हाम्रो प्रकृती र आफ्नै सस्कृती खोजौं

–के.वि.मसाल
हामी नेपाली प्राकृतिक सम्पदाको धनी । हिमाल, पहाड, नदी र तालको बिचमा बसेर प्रकृतीको खोजी गर्न विदेशी भूमीमा जाने हामी नेपाली दार्जलिङ्, नैनिताल र मसुरियाको दृष्यावलोकन गर्न मन प¥याउने हामी ।  आफ्नै देशको रमणीय प्राकृतिक सम्पदाको बारेमा भने अनविज्ञ छौं भन्दा पनि हुन्छ । मेचीदेखि महाकाली सम्मका हिमाली फेदीमा रहेका हिमताल, मध्यपहाडि धरातलमा रहेका एैतिहासिक कोट, किल्ला र मठ मन्दिरको बारेमा हामी धेरै लाई अध्यन र चासोको विषय बनेको छैन । नजिकको तीर्थ हेला भनेजस्तै आदिम युगदेखि  धार्मिक आस्थाको केन्द्र विन्दु बन्दै आएका मठ मन्दिर, बाइसे, चौबिसे राजाहरुको पालामा निर्माण भएका कोट, मौला, मन्दिरहरु अहिले पर्यटकहरुका लागि दृष्यावलोकन स्थल बनेका छन् ।
सुनमाथी सुत्ने, ऊनको महत्व नबुझ्ने, सबै चिजवस्तु अरुको मात्र राम्रो देख्ने, प्राकृतिक सम्पदा र रमणीय स्थल पनि अरुको देशको मात्र राम्रो लाग्ने चिन्तन छ अहिले समाजको । विकसित मुलुकले कृत्रिम रुपले बनाएका सम्पदा अनि त्यसलाई साजसज्जा दिलाएर आकर्षण वनाएको दृष्य हेर्ने बानी परेको छ हामी सबैलाई । जैविक विविधतााले भरिएको सुन्दर, शान्त, रमणीय वातावरण ऐतिहासिक हाम्रो धरोहर प्रचारप्रसार हुन नसक्दा कतिपय स्थानहरु ओझेलमा परेका छन् । यस्तै अवस्था बनेको छ, अर्घाखाँची जिल्लाको । मध्यपहाडि भूगोलको जिल्ला धुलो सडक प्रायः सबै गाविसमा पुग्दछ । तर त्यहाँका प्राचीनकाल देखि महत्वको सम्पदामा रहेको पर्यटकीय स्थलका बारेमा धेरैलाई थाहा छैन ।
सस्कृत भाषाको उदगम् स्थल पाणिनी तपोभूमि पणेना लेख यसको उदाहरण मात्र लिन सकिन्छ । साततले गुफा÷दुर्वाशेश्वर गुफा, खिदिम, आलमदेवी मन्दिर मैदान, छत्र मन्दिर छत्रगन्ज, नर्तनाचल पर्वत नरपानी, अर्घाकोट जस्ता सुन्दर   प्राकृतिक संम्पदा ओझेलमा परेका छन ।  ऐतिहासिक पर्यटकिय स्थल मात्र होइन  राजमार्ग गोरुसिङ्े–सन्धिखर्क, चुत्रावेसि पुग्ने सडक किनारमा रहेको  सुपादेउरालीमा समेत धेरै जिल्लाका मानिसहरु पुग्न सकेका छैनन् । अर्घाखाँची जिल्लाको मध्यभागमा रहेको  सुपादेउरालीको मन्दिर सामुन्द्रिक सतहदेखि झण्डै ४,५०० फिटको उचाइमा रहेको छ । दैनिक सयौंको संख्यामा आवतजावत गर्ने सवारी साधनका यात्रुहरुले सुपादेउरालीको दर्शन गर्ने गरेका छन । सुपादेउराली मन्दिर सुपाखोलाको पश्चिम नरपानी रफलामे दुवै अग्ला महाभारत पर्वतको बीच भन्ज्याङ्मा  सुपादेउरालीको मन्दिर निर्माण गरिएको छ ।
परापूर्व कालदेखि सुपादेउराली धार्मिक स्थल बन्दै आएको छ । गोरुसिङ्गे संन्धिखर्क चल्ने सवारी साधनका यात्रुहरु यो मन्दिरको दर्शन नगरी अगाडी बढ्दैनन् । अर्घाखाँची र आसपासका जिल्लाबासीहरु अप्ठारो परेको समयमा सुपादेउराली लाई भाकल ग¥यो भने मनोकामना पूरा हुन्छ भन्ने विश्वास गर्दछन् । सुपादेउरालीको बारेमा एउटा धार्मिक विश्वासको किवंदन्ती पनि रहेको छ । अघि वाईसे चौविसे राजाहरुको पालामा खाँचीकोटका राजकुमार र भारत वलरामपुरको राजकुमारी विवाह सम्पन्न भएको रहेछ । दुलही लिएर खाँचीकोट जाने क्रममा बाटोमा विवाह भोजको कार्यक्रम राखिएको रहेछ । भोजमा खाँचीकोटका राजाले झुक्याएर विवाह गरेको र दुलहीको जातको प्रसङ्ग निकालेपछि विवाद उत्पन्न भएछ । भोजमा जे–जस्तो विवाद भएपनि दुलही घरमा लैजान लाग्दा बाटोमा रगतको थोपा देखिएछ । दुलही बोकेको तामदानबाट किन रगत चुहिएको छ, भनी हेर्दा दुलही अर्थात राजकुमारी मृत अवस्थामा भेटियो । विवाहको जन्तीहरु  शोकाकुल हुदै खाँचीकोट लागे ।
त्यस पछि खाँचीकोट गाउँ वरपर रोगव्याध उत्पन्न हुन थाल्यो । गाउघरमा धेरै जनधनको क्षति हुदै गएपछि तन्त्र–मन्त्र, धामी, झाँक्री बसाल्न थालियो । त्यहि क्रममा एकजना खनाल थरका धामीले दुलही बनाएर ल्याएकी राजकुमारी सुपादेउरालीमा देवीको रुपमा प्रकट भएको वताए । यस्तो किम्वदन्ती रहेको सुपादेउरालीप्रतिको धार्मिक विश्वास अपार छ । अर्घाखाँची जिल्लावासीहरुले प्रायः गरेर सुपादेउराली आउन नसकेपनि गाउँमा नै सुपादेउरालीको प्रतिमा सम्झेर देवीको आरधना गर्ने समेत प्रचलन छ ।
सुपादेउराली मन्दिर परिसरमा नवदुर्गा, महाकाली, महालक्ष्मी, महासरस्वती, शिवजी, गणेश, पान्चायन देवता, सिद्धझाँक्रि लगायत विभिन्न देवी देवताका मूर्तिहरु राखिएको छ । सुपादेउरालीको भाकल गरेपछि पुजाआजा गर्न ढिलो भएपनि भुल्न नहुने यहाँको जनविश्वास रहेको छ । धार्मिक रुपले मात्र होइन सुपादेउराली प्राकृतिक रुपले पनि रमणीय स्थल छ ।  खाँचीकोट, नरपानी, ठाडा जस्ता डाँडाकाँडाबाट अर्घाखाँचीको धेरै भूभाग देख्न सकिन्छ । पछिल्लो समयमा पाल्पा, वुटवल, भैरहवा, दाङ र नेपालगन्जबाट समेत सुपादेउरालीको दर्शन गर्न जानेको संख्या बढ्दै गएको छ ।
सुपादेउराली जाँदा लाहुरे टाँसिएको पहरा, शिवजीले नुहाउने स्थान, बाघको रुपमा घाम ताप्ने स्थान, हवन र यज्ञ गरेका स्थल र सीताले पारेको तितौरा, अनि खाना पकाउने चुलो समेत खाँचीकोटमा छ । यसले पर्यटकहरुलाई थप अध्यनको विषय बन्न सक्दछ । अर्घाखाँची जिल्लाको भ्रमण गर्ने पर्यटकहरुले कम्तीमा ७ दिनको प्याकेज कार्यक्रम लिएर जाँदा राम्रो हुन्छ । जाँदा गोरुसिङगेबाट जाने फर्कदा प्यूठान अथवा पाल्पा भैरवस्थान भएर फर्कने हो भने धेरै प्राकृतिक एवं धार्मिक स्थलको बारेमा अध्यन गर्न सकिन्छ । अर्घाखाँची जिल्लाको प्राकृतिक सम्पदाको अध्यन, अनुसन्धानले कतिपय थाहा हुन नसकेको जिज्ञासा मेटाइदिन्छ । पहाडी जनजीवनको बारेमा अनगिन्ती कुराहरु बोध गराउँछ । ठूला सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खलन गर्दा प्राकृतिक सम्पदालाई कति असर पु¥याउँदो रहेछ भन्ने कुरा प्रत्यक्ष अवलोकन गर्न सक्नुहुने छ । एक पटक अर्घाखाँची जाने हो की ….।

Leave a Reply

Your email address will not be published. Required fields are marked *