डिग्रेको मेला र जन्ति बस्ने ढुङ्गा

                                                               के.वि मसाल        

५२ पोखरी ५३ टाकुरी भनेर चिनिने पहाडी भूगोलको रुकुम जिल्ला सस्कृतिको धनि जिल्लामा मानिन्छ । एउटै जिल्लामा हिमाल, पहाड र सम्म मैदानी भाग र टारले मिलेको भूगोल पनि रुकुम जिल्लामा रहेको छ ।  धर्म, सस्कृति र पर्यटकिय स्थलको धनि जिल्ला भएर पनि सडक यातायातको राम्रो प्रवन्ध हुन नसक्दा धेरै मानिसहरु रुकुम जिल्ला घुम्नको लागि आफ्नो गन्तब्य स्थलको रुपमा जिल्लाका सवै ऐतिहासिक स्थल,प्राकृतीक सम्पदा र धार्मीक स्थलहरुमा पुग्न सक्दैनन । कतिपय मानिस सदरमुकाम मुसिकोट पुगेर पनि डिग्रेसाई भगबतीको मन्दिर र नजिकै पर्ने ऐतिहासिक जन्तिबस्ने ढुङगा सम्म नपुगेको पनि हुन सक्दछन । तर रुकुम जिल्ला घुम्न अथवा अन्य कुनै भौगोलिक अध्ययनको बारेमा रुकुम पुग्दछन भने डिग्रे मन्दिर र जन्तिबस्ने ढुङगामा पुगेन भने उसको अध्ययन पुरा हुदैन ।

प्रत्येक वर्ष प्रबोधनि अर्थात हरीबोधनी, तुलसीको विवाह गर्ने एकादशीबाट सुरुभई पुर्णिमाको दिन सम्म लाग्ने डिग्रेसाई भगवतीको मेला लाग्ने गर्दछ । मेलामा स्थानीय कला सस्कृतिको संरक्षण र प्रर्वद्धन गर्दै लोकदोहोरी, सामुहिक लोक नृत्य, एकल नृत्य जस्ता आफ्नै सस्कृतिमा रमाउदै लोक सस्कृति झल्कनेखालका झाकी,लोकबाजा र भजनले मेलाका दर्शकहरुलाई मनोरोञ्जन दिलाएको हुन्छ । डिग्रेसाई मन्दिरको दर्शन गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने र्धािमक विश्वास पनि गरिन्छ । रुकुम जिल्लाको सदुरमुकाम खलंगा देखि उत्तर पूर्वमा रहेको डिग्रेसाईकुमारी मन्दिर सदरमुकाम नजिक मठ भन्ने स्थान बाट १ घन्टाको उकालो हिडेपछि आउछ । यो रुकुम जिल्लाको मात्र नभएर राप्ति अञ्चल कै प्रमुख धामिक स्थल मानिन्छ । यो धामिक स्थल रुकुम जिल्लाको खलंगा ४ थर्पू मा पर्दछ । । यो मन्दिर मा सधै जसो पुर्जा हुने गर्छ तर विशेष गरी कात्तीकको हरी बोधन एकादशी देखि पुर्णिमा सम्म ५ दिनसम्म पजामात्र होइन, मेला समेत लाग्ने गर्दछ । यो एकादशी देखि पुणिमा सम्मको दिनमा विष्णु पूजा, तुल्सि पूर्जा, सिद्ध पूजा, सन्तोषिमाता , खप्तडस्वामि, साईकुमारी भगवति पूजा र बोकाको वली दिएर पुजा हुने गर्दछ ।

एकादशि र पुणिमाको दिनमा भने बोकाको बली दिइदैन र पुर्णिमाको दिनमा सखाल अर्थात साखगाउँको नाच नाचेपछि मात्र मेला समापन हुने गर्दछ । यो नाचलाई वीरताको प्रतिक पनि मानिन्छ । साखगाउँका ग्वालाले अर्थात गाई भैसी चराउने मानिसहरुको गाई साईभगवतीले गुफामा लुकाएको र आफुले लुकाई राखेको गाइहरु नाचगान देखाएपछि मात्र दिने कुरा साईभगवतीले ग्वालाहरुलाई भनेको र साखगाउँका मानिसहरुले गाई प्राप्त गर्नकोलागि नाच देखाएको एवं आफ्नो जीत भएको खुशियालीको ऐतिहासिक र्धािमक जनश्रुतीको प्रशग पनि यो नाचसंग जोडिएको हुन्छ । यो नाचमा आउने मानिसहरुमा छुट्टै पहिरन,फुर्तीलो अनुहार र बान्की परेका युवाहरु रहेका हुन्छन । दमाह, झयाली, टेम्कु लगाएत पन्चेवाजाको धुनमा हातमा लट्ठी र जंगलमा पाईने झयााउ जस्ता वनष्पतीको साजसज्जामा आएका साखंगाउँका मानिसहरु मन्दिर अगाडी चौरमा आएपछि मेलाको रौनकनै अर्कै हुन्छ । मन्दिर अगाडी नाचको गर्रा छुटेपछि मेलामा गएका सबै मानिसहरुको ध्यान नाचमा पुगेको हुन्छ ।

इतिहास अध्ययन गर्ने हो भने, अहिलेको रुकुम जिल्ला नेपाल एकिकरण हुनुभन्दा अघि भुरे–टाकुरे राजाहरुले तिन सय वर्ष सम्म राज्य चलाएका थिए । ईतिहासमा मलय वर्माका छोरा पार्वती रायले रुकुममा राज्य स्थापना गरेको पाईन्छ । त्यतिबेला रुकुम राज्यमा आठहजार घरघुरी भएको ईतिहास छ । त्यसपछि बाईसे राजाहरुमा गजनीबम, जलालबम, जसबम, हुदै जयतबम हरुले राज्य गरेको इतिहास छ । दरबारको झै झगडा र भाईहरुको विच झगडा हुन थालेपछि जयतबमका छोराहरुका पालामा रुकुम राज्य रुकुमकोट, मुसीकोट, बाफिकोट, आठबिसकोट, गोतामकोट र जाहारीकोटमा बिभाजन हुन पुगेको थियो । एकिकरण पछि वि.स. २०१८ सालमा नेपाललाई चौध अञ्चल पचहत्तर जिल्लाको प्रसासनिक स्वरुप बिभाजन गर्ने क्रममा रुकुम जिल्लाको नामाकरण भएको हो ।

डिग्रेसाई भगवतीको मन्दिर यिनै बाईसे राज्य संचालन गर्ने बेला शाहराजाले स्थापना गरेको हुदा भगबतीको नाम पनि साई राखिएको भन्ने जनविश्वास छ । शाह राजाहरुले डिग्रे भगबतीलाई शक्तिपिठको रुपमा मान्ने हुदा मन्दिरमा बलि प्रथा सुरुदेखिनै चल्दै आएको हो । डिग्रेमन्दिरमा हालसम्म ऐतिहासीक कुनै पुराना ताम्रपत्रहरु भेटिदैन । तर मन्दिरमा चढाएको एक घण्टमा १८४८ लेखिएको छ । …यो घण्ट कस्ले चढायो ? इस्वी संवत हो कि विक्रम संवत हो त्यो पनि उल्लेख छैन । तर ईतिहासले के देखाउछ भने बाईसे राज्यहरु विजय गर्दै बहादुर शाहले विक्रम संवत १८४८ मा कुमाउगढ आक्रमण गरेका थिए । उनको मृत्यु विक्रम संवत १८५४ मा भएको देखिन्छ । ईतिहासलाई अध्ययन गर्दा डिग्रेसाई मन्दिरमा भएको घण्ट पनि नेपाल एकीकरणको बखत शाह राजाहरुले नै चढाएको अनुमान गर्न सकिन्छ ।

डिग्रेमन्दिरबाट एक घण्टाको उकालो पैदल यात्रा गरेपछि पुगीने जन्तिबस्ने ढुङगाबाट स्यार्फु तालको पुर्णआकार ,पुरानो सदरमुकाम रुकुमकोटको सम्पूर्ण दृश्य, सिस्नेहिमाल, पुथा हिमाल लगाएतका दर्जनौ प्रकृतिक मनोरम दृश्य देख्न सकिन्छ । त्यसैगरी दक्षिण पट्टी रहेको सल्यान जिल्लाको कुमाक लेक र रोल्पा जिल्लाका अनगिन्ती पहाडका श्रृखला जन्तिबस्ने ढुङ्गाको एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । पहाडहरुको विचमा रहेको जन्तिबस्ने ढुङ्गाको उचाईमा आजभोली स्काई फोनको टावर र सानो भेरीएफएमले समेत आफ्नो टावर बनाएको छ । जिल्लाकै ऐतिहासीक महत्व बोकेको जन्तिबस्ने ढुङ्गामा बाईसे राजाहरुले लडाईको समयमा दुश्मनको अवलोकन र आफ्नो सुरक्षाको लागि पनि यहि स्थल वरपर आफ्नो सुरक्षीत थलो बनाएको अनुमान लगाउन सकिन्छ ।

डिग्रे मात्र होइन धार्मिक एवम ऐतिहासीक महत्व बोकेका स्यालापाखाको वराहा मन्दिर नाथीगाड, आठबिसकोट, पिपलको कुनाखेत जस्ता स्थानमा पनि मेला लाग्ने गर्दछ । ओढार, ऐतिहासिक राजाहरुको दरवारका भगनावशेष, झुलावाङको तामाको पैसा काट्ने ऐतिहासिक टक्सार, कोलको विरगुम गाउको तामा खानी, पोखराको तातोपानी , सानोभेरीले पनि पर्यटकहरुलाई नया अनुभुत दिलाउन रुकुम जिल्लाले सक्दछ । यो बाहेक ठूलो भेरी सानो भेरीको मिलन स्थल रिम्ना आठबिसको राढीज्यूला, चौरजहारीको सुन्दर उपत्यका साखको ठूलीदह, सानीदह तकसेराको मनोरम वस्ती, उत्तरगङगा माछेमूल, कोल किनवाङ घनचौरको भेडाको बथान निस्कने ओढार हिमाली वन्यजन्तु र पशुपन्छीको वासस्थान लगायतका कतिपय पहिचान भएका र पहिचान हुन नसकेका भौगोलिक प्राकृतिक संरचनाहरुको धनि रहेको छ रुकुमको प्राकृतीक सम्पदा । हिमाली गाउ अथवा खाममगर जातीहरुको बस्तीमा पुग्ने मानिसहरु रुकुम जिल्ला पुगेपछि ढोरपाटन जान रुचाउछन ।

रुकुम जिल्लाको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल हो । खामबस्ती भाषा, सस्कृतीको अध्यन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र रुकुमपुग्नेहरुका लागि महत्वपूर्ण मानिन्छ । खामबस्ती रुकुम जिल्लाको ऐतिहासिक स्थल पनि हो ।  भाषा, सस्कृती मात्र होइन यस क्षेत्रमा प्राकृतीक सम्पदामा रहेका खानीहरुको अवस्था र अध्ययन गर्न रुचि भएका  मानिसहरुको लागि यो क्षेत्रको भ्रमण उपयोगी हुनेछ । रुकुम जिल्ला खाम भाषीहरुको सास्कृतीक पहिचान भएका गाउ र बस्तीहरुको रमणीय, ऐतिहासिक र प्राकृतीक छटाले श्रृगारिएको स्थल पनि हो । इतिहास हेर्ने हो भने रुकुमकोटमा मगर बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान हो ।

पुरानो सदरमुकाम रुकुमकोट सानोभेरी नदी र रुकुमगार खोलाको संगम स्थल बिशाल धाउने बगर फाट बाटमाथी उठेको सुन्दर पहाडी उपत्यका हो । जुन ठाउमा बाहिरका मानिसहरु पुगेपछि त्यसको दृष्य बाट आनन्द लिन सक्दछन । प्राकृतिक जलासय, अलौकिक कमलका फूलहरुले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्यनको लागी महत्वपूर्ण स्थल मानिन्छ । बाउन्न टाकुरीका थुम्काहरु बिच–बिचमा लुकेका साना ठूला पोखरी आकारका फाटहरुका बस्तीहरुले दिने मनोरम प्राकृतिक सौन्दर्यता, आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने जो कोहिलाई पनि आकर्षण गराउछ । । तपाइ रुकुम जानु भएको छ ? वा जाने सोचमा हुनुहुन्छ ? अथवा रुकुमको बारेमा केहि थाहा छैन ? रुकुम जानु भयो भने एक पटक डिग्रे साईभगवतीको मन्दिरमा पुग्नुहोस ! त्यसको आनन्द गएपछि मात्र थाहा पाउनु हुनेछ ।

मितिः – २०७० कार्तिक २८ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *