प्युठान जिल्लाको सेरोफेरो

                                                             –के.वि.मसाल
नेपालको भूगोल ३५ जिल्ला भएको समयमा पनि प्युठान छुट्टै जिल्लामा थियो । यसको ठूलो भाग पछि रोल्पा जिल्लामा मिलाइएको हो । सडक यातायतको सञ्जाल बन्नु भन्दा पहिले प्युठान जिल्लाको विशेषगरी खंलगा आसपासका मानिसहरुको व्यापारी केन्द्र पाल्पाको तानसेन र वुटवल मानिन्थो । कतिपय मानिसहरु नुनतेल खरिदको लागी भारतिय सिमा कृष्णनगर, बडनी र कोइलावास समेत पुग्ने गर्दथिए । ति सबै कुरा अहिले एकादेशको कथा भएको छ । राप्ती अन्चलको प्युठान जिल्ला पहाडी जिल्ला हो । पहाड, वेसी, टार जस्ता सुन्दर प्रकृतीले बनेको प्युठानको भूगोल सामुन्द्रिक सतह बाट ३०५ देखि ३,६५९ मिटर सम्मको उचाइ र कुल १३०९वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको छ । अन्चलको भूगोलमा नेपाल लाई विभाजन गर्दा एक समय प्युठान स्वर्गद्धारी अन्चलमा परेको थियो । तर स्वर्गद्धारी अन्चलको नामाकरणले लामो समय लिन पाएन । अहिले प्युठान जिल्ला राप्ती अन्चलमा पर्दछ । अर्घाखाची, गुल्मी, वाग्लुङ्, रोल्पा र दाङ् जिल्लाको विचमा रहेको प्युठान जिल्ला ४९ गाविसमा विभाजन भएको छ । प्युठान जिल्लाको सदरमुकाम खंलगा हो । तर सरकारी कार्यालयहरु भने केहि विजुवारमा समेत रहेका छन ।

जिल्लाको नाम प्यूठान शव्दको उत्पति वारे एउटै मत पाईदैन । कर्कपेट्रीकले प्रार्थाना पूरथाना बाट अपभ्रश हुदै प्यूठान भएको, हयामिल्टनले पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्राथाना वाट प्युठान नाम रहन गएको भन्ने इतिहास छ । तर योगि नरहरिनाथले भने प्लुथानबाट प्यूठान रहन गएको कुरा उल्लेख गरेका छन । पृथ्वीनारायण शाहले समय–समयमा लेखेको पत्रहरुमा, पिउठानी, पिउठाना भनी उल्लेख गरेको पनि पाइन्छ । मल्लकालिन अवस्था देखिनै प्युठानमा शासकहरुले पियुठ राख्ने गरेका थिए । सुरक्षा संवन्धि शव्द–पिउठ बस्ने ठाना भएकोले पिउठाना बाट अपभ्रंंश भई पिउठान नाम रहन गएको हो भन्ने तर्क आम रुपमा रहेको छ । प्युठानी मुला र बाघमुखे चुलेसीले प्युठान लाई पहिचान दिलाएको छ ।

प्यूठाना राज्यको स्थापनाकाल कहिले बाट सुरु भयो ? त्यसको ऐतिहासिक स्रोत भने छैन । तर पनि वि.सं १५१५ वा १५६० तिर चन्द वंशी राजाहरुले स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई रहेको छ । ऐतिहासिक प्यूठान राज्यको राजधानी भित्रीकोटमा रहेको र मोदिनवर्मनले वि.सं. १५१५ मा आफ्ना कान्छा जुवाई चन्द वंशका लटराज चन्द लाई राजा बनाएका प्रमाण भेटन सकिन्छ ।  वंशावली अनुसार प्यूठानका राजाहरु लटराज देखि रुद्र प्रताप चन्द सम्म १४ जनाले राज्य गरेको प्रमाण भेटिएको छ । इतिहास लाई आधार मानेर एउटा शासकले २५ बर्ष मात्र शासन गर्दछ भन्ने मान्यता अनुसार पनि प्युठानमा १४ वटा राजाहरुले ३५० बर्ष शासन गरेको अनुमान लगाउन सकिन्छ । वि.सं. १८४३ मा प्यूठान नेपाल एकिकरण अभियानमा विना लडाई भएको जितले  नेपाल राज्य भित्र एकिकरण भएको कुरा इतिहासमा पाइन्छ ।

प्यूठान जिल्लाको नामाकरण सर्वप्रथम मगर जातिबाट गरिएको कुरा यहाका स्थानहरुको नामाकरण बाट बुझिन्छ  भिग्री सारी, कोचीवाङ मर्कावाङ, तोरवाङ, खवाङ, स्याउलीवाङ आदि नामहरु म्गर भाषाका नामहरु हुन ।  प्राचिन कालमा लिच्छवीकालहरुको अधिनमा रहेको यो जिल्ला पछि खसिया मल्लहरुको अधिनमा १४ औं शताव्दी सम्म रहन पुग्यो । पाल्पाली राजा मुकुन्द सेनका समकालिन प्यूठानी राजा रुद्रसिंह पछि मोति चन्द्र प्रथम यहाका राजा भएको इतिहास छ । यिनकी छोरी यशोदाको विवाह मुकुन्द सेन प्रथम का नाति कर्णसेनसंग भएको बताइन्छ । मोति चन्द्र पश्चात रुद्रचन्द गजेन्द्र चन्द गजकेशरी चन्द राजा भएका थिए । वि.स. १७६० तिर पृथ्वीपति शाह राजा भएको कुरा उनको ताम्रपत्रमा उल्लेखित छ । वि.स.१८३५ मा मोतिचन्द द्धितीय प्यूठानका राजा थिए । खुंग्री भिंग्री, इश्मा र मुसिकोट, प्यूठानका अनुयायी भएको कुरा इतिहासमा पाइन्छ ।   मोतीचन्द प्यूठानका अन्तिम भुरे राजा भएको कुरा १८४३ तिर नेपालको एकीकरण अभियानमा यहाका राजा भागेको कुराले स्पष्ट हुन्छ । प्यूठान नेपालमा एकिकरण भएपछि खुंग्री र उदयपुरका शासकहरु नेपालको छायामा रजौटाको रुपमा रहन गए । राज्य रजौटा ऐन २०१७ ले हाल रजौटाको अस्तित्व कानुनी रुपमा समाप्त भएको छ ।

सडक यातायातमा पुरानो प्युठान जोडने सडक दाङ घोराही देखि मुरकोटी, तिराम हुदै देस्थिान जोडने हो । तर अहिले भलुवाङ–प्युठान सडक छोटो र पक्की हुदा पुरानो सडक भन्दा पनि भालुवाङ–प्युठान सडकनै बढि प्रयोगमा आएको छ । भालुवाङ् बाट प्युठान खलंगा ७२ किमि को दुरीमा पर्दछ । भने भालुवाङ भिग्री ५८ किमिको दुरीमा रहेको छ । भिग्री बाट १३.७ कि मि को कच्ची सडकको यात्रा गरेपछि स्वर्गद्धारीको धरमपानी सम्म पुगिन्छ । केहि बर्ष यता आएर प्युठान जिल्लामा सडक यातायातले विकास गर्न थालेको छ । अहिले प्युठानको वाग्दुल्ला बाट मच्छी, गौमुखि हुदै गुल्मी जिल्लाको विभिन्न गाउँमा पुग्ने ४७ कि मि को सडक सञ्चालनमा आएको छ । त्यसैगरी वाग्दुल्ला, वाहाने, स्याउलीवजारको भूगोलमा पनि ४५ कि मि कच्ची सडक सञ्चालनमा आएको छ । प्युठान जिल्ला बाट अर्घाखाची जिल्लाको भूगोलमा पुग्न खंलगा देखि जोगीटारी सम्मको २१ किमि सडक पनि सञ्चालन भएको छ । जुन सडकले अर्घाखाचीको असुरकोट, खिल्जी, नुवाकोट हुदै किमडाडा भएर सन्धीखर्क जानको लागी सुविधा पुगेको छ । यातायात लाई सुलभ वनाउन प्युठान जिल्लाले चेरनेटा–खंलगा १४ कि मि सडक निर्मांण समेत गरेको छ ।

प्युठान जिल्लाको अर्घा, रजवारा र गौमुखी बाट उदगम भएको झिमरुकमा मच्छीकोट बाट बग्दै आउने गर्तुङ्खोला, लिया डाम्री रलुङ्खोला बाटुले भन्ने स्थानमा मिसिए पछि झिमरुकखोलाको नाममा परिवर्तन हुन्छ । त्यस पछि धर्मावती अर्थात झिमरुकको नाम बाट बग्दै आएको खोला मात्र नभएर वाग्दुला नजिक खप्रङ्खोला, मरन्थाना नजिक चुवेदीखोला र विजुवार नजिक जुम्रीखोला समेत मिसिए पछि विसाल झिमरुक खोला बन्दै विशाल फाटमा सिचाइ पु¥याएको छ । झिमरुककै पानीले चेरनेटामा जलविद्युत समेत उत्पादन भएको छ । भिमरुक खोला किनार दायाँ वायामा धेरै खेतियाग्य उर्वर फाटहरु रहेका छन । मरन्ठाना फाट, वाग्दुला, विजुवार दाखा फाट, चुनाफाट, खैरा फाट, वरौला फाट, अर्गलीफाट, चिसावाङ फाट, रातटारी फाट, गर्तङ फाट आदी रहेका छन । त्यसैगरी रोल्पा, वाग्लुङ् को सिमामा पर्ने कालाशेष बाट निस्कने लुङ्ग्री, खुङ्ग्री को पानी रोल्पाको राकको जायाचौर उदगम स्थल भएर बग्दै आएको माडी खोला प्युठान रोल्पाको सिमानामा पर्ने चतुर्भजमा मिसिन्छ । त्यसपछि माडी खोलाको नाम बाट बग्दै आएर प्युठान जिल्लाका धनवाङ, अरुण, गोठीवाङ, वायखोला आदी सहायक खोला मिसिएपछि  माडीखोला विशाल बन्दछ । माडी र  भिमरुक दुई खोला प्युठान र अर्घाखाचाीको सिमानामा पर्ने एैरावतीमा मिसिन्छ । यसरी रोल्पा र प्युठानका दर्जनौ खोलाहरुको पानी मिसिएपछि राप्ती नदीको नामाकरण हुदै दाङ् र अर्घाखाची जिल्लाको सिमा बनेर बग्दै दक्षिण बगेर राप्ती नदी वननेको छ ।

प्युठान जिल्ला लोक सस्कृतीको धनी जिल्ला छ । परम्परा अनुसार बिभिन्न जातिमा असारे गीत, तीजका महिलाका हृदयस्पर्सका भैलो, झ्याउरे र दोहोरी गित गाउने प्रचलन पनि छ । परम्परागत मान्दै आएको बैशाखी पूर्णीमा, आषाढ पन्द्रमा दहीच्यूरा खाने, बैशाख सक्रान्ती, जेठासी पूर्णिमा, भाद्रऔसी, साउने संक्रान्ती, नागपन्चमी, ऋषि तर्पणी पूर्णिमा बडादशै, सराय, तिहार, देवाली, कुलपुजा, कार्तिक पूर्णिमा माघे संक्रान्ती फागु पूर्णिमा रामनवमी, ठूलो एकादशी आदि हिन्दू चार्डपर्व पनि प्युठानमा महत्वका साथ प्राय सवैले मनाउछन । रजवारा मेला, बडारपाटा, खैरा फुलवारीको बृहत मेला, गुरुङको घाटुनाच आदि अत्यन्त रमाइलो साथ मनाउने गर्दछन । यसको अलवा प्यूठानमा भाईटिकाको भोलीपल्ट तृतीया देखी पञ्चमी तिथी सम्म ३ दिन डल्ले सराय विजुवारनेर र दाखाक्वाडी हिक्मतेश्वर बगैचाको मेला पनि प्रख्यात छ ।  यिनमा लट्टीखेल र तलवार खेल प्रर्दशन हुने गर्दछन । प्युठान जिल्लाको विजुलीकोटको जात्रा, सारीवाङको मसानपाटीमा हुने कार्तिके जात्रा र मरन्ठाना ठूलासिमको मेला आदि उल्लेखनीय मेला मानिन्छन ।

नेवार संप्रदायमा सदरमुकाम खलंगामा घण्टाकर्ण ऋषितर्पणी पूर्णिमासम्म हुने लाखेनाच, गाईजात्रा, पल्टन जात्रा, गणेशजात्रा, र खरजात्रा लाग्दछ । यी जात्राहरु सदरमुकाममा मनाउने हुंदा प्यूठानका अतिरिक्त छिमेकि जिल्लाका बासिन्दाहरु पनि अवलोकन गर्न आउने परम्परा छ । नाचमा पुरुसुङगे नाच, मारुनी नाच, माडीखोले नाच र अन्य लोकनृत्यले सबैलाई रमाइलो बनाएको हुन्छ । यसरी विभिन्न धर्म सस्कृतीका जातजाती बसोबास भएको प्यूठान जिल्ला लोक सांस्कृतिको अपार भण्डार रहेको छ । नेवारका अलगै चाड पनि छन । मुसलमानका पनि इस्लाम धर्म अनुसारका चार्डपर्व  इद, वकरीद, र रमजान जस्ता पर्व पनि मनाईन्छ ।

प्यूठान जिल्लाको धार्मीक पर्यटकिय स्थलको रुपमा विकास हुन थालेको छ । ऐतिहासिक स्वर्गद्धारी प्युठान जिल्लाको प्रमुख धार्मीक पर्यटकिय स्थल हो । स्वर्गद्धारी लाई तपो भूमी मानिदै आएको छ । समुन्द्रको सतह देखि ७००० फीटको उचाईमा रहेको स्वर्गद्धारी आश्रम हिन्दुहरुको आस्थाको केन्द्र विन्दु बनेको छ । जुन स्थानमा महा प्रभुले वि.स.१९५२ देखि विश्व कल्याणको लागी अखण्ड महायज्ञको सुरुआत गर्नु भएको थियो । रोल्पा जिल्लाको रुम्टी गाउमा वि.स. १९१६ मा जन्मनुभएका १०८ महाप्रभु बाल तपस्वी हंसानन्द गिरी वि.स. १९५१ मा स्वर्गद्धारीमा आएर वेदका मन्त्रले अग्नी प्रज्योलित गरी १९५२ बैसाख पूर्णिमा देखि अखण्ड महायज्ञ सुरुवात गर्नु भएको हो । विश्व शान्तिको लागि सञ्चालित अखण्ड यज्ञ हाल सम्म पनि निरन्तररुपमा अग्नी बलीरहेको छ । स्वर्गद्धारीको उच्चटाकुरामा एउटा गुफा रहेको छ । उक्त गुफा बाट प्रभुले स्नानको लागी तल लुग्री अर्थात माडीको दोभानमा जानुहुन्थो भन्ने धार्मीक विस्वास छ । स्वर्गद्धारी महाप्रभुलाई शिवको अवतार मानिन्छ । पशुपतिनाथको मन्दिरमा शिवजीको मात्र पुजा गरिन्छ भने स्वर्गद्धारीमा हिन्दुहरुले गर्ने प्राय सम्पूर्ण पुजा गर्न सकिन्छ ।

स्वर्गद्धारीको हावा पानी, प्राकृतिक सुन्दरता, ऐतिहासिक मनोरम तलाउ, आश्रमको यज्ञशालाको दक्षिण भु–भागमा रहेको ठूलो बाझको बोट, महाप्रभुले तपस्या गर्ने गरेको गुफा, वि.सं. १९५२ देखि संचालनमा आएको वेद पाठशाला, गोवर्धन पहाड, शिवालय, लगाएतका स्थल रहेका छन । वि.सं.१९५२ मा वेदको मन्त्रद्धारा प्रकट गरेको अग्निद्धारा सञ्चालित यज्ञ कुण्ड स्वर्गद्धारीको विशेष आकर्षणको रुपमा मानिएको छ । महा प्रभुले यज्ञकुण्ड बनाउदा उत्खनन गर्दा भेटिएका पूजा सामाग्री पाच पाण्डवहरुले स्वर्ग जाने वेलामा त्यहि स्थलमा यज्ञगरी  स्वर्ग गएको हुन सक्ने कुरा बताइएको छ ।

स्वर्गद्धारी महाप्रभुको वि.स.१९९७ मा ब्रह्मलीन भएको हो । महाप्रभु ब्रह्मलीन हुनुपूर्व करिव एक हजार गाई आश्रममा रहेका थिए भने हाल गाइहरुको सख्या घटेको छ । स्वर्गद्धारमा प्रत्यक दिन होमन कार्य र कुण्डको पनि पुजा हुन्छ । आश्रमभित्र यज्ञकुण्डमा गणेश पञ्चाङ, शिव पञ्चाङ, देविपञ्चाङ, सुर्यपञ्चाङ विष्णुपञ्चाङ गरी छ कुण्डहरु रहेका छन । यज्ञ गर्दा ति कुण्डमा वैदिकविधी पूर्वक दैनिक ४ पटक पुजा गरिन्छ । बाझको बोट हवनकुण्डको नजिकै रहेको विशाल वृक्ष छ । जुन रुखमुनी प्रभु सवै भन्दा पहिले बसेर ध्यान गर्नु भएको थियो । तिहारको औसीका दिन र दशैको फूलपातीका दिन प्रभुको सम्झनामा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहे को छ । स्वर्गद्धारी धार्मीक स्थल आजभोली नेपाली मात्र होइन भारतिय तिर्थयात्रीहरुको समेत भिड लाग्ने गर्दछ । महाप्रभुको दर्शन गर्नाले पुत्र लाभ हुने, आफुले गर्न लागेका काम सफल हुने जस्ता कुराहरुले भक्तहरु लाई विस्वास बढाएको छ ।

प्युठानमा धार्मीक पर्यटकिय स्थलहरु धेरै रहेका छन । सुलभ यातायातको सुविधा र प्रचार प्रशारको कमिले गर्दा धेरै ऐतिहासिक महत्व रहेका स्थलहरु ओझेलमा परेका छन । प्युठान जिल्लाको दक्षिण अर्घाखाची संग सिमा रहेको अर्थात झिमरुक र माडी खोलाको संगम स्थल ऐरावती र हंसपुरको ऐतिहासिक महत्वको बारेमा अध्ययन हुन सकेको छैन । त्यसै गरी गौमुखी, कालिका मन्दिर, मल्लरानी, भित्रीकोट, झाक्रिस्थान, विजुलीकोट, वरौलाकोट, जावुने दह, त्रिवेणी जस्ता पर्यटकिय महत्वका स्थलहरु पनि प्युठान जिल्लामा छन । पर्यटकिय स्थल, सुन्दर प्राकृतीक पहाडी भूगोलको अध्ययन भ्रमण गनको लागी प्युठान जिल्ला राम्रो मानिन्छ ।

मितिः – २०७० मंसिर १५ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *