ओझेलमा परेको राप्तीको चखेवा ताल

     के.वि.मसाल

दिनमा सयौको सख्यामा यातायातका साधनहरु गुडने गर्दछ । कयौ वातावरणविद, राजनितिक दलका कार्यकर्ताहरु, समाजसेवी र बौद्धिक ब्यक्तिहरु पनि चखेवा तालको बाटो हुदै यात्रा गरेका छन । राजनितीदलका नेता, कार्यकर्ता, जलसंम्पदा विज्ञ, वन विज्ञ जस्ता हजारौ मानिसहरुले देखेका  जानेका  चखेवा तालको अस्तित्व अव दिन प्रतिदिन समाप्त हुन थालेको छ । दाङ् जिल्ला देउखुरी उपत्यकाको भालुवाङ् बजार देखी ४ कि.मि. उत्तर पूर्व राप्ती नदीमा रहेको चखेवा तालमा  प्रत्यक बर्ष आउने साइवेरियन चराहरुको सख्या घटदै गएको छ । नदीको ताल वर परको प्राकृतीक वातावरण खलवलिने क्रम सुरुभए पछि चराको सख्या घटन थालेको कुरा समाजसेवी एंव पत्रकार महेश रिजालले जानकारी दिनु भएको छ ।

प्रत्यक बर्ष उत्तरी ध्रुवमा हिऊ पर्न थालेपछि नेपालका विभिन्न भागमा पर्यटन चराहरु भित्रीने क्रम सुरुहुन्छ । विशेष गरी साइवेरियन चराहरु दक्षिणी भेगमा न्यानो र सुरक्षित वासस्थानको खोजिमा नेपाल आउने गरेका हुन । बर्षातको क्रम हटदै गएर जब शरद ऋतुको सुरुवात हुन्छ यहि समय देखि साइवेरिया बाट चराहरु आउने क्रम सुरु हुन्छ । यसरी आउने चराहरुमा जलकौवा, बकुल्ला, स्टोर्क, २० प्रजातीका, डुवुल्की चरा, सिद्धेचरा, जकेवा, भुडीभोर, लोभीपपी गरुड १३ प्रजातीका, पानी हाँस ४२ प्रजातीका र रैथाने र घुमन्ते चराहरु नेपालमा आउने गर्दछन । यसरी आउने साइवेरियन चराहरु तराइका विभिन्न सिमसार क्षेत्रका तालतलैयाहरुमा बासस्थान बनाएर बस्ने गरेका छन । यिनै चराहरु मध्य केहि चाराहरु चखेवा तालमा आउने गरेका छन ।  चराविद डा. हेमसागर बरालको अध्ययन अनुसार उत्तरी ध्रुवका चराहरुले नेपाल, भारत, श्रीलङ्कालगायतका देशका संरक्षित सिमसार क्षेत्रमा हिउदमा विचरण गर्दछन । चखेवा ताल भने प्राकृतीक रुपमा राप्ती नदीमा बनेको ताल हो । तालको पूर्व तिर अर्घाखाची जिल्लाको डाफे सामुदायिक वन र पश्चिम भागमा दाङ जिल्ला लालमटिया गाविसको राप्ती सामुदायिक वनले पाहुना चराहरु लाई वास बस्ने अनुकुल स्थल भएको थियो । अहिले आएर चखेवा तालमा माच्छा मार्ने मानिसहरु बाट विष्पोटक पदार्थ पड्काउने, तालमा विष हाल्ने मात्र होइन चरा शिकारीहरुले पाहुना चराहरुको शिकार गर्नाले साइवेरियन चराहरु लाई सुरक्षित बासस्थानको अनकुल वन विनास र तालमा विष राख्नाले वातावरण विग्रेको छ ।

प्युठान जिल्लाको गौमुखी बाट निस्कने झिमरुक र रोल्पा, वाग्लुङ् को सिमामा पर्ने कालाशेष बाट निस्कने लुङ्ग्री, खुङ्ग्री को पानी रोल्पाको राकको जायाचौर उदगम स्थल भएर बग्दै आएको माडी खोला प्युठान रोल्पाको सिमानामा पर्ने चतुर्भजमा मिसिएर माडी खोलाको नाम बाट बग्दै आएर माडी र भिमरुक दुई खोला प्युठान र अर्घाखाचाीको सिमानामा पर्ने एैरावतीमा मिसिन्छ । यसरी रोल्पा र प्युठानका दर्जनौ खोलाहरुको पानी  मिसिएपछि राप्ती नदीको नामाकरण हुदै दाङ् र अर्घाखाची जिल्लाको सिमा बनेर बग्दै दक्षिण बग्दछ राप्ती नदी । राप्ती नदी चखेवा ताल सम्म आईपुग्दा सम्म धेरै स्थानमा तालको स्वरुप नदीले दिएपनि चखेरा तालमा मात्र साइवेरियन चराहरु आउने गरेका छन । चखेवा ताल को गहिराई २ देखि १० मिटर सम्म भएको कुरा तालमा पौडीखेल्ने मानिसहरुले बताएका छन । चखेवा ताल नजिकै दाङ जिल्लाको लालमटिया–३ को वगाहसोतीको मगर जातीहरुको बस्ती पर्दछ । त्यसै गरी तालभन्दा केहि माथी चैते गाऊ र पाच्छी तालको कुमाल बस्ती रहेको छ । ताल भन्दा पूर्वी भागमा अर्घाखाची जिल्लाको जलुके गाविस मा पर्ने वेलौते, लाहापे, सिलिङ्खोला गाऊहरु रहेका छन । सिलिङखोलाको ढुङ्गा खानीले समेत वातावरण विगारेको छ । जसले गर्दा चखेवा तालमा आउने साइवेरियन चराहरु लाई वासस्थानको वातावरण मिलेको छैन ।

साइवेरिया देखि चराहरु किन यहा आउछन ? त्यसका बारेमा वैज्ञानीक खोज अनुसन्धान होला ! तर आगन्तुक चराहरको वासस्थान लाई अनुकुल वातावरणि स्थल जोगाउन नसक्नु भनेको वातावरण संग हेलचक्राही गर्नु हो । साइवेरियन चराहरु मत्र होइन चखेवा तालमा गोहि समेत पाइन्छ । वर्षाको पानी बाट खेल्दै आउने गोहि आफुलाई अनकुलहुने पानीको गहिराइ फेला पारेपछि चखेवा ताल लाई बासस्थान बनाउन लागेको कुरा चैतेका बासिन्दाहरुको छ । नेपालमा उच्च पहाडी क्षेत्रमा ७८ मध्य पहाडी क्षेत्रमा ८६ र तराइमा १६३ वटागरी ३२७ ताल तथा सिमसार क्षेत्र रहेका छन । तर यसरी नदीमानै बनेका तालको सख्याको तथ्याक भने हाल सम्म लिइएको छैन । चखेवा तालमा पानी बगेको देखिन्न । बर्षातको भेल पानी बाहेक अन्य समयमा पानी रङ्ग निलो आकासे रङ्गमा पानी देखिन्छ । वनको बिनास हुदै जानु, माच्छा मार्नको लागी विष प्रयोग हुनु जस्ता कार्यले चखेवा तालको ईकोसिस्टम विग्रदै गएको छ । वन विनास लाई रोक्न नसक्नु र वातावरण प्रति सचेत नभए पछि मानिसले निम्त्याएको समस्या अहिले साइवेरिया बाट आएका चराहरुले समेत व्यहोर्नु परेको छ । बढदो जनसख्या उचित स्थानमा बसोवासको खोजी र वन क्षेत्रको विनास कार्यले वातावरणप्रति उदासिन मानिस भए पछि यसको मार चराचुरुङ्गीले पनि आजभोली भोग्नु परेको छ ।

चखेवा ताल आन्तरिक एव वाह्य पर्यटकहरुको लागी पनि आकर्षक बन्ने स्थल छ । राजमार्ग भालुवाङ् देखि ¥याफटिङ् सेवा चखेरा ताल हुदै अर्घाखाची र प्युठान जिल्लाको सिमानामा पर्ने ऐतिहासिक एैरावती सम्म सेवादिन सके चखेवा ताल हेर्न दैनिक सयौंको सख्यामा मानिसहरु पग्न सक्दछन । एैरावती माडी र झिमरुक मिसिएको ऐतिहासिक धार्मीक स्थल हो । चखेवा र एैरावती पुग्ने मानिस मात्र होइन ¥याफटिङ् सेवाले अर्घाखाची जिल्लाको पश्चिममी भेगका वेलवास वरपरका दर्जनौ गाऊका बासिन्दा र प्युठान जिल्लाको सलिकोट वाङ्गेसाल का बासिन्दाहरु लाई समेत यातायातको सुविधा हुन जानेछ । वातावरणको क्षेत्रमा काम गर्न जिल्लामा धेरै गैर सरकारी सस्थाहरु दर्ता भएका छन । गाविस, जिविस र राष्ट्रिय योजनामा पनि वातावरण संरक्षणका नाममा धेरै योजनाहरु ब्नेका छन । तर अहिले सम्म चखेवा ताल संरक्षण गर्ने, वन र वातावरण जोगाउन कसैको दृष्ट्रि पुगेको छैन ।

प्राकृतीक रुपमा रहेका ताल केहि बर्ष अगाडी देखि दाङ् जिल्लामा संरक्षण हुन थालेका छन । जसले गर्दा लोपहुन लागेको घोराहीको वाह्रकुने ताल, रामपुरको चरिङ्ेदह र सोनपुरको जखेरा ताल संरक्षण गर्न समिती बनेका छन । प्रत्यक बर्ष तालको सरसफाई र वरपरको वातावरण सुधार हुदै गएको छ । तालमा आय आर्जन बढाउन माछा पालन पनि भएको छ । यसरी ताल संरक्षित हुन थालेपछि विस्तारै मानिसहरुको चासो बढन थालेको छ । आन्तरिक रुपमा ताल हेर्न र पिकनिक जानेको सख्या क्रमस बढेको छ । यसरी नै प्युठान भालुवाङ् सडक खण्डमा पर्ने चखेवा तालको संरक्षण हुन सके साइवेरियाका पाहुना चरा मात्र होइन आन्तरिक रुपमा पनि चराचुरुङ्हरु को सख्या बढदै जाने छ । उजाड बनेका सामुदायिक वनमा वृक्षारोपण र भएका वोट विरुवा लाई उचित संरक्षण गर्न सके साइवेरियन चराहरुको बासस्थान अनकुल हुदै चखेवा ताल र वरपरका जगंलमा साइवेरियन चराको सख्या बढन सक्दछ । तालको बारेमा अध्ययन अनुसन्धान गर्ने मानिसहरु चखेवा पुग्ने गर्दछन । स्थानीय बासिन्दा मात्र नभएर आन्तरिक पर्यटकहरुको विकास हुन जान्छ । आन्तरिक एवं वाह्य पर्यटकहरुको विकास भनेको भालुवाङ्को मात्र विकास होइन सिगो दाङ्को विकास हो । यस्ता तालहरुको संरक्षणमा सवै क्षेत्रको चासो बढनु पर्दछ ।
मितिः– २०७० आषाढ १९ गते दाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *