेको फेदी चित्रे, राम्जा, आर्थर हुदै पर्वतको कार्कीनेटा पुग्दछ । कार्कीनेटाबाट डहरेदेउरालीको फेदी हुदै लुंखुदेउराली पुगिन्छ भने लुंखुदेउरालीबाट पर्वत जिल्लाका ग्रामीण पर्यटकीय स्थलहरु चिसापानी, गोल्र्याङ हुदै सेतीबेणी सम्म पुग्न सकिन्छ ।
पचासे डाडा स्याङजा कास्की र पर्वत जिल्लाको सीमा हो । पञ्चासे, डहरे तथा दक्षिण भागका चिसापानी र गोल्र्याङग पर्वत जिल्लाका अग्ला चुचुराहरु हुन । जहा हिउदमा हिउंले ढाक्ने चुचुराहरुमा लालीगुरांस लगायतका धेरै सुन्दर फुलहरु फुल्ने गर्दछन । यी चुचुराहरुबाट उत्तरी क्षेत्रमा देखिने हिमशृखला र टाढा–टाढाका मनमोहक दृष्य तथा विहानीको सूर्योदयको सुन्दरताको सिमानै हुदैन । यहि सुन्दरता हेर्नको लागी धेरै पर्यटकहरु पचासे डाडा पुग्ने गर्दछन । चाड पर्वमा परम्परागत मेला लाग्ने पन्चासेडाडा मुलुकको सवै भन्दा वढी पानी पर्ने क्षेत्र हो । नेपालको चेरापुञ्जीका रुपमा चिनिने पञ्चासे डाडावाट धौलागीरी हिमालको सुन्दर दृष्य वाग्लुङ, स्याङजा, पर्वत र कास्की जिल्लाको अधिकाशं ग्रामिण बस्ती देखिन्छ । एकै ठाउबाट धेरै ठाउको अवलोकन गर्न सकिने भएकोले ग्रामीण पर्यटकहरु त्यहा पुग्ने गर्दछन ।
स्याङजा, गुल्मी र पर्वत जिल्ला सस्कृतीको धनी जिल्ला पनि हो । यी जिल्लामा धेरै स्थानमा धार्मीक मठ मन्दिहरु रहेका छन । कालीगण्डकी नदीको तिरै तिर यतिबेला कालीगण्डकी करिडोरको सडक निर्माणकार्य भै रहेको छ । कालीगण्डकी करिडोर गंैडाकोटदेखि चीनको कोरला नाकासम्म ४ सय ३५ किलोमिटरको दुरी छ । राम्दी–रिडी (अर्गली) खण्डको ४२ र रिडी रुद्रवेनी १३ किलोमिटर रहेको छ । त्यसैगरी रिडीदेखि जोमसोमसम्म १ सय ७४ किलोमिटर पर्दछ । पर्वतको सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटरको मोटर मार्ग बनेको छ । निर्माणधिन सडक सुविधाले गर्दा आजभोली केहि मानिसहरु सडकमार्गको प्रयोग बाट पनि सेतिवेनी र अन्य ग्रामीण पर्यटकिय स्थलहरुको भ्रमण गर्ने गर्दछन । विशेषगरी यी जिल्लामा गुरुङ र मगर जातीहरुको बसोवास छ । सस्कृतीका धनी गुरुङ जातीहरु द्धारा लगाइने घाटू नाच र मगर जातीहरु द्धारा नाचिने कौरा नाच प्रख्यात नाचको रुपमा मानिन्छ । कालीगण्डकी स्याङजा, पाल्पा र गुल्मी जिल्लाको सिमा बनेको छ । पवित्र कालीगण्डकी किनारमा रहेका प्रशिद्ध राम्दी, रानीघाट, रिडी, रुद्रवेनी, मिर्मी र सेतिवेनि जस्ता घाटहरुमा विशेष पर्वहरुमा मेला समेत लाग्ने गर्दछ ।
कालीगण्डकी वरपर प्राकृतिक, ऐतिहासिक, धार्मिक, सास्कृतिक, भौगोलिक र सामाजिक बिविधता रहेको भूगोल हो । कालीगण्डकी किनार धार्मिक महत्वले मात्र होइन ऐतिहासिक र सास्कृतिक महत्व धेरै पाउन सकिन्छ । आलमदेवी शाहवंशको कुलदेवीको रुपमा मान्दै आएको मन्दिर ग्रामीण पर्यटकको केन्द्र बनेको छ । बिर्घाबाट करिब १ घण्टा उकालो चढेपछी आलमदेवी मन्दिरमा पुग्न सकिन्छ । आलमदेवीको यात्रामा प्राकृतिक सुन्दरतासगै मनोरम वातावरणको रमाइलो अनुभव हुन्छ । तर पैदल पैदल यात्रा गर्न नसक्नेहरुका लागी यातायातका साधन प्रयोग गर्न पनि सकिन्छ ।
आलमदेवीको मन्दिर समुन्द्री सतहबाट करिब १३ सय ५० मिटर उचाइमा रहेको छ । आलमदेवी उत्तर दक्षिण र पश्चिमबाट कालीगण्डकी नदीले घेरीएर रहेको छ । आलमदेवी मन्दिर कोटाकोट लसर्घा र बिर्घागाउँको सिरमा रहेको छ । मन्दिर परिसरबाट उत्तरतर्फ अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृखंला समेत देख्न सकिन्छ । मन्दिरको दक्षिणतर्फ फर्कदा पाल्पा तानसेनको श्रीनगर डाडा र रानीमहल र सुन्दर बस्तीहरु छेर्लुङ सटुकाको फाट देख्न सकिन्छ । आलमदेवीको उत्तर र दक्षीण तर्फ हेर्दा दुवै तर्फ कालीगण्डकी वगेको देख्न सकीन्छ । आलमदेवीलाई केन्द्र मानेर त्यस बरपरका धार्मिक, सास्कृतिक, प्राकृतिक जस्ता ग्रामीण पर्यटकीय स्थल रमणिय छ । आलमदेवी पुग्ने मुख्य चार मार्गहरु रहेका छन । आलमदेवी प्रवेश गर्ने दक्षिण मार्ग पाल्पाको तानसेनवाट रानीघाट तरेर स्याङजाको सटुका वाट उकालो चडेपछि आलमदेवी पुगिन्छ । जसको दुरी कालीगण्डकी किनारमा रहेको रानीघाटबाट करिव १३ कीलोमीटर पर्दछ । मीर्मीवाट विर्घा हुदै आलमदेवी पुग्न पनि सकिन्छ भने रिडी, रुद्रवेणी, कोटाकोट, लसर्घा हुदै आलमदेवी पुग्न पनि सकिन्छ । पश्चिमबाट रिडी चण्डीभञ्याङ्ग हुदै आलमदेवी पुग्न सकिन्छ ।
ग्रामीण पर्यटकको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन जैविक विविधताको समेत अध्ययन हुन्छ । कालीगण्डकी सेरोफेरोको भ्रमणबाट ग्रामीण पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन एवं अनुसन्धान गर्न सकिन्छ । ग्रामीण पर्यटकहरुको भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जनमा रमाउने पनि हो । यो क्षेत्रको यामामा जाने ग्रामीण पर्यटकहरुले एक हप्ताको प्याकेज कार्यक्रम मिलायर भ्रमणमा जाने हो भने धेरै कुराको अनुभव गर्न सक्दछन ।
ग्रामीण पर्यटन धार्मीक, प्रकृति र संस्कृतिमा आधारित छ । प्रकृति र संस्कृति ग्रामीण क्षेत्रमा नै रहेको हुन्छ । त्यसैले पनि ग्रामीण पर्यटनका सम्भावनाहरु गाउँमा नै हुन्छ । केहि बर्ष अगाडीबाट कालीगण्डकी करिडोर वरपर ग्रामीण बजार बिस्तार भएको छ । त्यस क्षेत्रमा भ्रमणमा जाने ग्रामीण पर्यटकहरुले खान बस्नको लागी कुनै असुविधा हुदैन । फुर्सदको बेला भ्रमणमा निस्कने मानिसहरु अहिले शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा जान रुचाउछन । शहर बजारको धुवाँ, धुलो, फोहोरजस्ता प्रतिकूल वातावरणका कारण घुमफिर गर्नेहरुले ग्रामीण वातावरण रुचाउन थालेका छन । आजभोली अधिकांश ग्रामीण पर्यटकहरुले खासगरी संस्कृति, प्रकृति र परम्पराको अध्ययनमा रुचि देखाउन थालेका छन ।
मिति ः – २०७४ जेष्ठ २४ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *