देवघाटदेखि मुक्तिनाथ सम्म ……५

     के.वि.मसाल
देवघाट बाट हिडेको ४ दिन भएको छ । देवघाट देखि तनहू जिल्लाका कोटा, वैदी, भिरकोट, रम्झाकोट, पुर, सुन्धरा र गजरकोट को भूगोलको धेरै कुराहर अध्ययन गर्ने मौका मिलेको छ । पाल्पा जिल्लाको दर्छा गाउँको अघिल्लो दिनको वालुन नाचको भजनले सस्कृतीका धेरै कुरा सिकाएको छ । केलादीघाटको वैष्णवहरुको आश्रमको बारेमा पनि मैले केहिकुरा जान्ने उत्सुकता जागेको छ । त्याहाको भजन अखण्ड रहेछ । राधेश्याम….राधेश्यामका शब्दहरु भजनमा रोकिने रहेनछ । भजन मण्डलीमा मानिसहरु थपिन थाले । केहि आश्रमकै होलान भेषधारीमा देखिन्थे भने कतिपय सामान्य पहिरनमा पनि आएका थिए । भजन चल्दै थियो । एकजना गेरुबस्त्रधारी, गौ वर्ण, अग्ला देखिने लामो दारीवाल मानिसको प्रवेश भयो । भजनमा सहभागी भएका भेषभुषाधारी महिलाहरुले त्यस मानिस लाई ढोग्न थाले । म अचम्म मान्न थाले ! पर पुरुषलाई पनि महिलाहरुले त्यसरी ढोगेको कहिपनि देखेको थिएन । पछि थाहा भयो उनि त्यस आश्रमका महात्मा  अर्थात गुरु रहेछन ।  

समय निकै बितिसकेको थियो । विद्यालयमा जस्तै घन्टीको आवाज आयो । सब मानिसहरु सलवलाउन थाथे । एकजना महिलाले भनिन प्रसादको समय भयो । मलाई पनि प्रसाद खान भान्सातिर जान आग्रह भयो । सबैको पछि म पनि लागे । मैले सोचेको प्रसाद नभएर त्यहा खानालाई नै प्रसाद भन्ने गरिदो रहेछ । धेरै मानिसहरुको बिचमा मपनि प्रसाद खानको लागी भान्सामा बसे । त्यहा प्रयोग हुने धेरै शव्द वैष्णवहरुको आफ्नै शब्दहरु रहेछन । पानी लाई जल, तरकारीको परिकार लाई जे भएपनि साग जस्ता शव्दहरु प्रयोग हुने रहेछ । एकछिन म अलमल भए । जे होस प्रसाद ग्रहण गरियो । प्रसाद ग्रहण गरेपछि म आश्रमको बारेमा केहि कुरा बुझन लागे । मैले बुझेको वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपाशक हुन्छभन्ने कुरा सुनेको थिए । मान्छेलाई संकट परेको बेलामा कुनै न कुनै पाञ्चायन देवतालाई पुकार गर्ने पनि सुनेको थिए । हिन्दु सनातन धर्ममा पाञ्चायन पूजा अर्थात गणेश, देवी, सूर्य, शिव, विष्णु जस्ता आस्थाको केन्द्र मानिने देवताको पूजा हुने कुरा मलाई थाहा थियो ।

कुरागर्दै जादा मलाई थाहा भयो, हिन्दु सम्प्रदायहरुमा बैष्णव धर्म, कृष्ण प्रणामी, जैन, शिख आदि सवै पर्दा रहेछन । सम्प्रदायको विकास क्रममा धर्मगुरुहरुको आ–आफ्नै व्याख्या र परिभाषाका कारणले कतिपय हिन्दुभित्रका सम्प्रदायहरुमा सस्कार समेत फरक पर्दो रहेछ । वैष्णव धर्म मान्नेले विष्णु बाहेक अरु देवीदेवताको पूजा गर्दा रहेनछन । वैष्णव धर्म मानेहरुले गूरुको पाउको र नुहाएको पानी खादा रहेछन । श्रीमती छ भने लोग्नेले छोएको खादा रहेनछन । लोग्ने वैष्णव छ भने श्रीमतीले पकाएको खाना समेत नखाने रहेछन । छोरो वैष्णव छ भने सनातनी हिन्दु आमा बाबु नमान्ने रहेछन । वैष्णव धर्ममा लागेपछि गोत्र पनि परिवर्तन गरेर अच्यूत गोत्री बन्दा रहेछन । आमा बाबुको क्रिया नगर्ने रहेछन । वैष्णवको क्रियामा वैष्णव नैं रहनु पर्ने रहेछ । जसले गर्दा एउटै परिवारमा बाबु छोराका बीचमा वैमनुष्यता आउनु, पत्नीका बीचमा संबन्ध तोडिनु, दाज्यूभाइका बीचमा फाटो आएका धेरै उधारण रहेछन । वैष्णवको आश्रम नजिकैको चियाँ पसलमा यि सबै कुरा जान्ने मौका पाए ।

केदालीघाट इतिहास लुकेको घाट रहेछ । पवित्र कालीगण्डकीको किनारमा रहेको केदालीघाट बाट इतिहासको काल–खण्डमा धेरै मानिसहरु आवत जावत गरेपन केलादीको अबस्था पुरानै रहेछ । पवित्र धार्मीक स्थल केलादीघाटमा स्याङ्जा, पाल्पा, तनहू र अन्य जिल्ला बाट समेत वैष्णव धर्ममा आस्था भएका मानिसहरुको केन्द्र जस्तै वैष्णव आश्रम रहेछ । विपन्न र मध्यम घरपरिवारको विशेष गरी विधवा महिलाहरु आाफु संग भएको सम्पती समेत वैष्णव आश्रममा चढाएर बस्नेहरुको सख्या पनि रहेछ । विशेष गरी वाह्मण,क्षेत्रहरुको संम्प्रदायमा वाल विवाह हुने श्रीमानको मृत्यु भएपछि दोस्रो विवाह गर्न हुन्न भन्ने मान्यता भएकोले वैष्णव धर्ममा लाग्ने प्रचलन हुदो रहेछ । तर आजभोली ति कुप्रथा धेरै हटिसकेको रहेछ । यसरी वैष्णव आश्रममा आश्रय लिएर वसेका कतिपय महिलाहरु ऋाश्रमकै महात्मा अर्थात गुरु बाट बलत्कृत हुने घटनाहरु प्नि हुने गरेका रहेछन । विचमा कालीगण्डकी तनहू जिल्लाको पुरटार, गडेउलीटार र अत्रेउलीटारको समथर भूमी, त्यसैगरी स्याङ्जा जिल्लाको साखर, सेखाम, रत्नपुर, चापाकोट, कुवाकोट, पाक्दी, तुल्सिभन्ज्याङ्, मालढुङ, जयदेवी गाविसहरले उपत्यकाको सौन्दर्यता मात्र होइन उर्वर खेतीयोग्य जमिन समेत रहेको छ । केलादीको ऐतिहासिक र भौगोलिक कुराको अध्ययन गर्दै थिए । तनहू जिल्लाको गजरकोट तिरको बाटो बाट बाजागाजाका साथ मानिसहरुको लर्कन केलादीघाट तिर आउन लागेको दृष्य देखा प¥यो । स्थानीय मानिसहरु संग मैले जिज्ञासा राखे, उनिहरु पुजाको सामाग्री सेलाउन केलादीघाट आएका रहेछन । हेर्दा–हेर्दै ति मानिसको लामा लस्कर केलादीघाटमा आइपुग्यो । फूलको डोली छ, कसैको हालमा खैजडी छ, कोहि मुजुरा लिएका छन, कोहि नाचेका छन भने भजनको स्वरले वातावरण लाई रमाईलो बनाइदिएको छ ।

पश्चिम तनहू जिल्लाको सेती र कालीगण्डकी विचको भाग सस्कृतीको धनी रहेछ । अधिकाशं गाउँहहरु मगरजातीहरुको बसोवास भएपनि लोक सस्कृती र धार्मीक सस्कृतीका प्रचलन धेरै मिल्दा रहेछन । कार्तीक महिना देखि माघ महिना सम्म गाउँघरमा सत्यनारायणको पुजा लगाउने प्रचलन रहेछ । पुजा लगाएको सामाग्री लाई ५–६ घण्टाको पैदल मार्ग भएर पनि केलादीघाटमा सेलाउने प्रचलन रहेछ । फूलपाती सेलाउदा बाटोमा भजनेहरु द्धारा भजन गाउने, नाचगान गर्दै आउने रहेछन । कौरा, चुडका, झयाउरे, ख्याली, जस्ता ताल र स्वरमा गाइने भजन सुन्न र हेर्नको लागी अत्यन्तै रमाइलो मानिदो रहेछ । तनहू जिल्लाको गजरकोट, रिसिङ्, घिरिङ् र आसपासका गाउँ र बस्तीहरु मात्र होइन केलादीघाट वरपर रहेका स्याङ्जा जिल्लाका क्यू, चापाकोट, ज्याग्दीखोला जस्ता गाउहरु लोक सस्कृतीका धनी रहेछन । त्यस क्षेत्रमा लोपहुन लागेका श्रीकृष्ण नचौरी, राजारानी नाच, टाकटुके, भजन किर्तन, बालन नाच, हनुमान नाच, सालैजो, सुनीमाया, ओली, ज्यानो, ठाडो भाका लगायतका सास्कृतिक लोक भाकाको नाचहरु गाउँमा हुने पुजा–आजा र कुनै समारोहमा देखाउने प्रचलन रहेछ । । वाह्मण, छेत्री मगर लगायतका जातिमा प्रचलित यो सस्कृतीको भजन, गीत गाउदा बाजाका रुपमा खैंजडी, मुजुरा, मादल, वासुरी, बजाउदा यसको रनक अर्कै हुदो रहेछ ।

केदाली वरपरका गाउँहरुमा तुलसीको महत्व निकै रहेछ । तुलसीको महिमा हिन्दू –वैष्णव धर्ममा धेरै महत्व रहेछ ।  तर पनि तुलसीको माला लगाउने र तुलसीको बारेमा धेरै चर्चा परिचर्चा गर्नेहरुमा वैष्णवहरु ध्ेरै हुदा रहेछन । कार्तिक महिनाभरि सम्पूर्ण तीर्थसहित सबै देवताहरु तुलसीमा निवास गर्दछन भन्ने विस्वास राखिने रहेछ । विभिन्न शास्त्रले जुन घरमा तुलसीको मठ हुन्छ, त्यो घर तीर्थसमान हुन्छ भनी व्याख्या गरेका कारणले पनि तुलसीको महत्व बढेको रहेछ । तुलसी भएको घरमा यमदूत हत्तपत्त पस्ने आटगर्न सक्दैन भन्ने विस्वास वैष्णवहरुको मान्यता रहेछ । वैष्णव धर्ममा देवशयनी एकादशीदेखि प्रारम्भ हुने चतुर्मास को पनि निकै महत्व मानिने रहेछ । पौराणिक मान्यताअनुसार भगवान विष्णु बर्षाऋतुको अवसरमा अर्थात आषाढशुक्ल एकादशीको दिन आफ्नो शैयामा सुतेर चार महिनापछि कार्तिक शुक्ल एकादशीको दिन ब्यूझन्छन । भगवान विष्णु सुतेपछि सारा जगत सुत्दछ र उनी जागेपछि सारा जगत जाग्दछ भन्ने मान्यता वैष्णव धर्ममा रहेछ । वैज्ञानिक दृष्टिकोणबाट व्याख्या गर्दा पनि यो समयमा बर्षा, हिलो, बाढी, भेल आदिले पहिरो जाने वा अन्य प्राकृतिक विपतिसमेत आइलाग्ने  हुनाले यस्तो भनिएको होला भन्ने तर्क पनि वैष्णवहरुले राख्दा रहेछन ।

पवित्र कालीगण्डकीको तिर केलादीघाट वातावरणको दृष्ट्रिकोणले सारै मनमोहक रहेछ । ऐतिहासिक घाट जहावाट लमजुङ्, तनहू र पर्वी भेगका स्याङ्जा एवं कास्की जिल्लाका मानिसहरुले वुटवल, भैरवा अर्थात भारतिय भूमीमा यात्रा गर्दा तर्ने घाट रहेछ । कुनै काल–खण्डमा काठको ढुङा बाट तर्ने केदालीघाट अहिले झोलुङ्ेपुलको सुविधा रहेछ । अहिले पल्लिो समयमा केदालीघाट पुगे मानिसहरुले त्यो पुरानो कुराहरु देख्न पाउने छैनन । तिन दशक अगाडीको केलादीघाट र पूर्वी पाल्पा र स्याङ्जा, तनहूको पश्चिम भेग जस्लाई रामपुर उपत्यका भनिन्छ ति ठाउमा सडक, पुल पुलेसाहरु बनेका छन । स्याङ्जाको साखर अर्थात केलादीघाट हुदै तनहुको खैरेनीटार पुग्ने मोटर मार्ग बनेको छ । कालीगण्डकीको केलादीघाटमा पुल नबन्दा पाल्पा जिल्लाका रामपुरवासीलाई बस र जिपको यात्रा गर्नुपर्दा ४ सय किलोमिटर घुमेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । केलादीघाटमा पुल बनेपछि २ सय किलोमिटरको यात्रापछि नै राजधानी पुग्न सकिने भएको छ । पोखरा र तराई जोड्न अर्को मार्ग यो उपत्यकामा सुरु भएको छ । कालीगण्डकी कोरिडोरअन्तर्गत रामपुरबाट तराईको लोकमार्ग नवलपरासी जिल्लाको कावासोती, दलदले ६५ किलोमिटर मात्रैको दुरी रहेको छ । तिन दशक अगाडी केदालीघाट, चापाकोट, रामपुर र वुलिङ्टार पुगेको मानिसहरुको लागी अहिलेको अवस्थामा केलादीघाट मात्र होइन रामपुर उपत्यकामानै ठूलो परिवर्तन भएको छ । क्रमश…..।

मिति ः– २०७० कार्तिक २९ गते दाङ्

One thought on “देवघाटदेखि मुक्तिनाथ सम्म ……५

  • December 18, 2014 at 4:58 am
    Permalink

    सरको यो लेख तथा अन्य सबै लेखहरू निकै रोचक, खोजमुलक, सूचनामुलक तथा सरल लाग्छन् । कति सक्नुभएको हो ? अचम्म त लाग्छ नै, हामीलार्इ समेत उर्जा थपेकाे छ ।

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *