देवघाट देखि मुक्तिनाथ सम्म…….४

   
     के.वि.मसाल
नवलपरासी जिल्लाको महाभारत श्रृखंलाको डेडगाउँमा रहेको अकलादेवीको मन्दिर बाट अर्जुन र म केलादीघाट जानको लागि बाटो लाग्यौ । फर्कने बेलामा ओरालो बाटो भारतीपुर हुदै वुलिङ्टार आएको थाहानै भएन । तर भोकले भने सिमा भएन । हामी गाउँको कुनै घरमा गएर खाना पकाएर खाने सोचमा थियौ । एकजना पण्डितको भेषभुषामा अर्धवैसे मानिस हाम्रो सामु आउनु भयो । सायद अर्जुनको परिवार र केटाकेटीहरुको निधारमा रातो टिका देखेर होला अपरिचित भएपनि हामीहरुलाई अकला गएर आउनु भएको हो ? भनेर सोध्नु भयो । कुरागर्दै जादा उनि वुलिङ्टार गाउँकै रहेछन । उनि पूर्वी पाल्पाको झिरुवास, सहलकोट, गाडाकोट र नवलपरासी जिल्लाको डेडगाउँ, भारतीपुर जस्ता मगर बस्तीका पुरेत रहेछन । पण्डितको कुरा सुन्दै थियौ मैले खाना खाने जोहो गर्न थाले ! पण्डित जि एताकतै खाना खाने व्यवस्था हुदैन ? मेरो कुरा सुन्ने विीत्तकै पण्डितले भने खाना आफैले बनाउन पर्दछ क्यारे ! मगर जातीको घर देखाउदै पण्डितले भने त्यो घरमा जाउ म भनिदिउला ।

मगरको घरमा पुग्ने वित्तीकै पण्डितको हस्याङ्–फस्याङ् बढन थाल्यो ! साहुती मारेझै गरेर घरधनी जस्ती देखिने एक महिलालाई उनले भने ! यहांहरु पनि वाहुन हो नी , बाहिर भान्सा लगाईदिनु । पण्डितको कुराले मलाई केहि भन्न मन लाग्यो र भनिहाले हामी बाहिर खाने वाह्मण हैन तपाईले भित्र पकाए हुन्छ । गाउँका पण्डित र नौला मानिसको अनुहार देखेर होला ! गाउँका मानिस जम्मा हुन थाले । कुराकानीको क्रममा हामी केलादीघाट जाने हो भन्ने कुरा पण्डितले थाहा पाए । स्थानीय पण्डितलाई केलादीको कुरा सबै थाहा रहेछ । उनिबाट केलादीघाटको धेरै कुरा थाहा पाउन सकियो । केलादीघाटमा वैष्णहरुको आश्रम रहेछ । गरुड़ पुराण वैष्णव सम्प्रदायसित सम्बन्धित रहेछ । सनातन धर्ममा मृत्युपछि सदगति प्रदान गर्ने मानिन्छ । यसकारण सनातन हिन्दू धर्ममा मृत्युपछि गरुड़ पुराण श्रवणको प्रावधान राखिएको रहेछ । यस पुराणका अधिष्ठातृ देव भगवान विष्णु रहेछन । यसमा भक्ति, ज्ञान, वैराग्य, सदाचार, निष्काम कर्मको महिमाका साथ यज्ञ, दान, तप तीर्थ आदि शुभ कर्ममा लाग्ने शिक्षा हुदो रहेछ ।   

खाना खाएर हिडने बेला दिनको २ बजेको छ । नवलपरासी जिल्लाको वुलीङ्टार देखि केलादीघाट पुग्नको लागी पाल्पा जिल्लाको झिरुवास, सहलकोट, गाडाकोट र दर्छा गाउँको भूगोल यात्रा गर्नुपर्ने रहेछ । स्थानीय साथी भेट भएको हुदा मलाई त्यहाको गाउँ र बाटोको बारेमा कसैसंग सोध्न परेको छैन । यात्राको क्रममा अर्जनले मलाई भन्न थाले ! त्यो कालीगण्डकी पारीको भाग तनहू जिल्ला हो । तनहू जिल्लाको गजरकोट र स्याङ्जा जिल्लाको साखर दुई जिल्लाको सिमा हुन । केलादीघाट चाहि स्याङ्जा जिल्लामा पर्दछ । चार जिल्लाको साझा उपत्यका भए पनि वोलीचालीमा यस उपत्यका लाई रामपुर उपत्यका भन्ने गरिन्छ । पाल्पा सदरमुकाम तानसेनदेखि करिव ७५ किलोमिटर पूर्वमा पर्ने रामपुर र दर्छा गाविस पर्दछ । स्याङजाको साखर एवं तनहू जिल्लाको गजरकोट विचमा गण्डकी र पाल्पाको दर्छा गाविसको बिचमा केलादीघाट पर्दछ । तनहू र स्याङ्जा जिल्लालाई सिमा डूम्रीवेसी खोलाले गरेको छ । वैष्णव धर्मालम्बीको पवित्र तिर्थस्थल केलादीघाट स्याङजाको साखर गाविस वडा नम्बर–८ मा पर्दछ ।

रामपुर भेगको पाल्पा जिल्लाको गाविसहरुलाई स्थानीय बोलीचालीमा पूर्वी पाल्पा भन्ने गरिदो रहेछ । कालीगण्डकीको तल्लो भाग अर्थात राम्दीको पुल भन्दा दक्षिण भूगोलमा भएको उपत्यकामा स्याङजाका ९, पाल्पाका ९, तनहुको ८ र नवलपरासीको १० गाविसहरु पर्ने रहेछन । सिद्धार्थ राजमार्गमा पर्ने राम्दीघाटको पुलदेखि देवघाटसम्म कुल १२८ किलोमिटरको दूरी रहेको छ । भौगालिक परिचय गराउदै अर्जुनले मलाई पाल्पा जिल्लाको दर्छा सम्म पु¥याए । साझ पर्न लागेको थियो । त्यहाबाट उनलाई पनि आफ्नो घर वेझाड पुग्न निकै हिडन पर्ने रहेछ । केलादीघाट भने दर्छा भन्दा ठिक पारी अर्थात कालीगण्डकी पारी पर्ने रहेछ । बासबस्ने कुराकानी चल्न थाल्यो । सामान्य अहिले जस्तो गाउँघरमा पनि बासबस्ने होटलको प्रवन्ध त्यसवेला हुने थिएन । कित चिनजानको घर खोज्नु पर्दथियो ! होइन भने बास दिनुहुन्छ ? भन्दै गाउँघरमा सोध्नु बाहेक अन्य विकल्प हुने थिएन । अर्जुनले मलाई सोधे यो गाउँमा हाम्रो गाउँकी एकजना फुपुको घर छ । आजको रात सगै बसौ हुन्न ? बास बस्नु थियो मैले हुन्न भन्ने कुरो पनि भएन ।

गाउँघरको बाटो एकैछिन मुलबाटो छाडेर गाउँको अल्लीकुना तिर अर्जुनले मलाई हिडाए । वरपर चहल पहल देख्न थालीयो । बारीको पाटामा खाना बनाउन लागेका त्यसको नजिकैको घरमा मानिसको खैलाबल्ला ! को दृष्य देखियो । अर्जुन आश्चर्य हुदै भन्न लागे मेरो फुपुको घरमा त के रहेछ ह ? कुनै कार्य पो गर्न लागेका हुन कि जस्तो छ ! म अलमलीए भन्दा भन्दै त्यो घर आई पुग्यो । अर्जुनको ढोगभेटसकिना साथ सबै कुरा थाहा भयो ! त्यो घरमा त सत्यनारायणको पुजा रहेछ । वेलुका पुजा लगाउने भएको हुदा आमन्त्रित पाहुनाहरुलाई भोजनको व्यवस्था हुन लागेको रहेछ । एकैछिनमा हामी लाई पनि खानाको लागि भन्दै वारीको पाटामा पु¥याए । खाना खादाको समयमा सबै कुरा थाहा भयो । नारायणको पुजा सकेपछि त्यहा वालुनको नाच पनि हुने रहेछ । रात पर्दै थियो, गाउँका मानिस आउने क्रम बढन थाल्यो । मैनटोलको उझयालोले घर आगन उज्यालो बनाएको थियो । पुजा–आजा चल्दै थियो, आगनको एक छेउमा वालुनेहरु जम्माहुन थाले ।

जीवनमा वालुनको नाच मैले कहिल्यै देखेको थिएन । वालुन भनने वित्तिकै मलाई उत्सुकता जाग्यो । सामान्तया चुड्का, ख्याली, झयाउरे नाच भने केटाकेटी अवस्थामानै देखेको तर वालुन न देखेको न जानेको उत्सुकता हुनु पनि स्वभाविकै थियो । नजिकै बसेका वालुने कलाकारहरु संग यसको बारेमा बुझने कोसिस गर्न थाले । लोकनाटक जस्तै वालुन पनि लोक साहित्यको दृष्य विधा अन्तर्गत पर्ने रहेछ । यसको प्रदर्शनको क्रममा सर्जक, दर्शक र रङगकर्मी सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुने रहेछ । लोक साहित्यका अन्य विधा लोकगीत, लोक कथा, आदिझैं लोक नाटक जहा पायो त्यही प्रस्तुत गर्न नसकिने रहेछ । यसका निम्ति देखाउने थलो तथा पात्र र तिनका भेषभुषा आदिको खाचो हुने र खर्चिलो पनि पर्ने रहेछ । पूर्वी पाल्पाका समाजमा विभिन्न पर्व, उत्सव, मेला, पूजाआजा आदिमा वालुन नाच प्रदर्शन गर्ने प्रचलन रहेछ । विशेष गरेर वाह्मण समुदायमा गाइने बालुन भजनमा हनुमान उठदा वीर चढने अर्थात हनुमान उतार्ने प्रचलन हुदो रहेछ । बालुन भजन गाउदा भजनको धुनमा केहि मानिसहरुलाई काम छुटने रहेछ ।

मैले वालुनको बारेमा जान्ने उत्सुकताले कुरा गर्दै थिए । वालुनका कलाकार आगनमा आइहाले । कसैको लामो दाह्री, कसैको लामो कपाल त कोहि रंगीविरगंीको भेषभुषामा कलाकारहरुको प्रवेश हुन थाल्यो । रामायणको कथामा आधारित वालुनको नाटक सुरुहुन थाल्यो । रामायणको भजन गाउदा केही भजन गाउनेहरुलाई वीर चढेको देखियो । यसरी वीर चढेको बखत जस्तोसुकै चमत्कारिक काम भजनको ताल र सुर अनि भाकामा हनुमान आएको मानिस लाई भन्दा जस्तो सुकै काम पनि गर्न सक्ने विश्वास गरिदो रहेछ । वीर चढेर रुखमा बादर जस्तै हिड्ने गरेको, भरि गाग्रीको पानी दातले टोकेर बोकेको, खोला तरेर फलफूल खोजेर ल्याएको कुरा आफ्नै आखाँले देख्न पाउदा मलाई उत्सुकता र कौतुहलले सिमा रहेन । वालुने समूहको नाटक र भजनले हनुमान उत्रेका मानिसले ल्याएका फलफूल, ऊखु र यस्तै अन्य खाद्यबस्तुले भजन मण्डलीको बिचमा उरुङ्घो भएको छ । नाच हेर्न आएका दर्शकहरु मनमुग्ध भएका छन । रात विति सकेको थाहा भएन ।

विहान उझयालो भयो । अर्जुनले मलाई केलादी जाने बाटोको नक्सा बताउदै आफ्नो घर तिर लागे । रातभरीको वालुन नाच हेर्दाको अनिदो ! म भने एक्लै केदालीघाट तिर लागे । अल्ली वरै कालीगण्डकी नदिको ढीकबाट देखियो केलादीघाटको झोलुङ्े पुल । अहिले पूर्वी पाल्पाको रामपुर उपत्यकामा निर्माणाधिन चार मोटरेबल पुल, १९ वटा झोलुङगेपुल, ९ वटा डुङगाघाट र दुई वटा तुहिन रहेका छन । त्यतिवेला अर्थात ०४६ सालमा कालीगण्डकीको त्यस भेगमा केहि झोलुङ्गे पुल र डूङ्गाघाट बाहेक मानिसहरु लाई आगमन गर्ने अन्य विकल्प थिएन । केहिबेरमा म केलादीघाटको झोलुङ्गे पुल पार गर्दै वैष्णवहरुको आश्रममा पुगे । नया अनुहार देख्ने वित्तीकै एक साधु भेषकी महिलाले मलाई शिष्टाचारको लागि राधेश्यामको शब्द पोखिन । महिले पनि त्यसको महत्व नबुझदै राधेश्याम भनिदिए ।

कालीगण्डकीको किनार, शान्त वातावरण, मन्दिर अगाडि भजन मण्डलीहरु बस्ने स्थान, बिहानको ८ बजेको थियो । दुईजना महिला र १ जना पुरुष बसेर राधे श्याम…राधे श्याम भनि भजन गाइ रहेका थिए । मन्दिरको सबै वस्तुस्थिति नबुझेर होला ! मलाई भने अचम्म लागेको छ । बिहानै किन यो भजन ? कि अघिल्लो दिनको भजन सकिएको छैन र हो कि जस्ता कुराहरुले मलाई छुन थाल्यो । भजन गाउने मण्डलीको छेउमा बसेर मैले पनि राधेश्यामको स्वर थप्न थाले । एकैछिनमा भजन गाउने एकजना महिला उठेर भित्र जान लागिन । उतिखेर नै फेरि अर्की महिला आएर भजनका स्वरमा थपिलागिन यो दृष्यले मलाई कौतुहल बनायो । क्रमश…..

मिति ः– २०७० कार्तिक २९ गते दाङ्

Leave a Reply

Your email address will not be published. Required fields are marked *