मनकामनाको दर्शन गर्नु भयो ?

     के.वि.मसाल
नेपालमा मात्र होइन गोरखा शब्दले आज विश्वभरी नै चर्चा पाएको छ । ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासन देखि लिएर शाहवंशको सुरुवात भएको जिल्ला हो– गोरखा । गोरखनाथ, गोरखकाली देखि लिएर मनकामनाको समेत गोरखामा उत्तिकै महत्व छ । उत्तरी भेगका अर्थात सिर्दिबास देखि माथिका दुर्गम भूगोल जसलार्ई हिमाल पारीको गोरखा भन्ने गरिन्छ । त्यहा रहेका मनास्लु,    हिमालचुली, नाधी चुली, बौद्ध हिमालहरुले आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षण गराएको छ । पूर्वमा वुढिगण्डकी, पश्चिममा चेपे र मरस्याङ्दी नदी, दक्षिणमा त्रिशुली नदी र उत्तरमा स्वशासित तिब्बत क्षेत्रको वीचमा रहेको गोरखा जिल्ला आजभोली विदेशिहरु मात्र होइन स्वदेशि पर्यटकहरु पुग्ने गरेका छन । गोरखा जिल्लाका गुरुङ् समुदायका ग्रामिणबस्ती वारपाक, लाप्राक जस्ता रमणिय ठाउँहरु पर्यटकहरु को केन्द्र भएको छ । गाउँघरको सफा वातावरण, होमस्टेको सुविधा, सडक यातायातको विस्तारले गर्दा गोरखा जिल्ला आजभोली आन्तरिक एंव वाह्य पर्यटक भित्राउने जिल्लाको नाममा पर्न थालेको छ ।

गोरखा जिल्लाको दक्षिण सिमामा रहेको ऐतिहासिक धार्मीक पर्यटकिय स्थल मनकामनामा मनोकामना पुरा गर्नेहरु सख्यामा पनि उल्लेखनिय वृद्धि भएको छ । केवुलकारको स्टेशन पृथ्वी राजमार्गमा भएकोले पनि मनकामना जानेहरुको सख्या बढन गएको हो । केवलकार सन्चालनको सुविधाले पनि मनकामना जानेहरुको सख्या प्रत्यक बर्ष बृद्धि हुदै गएको आकल गर्न सकिन्छ । चाहे धर्मको लागी होस अथवा शैक्षिक भ्रमणको लागी होस मेचि महाकालीका मानिस मनकामना पुग्ने गरेका छन । मनकामना पुगे पछि त्यहा हेर्न पर्ने ऐतिहासिक महत्वका स्थलहरु कतिपयले थाहा नपाउदा केवल मन्दिरको दर्शन गरेर मात्र फर्किनहरुेको सख्या पनि कमि छैन । मनकामना माई को ऐतिहासिक कुरा, शिद्ध लखन थापाको नाम संग जोडिएको सिद्धगुफाको वारेमा पनि धेरै मानिस अनविज्ञ हुन सक्दछन । मनकामना पुगेपछि त्यहा बाट अध्ययन गर्न सकिने धेरै कुराहरु रहेका छन । धार्मीक कुरा त छदै छ, चाहे प्रकृती प्रेमीहोस अथवा सस्कृती प्रेमी सबै लाई भरपूर्ण आनन्द दिने ठाउ भएको छ मनकामना ।

मनकामना मन्दिरको बारेमा गोरखाका राजा राम शाहको नाम जोडिएको छ । आजभन्दा करिब तीन सय बर्षअघि हाल मनकामना देवीको मन्दिर भएको ठाउमा एउटा किसानले हलो जोत्दा एउटा ढुंगामा ठेस लागेछ र ढुंगाबाट दूध र रगत बग्न थालेछ । यो सुनेपछि लखन थापाले त्यहा तान्त्रिक पूजा गरे र त्यसपछि रगत रोकियो । सोही थलोमा देवीको स्थापना गरियो । यो घटनापछि गोर्खाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिए । यहाका मूल पुजारी सुरुदेखि हाल सम्म पनि रैथाने थापामगर छन । हालको मगर पुजारी पनि लखन थापाको १७ औं पुस्ताका सन्तान हुन । राजा रामशाहका सेवक लखन थापा दैवी शक्तियुक्त थिए । लखन थापा स्वयं सिद्ध पुरुष मानिन्थे । त्यति मात्र होइन लखन थापा रानी लीलावतीका भक्तपनि थिए । लखन थापा लाई राजा रामशाहको मृत्यु भएपछि रानी लीलावती आफू सती जानुअघि राजाको मृत्युले विह्वल भएको वेला सिद्ध लखन थापालाई सान्त्वना दिदै भनेकि थिइन –आफू सती गए पनि ७ महिनापछि कफेक गाउमा शिलाका रुपमा मनकामना भगवतीका रुपमा प्रकट हुने कुरा बताएकि थिइन । कफेक गाउँको नाम ऐतिहासिक हो । मनकामना मन्दिर वरपरको गाउँलाई त्यस समयमा कफेक भन्ने गरेको पाइन्छ । रानीले भने अनुसारको समयमै कफेक गाउमा किसानले हलो जोत्दा शिला भेटिएको थियो ।

गोरखा जिल्ला ऐतिहासिक रुपमा प्रसिद्ध त छदैछ, धामिक र सांस्कृतिक पर्यटनका लागि पनि यो उत्तिकै प्रसिद्ध छ । मनकामना, गोरखा दरबार, गोरखकाली, बाबा गोरखनाथ, मनास्लु संरक्षण क्षेत्रले गोरखा जिल्लामा आन्तरिक एवं वाह्य पर्यटकहरु भित्राउने का गरेको छ । केवुल र सडक यातायातको विस्तार भएपछि मनकामना प्रसिद्ध धामिक पर्यटनको केन्द्र–बिन्दु बेको छ । मनकामना १७ औ शताब्दीदेखिनै गोरखा आसपासको क्षेत्रमा र्र्र्र्धािमक आस्थाको केन्द्र–बिन्दु बनेको थियो । पृथ्र्वी राजमार्ग र अन्य जिल्लाको सडक सन्जाल बिस्तार भएपछि मनकामना नेपालभरि प्रसिद्ध मानिन थालेको छ ।  अहिले आएर मनकामनाको लोकप्रियता दक्षिण एसियामा विशेष गरी  भारतीयहरुमा पनि बढदै गएको छ । मनकामना माईले भतmहरुको मनोकामना पूरा गर्दछिन भन्ने जनविश्वास रहेको छ । काठमाडौंबाट करिब १ सय ४ किलोमिटर पश्चिम र नारायणघाट देखि ४१ कि.मि.को दूरीमा पृथ्वी राजमार्गमा पर्ने केवुलकारको स्टेशनमा पुगिन्छ ।

मनकामना मन्दिरको निर्माण र मर्मत संभार विभिन्न कालखण्डमा शाहवंशका राजाहरुले गर्दै आएका थिए । मन्दिर भित्र पूजा हुने ठाउमा एउटा खाल्टोमा पाच शिला ठडिएका छन । जसमध्य दुई ठूलालाई मनकामना र भैरव तथा अन्य तीन सानालाई क्रमश गणेश, कुमारी र बेताल मानी पूजा गरिन्छ । पृथ्वीनारायण शाहको पालादेखि नुवाकोटको भैरवी र काठमाडौंको मैतीदेवी भगवतीसग मनकामना माईको सम्बन्ध जोडिएको ऐतिहासिक प्रमाण पाइन्छ । त्यसैले मनकामनाको नित्य पूजाको जिम्मा थापामगरको भए तापनि त्यहा वैशाख सुदी–बदी र मंसिर सुदी–बदीको गुठी पञ्चमी पर्वमा चाहि झवाहलका गुभाजूले पुरोहितको काम गर्दछन । मनकामना मन्दिरमा विभिन्न र्धािर्मक संस्कारको मिलन देखिन्छ । हिन्दू श्रेष्ठद्धारा देवीको सुसारेको काम गर्दछन । गुठी पञ्चमीको पर्वमा बौद्ध गुमाजूको तान्त्रिक विधि बाट पुजा गरिन्छ । भने मन्दिर पेटीमा अर्याल र मरहट्ठा बाह्मणहरु पुराणवाचनको काम गर्दछन ।

मनकामना क्षेत्रको भौगोलिक उचाइ समुद्रको सहतबाट ९०० मिटरदेखि २५०० मिटरसम्म रहेको छ । मनकामना मन्दिरको परिसर १३१५ मिटर उचाइमा रहेको छ । वक्रेश्वर महादेव र वक्रेश्वरी माईको मन्दिर मनकामना गाविस–१ मा पर्दछ । यो मन्दिर मनकामना माईको ३ किमी उत्तर दिशामा पर्दछ । उक्त मन्दिरमा वक्रेश्वर महादेव र वक्रेश्वरी माईका ठूला–ठूला शिला रहेका छन । यसै थलोमा बाबा गुरु गोरखनाथले लखन थापालाई वरदान दिएको किंवदन्ती रहेको छ । तीजको पर्वमा यहा विशेषमेला लाग्दछ । कोही बालबालिकाको समयमै वाक्य नफुटेको अवस्थामा वक्रेश्वरी माईको पूजा–अर्चना गरी प्रसाद ग्रहण गराएमा वाक्य फुट्ने जनधारणा रहेको पाइन्छ । वक्रेश्वर महादेवको उत्तरपट्टि डाडामा सिद्ध लखन थापाको गुफा छ । यो गुफामा उनी अलप भएकाले यसलाई सिद्ध गुफा भनिएको हो । गुफाको भित्र दुई ठूला दुलाहरु छन । यहाबाट गोरखाको गोरखनाथको गुफामा पुगिने जनविश्वास छ । यसको तथ्य त अनुसन्धानकै बिषय बन्न पुगेको छ । यो गुफा समुद्रको सतहबाट १५०० मिटरको उचाइमा रहेको छ ।

मनकामना मन्दिर ३–४ घन्टाको पैदल यात्राबाट अथवा केबुलकारबाट वा मोटर मार्गबाट पनि पुग्न सकिन्छ । केहि बर्ष यता आएर केवुलकारको तारैमुनी बाट पनि पैदल मार्ग बनेको छ । यो बाहेक पैदल मार्गको लागी तनहूको मजुवा खेरेनी , गोरखाको तेह्रकिलो र पूर्वी गोरखा जिल्लाको वतासे डाडा हुदै तिमाने भन्ज्याङ्को बाटो बाट पनि पैदल यात्रामा मनकामना पुग्न सकिन्छ । मनकामना ऐतिहासिक, धार्मीक आकर्षणको केन्द्र त छदै छ, यसका अलावा त्यहाका प्राकृतिक दृश्यहरुले पर्यटकहरुलाई थप रोमाञ्चकारी बनाउदछन । मनकामनाको शितल वातावरण, मिठो खाना, आरामदायि बासले सबैलाई लोभ्याउछ । मनाकामना पुगेपछि त्यहा पाईने मनकामनाको चिनोस्वरुप काठका सामान, ठेकी, खुर्पेटो मादल, माना पाथी जस्ता घरेलु हस्तकलाले धेरै धार्मीक पर्यटकहरु लाई ध्यान आकृष्ट गराउछ । त्यसैगरी वाँस बाट बनेका भित्ते स्वागत पर्दा, टाउकोमा लगाउने टोप र घरेलु प्रयोगमा आउने सर–सामानहरु समेत मनकामना पुग्ने मानिसहरुले लिन पाउछन । मनकामना परिसरबाट दक्षिणतर्फ छिम्केश्वरी तथा महाभारत पर्वत श्रृङखला, उत्तरतर्फ अन्नपूर्ण र मनास्लु, पूर्वतर्फ इच्छाकामनाको पहाड र पश्चिमतर्फ गोरखा जिल्लाको देउराली, मिरकोट थुम, दरौदी खोला किनारको उर्वर भूमी, ऐतिहासिक लिगलिगकोट आदि देख्न सकिन्छ ।

मितिः २०७० मंसिर ७ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *