देवघाट देखि मुक्तिनाथ सम्म…..८

     के.वि.मसाल
आधीखोलाको दोभान अर्थाल कालीगण्डकी देखि सेतीवेणी सम्मको भूगोलमा काली गण्डकीको महत्व छुट्टै रहेको छ । नागवेली कालीगण्डकीको दृष्य, डाडाकाडाको काखमा मैदानी खेतियोग्य जमीनले सजिएको भूगोल रहेछ । यस भूगोलमा स्याङ्जा जिल्लाको कृष्ण गण्डकी, विर्घा अर्खले, आलमदेवी र चण्डिभञ्याङ् गाविस पर्ने रहेछ । पाल्पा र स्याङ्जा जिल्लाको धेरै ग्रामीण बस्तीहरुमा मगरजातीको वसोवास रहेको छ । आफ्नै पहिचान, भएको भेषभुषामा सजिएर बाटोमा हिडेका मगरजातीहरु पनि भेटिएका छन । मेरो यात्रा स्याङ्जा जिल्लाको विर्घा हुदै आजको पाल्पा जिल्लाको रानीघाटमा पुग्ने लक्ष राखेको छु । बिचमा कालीगण्डकी बगेको छ, नदीपारी पाल्पा जिल्लाको दर्लमडाडा, यम्गाा, खानीगाँउ, वौघागुम्वा, र अर्घली गाविसको भूगोल रहेको छ । यात्राको क्रममा कालीनदी पश्चिम पाल्पा जिल्लाको दरपुक, शिखरडाडा, दैलाचुङ् फाटका हरियाली दृष्य र ग्रामीण बस्तीहरुको दृष्यावलोकन गर्दै हिडदा बाटो काटेको थाहै भएन । फुलेभट्टी देखि साथमा आएका साथी गणेश मिर्मी बाटनै मलाई छाडेपनि बाटोमा रानीघाट हुदै पाल्पा तानसेन सम्म जाने मानिसहरु लाई भेटेकोले मलाई यात्रामा सजिलो भएको छ ।
रानीघाट स्याङ्जाको सटुका, विर्धा, लर्सधा, कोटाकोट र आसपासका गाउँहरुको पाल्पा जादा तर्ने घाट रहेछ । सडक यातायातको सञ्जालले जिल्ला लाई नछुदा सम्म रानीघाट स्याङ्जा जिल्ला मात्र नभएर धेरै जिल्लाका मानिसहरु पाल्पा हुदै भारतिय भूमीमा जादा समेत तर्ने घाट रहेछ । बाटोमा साथी हुन पुगेका स्याङ्जा कारिकोटका इमान सिं रानाले पुरानो कुरा बताउदै गएका छन । उनलाई रानीघाटको बारेमा धेरै कुरा थाहा रहेछ । भारतिय सेनामा जागीर खादा आउने जानेक्रममा तरेको रानीघाट उनको लागी नौलो नभएपनि मेरो लागी भने उनले भनेका सबैकुराहरु नौलो ऐतिहासिक रोचक र खोजमुलक भएको छ । स्याङजा जिल्लाको विर्घाको भूगोलमा ०४६ साल सम्म सडक यातायातको सुविधा थिएन । बन्न लागेका सडक अधुरा थिए । सबै मानिसहरु पाल्पा आउन जान पैदल यात्रानै गर्नु पर्दथियो । हामी कालीगण्डकी र रानीघाटको बारेमा कुराकानी गर्दै हिडदै थियौ । स्याङ्जा जिल्लाको आलमस्थान र कारिकोट गाउँका मानिसहरु पनि पाल्पा तानसेन जान लागेका रहेछन । हाम्रो भेट र कुराकानी फराकिलो हुदै गयो । मैले सोधी हाले रानीघाटको बारेमा तपाईहरु लाई के थाहा छ ? एकजना वृद्ध मगर जातीका मानिसले रानीघाटको ऐतिहासिक कुरा सुनाउन थाले ।
खड्ग शमशेर कमान्डर इन चिफ भएको मात्र १६ महिनापछि पदच्युत गरी ठाडा, अर्घाखाचीमा निर्वासित गरिएका थिए । वि.सं. १९४५ तिर उनले निर्वासित जीवनबाट पाल्पा बस्ने अनुमति प्राप्त गरे । पाल्पा गौंडाका तैनाथवाला र पश्चिमतर्फ सैनिक कमाण्डर बनेका खड्गशमशेरलाई पाल्पा, भैरहवा, तौलिहवा, वाग्लुङ र पर्वत समेतको अख्तियारी दिइएको थियो । सोही समयमा पाल्पामै रहेका वेला बि.स.१९४९ मा खडग शमसेरकी कान्छी रानी तेजकुमारी बिरामी परेकी थिईन । विरामी भएको समयमा तेजकुमारीले आफनो मृत्युको समय भएकोले मृत्युपछि खडग शमसेरलाई भारतको ताजमहल जस्तै महल बनाइदिन भनेकी थिइन । आफ्नो रानी तेजकुमारीको मृत्युपछि खडग शमसेरले बेलायती ईन्जिनियर झिकाएर एउटै चट्टानमा रानीमहल दरबार निर्माण गरेका हुन ।
रानीघाटको ऐतिहासिक कुरा सुन्दा सुन्दै हामीहरु रानीघाटमा पुग्यौ । लुम्विनी र गण्डकी अन्चल लाई जोडने लामो झोलुङ्े पुल तर्दा देखिने कालीगण्डकीको सुन्दर दृष्यले मलाई उत्साहित बनायो । खड्क शमसेरले यो दरवार किन यहानै बनाए ? रानीकै स्मृतीमा बनाउनै पर्ने भएपनि अन्त किन बनाएनन ? कालीनदी र घाटमा बनाउन पर्ने भए यो घाट भन्दा प्रचलित घाट राम्दीमा किन बनायनन ? यस्ता अनगिन्ती प्रश्नले मलाई कौतुहल बनायो । रानीघाटमा आएर कालीगण्डकी उत्तर तिर बगेको छ । नागवेली आकारमा वगेको गण्डकीको दृष्यपनि सौन्दर्य मानिन्छ । साच्दै थिए मलाई एउटा शास्त्रको कुरा याद आयो । हिन्दु धर्ममा ‘काश्यां वासः, सतां सङगः, गङगाम्भः शिवपूजनम्’ जस्ता चार कुरालाई महत्वपूर्ण मानिएको कुरा मैले सुनेको थिए । त्यसैले होला काशिलाई उत्तरवाहिनी गगां भएकोले धार्मीक महत्व मानिएको छ । रानीघाटमा पनि कालीनदी उत्तर तिर बगेको कारण गगां जल, शिवपूजन जस्ता चारैवटा संसारका सार त्यहा उपलब्ध गराउन सकिने कल्पनाले रानीघाट दरबार बनाएको हुनसक्ने अनुमान गर्न सके । बि.स.१९५० सालमा सिलन्यास गरी ४ बर्ष सम्ममा दरबार, मन्दिर, पाटीपौवा सहित निर्माण कार्य पुरा गराएका रहेछन । दरवार निर्माको समयमा तिर्थालु, साधु, सन्त र अन्य सबैलाई बस्ने सुबिधा जनक पौवा समेत निर्माण गराएकारहेछन । दरबारको मुल ढोकाबाट कुदीएको ढुगा र ईट्टा बाट बनाईएको खुडकीलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडीएको रहेछ ।
रानीघाटको दरवारको बारेमा सोध्दै साथमा भएको डायरीमा टिप्दै छु । सदरमुकाम तानसेन देखी १३ कि.मी. को दुरीमा रानीमहल रहेछ । दरबार परिसरमा रहेका घोडा बान्ने तबेला, सैनिकहरुले पहरा दिने स्थान, सैनिक तैनाथी स्थल, घोडा बाध्ने तबेला, आदी भग्नावशेष भैसकेका रहेछन । भने खडग शमसेर नुहाउनका लागी जाने कालीगण्डकी किनार संगै जोडिएको फलामको बार र खडग शमसेरले पुजा गर्ने पुजा कोठाको अवस्था नमुना मात्र रहेछ ।  पाल्पा जिल्लाको बौघागुम्बा गाबिसको वार्ड नं. २ मा निर्मित दरबार कालीगण्डकी उत्तर तर्फ हानिने मोडमा बिशाल चट्टान माथी दरबारको बाया तर्फ शित्तलपाटी र दरबार लंगमा फोहराका लागी कुदीएका ढुंगाले निर्मित २ वटा पोखरी रहेका छन । दाहिने तर्फ पाले पहरा बस्ने घर रहेछ भने खुडकिलोको बाया तर्फ एकै किसिमको मन्दिर रहेछ । दरवार भित्र वाहिर सबै स्थान अवलोकन गर्नेक्रममा थाहा भयो आफनी दिवंगत रानी तेजकुमारीको सम्झनामा खड्क शमसेर मध्य रातमा पनी चिच्याउथे रे ! खड्क शमसेरले बिलायसी तवरले महंगा बस्तुको प्रयोग गरी निर्माण गरिएको दरवारमा ५ बर्ष मात्र बस्न पाएका रहेछन । रानीको निधन भएको केही बर्षपछि उनका मनमा श्री ३ को पद र उपत्यका कब्जा गर्ने चाहना जागेछ । उनले आफू श्री ३ बन्दा लाउने श्रीपेच पाल्पा जोगेपानीका कालिगढलाई बनाउन लगाएका थिए भन्ने कुरा पाल्पाको सेरोफेरामा चर्चाकै बिषय बनेको रहेछ ।
रानीघाटको दरबार मेरो लागी नौलो थिएन । तर कालीगण्डकीको दाया वाया हुदै पैदल यात्रामा नदी किनारका घाट, मठ–मन्दिर र ऐतिहासिक धार्मीक स्थलको अध्ययनको यात्रा भने मेरो लागी पहिलो थियो । ०२६÷२७ सालमा अध्ययनको क्रममा जागिरे बुवाको साथमा म पाल्पा तानसेन बसेको थिए । सानो उमेरमा रानीघाट पुगेपनि त्यहाको ऐतिहासिक कुरा भने मलाई थाहा थिएन । कक्षा ७ मा पढने बेला म बुवाको साथमा तानसेन बाट बराङदी गाउँहुदै रानीघाट पुगेको थिए । त्यो पुरानो कुरा समेत मलाई रानीघाट पुगेपछि स्मरण भएको छ । रानीघाट दरबार बनाउन आवश्यक इटा बनाइएको ठाउ अहिलेसम्म पनि ‘अवल’ नामले चिनिदो रहेछ । रानीघाट दरवार संग इतिहास जोडिएको छेर्लुङको कुलो रहेछ । जुन पानी त्यसभेगको सबैभन्दा मिठो रहेछ । वि.स.१९६० सालमा खडक शमशेरले श्री ३ को पद सहित शासन सत्ताको बागडोर आफुले संचालन गर्न खोज्यो भन्ने षडयन्त्रको सबैकुरा चन्द्र शमशेरले थाहा पाएपछी उपत्यका बाट पाल्पामा थप सेना पठाई तैनाथी आफनो हातमा लिए । पछी खडक शमशेरले आफु माथी थप खतरा उत्पन्न हुने  देखी दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तिन साचा र सरकारी ढुकुटी जगद, सुन, चादी, सबै लिएर भारत पलाएन भएका रहेछन । खड्क शमसेर पलायन भएपछि प्रेमको प्रतीक ठानीने रानीमहल बेवारिसे बनेको रहेछ ।
पछिल्लो समयमा रानीघाटको अवस्था फेरिएको छ । कालीगण्डकी ए को कारणले गर्दा यातायातको साधनहरु स्याङ्जा जिल्लाको भूगोलमा गुडेको छ । विद्युत गृहले बनाएको कालीगण्डकीको जलासयका स्टेमर चलेकोछ । तानसेन रानीघाट मोटर मार्ग बनेपछि दैनिक रानीघाट पुग्ने आन्तरिक एवं वाह्य पर्यटकहरुको सख्या दिन प्रतिदिन बढदै छ । पाल्पा र स्याङजाको सगमस्थलमा रहेको रानीघाट दरबार अहिले बर्षको एक दिन पे्रम दिवसको दिन प्रेमीहरु यस स्थानमा प्रेम साटासाट गर्न जाने गर्दछन । यस बाहेक अन्य दिन पाल्पा र अन्य क्षेत्रका मानिसहरु यो स्थानमा घुम्न र दरबार अबलोकन गर्न जाने गरेका रहेछन । त्यहासम्म पुग्नलाई यातायातको सुबिधा भएको कारण आन्तरिक एवं वाह्य पर्यटकहरुले रानीघाट अवलोकन गर्न जानेको सख्या वढदो रहेछ । प्रेमको प्रतिकको रुपमा रहेको नेपालको ताजमहलको नामले परिचित रानीमहल दिनप्रतिदिन जीर्ण बन्दै जान थालेको रहेछ ।        ऐतिहासिक र  धार्मीक रुपमा प्रसिद्ध यो दरबारको संरक्षण नहुदा त्यहाका महत्वपूर्ण बस्तुहरु चोरी भई विक्रि समेत भएका रहेछन । यसले पुराना धरोहर र ऐतिहासिक एवं धार्मीक महत्व भएको रानीघाट दरबारको अस्तित्व नै संकटमा परेको रहेछ ।
पाटी पौवा भित्र बुट्यानहरु छन भने मन्दिर भित्र पनि झार र बनमारा उभ्रीएका छन । मन्दिर भित्रको मूति र मन्दिरको गजुरसमेत चोरी भइसकेको छ । फलामबाट निर्माण भएका मुर्ति तथा अन्य महत्वपूर्ण धातुबाट बनेका बस्तु हराएका रहेछन । दरबारको भित्तामा यहा घुम्न आउने युवक युवतीका नाम कोरिएर बेरुप भएको रहेछ । दरबार निर्माणमा प्रयोग भएका काठहरुसमेत दाउरा बाल्न प्रयोग भइसकेका रहेछन । क्रमश…..
मितिः – २०७० मंसिर २४ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *