जलजला पर्यटनको गन्तब्य

–के.वि.मसाल
कुनै बेला रोल्पाको नाम सुन्ने बित्तिकै मानिसहरु डराउथे । द्वन्द्वको समयमा रोल्पा घर भने पछि काठमाण्डौमा घर धनिहरुले डेरा समेत दिन डराउथे । समग्रमा मुलुक भित्रै पनि रोल्पाली भनेपछि हेर्ने र बुझने दृष्टिकोण नै भिन्न बनाउने गर्दथिए । द्वन्द्व समाप्त भै सकेपछि आजकल रोल्पाको त्यो बुझाई कथा मात्र बनेको छ । रोल्पामा बिकास निर्माणका काम हुन थालेका छन । जनयुद्वको समयमा घटना घटेका गाउँहरु आजभोली ग्रामीण पर्यटकियस्थल बनेका छन । गाउँ–गाउँमा सडक निर्माण गर्ने होड चलेको छ । रोल्पा भ्रमणमा जाने ग्रामीण पर्यटकहरुको सख्या पनि बढन थालेको छ ।
रोल्पामा भ्रमणकोलागी जाने ग्रामीण पर्यटकहरुले प्रकृतिक सौन्दर्यता अवलोकन गर्न मात्र नभएर रोल्पाको जनजीवन, भाषा, सस्कृति र जनयुद्वको समयमा घटना घटेका गाउँहरुको बारेमा पनि अध्यन गर्न रुचि राख्दछन । पछिल्लो समय रोल्पामा गुरिल्ला पदमार्गबाट पनि धेरै ग्रामीण पर्यटकहरु रोल्पाका गाउँघरमा भ्रमण गर्ने गरेका छन । रोल्पामा भ्रमणमा पुग्ने मानिसको पहिलो रोजाइनै थवाङ गाउँ र जलजला पहाड पुग्ने इच्छा राखेको पाइन्छ । रोल्पा स्थानिय भाषामा राखिएको नाम हो । रोल्पालाई खाम भाषामा उताको बस्ती भनिन्छ । खामभाषिहरुको वाहुल्यता भएको कारण रोल्पाका गाउँ, र अधिकाँश स्थानको नामको पछाडी वाङ शव्द जोडिएको छ । खाम भाषामा वाङको अर्थ हुन्छ चौर । थवाङ पनि मगरखाम भाषामा राखिएको नाम हो । थबाङको अर्थ माथी उठेको अथवा पहाडको काखको चौर भन्ने हुन्छ । रोल्पा जिल्ला अठार मगरातको बसोबास क्षेत्र मानिन्छ । मगर खाम भाषाबाट जलजलालाई गोङ भनिन्छ । सदरमुकाम लिवाङ पनि खाम भाषामा नै रहेको छ । लि भनेको वास र वाङ भनेको चौर हुनेहुदा यसको अर्थ हुन्छ–वासको चौर ।
थवाङ ऐतिहासिक खाम जातीको बसोवास भएको गाउँ हो । थवाङ अहिले गाउपालिका भएको छ । थवाङ पुरै यतिखेर १ र २ वाडमा बिभाजन भएको छ । परम्परागत शैलीका घर ढुङगाका छाना एउटै गाउँमा तीन सय ३४ घर पहिलो पटक थवाङ पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्दछ । जुन गाउँ २०१२ साल देखि कम्युनिष्ट किल्लाको रुपमा चर्चित छ । थवाङ गाउँ नजिकै फुन्टिवाङगाउँ छ । यो गाउँ पनि युद्धको बेलामा चर्चामा आएको गाउँ हो । थवाङ गाउँ जान आजभोली धेरै बाटोहरु छन । तर पनि घोराहीबाट गाडी चढेपछि होलेरी हुदै दहवन पुगिन्छ । जहाँ माओवादी शान्ति प्रक्रियामा आएपछि जनमुक्ति सेनाको पाँचौ डिभिजन बसेको थियो । दहवनबाट भागोवारी हुदै नुवागाउँ पुगिन्छ । नुवागाउँमा पहिलोपटक शाही सेना र माओवादी जम्काभेट भएको स्थल हो । जुनस्थलबाट माओवादीले युद्धकालमा सहिदमार्ग निर्माण शुरु गरेको थिए । नुवागाउँबाट उकालो लागेपछि टिला बजार पुगिन्छ । माओवादी सेनाको एउटा बिग्रेड टिलामा पनि बसेको थियो । अहिले त्यहा सशस्त्र प्रहरी बसिरहेको छ । टिलाबाट दारबोट, कोर्चावाङ, घर्तीगाउँ ओवाङ दुईखोली, कुरेलीको खरिबोट, मिरुलको टुटूबजार, र छेर्वाङ हुदै १३४ किलो मिटरको यात्रामा थवाङ पुगिन्छ ।
थवाङ गाउँको सामूहिक निर्णय प्रणाली परिचय हो । सामूहिक निर्णय गर्ने परिपाटीकै कारण थवाङ सधैंभरी विद्रोही देखिएको हो । आदिवासी जनजाति समाजमा व्यक्तिलाई भन्दा समाजलाई ठूलो मानिन्छ । समाजको नाइकेलाई आदरका साथ सत्कार गर्ने र उसैको पछिलाग्ने चलन छ । थवाङका धेरैजसो मानिसहरु राजनीतिक अगुवाले जे निर्णय गर्छन त्यसको अहिले पनि हुबहु कार्यान्वयन गर्छन् । १० वर्षे सशस्त्र विद्रोहमा थवाङबाट मात्रै २८ जना मारिएका थिए । मारिनेमा पाँच महिला पनि थिए । ३१ जना अपाङ्ग भए भने १४ महिला एकल हुन पुगे । एक जना अझैँ बेपत्ता छन् । थबाङ क्षेत्रमा बढी मानवीय क्षति जेलबाङमा भयो । जेलबाङका मात्रै ७३ जनाले ज्यान गुमाए । राज्यका पक्षबाट जेलबाङका ६३ जनाको ज्यान गएको थियो । थबाङकै छिमेकी मिरुलमा ३३ जनाले ज्यान गुमाएका थिए । थबाङदेखि पूर्वको उवामा पनि युद्धको अवधिभर २२ जनाको ज्यान गएको थिए । मगर समुदायको अत्यधिक बाक्लो बसोबास भएको थबाङ, जेलबाङ,उवा, मिरुल लगायतका गाउँमा युद्धबाट प्रत्यक्ष प्रभावित भएका थिए भने सबैभन्दा बढी मानवीय क्षति पनि तीनै गाउँमा भएको थियो । ती गाउँमा मगर खाम भाषा संस्कृति, रहनसहन र चालचलन एउटै छ ।
थवाङमा २०१२ सालमा कम्युनिष्टको बीजारोपण भएको थियो । कृष्ण झाँक्री नामका मुखिया (राजा)ले गाउँमा सुँगुर, बंगुर खुला नछोडन आदेश गरे । झ्याली पिटाए र कटुवाललाई हाक हाल्न समेत लगाए । तर, गाउँलेले मुखियाको आदेशलाई टेरेनन् । गाउँको स्थिति फेरिएन । त्यसपछि मुखियाले सुँगुर, बंगुरलाई भरुवा बन्दुक, खुकुरी र भालाले हान्न थाले । विरोधमा बोल्ने हिम्मत कसैमा भएन । अत्याचार सहिसक्नु नभएपछि बरमन बुढा लगायतका युवाले प्रतिकारमा उत्रिए । मुखियाले प्युठानबाट प्रहरी बोलाए । मुद्दा चल्यो, बरमन जेल पुगे । बरमन बुढालाई प्युठान कारागार पु¥याइयो । संयोगवश बरमन बुढाको भेट कम्युनिष्ट नेता मोहनविक्रम सिंहसँग जेलमा भयो । मोहनविक्रमले उनलाई कम्युनिष्टको शिक्षा दिए । बरमन थवाङ फर्केपछि थवाङमा कम्युनिष्ट राजनीति सुरु भयो । उनीपछि प्युठान कारागार पुगेका मुखिया कृष्ण झाँक्री पनि कम्युनिष्ट दीक्षित कार्यकर्ता भएर थवाङ फर्के । पछि जेलबाट छुटेका मोहनविक्रम थवाङ पुगेर कमिटी गठन गरी बरमन बुढाको नाममा मुखिया (राजा) पद हस्तान्तरण गरेपछि थवाङमा कम्युनिष्ट राजनीतिको औपचारिक सुरुवात भएको हो ।
थवाङ पुग्ने ग्रामीण पर्यटकहरुको लागी यी सबैकुराहरु रुचिका साथ सोधखोज गर्ने गर्दछन । थवाङमा अहिले होमस्टे सन्चालनमा आएको छ । गाउँमा पुग्ने ग्रामीण पर्यटकहरुलाई खाना बस्नको कुनै समस्या हुदैन । थवाङबाट चलावाङ र तिरिवाङ हुदै करिवन ५ घन्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३१९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुरासका फूल पाइन्छ । पौराणिक कथा अनुसार वाह्रभाई वराहको जन्म धौलागिरीमा भएको र त्यहि बाट जलजला पहाडमा २२ वहिनी बजुको आगमन भएको विस्वास गरिन्छ । त्यसैले कैलु वराहको पुजा गरेपछि २२ वहिनी रानी वज्यूहरु को पुजा गर्ने प्रचलन छ । रोल्पाली को मात्र नभएर जलजला राप्तीवासी कै धार्मीकस्थल पनि हो । यहा तिन बटा वराहको मन्दिर रहेका छन । जसलाई कैलु वराह, वजु वराह, र सहदे वराह भन्ने गरिन्छ । प्रत्येक बर्षको वैशाख, जेष्ठ र जनैपूणिमाको दिन यहा मेलापनि लाग्ने गर्दछ ।
जलजला पहाडमा दुर्लभ पंछी र वन्यजन्तुहरु को वसोवास पनि छ । यहा पाइने डाफे, मुनाल, कालिज, प्युरा जस्ता पंछीहरुले जलजलालाई आफनो स्वरले त्यहा पुग्ने पर्यटकलाई स्वागत गरि रहेका हुन्छन । त्यसैगरी जलजलामा घोरल, थार, मृग, वदेल, भालु जस्ता जंगली जनावरहरु पनि पाइन्छ । जलजला पहाडलाई दुर्लभ मानिने जटामसी, पदमचाल्ना, केशरनिङ, जस्ता दर्जनौ जडिवुटिले पहाडको महत्व वढाएको छ । जलजला पहाड पछिल्लो समयमा नेपालको राजनैतिक संग पनि गासिएको छ । आजभोलि जलजला पहाडलाई राजनैतिक र वलिदानीको केन्द्रको रुपमा लिने गरिएको छ । जलजला पहाडको शिरमा सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । अभैmपनि जलजला पहाडमा राता हसिया हतौडाका झण्डा फरफराएको देखिन्छ । जलजला बाट रोल्पाको भूगोल मात्र होइन रुकुम जिल्लाको सिस्ने हिमाल र अनगिन्ती लेक,वेसि र प्राकृतिक सौन्र्दयताको आनन्द लिन सकिन्छ ।
जलजलाको झाँक्री थान अर्थात कैलु ब्राह थानमा झाँकृी मगर पुजारी छन । भने अरु मन्दीरमा रोका मगर पुजारी छन । जलजलामा तत्कालिन नेकपा माओवादीले संचालन गरेको रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्ज दुई बर्षसम्म जलजलाबाट भूमिगतरुपमा प्रशारण गरिएको थियो । जलजला प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको सम्भावना बोकेको पहाड हो । घाँसेमैदानी, दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकोले जलजला नयाँ पर्यटकहरुको लागी आर्कषणको केन्द्र बनेको छ । केहि बर्ष अगाडी देखि जलजलामा स्थानीय समुदायले चरिचराउ बन्द गरी संरक्षण गरिएको छ । यस क्षेत्रमा लोप हुन लागेको दुलर्भ रातो पाण्डासमेत संरक्षण भएको छ । चैतदेखि भदौसम्म प्राकृतिक फूलबारीमा रुपान्तरित हुने जलजला दर्जनौं प्रजातिका गुराँस फुलले राताम्य हुने गर्दछ । गुराँस बाहेक सुगन्ध हाङ्व, रथविरथ, पातव, विन्जोरीव, धस्कीनी लगायतका फूलहरु चैतदेखि भदौसम्म फुल्ने हुदा जलजला बाह्रै महिना फूल देख्न सकिन्छ ।
थबाङमा अहिले कला र संस्कृतिलाई जर्गेना गर्न स्थानीयवासी एवं राजनैतिक दलहरु लागि परेका छन् । असार महिना थबाङमा मगर जातीको भूम्या सुरुहुन्छ । भूम्या पर्व रोकब्याधी नलागोस, दैवीप्रकोपबाट बचियोस र राम्रो अन्नबाली फलोस भनेर मगर समुदायले मनाउने गर्दछन । यो पर्व रोल्पाको जेलबाङ र थबाङ मात्र होइन मगर जातीहरुको बस्ती भएको सबै गाउँमा मनाउने गर्दछन । वर्षा सुरु हुनु भन्दा अगाडि प्रकृतिको पूजा गर्ने चलन १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरुको प्रचलन छ । मगरहरुले परम्परागत प्राकृतिक पूजा गरेपछि उनीहरुको नाचगान र खानपिन गर्दछन । विदेशमा बस्नेहरु पनि भूम्या पूजाको समयमा गाउँमा फर्कन्छन् । मगर भेषभुषामा सजिएर युवायुवती, बूढापाकाहरु आपसमा मिलेर बिभिन्न बाजागाजा, जस्तै दमाहा, टेम्पो, ढोल, झर्रा, सनाई र झ्यालीको तालमा दिनभरि नाच्ने गर्छन् । रोल्पामा भूम्याजस्तै जस्तै नचारु, सिंगारु, मयुर, टप्पा समेतको नाच पनि देखाइन्छ ।
जलजला जादा बाटोमा ढकमक्क फूलेका फूलहरु, गुचुमुच्च मगरबस्ती, खोलानाला, पहाड र हरियाली वनजंगल यात्राको आनन्द बेग्लै हुन्छ । द्वन्द्वकालका अवशेषहरु, कम्युनहरु, गुरिल्लाहरुको तालिमस्थल, बंकर अनि द्वन्द्वका कथाहरु प्रशस्तै सुन्न र अवलोकन गर्न पाइन्छ । गुरिल्लाहरुले प्रयोग गरेका गोरेटोहरुमा यात्रा गर्दै विभिन्नथरिका फूलहरु, चराचुरुंगी, वनस्पति, छंलछंल बग्ने खोलानाला, अग्ला पहाड र झरनाहरुले त्यहा जाने ग्रामीण पर्यटकहरुलाई आनन्द दिलाउछ । जलजलाबाट सिस्ने, पूठा, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलाहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । ग्रामीण पर्यटकमध्ये धेरै प्राकृतिक दृश्य अवलोकन र मनोरञ्जनका लागि भ्रमण जाने गर्दछन । रोल्पाको भ्रमणमा हिमाल, जंगल, नदी, छहरा, ग्रामीण बस्ती, जंगली जनावर र पन्छी अवलोकन गर्न सकिने धेरै मार्गहरु पर्दछन ।
गूरिल्ला पदमार्ग भर्खरै मात्रै पहिचान गरिएको नयाँ पदमार्ग हो । यो पदमार्गले रोल्पा, रुकुम, बागलुङ हुँदै म्याग्दी जिल्लाहरु समेत समेटेको छ । यस पदमार्गमा सुलीचौर, जेलबाङ, ओखरेनी, धरमपानी, जलजला, थाबाङ, गुनाम, लुकुम, तकसेरा, निशेल्ढोर हुँदै जलजला, लम्सुम, ताकम, धारापानी हुँदै बेनी निस्कन सकिन्छ । यस्तै अर्को मार्गमा थबाङबाट धरमशाला, लावाङ, रिशालचौर, पातिहाल्ने डाँडा हुँदै च्याङचुङ, भेरिडाडा (चुनवाङ) हुँदै गैरीगाउँबाट घर्तीगाउ निस्कन सकिन्छ । गुरिल्ला पदयात्रामा मगर संस्कृति, जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अवलोकन गर्न सकिनछ । यो पदयात्रामा विशाल फाँट, हरियाली जंगल अनि सेताम्य हिमालको दृश्य हेर्न पाइन्छ । यो पहाडी यात्रा प्राकृतिकमात्रै नभएर सांस्कृतिक एवं सामाजिक हिसाबले पनि रोचक मानिन्छ । कुनै समय द्वन्द्वको केन्द्रका रुपमा प्रख्यात रहेकोे रोल्पा रुकुमले अहिले विस्तारै पर्यटकीय सम्भावनाहरु खोज्न थालेको छ, ।
दाङको घोराही–नुवागाउको तिला सम्म ५६ कि.मि र घर्तिगाउँ हुदै रुकुमको महत १७७ पर्दछ । भने घोराहीबाट घर्तीगाउँ हुदौ थवाङ सम्मको दुरी १३४ किलो मिटर पर्दछ । लिवाङ देखि घर्तीगाउँ हुदै ७४ कि.मि.को.कच्ची सडक यात्रामा पनि थबाङ पुग्न सकिन्छ । अर्को मार्ग हो सुलिचौर— फुलिवन, रुइनिवाङ हुदै थवाङ ५७ किलो मिटरको दुरी । तर यो मार्गमा .रुइनिबाङ–फुलिवनदेखि थवाङसम्म जोडने सडक खण्ड अझै १० किलोमिटर निमार्ण हुन सकेको छैन । सिरक्याङको भीर फोडने कार्य भै रहेको छ । यो सडक तयार भयो भने बुटवल तिरबाट आउने मानिसहरुको लागी थवाङ र जलजला पुग्नको लागी छोटो दुरी पर्दछ ।
मिती २०७४ असार ७ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *