धादीङ् जिल्लाको सेरोफेरो

                  
     के.वि.मसाल
पोखरा–काठमाण्डौ पृथ्र्वी राजमार्ग बन्नु भन्दा पहिले पश्चिम नेपालका पहाडी जिल्लाका मानिसहरु राजधानी जादा सबै धादीङ् जिल्लाको सल्यानटारको बाटो हिडने गर्दथिए । धादीङ र गोरखा जिल्लाको सिमाना वुढीगण्डकीको आरुघाटको झोलुङ्ेपुल तरेपछि सल्यान टारको मैदानी भागमा वगेको आखु खोलाको किनार–किनारै हिडदै हासेको पसल हुदै नुवाकोट र धादीङ्को सिमाना सामरी भन्ज्याङ् भएर त्रिशुली वजार निस्किएर बर्वन्दीको उकालो अथवा रानीपौवा भएर काठमाण्डौ उपत्यका जाने, आउने मुख्य मार्ग थियो । यातायातको सुविधा हुदै गएपछि पछिल्लो पुस्तालाई ति कुराहरु इतिहास बनिसकेको छ । अहिले धादीङ् जिल्लामा प्राय सबै ठाउमा यातायातका साधनहरु गुडेका छन । ऐतिहासिक अथवा धार्मीक स्थलहरुमा मानिसहरु पुग्न सजिलो भएको छ । यातायात र कृर्षि विकासले धादीङ् जिल्लाका साना किसानहरुको जीवनस्तरनै सुधार भएको छ । हिमाली भेग र पहाडी दुर्गम स्थानमा भएका खनीजहरु उद्योगको रुपमा प्रयोगमा आउन थालेको छ । बालुवा मार्वल स्लेट चुनढुा कोरण्डम क्वार्ज तामा सिसा जस्ता आदि खानीहरु प्रयोगमा आउन थालेको छ ।

धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन । चेपाङको भाषामा धा भनेको देवता र दिङ भनेको आगोको ज्वाला भन्ने हुन्छ । चेपाङहरु पहिलेदेखि नै यहा बसोबास गरेको र ज्वालामुखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाट नै यस जिल्लाको नाम धादिङ रहन गएको हो भन्ने जनश्रुती रहेको छ । मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बाग्मती आचलको पश्चिममा रहेको पहाडी जिल्ला धादिङ मनोरम प्राकृतिक दृष्यहरुले भरिपूर्ण रहेको छ । यो जिल्ला १९२४०९ वर्ग कि मी रहेको यस जिल्लाको पूर्वमा काठमाडौं नुवाकोट र रसुवा जिल्ला पश्चिममा गोरखा जिल्ला उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मकवानपुर तथा चितवन जिल्लाहरु रहेका छन । धादिङ जिल्लाले दक्षिणमा महाभारत पर्वत श्रृखलालाई छोएको छ भने उत्तरमा तिब्बतलाई छोएको छ । उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ । यस जिल्लामा लेक बेंसी नदीनाला टार र पहाडी डाडाकाडाहरुले सजिएको छ । यस जिल्लाको सबैभन्दा अग्लो स्थान पाविल हिमाल ७११० मीटर र सबैभन्दा होचो ठाउ पृथ्र्वी राजमार्गको जोगीमारा ३०० मीटर रहेको छ । भने जिल्ला सदरमुकाम धादिङबेंसी ६४० मीटर को उचाइमा रहेको छ ।

धादिङ जिल्लाको अधिकांश भू–भाग पहाडले ओगटेको छ । जिल्लाको उत्तरी क्षेत्रको भू–भाग हिमालको आसपासमा पनि रहेको छ । त्यसैगरी त्रिशुली नदी आखु नदी थोप्पल खोला लगायत पश्चिममा बगेको बूढी गण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरु पर्दछन । नेपालका चचिर्त टारहरुमध्येको एक टार सल्यानटार बूढी गण्डकी र आखु नदीको बीचमा रहेको छ । त्यसैगरी जिल्लामा सहटार कल्लेरीटार पिपलटार गजुरीटार फिसफिसेटार विशालटार रिचोकटार जस्ता प्रशस्तै टारहरु र बेंसीहरु रहेका छन । धादीङ् जिल्लामा नदीनाला र टारहरुको उल्लेखिय सख्या रहेको छ । त्रिशुली नदी आखु नदी थोप्पल खोला आसी खोला कोशी खोला महेशखोला लगायत खोलानालाहरु छन । धादीङ् जिल्लाको उत्तरीभेग प्राय चीसो हावापानी पाइन्छ । सेमजोङ गाउ धादिङको सदरमुकाम धादिङबेशी देखि ३० किमी को दुरीमा रहेको छ । तांचा गाङ बाट देखिने सूयोदय, तामाङहरुको इतिहास रचेको डापजोङ दरबारको भग्नावशेस, पुराना मानेहरु, वाका राहा, सुत्केरीले उठाएको ढुंगा, शान्त र रमणिय डुप्खाङ योगाश्रम, बाक्लो तामाङ वस्ति अनी यहाका रितिरिवाज, परम्परा, माने नाच, म्हेन्दो माया नाच आदि यहाका बिशेषताहरु हुन । साथै उत्तरी भेकमा देखिने शुन्दर हिमश्रृंखला यहा बाट अवलोकन गर्नपनि सकिन्छ ।  धादीङ् जिल्लाको इतिहास केलाउदै जादा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसग पश्चिम धादीङ्को मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउहरुको प्रसग जोडिएको पाइन्छ । भने प्रसिध्द राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेकोे बगैचा, पौवा, मन्दिरहरु भग्नावशेषको रुपमा धेरै गाउँ र टारहरुमा अहिले पनि देख्न सकिन्छ । पश्चिम धादीङ्को सिमाना रहेका वुढीगण्डकीको किनारमा रहेको बुङकोटघाटमा र नदि किनारमा रहेका गोरखा र धादीङ् दुवै जिल्लाका टारहरुमा लगाइएको बगैचाहरुले अहिले सम्म पनि भिमसेन थापाको स्मरण दिलाएको छ ।

धादिङ जिल्ला भित्र प्राकृतिक एवं ऐतिहासिक स्थलहरुमा सल्यानकोटको त्रिपुरासुन्दरीको महत्व छुट्टै रहेको छ । मङ्सिर महिनामा दिन र तिथि हेराएर न्वागी खाने पर्वको बेला सल्यानकोटबाट देवीलाई आगिञ्चोकमा सारिने र आगिञ्चोकको देवीको मन्दिरमा न्वागी पर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ । त्रिपुरासुन्दरी देवीको महत्व धादिङ र पूर्वी गोरखा जिल्लाका गाउँ र बस्तीका मानिसहरुको आस्थाको केन्द्र बनेको छ । त्यसैगरी नलाङ र सलाङ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ । सिद्धलेख नजिक रहेको १५२५ मि. अग्लो देवा डाडाबाट धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गाविसहरुको डाडाकाडा, बस्ती र रमाइलो प्रकृतीक दृष्य देख्न सकिन्छ । चैनपुर  र मुरलीभञ्ज्याङको विचमा झण्डै १४०० मीटर उचाइमा रहेको ज्वालामुखी महत्त्वपुर्ण ऐतिहासिक स्थलको रुपमा मानिन्छ । ज्वालामुखी बाट आखुको किनारमा रहेको समतल भूमी एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पुर्व एवं पश्चिममा बग्ने आखुु एवं बूढी गण्डकी नदी देख्न सकिन्छ भने उत्तरतर्फ हिमाली श्रृखलाहरुको दृश्य देख्न सकिन्छ ।  यसै गरी यस स्थलबाट धादिङ जिल्लाका ५० वटा गाविसका भू–भाग पनि देख्न सकिन्छ । कल्लेरी पर्ने मुलाबारी गाउको माथी नाङगो डाडामा रहेको गुप्तेश्वरी गुफालाई एक रमणीय प्राकृतीक स्थलको रुपमा लिन सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसग मिल्ने  दृश्यहरु रहेका छन ।

धादीङ् जिल्लाको अति रमणिय झरना हो गंगजमुना । यो झरना फूलखर्क गाउ विकास समितिको ढाडखर्कको सिरानमा रहेको छ । गंगा जमुना झरना धादीङ् जिल्लाको एक ऐतिहासिक  स्थलपनि हो । यहा पहाडको उच्च स्थानमा रहेको ढाडखर्कको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी.को हाराहारीमा पर्ने गंगा र जमुना नामका दुइवटा झरना पहरावाट तल झर्दा सप्तरंगी इन्द्रेणीको एक अति आकर्षक दृश्य देख्न सकिन्छ । यहा देखिने त्यस किसिमको दृश्यले यहा त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । यो बाहेक धादीङ जिल्लाको ढोला गाविसमा  रहेको मण्डली माईको  मन्दिर एक चचिर्त र प्रख्यात धार्मिक स्थल हो । यहा हरेक मंगलबार  बाख्राको पाठी बली चर्ढाइ पूजा–आजा गर्न भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । जंगलको बीचमा रहेको यो मन्दिरमा महिलाहरु जान नहुने धार्मिक परमंपरा र विश्वास रहेको छ । यस लगायत धादिङ जिल्लामा नदीनाला हिमशिखरहरु, ताल,झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थल पनि हो ।

पृथ्र्वी राजमार्गमा पर्ने गल्छीको ऐतिहासिकता जोडिएको गल्छी हो । खानीखोला र नौविसे बाट बग्दै आएको महेश खोला र त्रिशुली नदिको संगम स्थल लाई वैरेनीको गल्छी भनिन्छ । राजमार्गको वैरेनी वजार कुनैवेला महेश खोला बग्ने गर्दथियो । राणा कालिन समयमा त्यतिवेला उपलव्ध हुने स्थानीय औजारको प्रयोग बाट अहिलेको गल्छी बाट महेश खोला लाई त्रिशुलीमा मिसाएर करिव ३ कि.मि. खोलाको बगर लाई आवादी गरी खेतीयोग्य जमिन बनाइएको थियो । गल्छी निर्माण गर्नेमा   सुब्बा होमनाथ खतिवडा पिता मुखिया पण्डित नन्दलाल खतिवडाले वि.सं १९१४ सालदेखि १९२२ सालसम्म लगातार ९ बर्र्षलगाएर सम्पन्न गरेका जनश्रुती रहेको छ । पण्डित नन्दलाल खतिवडा सम्पन्न राजघरानाका व्यक्तित्व थिए । उनैले १४ र १५ गाउबाट मानिसहरु झिकाएर कोदाला, घन, गल, बञ्चरा आदि साधनहरुले पहरै पहराले ठाडीएको ३ सय मिटर जती अग्लो डाडोकाटन लगाएका थिए । गल्छी निर्माणको कार्य गर्दा विभिन्न स्थानबाट १७ मुरी गगत जम्मा गर्न लगाई चार कडे ठूला–ठूला खडकुलाहरुमा गगत पकाइ त्यसको झोल चटानमा खनाइ नरम बनाएर पहरोफुटाएको इतिहास पाइन्छ । ठूलो खर्च गरेर गल्छी काटी महेस खोलालाई पहिलेको महेसदोभान भन्दा ३ किलो मिटर माथी नै त्रिशुली नदिमा मिसाइ पहिले खोलो बगेको स्थानमा खेतीयोग्य जमिन बनाएका थिए ।

वि.सं. १९३८ सालको पर्वमा फौदसिंह कर्णेल काठमाण्डौबाट राणाहरु बाट निकाला भई धादिङ तिर आएका रहेछन । उनले गल्छिको लगभग १५० रोपनी खेत मुखिया नन्दलाल खतिवडा सग किनेर बसोवास गरेका रहेछन ।  त्यतिवेला गल्छीमा वारीपारी गर्न फौद सिंह कण्ँोलले वि.सं. १९६० सालमा काठेपुल हालेका रहेछन । जुन स्थानमा वि.सं. २०३६ सालतिर झोलुङगे पुल बनेको थियो । वि.सं. २०३८ सालतिर बैरेनी–देविघाट–नुवाकोट जोड्ने १७ कि.मि.सडक बनेपछि गल्छीको झोलुङगे पुलको स्थानमा हाल पक्कि पुल वनेको छ । फौदसिंह कणेलको खेत वि.सं १९८९ सालमा श्री ३ र प्रधानमन्त्री जुद्धधसमशेर राणाले खेत र क्यौरेनीको आप वगैचा किनेर छोरा छोरीको नाममा शिवालयमा दान दिएको इतिहास भेटिन्छ । अहिले वैरेनी वजार लाई सरकरले मध्यपहाडी शहरी क्षेत्रको अवधारणामा राखेको छ । गोसाईकुण्ड जानको लागि अहिले काठमाण्डौ बाट मात्र नभएर गल्छीबाट पनि यात्रा तय गर्न सकिन्छ । गोसाईकुण्डको लागि नारायणघाट, मुग्लीन भएर जाने मानिसहरुको लागि यो मार्ग छोटो र रमणीय मानिन्छ । गल्छीबाट नुवाकोट जिल्लाको रातामाटा, झिलटूङ् हुदै प्रशिद्ध धार्मीकस्थल मानिने देवीघाटको अवलोकन गर्दै नुवाकोटको सदरमुकाम त्रिशुली विदुर पुगिन्छ ।

युरोपेली मुलुकको स्पेनको राष्ट्रिय खेल भनेर चिनिएको गोरु–जुधाइ धादीङ र नुवाकोटको सिमानामा पर्ने गाउहरुमा लिच्छवी कालदेखि चल्दै आएको रहेछ । गल्छिबाट त्रिशुलिपट्टी ५ किलोमिटरभित्र, केउरेनि घाटसम्म पुगेपछि त्रिशुलि नदीको झोलुगे पुल तरेर तारुका गाउ पुग्न सकिनछ । हरेक बर्ष माघ १ गते अर्थात माघे सक्रान्तीको अवसरमा धादीङ् र नुवाकोटको सिमानामा पर्ने तारुका गाँउमा गोरु जुधाइ मेला आयोजना हुने गर्छ । ऐतिहासिक परम्पराको रुपमा रहेको गोरु जुधाइ मेला एउटा भिन्न प्रकारको परम्परागत मेला हो ।  गोरु जुधाउने मेला बझाङगी राजा जयपृथ्वीबहादुर सिंह तारुकामा मामाघर जादा उनलाई मनोरञ्जन दिलाउन गोरु जुधाइ मेलाको सुरुवात गरिएको किम्बदन्ती रहेको छ । सिंह विसं १९७८ सालमा नुवाकोटको तारुका–५ चन्दनीस्थित मामाघर आउदा भानिजलाई मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरको गाउलेहरुको लागि पनि मनोरञ्जनको माध्यम र खेल जात्रा बनेको इतिहास रहेको छ ।

राजधानी संग जोडिएको धादीङ् पोखरा–काठमाण्डौ पृथ्र्वी राजमार्ग बन्नु भन्दा अगाडिको अवस्था ज्यादै पछाडी परेको थियो । चिनको सहयोट बाट पृथ्र्वी राजमार्ग ०२४÷२५ साल बाट बन्न थोलेपछि अहिले राजमार्ग भएको क्षेत्र र आसपासका गाउँहरुमा ठूलो आर्थीक क्रान्तीनै भएको विगत देखिको इतिहास छ । सडक निर्माणको क्रम सगै अहिलेको वजार चरौदी, वेनीघाट, मलेखु, गजुरी जस्ता स्थानहर वजारमा परिणत भएका छन । उद्योग धन्दा खुलेका छन । तरकारीखेतीले धादीङ् जिल्लामा कृषहरुको आर्थीक अवस्था सुधार भएको छ । गाउँ–गाउँमा सडक निर्माण भएका छन । तरकारी खेती, फलफूलखेती र पशुपालन गर्ने कार्यनै धादीङ्का अधिकाशं कृषकहरुको जीवन संग जोडिएको छ । चार दशक अगाडीको धादीङ् जिल्ला वासीको जन जीवन र अहिलेको जनजीवनमा धेरै परिवर्तन आएको छ ।

कठमाण्डौ जादा–आउदा मात्र धादीङ् जिल्लाको मोटर मार्गको प्रयोग गर्नेहरुका लागी स्थलगत जिल्लाको हिमाली भू–भाग देखि समतल टार र पहाडी ऐतिहासिक स्थलको अध्ययन गर्नको लागी धादीङ् जिल्ला राभ्रो मानिन्छ । हिमाली जनजीवन, तमाङ् भाषा र सस्कृती अध्ययन गर्नेहरुको लागी पनि यो जिल्ला महत्वपूर्ण मानिएको छ । कृर्षि क्षेत्रको अनुसंन्धान गर्नको लागी पनि धादीङ् उपयुक्त जिल्ला मानिन्छ । धादीङ् जाऔ पहाडी जिल्लाको भ्रमण गर्दै त्यसको अनुभव अरुहरु लाई पनि बाडन सकौ ।

मिति ः– २०७० कार्तिक २१ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *