असार पन्ध्र र कृषि निती

–के.वि.मसाल
छुपुमा, छुपु रोपन दिदै, हातमा विऊ छन्जेल
हास र खेल नमान पिर, बाबाको जिउ छन्जेल ।
असारे मासा दबदबे हिलो, छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा, छ बिस ऋण लाग्यो ।
आज असार पन्ध्र कृषि पर्व । विशेष गरी आजको दिन धान रोपाइ गरी दही र चिउरा खाएर यो पर्व मनाइदै छ । कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । सँगसँगै विषेश महत्व बोकेको नेपाली समाजको मौलिक पहिचान मानिने असारे भाका र संस्कृति भने लोप भइरहेको छ । असारको चटारोले छोपिसकेको छ । विगतमा बेठी चलनलेसमेत चर्चा पाउने कृषकका फाँट र खेतहरुमा यि र यस्ता गित, संस्कृतिको खासै गुञ्जायस र गन्ध पनि अहिले आउँदैनन् । यसपालीको असारमा रोपाहार दिदीबहिनीहरुले कतैकतै लोप हुनै लागेको असारे गित कनिकुथी जानीनजानी गाउँदै धान रोपाईँमा व्यस्त रहे त कतै आधुनिक चल्तीका मात्र गित सुनिए । तर, वास्तविक असारे गित र संस्कृति झल्काउने भाका गुञ्जिएको कतै सुनिएनन् ।
असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन । यसरी गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कोतिर चर्मरोग पनि निको हुने जनविश्वास रहेको छ । रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ । नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।
सरकारको कृषि निती कागजमा मात्र सिमित छ । हरेक बर्ष खेतीको बेला मल, विउ र सिँचाईको अभावले सबै कृषि क्षेत्र निराजनक बनेको छ । सरकारले किसानलाई न मल पु¥याउन सकेको छ, न सिँचाई नै । कृषिमा आधारित नेपाली अर्थतन्त्रलाई सुदृढ बनाउन कृषि उत्पादकत्व बढाउनुपर्ने कुरा कृषि विज्ञहरुको छ । तर बिज्ञको कुरा कृषि क्षेत्रमा लागु भने छैन भन्दा पनि हुन्छ । परम्परादेखिका यस्ता कृषिसंग जोडिएको संस्कृतिहरुलाई पनि जोगाउन जरुरी देखिन्छ । सुनको दानाको उपनाम पाएको धानको महत्व आफैँमा छ । धान रोपाईँ गर्दा हराउँदै जान थालेको असारे गितहरुको पनि संरक्षण र संवद्र्धन गर्नुपर्ने आवश्यकता छ । असारे गित गुन्गुनाउँदै किसानहरुले हिलोमा काम गरिरहेको दृष्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, । यो सबैका लागी रहरको विषय पनि हो । हाम्रो समाज सस्कृतीमा हुर्केको समाज हो । घरद्धार निर्माण देखि लिएर खेतीपाती गर्दा पनि हामी नेपालीहरुको आ–आफ्नै सस्कृती रहेका छन । असार १५ मा दही चिउरा खाने साउनमा खिर खाने र असारे गित गाउने प्रचलन पनि हाम्रो सस्कृती भित्र कै हो ।
धान खेती संसारकै प्रमुख अन्न बाली हो । धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको मानिन्छ । नेपालमा प्राय सबै जिल्लामा हुने धान खेती मनाङ जिल्लामाभने हुदैन । मनाङ जिल्लाको सिमामा पर्ने लमजुङ जिल्लाको चिप्ला, उपल्लो चिप्ला सम्म धानको खेति हुन्छ । तर मनाङको सिमाना सुरुहुने ताल वाट नै मनाङमा धान खेति हुदैन । पानी छ माच्छा हुदैन, सिचाई छ तर धानखेती हुदैन । नेपालको भूगोलमा धानखेती नहुने जिल्ला मनाङ मात्र हो । मनाङ भन्दा चिसो बढी हुने जिल्ला र ठाउमा पनि धान खेती हुने गरेको पाइन्छ । तर मनाङमा धान नफल्ने मात्र होइन धान खेती नै गरिन्न । ०३३÷३४ तिर कृषि मन्त्रालयले मनाङ जिल्लाको ताल, वगरछाप, तिमाङ लेक, थान्चोक र सदरमुकाम चामेको कोतो भन्ने स्थानमा धानखेतीको लागी हावापानी,माटो सवै परिक्षण गरेको थियो । तर पनि त्यसको कारण भने पत्ता लगाउन सकेको छैन । सामान्यता चिसोको कारणले धानखेती नभएको भन्ने तर्क भएपनि यसको अनुसंन्धान हुन जरुरी छ ।
अहिले बढदो जनसंख्याले कृषिमा समेत समस्या बनेको छ । बढदो जनसंख्याका लागि खाद्यान्न आपूर्ति गर्न मानिसले बिभिन्न प्रकारका रासायनिक मलहरु तथा विषालु कीटनाशकहरु खेतीमा उपयोग गरिरहेको छन । राज्यले पनि त्यसको प्रचार प्रसार गर्दै आएको छ । रासायनिक मल तथा किटनाशाकले प्रकृतिका जैविक र अजैविक पदार्थहरु बीच हुने आदान–प्रदानको चक्र इकोलोजी सिस्टमलाई प्रभावित पारेको छ । जसले गर्दा जमिनको उर्वरा शक्ति बिनास हुदै गएको छ । जुन कारणले वातावरण प्रदूषित भएको छ, र मनिसको स्वास्थ्यमा समेत नराम्रो असर पुगेको छ । यस किसिमको कुराहरुलाई कृषि क्षेत्रमा लाग्ने कृषकहरुले ख्याल गरेको पाइन्न । त्यसैगरी राज्यले समेत यस्ता कुरामा ख्याल गरेको देखिदैन ।आज मुलुकभर कृषिजन्य बस्तुहरु धेरै उत्पादन गर्न कृषकहरु राशायनिक मलको भरमा खेती गर्न बाध्य भएका छन ।
अर्को तर्फ कृषि क्षेत्रमा सरकारको ठोस नितिको अभावमा उत्पादन हुन छाडेपछि आजभोली कृषकहरुलाई, कृर्षि श्रमिकहरुलाई ज्याला दिएर खेत रोपाई गर्न नसक्ने अवस्थामा कृषकहरु पुगेका छन । वैदेशिक रोजगारको लागी युवाहरु विदेश पलायन हुने क्रक बढदो छ । काम गर्ने युवा शक्ति गाऊघरमा नहुनाले ज्याला दिएर पनि कृषि मजदुर पाउन मुश्किल परेको छ कृषकहरुलाई । भरपर्दो विऊ र मल समयमा नपाउने र उत्पादन भएको खाद्यान्नले उचित मुल्य पाउन नसक्दा कतिपय कृषकहरु कृषि पेशा बाटनै पलायन हुदै गएका छन । युवाहरुमा कृषि कार्यलाई कामनै हैन भन्नेको सख्या बढदै गएको छ । जसले गर्दा नेपालमा गरिवी न्युनिकरण गर्न चुनौतीपूर्ण कार्य भएको छ । प्रकृतीको धनी नेपाल आफैमा सवल हुदाहुदै पनि यहाको शासकहरुको दुरदर्शी निति नवन्दा कृषि क्षेत्रमा आश्रीत हुने मानिसहरु झन –झन गरिव बन्दै गएका छन । नया प्रविधिको कृषि प्रणाली बाट उत्पादन लिन नसक्दा अहिले अधिकाशं आफुलाई वेराजगार भन्ने युवाहरु विदेशि भूमिमा कामको लागी जान परेको छ ।
नेपालको ग्रामीण क्षेत्र पूर्णत कृषिमै आश्रति छ । यो क्षेत्र गरीब पनि छ । नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण आधार कृषि नै हो र यसको व्यावसायीकरण आजको आवश्यकता हो । तर यसको विकासका लागि कृषिमा व्यापक सुधार ल्याउनु आवश्यक छ । खै हामीले कृषिलाई जैविक खेतीको विधि अपनाएको ? रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन दिन्छ अर्थात जैविक खेतीले कृषकहरुको उत्पादन बढाउछ । जैविक खेतीको विधि पनि अधिक लाभदायक छ । जैविक विधि द्वारा खेती गर्नको लागि उत्पादनको लागत त कम हुन्छ नैं यसका साथै कृषकहरुलाई आय आर्जनमा फाइदा पुग्छ । जसको फलस्वरुप सामान्य उत्पादनको अपेक्षामा कृषकहरु अधिक लाभ प्राप्त गर्न सक्छन्। । बढदो जनसंख्या, पर्यावरण प्रदूषण र जमिनको उर्वरा शक्तिको संरक्षण एवं मानव स्वास्थ्यका लागि जैविक खेती अत्यन्त लाभदायक छ । तर यो कुरा सबै क्षेत्रका कृषकहरुलाई कृषि क्षेत्रका विज्ञहरु ले र राज्यले बुझाउन नसकेको अवस्था छ ।
नेपालको अर्थतन्त्र चलाउने शक्ति पनि कृषि नै हो । कृषिमा विकास हुन सकेन भने अन्य क्षेत्रको विकास सम्भव छैन । मुलुकका ४३ जिल्ला अहिले पनि खाद्यान्न अभाव झेलिरहेका छन् । खाद्यअभाव भएका कर्णालीलगायत ४३ जिल्लामा स्थानीयस्तरमा पाइने चिनो, कागुनो, फापर, मकै, कोदो, जौलगायतको खेति र उत्पादन वृद्धि गर्न पर्दछ । हाम्रो बुझाइ पनि गलत छ । धान, मकै र गहुँमात्रै खाद्यान्न हो भन्ने गलत धारणा हामी मध्य धेरैमा रहेको छ । यो गलत धारणालाई मेटाएर अन्य बालीहरुको उत्पादन गर्न र ती बालीहरु उत्पादन गर्न कृषकहरुलाई प्रेरित गर्न सकिन्छ । स्थानीयस्तरमा जुन बालीको राम्रो उत्पादन हुन सक्छ, त्यस्ता बालीको उत्पादन बढाउने नीति सरकारले बनानु पर्दछ । तर हामी कहां त्यस्तो हुन सकेको छैन । धान खेती उत्पादन नहुने र भएपनि कम हुने जिल्लाहरुमा घोडा, खच्चर, मोटर मात्र होइन हवाइजहाजबाट समेत खाद्यान्न ढुवानी गरी पठाउने गरिन्छ । जुन कारणले त्यहाका जनताहरुलाई अल्छी बनाइएको छ । यस तर्फ राज्यले सोच्नै पर्दछ ।
हामीकहा कृषि सुधारका लागि भू उपयोग नीति पनि स्पष्ट छैन । राज्यले भू उपयोग नीति बनाएर कृषिको व्यावसायीकरणका लागि लगानी बढाउनुपर्छ । शहरी विकास, उद्योग, वातावरण तथा पर्यावरण र कृषिलाई कति जमीन छुटयाउने भन्नेबारेमा अहिलेसम्म राज्यको नीति छैन । कृषिका निम्ति मुलुकभरका भूमिमा योजना निर्माण गरेर व्यावसायिक खेती गर्न सकिन्छ । नेपालमा अब कृषिलाई परम्परागत रुपमा होइन, उद्योगका रुपमा विकास गर्नुपर्छ । अनि मात्रै कृषिले अन्य उद्योगको विकासमा सहयोग पु¥याउँछ । यसका लागि कुखुराको व्यावसायिक फर्म खोलेर मुलुकभर विस्तार गर्न सकिन्छ । दूध उत्पादनमा पनि हामीकहा धेरै सम्भावना छ । दूधको उदारहण हेर्ने हो भने बिकसित देशहरुले दूधबाट बनेका चकलेट बेचेर नै आर्थिक उन्नति गर्न थालेका छन । हाम्रो देशमा पनि दूधलाई व्यावसायीकरण गरेर लैजाने हो भने यसबाट धेरै फाइदा लिन सकिन्छ । पछिल्लो समयमा दूध उत्पादनमा निजीक्षेत्रले पनि चासो देखाएको छ । गाईभैंसी पालनलाई पनि उद्योगका रुपमा विकास गरी उन्नत जातका गाईभैंसी पाल्न कृषकहरुलाई अभिप्रेरित गर्न सकिन्छ ।
तरकारीखेतीको व्यावसायीकरण पनि आर्थिक विकासको अर्को आधार हो । हामीले जैविक खेती प्रणाली अपनाएर तरकारीखेती गर्ने हो भने सिङ्गापुरदेखि खाडी मुलुकमा नेपाली तरकारीको ’ब्राण्ड’ बनाएर बेच्न सक्दछौ । यसको विकास गर्न सक्ने हो भने नेपालमा खाद्य असुरक्षा हुने सम्भावना कम हुन्छ । कृषिउत्पादन बढाउनका लागि सिँचाइ, मल, बीउ र प्रविधिमा राज्यले जति लगानी गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिलेको मुख्य मुद्दा भनेको कसरी कृषिमा लगानी बढाउने र व्यावसायीकरण गर्ने भन्ने नै हो । भन्ने बेलामा हामी नेपाल कृषि प्रधान देश भन्दछौ । मुलुकमा ७० प्रतिशतभन्दा बढी जनता कृषिमा नै निर्भर भएको बताइन्छ । तर पनि कृषिबाट कुनै पनि नेपाली जनताको जिविकोपार्जन हुन सकेको छैन भन्दा पनि हुनछ । आयातित खाद्यान्नबाट नै नेपाली जनताले पेट भरिरहेका छन् । नेपालमा कृषिमा न त प्रविधि नै भित्रिन सकेको छ न त व्यवसायिकता नै । जबसम्म कृषिमा व्यवसायिकता ल्याउन सकिँदैन, तबसम्म यस क्षेत्रको विकास हुन सक्दैन ।
मितिः– २०७४ आषाढ १३ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *