कपिलवस्तु जिल्लाको सेरोफेरो

के.वि.मसाल
नेपालको भूगोलमा तराईको भू–भागमा ०१८ साल भन्दा अगाडी कपिलवस्तु जिल्ला ठूलो जिल्ला थियो । अहिले भएका नवलपरासी, रुपन्देही र कपिलवस्तुको सबै भू–भाग एउटै जिल्लामा रहेको थियो । राणा सरकारहरुको पालामा तौलिहवाको गौडा ठूलो प्रशासनिक क्षेत्र मानिने थियो । ०१८ साल पछि यि क्षेत्र ३ जिल्ला नवलपरासी, रुपन्देही र कपिलवस्तुमा विभाजन भएको हो । यो जिल्ला  रुपन्देही, अर्घाखाची, दाङ् र दक्षिण तर्फ पुरै भारतिय भूमीको सिमामा रहेको छ । प्रशासनिक क्षेत्रमा १ नगरपालिका र ७७ गाविसमा विभाजन भएको कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा हो । तराइमा रहेको वजार मध्य तौलिहवा ऐतिहासिक स्थल पनि हो ।

कपिलवस्तु नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने एउटा जिल्ला हो । कपिलवस्तु जिल्लाको क्षेत्रफल १७३८ वर्ग किलोमिटर छ प्राचिनकालमा ऋषि कपिलद्धारा प्रतिपादित प्रकृती  आधारित दर्शनको जन्मभूमी भएका कारणले यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो । प्राकृतिक संम्पदाले सिंगारिएको यस ठाउमा आउने पर्यटकका लागी समथर मैदानदेखि चुरे पहाडका उच्च टाकुरा, जैविक विविधताले भरिपूर्ण विश्व सीमसार क्षेत्रदेखि लिएर विश्व सांस्कृतिक संपदामा सूचिकृत हुन तयार सांस्कृतिक एवं पूरातात्विक अन्वेषण र ऐतिहासिक स्मारकको अवलोकन गर्न पाउने स्थलहरु जिल्लामा छरिएर रहेका छन । कपिलवस्तु जिल्ला लाई पूरातात्विक संग्रहालय पनि भनिन्छ । कपिलवस्तु जिल्लाको वाणगंगा देखि पश्चिम, भारतीय सीमा र उत्तर महेन्द्र राजमार्ग देखि दक्षिण भित्र मात्रै १ सय ३८ वटा बुद्धसंग सम्वन्धित ऐतिहासिक स्थलको पहिचान भैसकेको छ ।  

वाणगंगा कपिलवस्तु जिल्लाको प्राण पनि हो । अर्घाखाची जिल्लाको ठाडा वरपर महाभारत श्रृखला बाट उदगम भएको वाणगंगाले कपिलवस्तु जिल्लाको ठूला भै–भाग सिचाई, खानेपानीको आपुर्ती गरेको छ । वाणगंगाले नै निर्माण सामाग्री वालुवा, गिट्टी जस्ता कुराहरु सहज आपुर्ती गरिदिएको छ । त्यसैगरी कपिलवस्तु जिल्लाको भूगोलमा बग्ने कोइली, अर्रा, सुराई, चिरई, आदि खोलाहरुले पनि सिचाई लाई सहज बनाइदिएको छ ।  नागबेली आकारमा बग्ने ति खोलाहरुले कपिलवस्तुको सन्दरता बढाइ दिएको छ । उर्वर खेतियोग्य जमिन भएको कपिलवस्तु जिल्लाको उत्पादनले अन्य जिल्ला लाई समेत खाद्यान्नको आपुर्ति गर्न सकेको छ ।

कपिलवस्तु जिल्ला ऐतिहासिक जिल्ला हो । गौतम बुद्धको जन्मस्थल भएको कारणले यो जिल्ला सबैको लागी ऐतिहासिक स्थलको खोजकेन्द्र बनेको छ । आज भन्दा २६ शताब्दि बर्ष अगाडि सिद्धार्थ गौतम जन्मेको ठाउ कपिलवस्तु त्यस समयमा एउटा देश थियो । यहा गौतम थरका राजा शुद्धोधनले राज्य गर्थे । शुद्धोधनको प्राचिन दरवार सदर मुकाम तौलिहवा नजिक तिलौराकोटमा पर्दछ । तौलिहवा बजारबाट २ किमी उत्तर दिशामा रहेको प्राचिन तिलौराकोट आजभोलि पर्यटकियस्थल बनेको छ । राजा शुद्धोधनको थर गौतम भएपनि उनलाई शाक्य राजा भनेर चिनिन्थो ।  उतिबेला शाक्य भनेको कुनै थर वा नेवार जाती थिएन । यसको अर्थ भने अर्कै रहेको कुराहरु इतिहासमा  उल्लेख छ ।  राज खानदान भनेको पराक्रमी, वीर तथा परिश्रम गर्न सक्ने, सबै काम गर्न सक्ने खालका मानिन्थे  । यसबाहेक उनीहरुमा सबै काम सक्य वा सम्भव छ भन्ने मानसिकता रहन्थ्यो । यसैकारण उनीहरुको त्यस्तो जीतको मानसिकतालाई उल्लेख गर्न यी राजाको नामपछाडि सक्य राखियो जुन कालान्तरमा शाक्य नामले चिनिन गयो । भन्ने कुरा इतिहासकारहरु को भनाई रहेको पाइन्छ ।

राजकुमार सिद्धार्थ हुर्केको स्थल पनि तिलौराकोट हो । सिद्धार्थका लागि राजसी सुखसयल भन्दा पनि मानिसका दुःखका कारण पत्ता लगाउने कुरामा वढि ध्यान रहेको हुन्थो । दरवारको सुखःसुविधा सबै त्यागेर सिद्धार्थ, असार पूर्णीमाको दिन कपिलवस्तु छोडी ज्ञानको खोजीमा निस्किए । दरवार छाडेर हिडेको ६ बर्र्षमा बोध गया भन्ने ठाउमा ज्ञान प्राप्त गरे । राजकुमार सिद्धार्थ बुद्ध भए । बुद्धको किर्र्ति यस प्रकार खुबै फैलिन थाल्यो उनका चेलाहरु प्रशस्त हुन थाले । बुद्धत्व प्राप्त गरीसकेपछि उनी तिलौराकोट फकिर्ए, केही मानिसहरुलाई आफ्नो चेला बनाए । उनले आफ्नो छोरालगायतका व्यक्तिलाई बीस बर्ष भन्दा कम उमेरमै भिक्षु बनाएकाले त्यतिबेला उनी केही आलोचित पनि भएका थिए । पछि आएर घरपरिवारको अनुमतिबीना बीस बर्ष भन्दा कम उमेरका मानिसलाई भिक्षु बनाउन नपाउने व्यवस्था बनाइयो । पछि बुद्धलाई हुर्काएकी आमा प्रजापति गौतमीले पनि बुद्धलाई गुरु बनाएर पहिलो महिला भिक्षुणी बनिन् ।

तिलौराकोटको बीचमा राजा शुद्धोधनको दरवारको भग्नावशेष छ । यो दरवारको क्षेत्रफल ३५ विघामा फैलिएको छ । दरवार परिशरको पूर्व भागमा पूर्वी गेट छ । त्यसलाई महाभिनिष्क्रमणको नाम दिइएको छ । यही गेटबाट बुद्धले दरवार छोडेर ज्ञान प्राप्त गर्नको लागि निस्किएका थिए । यस ठाउमा उत्खनन गर्दा १९ फिट चौडा बाटो, दाया बाया दुई बुर्जा जस्ता अवशेषका साथै माटाका भाडा, मुद्राहरु आदि कुरा प्राप्त गरीएको छ । त्यसैगरी पश्चिमभागमा दरवारको सुरक्षाकोलागि बनाइएको पश्चिमी गेट छ । त्यस गेटमा १९ फिट चौडा बाटोको दुवैतर्फ डबलीहरु छन् । यहि द्धार नै दरवार प्रवेशको मुख्य ठाउ हो ।

कपिलवस्तु सदरमुकाम तौलिहवाबाट २ किलोमिटर दक्षिणी भेगमा अवस्थित कुदान पनि प्राचिन महत्व बोकेको ठाउ हो । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरिसकेपछि उनी भिक्षाटन गर्दै धेरै ठाउ चहार्दै हिडेको बेला राजा शुद्धोधनले बुद्धलाई भनि एउटा छुट्टै दरवार कुदानमा बनाएको भन्ने कुरा अभिलेखहरुमा उल्लेख छ । बुद्धत्व प्राप्त गरिसकेपछि उनी कपिलवस्तु त फर्के तर उनको ज्ञानबारे कसैले विश्वास नगरेपछि यही कुदानमै बुद्धले तन्त्र विद्यामार्फत् फनफनी आकाशमा फेरो मारेपछि मात्र उनलाई मानिसहरुले विश्वास गरी भगवान् भनि पुज्न थालेका हुन् । कुदानमा बुद्ध बस्ने गरेको गन्धकुटी छ । बुद्ध जा बस्थे सो ठाउमा अनौठो किसिमको गन्ध आउथ्यो रे । त्यसैले त्यो कुटीको नाम पनि गन्ध कुटी राखिएको हो । त्यसको नजिकै भिक्षुहरुको लागि बनाइएको भिक्षु भवनको भग्नावशेष छ । भिक्षुहरु बस्ने त्यस भवनमा शिवलिगं पनि छ । त्यो शिवलिंग टुटेको अवस्थामा छ । त्यसैगरी छेवैमा इनार पनि रहेको छ ।

शिवगढी  चुरे श्रृखलाको पहाड प्राचिन सभ्यताको धरोहर भूमी मानिन्छ । यस क्षेत्रमा कपिल महर्षिको तपोभूमि मानिन्छ । जुनठाउ दाङ् र कपिलवस्तु जिल्लाको सिमा क्षेत्र चुरेपहाडमा  पर्दछ । मानव समाजको विकास सगै पहाड,पर्वतहरु मा ऋषिमुनीहरु को तपस्या स्थल वनेको प्राचिन इतिहास छ । जसको उधारण चुरेपहाडको श्रृखलामा रहेको शिवगढी लाई लिन सकिन्छ । चुरे पहाडको चुचुरो शिवगढीको उचाई सामुद्रिक सतहवाट १ हजार ४९१ मिटर रहेको छ । राजमार्ग धाखोला बाट ३ घण्टाको उकालो पैदल यात्रामा पुगिने शिवगढी मन्दिरमा धानखोलाको शिवालय नवन्दा सम्म प्रत्यक शिवरात्रीमा ठूलो मेला लाग्ने गर्दथियो । कपिलवस्तु र दाङ् जिल्लाको सिमावर्ती क्षेत्रहरु को सवै भन्दा अग्लो पहाडमा रहेको शिवगढी बाट हिमाल,तराई,चुरे पहाडको धेरै श्रृखंला,देउखुरी उपत्यका रप्युठान, अर्घाखाची जिल्लाको धेरै डाडाकाडा अवलोकन गर्न सकिन्छ । प्राकृतीक रमणिय वातावरण अनुभव गर्नेहरु का लागी शिवगढी ले पहाड लाई बोकेर तराईको मैदानी भाग लाई काखमा राखेर बसेको छ भन्ने भान हुन्छ । रात्रीको समयमा शिवगढी बाट भारतिय शहरमा रेलगाडी कुदेको, विजुली वलेको झिलिमिली वातावरण देख्न सकिन्छ । शिवगढीमा सतिदेवीको जिव्रो पतन भयको जन विस्वास गरिन्छ ।

राजमार्ग धानखोलाको शिव मन्दिर वि.स. २०४१ सालमा सडक खन्नेक्रममा फेला परेको शिला हो । जहा अहिले सडक किनारमा पहाड भित्र मन्दिर बनाइएको छ । त्यहि भित्रको आकृती नै भेटिएको शिवजीको शिला हो । चुनको पहरामा शिवजीको आकृती भेटिना साथ त्यहा भयका मजदुरहरु ले पुजा गर्न थाले । सडक निर्माणको क्रममा नै पछि दाङ् कपिलवस्तु सिमानामा मन्दिर बनाइएको हो, जहा अहिले मन्दिर छ । अहिले उकालो बाटोमा यात्रा गर्न नसक्ने मानीसहरु धानखोलाको शिव मन्दिरमा नै दर्शन गरी आत्मा सन्तुष्टि लिने गरेका छन । प्रत्यक बर्ष शिवरात्री मा लाग्ने मेलापनि शिवगढी र धानखोला दुवै स्थानमा लाग्ने गर्दछ । मेलाको लागी दाङ्, प्युठान, अर्घाखाची, कपिलवस्तु र रुपन्देहि जिल्लाका हजारौ  मानीसहरु धानखोला पुग्ने गर्दछन । साथै शिवरात्री मेलाकै लागी कृष्णनगर आसपास का भारतिय भूमीका मानीसहरु पनि धानखोला पुग्ने गर्दछन ।

कपिलवस्तु जिल्लाको आकर्षणको केन्द्रविन्दु हो जगदिशपुर ताल । यो ताल करीव १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो तालमा विभिन्न प्रजातिका माछाहरु पाउनुको साथै विभिन्न प्रजातिका दुर्लभ चराहरुको बासिस्थान पनि रहेको छ । चालिस बर्ष अघि सम्म यहा मानिसको बसोबास थियो । अहिले पानी नै पानी भएको यो ठाउमा पहिला जगिरा नामको सानो ताल थियो । त्यही जगिरा तालमा मानिसहरु माछा मार्थे, पौडि खेल्थे । कपिलवस्तुको निग्लिहवामा रहेको यो मानव निर्मित तालको १५७ हेक्टर पानीले भरिएको छ । यो पानी बाणगंगा नदीबाट सिंचाइका लागि ल्याइएको हो । लक्षणघाटमा बाध बाधेर ल्याएको पानी यहाको बस्ती उठाएर तालको स्वरुप दिइएको हो । जगिरा ताल भएको ठाउमा सिंचाइका लागि ल्याएको पानी जमाएपछि जगदिशपुर ताल भन्न थालियो । यो नेपालकै अहिले सम्मको ठूलो मानव निर्मित ताल बनेको छ ।

जिल्ला सदरमुकाम तौलिहवा देखि नजिकै रहेको अरौरा नरैनापुरको दरवार कपिलवस्तु जिल्लाको अर्को ऐतिहासिक स्थल हो । अरौराकोट दरबार जहदी गाविसको अरौरा नरैनापुर गाउदेखि उत्तरतर्फ रहेको चौर बाट अग्लो प्राचिन पर्खाल तथा पर्खाल बाहिर प्राचीन विभिन्न भगनावशेष तथा इनारहरु रहेका छन् । इटा, भाडाकुडाका टुक्रा तथा ढुङ्गाहरु यत्रतत्र पाइन्छ । पूर्व दक्षिणमा इटा तथा उत्तर पश्चिममा माटोको अग्लो पर्खालको भाग देखिन्छ । तौलेश्वरनाथ मन्दिर कपिलवस्तुको सदरमुकाम तौलिहवाको बजार छेउमै रहेको छ । एउटा विशाल महादेवको मन्दिर रहेको छ जसलाई तौलेश्वर महादेव मन्दिर पनि भनिन्छ । माता मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएपछि प्रथमपटक दर्शन गराइएको मन्दिर नै तौलिहवामा रहेको तौलेश्वर महादेवको मन्दिर हो भन्ने विश्वास गरिन्छ । यहा नेपाल एवं भारतका थुप्रै भक्तजनहरु दर्शन गर्न आउछन भने शिवरात्रीमा ठूलो संख्यामा दर्शालु भक्तजनहरुको घुइचो लाग्दछ । यस मन्दिरलाई बोलबमधामको लागि प्रख्यात मानिन्छ । करीव ५ किलोमीटर टाढा वाणगंगा खोलाबाट जल ल्याउदा घस्रेर हातले टेकेर यहासम्म जल ल्याएर चढाउने समेत गर्दछन ।

कपिलवस्तु जिल्लाको कृष्णनगर पुरानो वजार मानिन्छ । यातायातको सुविधा नहुदाको बखत पनि अर्घाखाची, प्युठान र आसपासका जिल्लाका मानिसहरुको व्यापारी केन्द्रको रुपमा थियो । राजगारीको लागी भारत जानु परेपनि कृष्णनगरकै नाका भएर यात्रा गर्ने धेरै मानिसहरु थिए । जुन अहिलेपनि कृष्णनगर ब्यापारी केन्द्रकै रुपमा विकास भएको छ । पूर्व पश्चिम राजमार्ग निर्माण भएपछि कपिलवस्तु जिल्लामा धेरै ठाउमा ग्रामीण वजारको विकास भएको छ । राजमार्गमा रहेको पिपरा, चारनम्वर, गोरुसिङ्े, इमलिया र चन्द्रौटा यसको उधारण हुन । यो वाहेक तौलिहवा लुम्विनी सडक किनारमा पनि ग्रामीण वजारको विकास हुनथालेको छ । यातायातको विकासको क्रमसगै कपिलवस्तु जिल्लाको पुरानो व्यापारी केन्द्र पत्थरकोट भने आजभोली व्यापारी कारोवार न्युन हुदै गएको छ । अर्घाखाची–गोरुसिङ्े सडक खण्डमा पर्ने पत्थरकोट पुरानो व्यापारिक संरचना परिवर्तन हुदै आवासमा परिणत भएको छ ।

वढदो जनसख्या र वसाइ सराईको क्रम वृद्धिहुदै जानु र राजमार्गमा शहरिकरणको चापले गर्दा कपिलवस्तु जिल्लाका गोरुसिङ्े, चन्द्रौटा र कृष्णनगर वजार आजभोली उद्योग र कलकारखाना खुल्दै गएका छन ।

मितिः– २०७०माघ १९ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *