दहको वाह्र कुना अव कथा बनेको छ

 के.वि.मसाल
    दाङ्को वाह्रकुने दहको कुना आजभोली पहिचानको लागि कथा बनेको छ । घोराहीदेखि उत्तर–पश्चिम ३ कि.मी.को दुरीमा सेवार ७ मा रहेको यो दह दाङको लागि धार्मीक स्थलको रुपवाट पनि पहिचान भएको छ । प्रत्येक वर्ष माघे सक्रान्तिको दिनमा मेला समेत लाग्ने वाह्रकुने दह आफ्नो पुरानो संरचनाको अस्तित्व हराउँदै गएको छ ।  
ऐतिहासिक किम्वदन्ती मात्र वाह्रकुनेको छ । लिखित इतिहास भेटिएको छैन । किम्वदन्तीलाई नै इतिहास मान्ने हो भने सेवारको वाह्रकुने दह प्राकृतिक दह हो । कुनै कालखण्डमा वाह्रकुने दह वरपर गाईवस्तु चराउने घना जंगल रहेको थियो । सल्यान र रोल्पाका किसानहरु हिउँदको समयमा आफ्ना गाईबस्तुहरु लिएर वाह्रकुने वरपरको जंगलमा गोठ राख्ने प्रचलन रहेछ । ति गोठालाहरु १२ भाई रहेछन । एकदिन जेठो गोठालालाई सपना भएछ । सपनामा सेतै फुलेका बृद्ध आफ्नो अगाडि उभिएर गोठालालाई भनेछन् । यो स्थान देवताको वासस्थान हो, यहाँ गोठ नराख । यो ठाउँ जलाशय वन्दैछ । सपनाको कुरा सबै भाईहरुलाई सुनाएछन् । सपनाको कुराले ११ जनाले गोठ सारेछन् । तर सपना देख्नेले सपनालाई विस्वास नगरी गोठलाई सार्ने काम गरेनछन् । पुसको मसान्तको दिन थियो । असिना र पानीले विनास वनाउन थालेछ । त्यसै रातमा अहिलेको वाह्रकुने विशाल दहको रुप लिएको हो भन्ने कुरा वाह्रकुने दहको मौखिक किंम्वदन्ती रहेको छ ।
जलाशय भएपछि मगरजातीहरुले गाईको दुध चढाएर भेडाको वली चढाइ पुजाको आरम्भ भएको हो । सेवारे शव्द खाम मगर भाषामा देवी देवताको सेवा गर्नेलाई भन्ने हँुदा यो क्षेत्र सुरु देखि नै मगरजातीहरुले वसोवास गर्ने स्थलको रुपमा पहिचान रहेको छ । मगर जातीहरुले वराह देवतालाई कुल देवता मान्ने हुँदा वाह्रकुने दहमा वराह छन् भन्ने मान्यताले मगरजाती नै पुजारी भएर पुजा चलाउँदै आएको पाइन्छ । शास्त्रमा उल्लेख भए अनुसार बराह अवतार कस्यप ऋषि बलबान छोरा हिरण्याक्ष दानवले बेद र पृथ्वीलाई नै नष्ट गर्न लाग्दा ब्रह्माले हाच्छउँ गरेको अबस्थामा सुक्ष्म रुपले नाकबाट निस्किएर डरलाग्दो बदेलको अवतार भगवानले लिएको थियो । सेतो बदेलको रुपले समुद्रमा पसेर दैत्य हिरण्याक्षलाई उद्धार गरेर जीवहरुको रक्षा र ज्ञानको भण्डार रहेको बेदको संरंक्षण भगवानको बराह अवतारबाट भएको बर्णन बराहपुराणमा पाइन्छ ।
वाह्रकुने दहको क्षेत्रफल ५ हेक्टर अर्थात् ७ विघा ७ कठ्ठामा फैलिएको छ । वाह्रकुने दहको पश्चिमतिर ंज्यामीरे दह रहेको छ । दुर्लभ चराहरुको वासस्थान समेत भएको ज्यामीरे दह पनि आजभोली सामुदायिक बनले संरक्षण गर्न थालेको  छ । मौलाकोट, लाहपे र वुढाकोट गाउँको मगर बस्ती ३ कि.मी. उत्तर डाडामा रहेको छ । वाह्रकुने दहको इतिहास मौलाकोटसंग पनि जोडिएको छ । मौलाकोटको मौलामा वैशाख पूर्णिमाको दिन रोट चढाउने परम्परा रहेको छ । मौलालाई चढाउने रोटी अर्थात रोट पकाउँदा हातले चलाउने र हातले नै झिक्ने चलन समेत रहेको छ । मौलाकोटमा प्रत्येक दशैमा पञ्चवली दिने समेत गरिन्छ ।
वाह्रकुने दह वि.स.ं १९९० साल भन्दा अगाडि घना जंगलको वीचमा १२ ओटा प्राकृतिक कुना वनेको सुन्दर दह थियो भन्ने कुरा स्थानीय बृद्धहरुले वताउँछन् । ति कुनाहरु अहिले पनि देख्न सकिन्छ । ९० सालभन्दा पछि सेवार गाउँ वरपर मानव बस्तीको विकास हुन थालेपछि सिचाईको प्रयोजनमा दहको पानी प्रयोगमा आउन थालेपछि दहमा पानीको सतह सुक्दै जान थालेको हो । वन जंगलको विनास र भू–क्षयको कारण दहको वरपर पैरो जाँदा दिनप्रतिदिन दहको स्वरुप वदलिदै अहिलेको अवस्थामा आएको कुरा पुराना मानिसहरुले वताउँछन् । ०३५ सालमा नगरपञ्चायत भएपछि वाह्रकुने दहलाई संरक्षण गर्न थालिएको हो । अहिले दह संरक्षण गर्नका लागि वराह क्षेत्र संरक्षण समिति बनेको छ । माघे सक्रान्तीको समयमा मेलाको लागि सुविधा दिन समितिले विभिन्न कार्यहरु गर्दै आएको छ ।
वाह्रकुने दहले आफ्नो स्वरुप फेर्दै आए जस्तै माघेको मेलाको तामझाम पनि दहमा फेरिदै आएको छ । कुनैवेला वाह्रकुने दहको मेला जुम्ला, रोल्पा, सल्यान र रुकुमका मानिसहरुको लागि व्यापारी केन्द्र समेत बन्ने गरेको थियो । आफ्नो गाउँमा उत्पादन भएका राडी, पाखी फलफुल समेत वाह्रकुने मेलामा विक्रीको लागि ल्याउने गरिन्थो । पुराना कुराहरु संझिदै अहिले ८० वर्ष नाघेका वृद्धहरु भन्दछन्– त्यसबेलाको दहको वजार हेर्न कामको लागि भारततिर गएका मानिसहरु पनि माघे सक्रान्तीको समय मिलाएर गाउँमा आउने गर्दथिए । कोइलावास र भारतको वलरामपुर, तुलसिपुर देखिका व्यापारी सामान विक्री गर्नको लागि दहमा आउने गर्दथिए । पौष मसान्तको रातभर केटाकेटीहरुको गीतले वाह्रकुने दह गुञ्जिरहन्थो । राप्ती अञ्चलका टप्पा, मयुरनाँच, मारुनी नाँच र भ्mयाउरे गीतले मेला हेर्न गएका सबैलाई रात विताएको थाहा नै हुने थिएन ।
तर अहिले पुरानो प्रचलन सबै हराएको त भन्न मिल्दैन । तर पनि वाह्रकुने दहको महत्व भने वढदै गएको छ । वाह्रकुनेका वराह देवता मगरजातीको मात्र नभएर अन्य जातीहरुको पनि पुजनीय छन् । आफ्नो भाकल चढाउन सल्यान, जाजरकोट, दैलेखबाट पनि मानिसहरु आउने गरेका छन् । वाह्रकुने वराह मन्दिरमा भेडा र कुखुराको मात्र वली चढाउने प्रचलन छ । माघे सक्रान्तीको दिन आउन नसक्नेहरले पौष महिनाको सुरुदेखि नै आफ्नो भाकल चढाउन ल्याउँछन् । भाकल चढेका भेडाको टाउको केहि वर्ष यता आएर मन्दिरले खर्च जुटाउनको लागि भेटी स्वरुप पैसामा वाह्रकुने पुग्ने मानिसहरुलाई दिने गरेको छ । वाह्रकुने दह आजभोली पिकनिक स्पोर्ट समेत भएको छ । घोराही आसपासका मात्र होइन दहमा पिकनिक जाने मानिसहरुको भीड हुने गरेको छ । घोराही–होल्लेरी सडक किनारमा रहेको वाह्रकुने मेलामा राप्ती अञ्चलका मात्र नभएर भारतिय धार्मीक पर्यटकहरु पनि सक्रान्तीको मेलामा आउने गरेका छन् । प्रत्येक वर्ष स्वर्गद्वारी बाबाको दर्शन गर्न आउने भारतिय तिर्थयात्रीहरु वह्रकुने दहमा समेत पुग्ने गरेका छन् ।
लामो इतिहास भएको वाह्रकुने दहलाई धार्मीक पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्दछ । दहलाई संरक्षण गर्न सकियो भने यसको महत्व बढदै जाने र दहको भौतिक विकासमा सहयोग पुग्दछ । यसलाई दह संरक्षण समिति र नगरपालिकाको दृष्टिकोण पुग्न सकोस् । यसले नै दहको दीगो विकास हुने कुरामा दुई मत नहोला ।
मिति ः– २०७० पौष २९ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *